विचार

दास दिमाग

वसन्त आचार्य |
पुस २८, २०७७ १२:५५ बजे

नेपाली राजनीतिमा एउटा भनाइ नै स्थापित भएको थियो, ‘सभामुख पद सुवास नेम्वाङका लागि बनेको हो ।’ शालीन, भद्र मात्रै होइन, कानुनको विज्ञसमेत भएका नेम्वाङ पदमा रहँदासम्म खासै चिप्लिएनन् पनि । कतै पनि नचिप्लिए विवादित हुने त कुरै भएन । पार्टीभित्र कानुनी अड्‌चन आउँदा नेम्वाङले मार्गनिर्देश गर्थे । उनले बोलेपछि त्यसै सही छाप लाग्थ्यो । यिनै नेम्वाङ केही दिनयता निकै आलोचनाको सिकार भएका छन् । मेरो दिमागको आयतनमा अटाएसम्म सायद यति चर्कोसँग उनी विवादमा आएको यो पहिलो घटना हो । खैर, यो अंकगणित छाडौं ।

प्रधानमन्त्रीले अनुचित अधिकार प्रयोग गर्ने भएकाले संसद् भंग गर्ने अधिकारलाई संविधानले निस्तेज गरेको अभिव्यक्ति दिने नेम्वाङले किन प्रधानमन्त्रीको कदमलाई भरथेग गर्ने गरी अभिव्यक्ति दिए ? एकाएक उनलाई यो कदम किन ठीक लाग्यो ? कानुनलाई सूक्ष्मतम ढंगले छान्‍ने खुबी भएका व्यक्ति किन यसरी हडबडाए ? प्रधानमन्त्रीले चालेको कदमको यहाँ चिन्ता नगरौं । कुरोको चुरो हो, दास दिमाग ।


मुलुकमा आफूलाई होनहार वामपन्थी (?) भन्‍नेहरू अहिले दुई कित्तामा उभिएका छन् । उनीहरू सामाजिक सञ्जालमा यसरी लागेका छन् मानौं यो निमेषभरका लागि पनि बन्द हुने हो भने सारा नेपाल चुर्लुम्म डुब्छ । नेपाल नामको पहाडी भूगोललाई यिनका स्ट्याटसले टेकासो दिएका छन् भन्‍ने यिनमा नमीठो भ्रम छन् ।

आजका युवा पढेका छन्, संसार बुझेका छन्, भर्चुअल रूपमै भए पनि देश दुनियाँ हेरेका छन् । ती युवाहरूले देशको परिवर्तित अवस्थामा विचारको खेती गर्नु किमार्थ बढी मान्‍न सकिँदैन । तर जुन तहबाट विचारको छेडछाड भएको छ, के त्यसले साँच्चै अहिलेको विषमतालाई सम्बोधन गर्ने गरी समीकरणको नयाँ विचार निर्माण गर्न सक्छ ?

मेरा एकजना अनन्य मित्र छन् । राजनीतिशास्त्रमा नै उनले स्नातकोत्तर गरेका हुन् । केपी ओली उनलाई निकै मनपर्ने नेता । एकाध महिना पहिलेसम्म केपी ओलीबारे कसैले चिया गफमा आलोचना गर्न थाल्यो भने राजनीतिका विभिन्‍न वाद झिकेर त्यसको चर्को प्रतिकार गर्थे ।

हिजो प्रचण्डलाई एक शब्द कसैले नराम्रो भने एक मिटर उफ्रिने युवा किन आज त्यही प्रचण्डलाई स्खलित देखिरहेको छ ?

