विचार

तस्बिर आँखामा सजाएर पनि उसले चिन्‍न सकेन

राजाराम बर्तौला |
माघ १६, २०७८ आइतबार १९:१९ बजे

म ढोकाको छेउमै उभिरहेकी थिएँ । ऊ सभाको विसर्जन भएसँगै सभाहलबाट बाहिरियो । ढोकाको आडै लिएर म बसेकी थिएँ, उसको ध्यान आकर्षण गर्नका लागि । ढोकामै किन त भन्दा, उसले मलाई चिनोस्, हठात अचम्भित होओस् र भावातित बनोस् । अन्तरमनले यही चाहन्थेँ म सायद । मेरोे उपस्थितिले उसलाई अकल्पनीय अपरिमित आनन्दानुभूति होस्, अविश्वास व्यक्त गरोस्, क्षोभ व्यक्त गरोस् र अन्ततः द्रबित होओस् । 

तर त्यस्तो केही भएन । भएन मात्र होइन, मेरो उपस्थितिको उसलाई आभाससमेत भएन । ऊ फटाफट ढोकामा आयो, एक निमेष टक्क अडियो, बाहिर पर क्षितिजसम्म नियालेर हेर्‍यो र भर्‍याङका खुट्किलाहरू ओर्लिन थाल्यो । अलि पर सडकसम्म गयो र एउटा ट्याक्सी समातेर मेरो आँखाबाट ओझेल भयो । ऊ यसरी आयो र गयो कि मैले समयको गति नै नाप्न सकिनँ । प्रयासै नगरेको पनि होइन । तर ऊ यति वेगवान् भइदियो मैले समाउन नै सकिनँ । 


जति कुदे पनि र बतासिए पनि समय कहिले बूढो नहुने रहेछ । मानिसको जस्तै यसको पनि कपाल फुल्थ्यो भने, छाला चाउरी परेका हुन्थ्यो भने, र हिँड्नका लागि लट्ठीको सहारा चाहिन्थ्यो भने थाहा पाउने थियो बूढो हुनुको परिणति । यदि सबै जीवजगत् समयको पाबन्दीमा दासकृत नभएको भए सबै अजम्बरी हुने थिए ऊ जस्तै । समय हो समय । अरु त सबै नित्य छ । 

हैन हैन, मानिसको मन पनि त कालजयी छ, न त नासिने, न वृद्ध हुने, न खिइने नै । सधैँ सक्रिय र यौवन हुने भनेकै मन हो । जसरी रूपको, रसको, श्रीको र लाभको, त्यसै गरी मनको वशीभूत हुन्छ मानिस । त्यसैले होला समय र मनलाई अनित्य भनिएको । केस पाकेर झरोस् तर मन झर्दैन । तन गलोस् तर मन गल्दैन । समयको त्रिकालजस्तै मनको पनि त्रिकाल हुने रहेछ— विगतको घाउ कोट्याएर वर्तमानमा भविष्यको कल्पना गर्ने । सपना देख्ने कल्पनाशील अनुरागी । 

आफ्नै पाकेको कपाललाई रङ लगाएर कालो पार्न पर्ने भएको छ । उमेर लुकाउने असफल प्रयास । सक्ने त कस्मेटिक सर्जरी गरेर भए पनि चाउरिएको छालालाई तन्काउँछन् र चिटिक्क पार्छन् र अतृप्त चाहनालाई पूर्णता दिने प्रयास गर्दछन् । चाउरिएको छाला त तन्काउन मिल्ला तर जसै गरे पनि चाउरिएको र फाटेको मन भने सिलाउन नमिल्ने रहेछ । यही नमिल्ने मेसोमा ढल्किएको उमेर र पाकेको फल पनि छोपेर नछोपिने रहेछ । 

बाटोमा हिँडिरहेका केटाकेटीहरूले ‘आमा’ सम्बोधन गरेपछि म झस्किएँ । सम्झिएँ, ए, म त बूढी पो भइसकेकी रहेछु । तर आँखामा भने उही सपना, मनमा उही कल्पना र जोस, यौवनका बाँकी तृष्णा र चाहना बोकी हिँडिरहेको छु । मानिस आफ्नो विगतलाई बोकेर हिँड्न अभिशप्त छ । विगतको जगमा टेकेर बाँच्ने प्रयत्न गर्छ मान्छे । जसरी उसको छायाँ उसंगै हिँड्छ, विगतले त्यसै गरी पछ्याइरहन्छ । 