माओवादी पृष्ठभूमिका उनी अहिले अनेक वाद झिकेर उनको प्रशंसा गर्नेलाई ठहरै पार्छन् । संसद् विघटनपछि ओलीबारे उनको दृष्टिकोण बदलिन अर्थपूर्ण हुन सक्ला तर उनले हिजो गरेका जुन कामलाई उनी स्तुतिगान गर्थे आज त्यही कुरा उनका लागि आलोचनाको ‘कि नोट’ बनेको छ । मलाई ताजुब लाग्छ राजनीति पढेको एउटा युवाको विचारको रङ पार्टी विभाजनले कसरी फिक्का बनाउँदो रहेछ, कति कमजोर बनाउँदो रहेछ ।

हिजो प्रचण्डलाई एक शब्द कसैले नराम्रो भने एक मिटर उफ्रिने युवा किन आज त्यही प्रचण्डलाई स्खलित देखिरहेको छ ? श्रीमतीलाई रोगले च्यापेर मन दुखाउँदा सिनेमाको दृश्यसँग जोडेको छ ।  केही ओलीलाई नेता होइन ‘बा’ भन्‍ने मान्‍छे किन उनलाई अमूक व्यक्तिको श्रीमान् भनेर भृकृटीमण्डप नै थर्काउने गरी कराएको छ  ? कहिले कसको पछाडि, कहिले कसको पछाडि यस्तै कबड्डी खेल्दाखेल्दै आफूले हिँड्‌ने बाटो नै आजको युवाले भुलेको त होइन ? दुईवटा रङमात्रै मिलायो भने पनि नयाँ रङ बन्‍छ तर कयौं विचार मिलाउँदा पनि किन हाम्रा युवाको नयाँ विचार बन्‍न सकेन ? यो प्रश्न अहिलेको संकटसँग प्रत्यक्षरूपमा जोडिएको छ ।

प्रसंग अर्को पनि जोडौँ, अनि फेरि मन्थन गरौंला । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि चर्को बोल्नेमा पर्छन्, प्रभु साह । प्रधानमन्त्रीको कदमविरुद्ध उनले लेखेको स्ट्याटसमा लाइक र कमेन्ट आइरहेका थिए । अचानक उनको विचारले ३६० डिग्री फन्को मार्‍यो । अर्थात् ओलीको असंवैधानिक कदम उनका लागि एकाएक संवैधानिक मात्रै लागेन देश डुब्‍न लाग्दा बचाउने नाउँजस्तो लाग्यो । के ठीक, के बेठीक त्यो फरक कुरा हो तर मन्त्री पदले उनको विचारमा स्खलन गरेको कुरा भने दिमागी दासबाहेक केही होइन ।

भगवान् नमान्‍ने कम्युनिस्टहरू मान्‍छे नामको ‘भगवान्’ निर्माण गरेर दिमागी दास बनिरहेका छन् ।

हामी चर्का बोल्छौं मात्रै होइन लेख्छौं पनि । ‘युवाको नेतृत्व यो देशका लागि नितान्त आवश्यक छ’ तर के हामीले सोचे जसरी नयाँ पुस्ता वैचारिक दृष्टिले बलियो हुँदै गएको छ त ? नेकपाको अहिलेको संकटलाई हामीले आशा गरेका युवा नेताहरूले खेलेको भूमिका हेरौं । आफूले ‘बा’ या ‘दाइ’ मानेको नेताले के भन्‍छ र त्यसैलाई तन्काउँदै लैजाउँला भनेर कुरिरहेको हुन्‍छ । कुनै एउटा कित्तामा उभिएर कसरी समीकरण हुन सक्छ ? प्रचण्डको यो कमजोरी अनि ओलीको यो कमजोरी छ भनेर अरूले भन्‍न नसके पनि कम्तीमा आजको युवा पिँढीले त भन्‍न सक्‍नुपर्‍यो ।

कुरा मिल्दा चमत्कार, बिग्रे बलात्कार भन्‍ने उक्ति जस्तै यो देशका महानायक मानिएका व्यक्ति अचानक कसरी खलनायक हुन्‍छ ? दुई किनारामा उभिएर धारेहात लगाउने हामी किन नदी बनेर दुई किनारा जोड्‌ने साहस गर्दैनौं ? अहिलेको विभाजनको मूलकारण कोही हो भने त्यो अहिलेको उद्दण्ड युवा नै हो । विवेकलाई झ्यालखानामा राखेर सधैं अरूका आँखाले मात्रै घटनालाई हेर्ने हो भने हामी के रह्यौँ ? भोलि कुनै दैवी चमत्कार भएर पार्टी एक भयो भने फेरि यी युवाका विचार के होलान् ? सोच्दा मात्र पनि टिठ लाग्छ ।