यौवनको चञ्चलता, प्रेम र प्रेमीहरूको प्रेमले कोेरेको रङ्गीन दुनियाँ प्रकृतिले कोरेको नमेटिने एउटा अव्यक्त कलाकृति हो । भावुक दिलहरू प्रेमको आलोकमा आबद्ध हुन्छन् निसंकोच । झन् त्यसमाथि उमेरले दिने संवेगका उद्वेलित छालहरूलाई रोक्ने कसले ।

ऊ ‘तिमीविना बाँच्न सक्दिनँ भन्दथ्यो ।’ आकाशको तारा नै टिपेर ल्याउने प्रण पनि गर्दथ्यो कहिलेकाहीँ । पत्यार नै नलाग्ने कुरामा पनि म उसलाई विश्वास गर्दथे, आफँैलाई आस्वस्थ पार्न । ‘रूपै मोहनी, मनै मोहनी’ भन्दै मेरो तारिफमा सगरमाथा उचाल्थ्यो । साह्रै रसिक थियो, मृदुभाषी थियो, आफूलाई पुरुष हुँ पनि भन्थ्यो तर नौनी जस्तो नरम, कोमल थियो । वीर रसका कविता विरलै लेख्थ्यो भावनामा बगेको पत्तै पाउँदैन थियो । वीर, रौद्र, विहंगम, बीभत्स आदि रसहरू पनि छन् जीवनमा भन्ने उसलाई हेक्का त थियो तर ऊ शृंगारिक थियो, प्रकृति प्रेमी । 

उमेर पुगेकी छोरीमाथि कुटुम्बहरूको नजर परेकै हुन्छ । परम्परादेखि चलेको चलन जसरी यो सृष्टि चल्दै आएको छ, एक दिन मलाई माग्न आए । कुरो छिनियो, टिकाटालो भयो र मेरो बिहे हुने भयो । यथास्थितिको सामाजिक व्यवस्थालाई बिथोल्ने प्रयास उसले गर्न सकेन, भनूँँ आँट गरेन । उसले आँट गर्न नसकेपछि अर्कैले पञ्चे बाजा बजाउँदै लिन आयो । ऊ बारीको डिलमा बसेर रमिता हेरिरह्यो । अर्कोले मलाई झ्याइँ पारेर डोली चढाइ लिएर गयो । जस्तै, वियोगान्त पे्रम कथामा हुन्छ नि, त्यस्तै भयो । ऊ हेरेको हेरै भयो । म अर्कैकी भएँ । 

हाम्रो बिछोड भयो, परेवाको जोडी छुटे जस्तो । ऊ मुर्झायो, सुस्तायो तर अस्ताएन । म छटपटिएँ, गुम्सिएँ तर बिलाइन् । म आफ्नै बनिबुतोमा दिनहरू गन्न थालेँ । ऊ त कवि भएछ । म चाहिँ वितरागी । ऊ वक्ता भएछ । म श्रोता । ऊ बोल्दैन मात्र थियो कापीका पानाहरूमा भावना पोख्दथ्यो पनि । म आँसुले चुल्हो लिप्दथें । कुरो त एउटै भयो नि दुवैको पोख्नु । दुवै पोखिरहेका थिए, विचार, भावना, मानवीय वेदना, संवेदना आदि । 

दिनहरू बित्दै गए । वर्तमान विगत भयो र विगत कति सम्झनामा रहे भने धेरै विस्मृतिको गर्तमा जाकिए । समय कहिल्यै रोकिएको छ र सारङ्गीको धुन सुन्न ? बगेको खोलो कहिल्यै फर्किएको छ र ? सम्झनाका तरेली मात्र बाँकिरहने हुन् मानिसहरूको आँखामा । आफूले हिँडेको पाइलाको गन्ती बिर्सन्छ मानिसले । नयाँ ठाउँमा पुग्नका लागि नयाँ गोरेटो खन्नुपर्दछ । नयाँ गोरेटोमा हिँड्दै गर्दा, पाइलाहरू सार्दै गर्दा पछ्याउने भनेका पुराना याद मात्र हुन् । पुराना यादहरूलाई पछाडि नै छोडेर अगाडि बढ्नु नै हो जिन्दगी । गन्तव्य छुट्टै हो, यात्रा छुट्टै हो । उसले हिँडेको बाटो उसैको हो र मेरो बाटो मेरो आफ्नै, नितान्त व्यक्तिगत । 

उसको मन अझै युवक नै होला र त ऊ यौवनाहरूतर्फ बढी आकर्षित भइरहेछ । उसका बान्की मिलेका गजलका टुक्काहरू उतै लक्षित छन् । गजलका हरफहरू मेरा नाममा लाक्षणिक छन् तर उसका नजर उपस्थित युवतीहरूमा ।

 