भगवान् नमान्‍ने कम्युनिस्टहरूले मान्‍छे नामको ‘भगवान्’ निर्माण गरेर दिमागी दास बनिरहेका छन् ।

हरेक मान्‍छेसँग सोच्‍ने अलगअलग दिमाग छ । करोडौं दिमागमा करोडौं विचार निर्माण हुुनुपर्ने तर गुटको नेतालाई भगवान् मानेर एउटै विचारलाई काठमाडौंदेखि कालीकोटसम्मका दिमागमा राख्‍नु अहिलेको विडम्बना हो । भगवान् नमान्‍ने कम्युनिस्टहरूले मान्‍छे नामको ‘भगवान्’ निर्माण गरेर दिमागी दास बनिरहेका छन् । कयौं वर्ष विश्वविद्यालयमा पढाएको, अनुसन्धान गरेको मानिससमेत नेताको दिमागी दास बनेको छ । आफूले मानेका नेताले भनेको ‘तथ्यपूर्ण गलत’ कुरालाई पनि सही पुष्टि गर्न लालायित देखिन्‍छ भने हस्ताक्षर गर्न पनि पाँच मिनेट लगाउने यो देशका नागरिकको वैचारिक अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्‍छ ।

नेकपाको अहिलेको विवाद नेताहरूबीचको ‘इगो’को देखिन्‍छ । मूल पार्टीका नेताहरू झगडा गरे पनि हामीले पार्टीलाई एकजुट बनाएर लैजान्‍छौं भनेर भ्रातृ संगठनहरू लाग्नुपर्ने होइन ? तर दृश्य त्यसो छैन । मूल पार्टीको विवाद मिल्न सक्ला तर भ्रातृ संगठनको विवाद मिलाउन हम्मेहम्मे देखिन्‍छ । उज्यालो भविष्य बोकेको युवा किन डाँडापारिका जून भइसकेका नेताको फेरो समातेर भविष्य बिगारिरहेका छन् ? यही पाराले राजनीतिमा पुस्तान्तरण हुन नसकेको हो ।

दुई धारमा बाँडिनुभन्दा कुनै एक मध्यधार बनाएर युवा नेताहरूले यो पटक नयाँ सन्देश प्रवाह गर्न सक्थे । तर भएन त्यसो । एक अंश पनि भएन । नेताका चर्का नारामा थप नुन थपेर चर्को बनाउनुभन्दा युवा नेताहरूको अन्य भूमिका देखिएन । सधैँ लडिरहने, पार्टीलाई टुक्राटुक्रा बनाउने, वैचारिकरूपले स्खलित भइरहने नेताको पछाडि लागेर आजको युवा पुस्ता कहीँ पनि कतै पनि पुग्‍न सक्दैन ।

नेताको तागत भनेको नै युवा पुस्ता हो । यही युवा पुस्ताका नेताले जे भन्‍छन् त्यहीलाई सही मानेर जाने हो भने कसरी नेता परिवर्तन हुन सक्छन् ? आजका युवामा भएको आलोचनात्मक चेत पार्टीको अझ भनौं गुटको आँखाले एकपाखे बनाएको छ । गलतै भए पनि आफ्नाले गरेको ठीक र अर्काले गरेको गलत भन्‍ने भ्रम र द्वेषपूर्ण विचारका शृंखलाले उनीहरूको भविष्यलाई ओरालोतर्फ लगिरहेको छ ।

फिनल्यान्डमा ३४ वर्षीया साना मरिन प्रधानमन्त्री हुँदा नेपालमा त्यो उमेरका नेताले मन्त्रीसम्म बन्‍ने सोच राख्‍न सक्दैनन् । अनि केको युवा नेता ? केको विचार ? केको चर्काचर्का भाषण ? साराका सारा दिमागी दासहरू !


Author

वसन्त आचार्य

आचार्य, दाङमा शिक्षा तथा पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।


थप समाचार
ad
x