ऊ त साहित्यकार भएछ । कवि, गीतकार अनि गजलकार । एउटा सफल कवि, स्थापित कवि, मूर्धन्य कवि । पहिला पहिला उसका प्रकाशित कृतिहरू पढ्थेँ । अहिले सामाजिक सञ्जालमा पनि सक्रिय भएछ । उसका गजल र कविताहरू अब सामाजिक सञ्जालमा नै पढ्न पाइने भएका छन् । धेरै कविताहरू ऊ लेख्नका लागि लेख्छ भने केही सृजना लाक्षणिक हुन्छन् विगतको विरासत । भावनाको तारलाई नचुँडाई अभिव्यक्त अतृप्त प्रेमका मूच्र्छना झंकृत गर्नु त उसको विशेषता नै भइगयो । कतिपय अवस्थामा त उसका गजलमा मेरो नामकै उपस्थिति अझै देखिन्छ । लाग्छ, उसले गजल लेख्दा मलाई निर्वस्त्र अगाडि उभ्याउँछ र मेरो रूप लावण्यमा भावोत्तेजक भएर स्खलित हुन्छ । 

अब म त्यो पहिलेकी रूप लावण्य कन्या कहाँ छु र ! म छाला चाउरी परेकी हजुरआमा भइसकेकी एउटा वृद्ध नारी भएकी छु । ऊ अहिले पनि मलाई त्यही प्रस्फुटित जवानीकी वाला देख्दछ । उसको आँखामा त्यही रूप लावण्य चम्किरहेको छ । त्यो युगल जोडीको मनोभाव ताजै छ उसको स्मृतिमा अझै पनि । आँखाको तेज घटेर चस्मा लगाउनुपर्ने हुँदा पनि पुराना स्मृतिहरू स्टमैनकलर झैं आँखाको पर्दामा नाचिरहेको छ । यस्तो सबैलाई हुन्छ या कवि साहित्यकारलाई मात्र म भ्रमित भएकी छु ? 

यो सम्झना अमर हो कि प्रेम  ? एउटा अस्वाभाविक साम्यभाव देखियो । सम्झना अमर हो भनूँ भने प्रेमी अगाडि आउने । प्रेम अमर हो भन्दा पनि सम्झनाहरूलाई समयको आयामले पारेको अन्तरले धुमिल छायाँमा देख्नुपर्ने । त्यसरी हेर्दा समय र मनको चक्रभन्दा त प्रेमको आयाम पो बृहत् रहेछ । आयातन र आयामले नाप्न नसकिने प्रेमको परिमाण । कविको कल्पनाभन्दा पनि पर असीमित, जसरी उसको गजलमा गम्किन्छ, चम्किन्छ, पुलकित हुन्छ र पोखिन्छ अक्षरमा अतृप्त ।
 
एक दिन एउटा साहित्य समारोहमा प्रतिष्ठित साहित्यकारहरूको सृजना वाचन सुन्नका लागि निमन्त्रणा प्राप्त भएको थियो । यसो सोचेँ, यसमा भाग लिएँ भने उसलाई हेर्न पाउने अविस्मरणीय क्षण हुनेछ । उसको काव्यधारामा स्नान गरेर आफूलाई पवित्र पार्नेछु । बरु यहाँ उपस्थित हुँदा मैले आफूलाई स्थिर, सतर्क र दृढ राख्न आवश्यक छ, कतै म उसको मधुकर लालित्य काव्यमा डुबेर नचिप्लिऊँ । केही गरी पग्लिएँ भने आफूलाई सम्हाल्न सकिन भने, मेरो वास्तविक रूप बिस्कुन पोखिए जसरी छरिनेछ भुइँभरि । म आफैँ सम्हालिएर यो काव्य श्रवण गर्न आवश्यक छ । यति विचार गरेर जाने निश्चय गरेँ । सम्भावित परिणाम जे होला । 

सोचेँ, जसरी म अहिले हजुरआमा बनेको छु, त्यसैगरी ऊ पनि त हजुरबाउ बन्यो होला नि । जसरी समयले मलाई घिसार्‍यो त्यसैगरी उसलाई पनि पछा¥यो होला नि । पत्थर त पारस भयो होला । हिजो मेरो तारिफमा कविता लेख्ने सिकारु कवि खारिएर माझिएर अहिले दार्शनिक भयो होला । 

हो, दार्शनिक भएको उसका लेखाइले नै पनि बोलिरहेका हुन्छन् । हैन, कविलाई दार्शनिक बन्न प्रेम वियोग नै चाहिने हो त ? रसिक, प्राकृतिक र शृंगारप्रिय त ऊ थियोे नै त्यसमाथि प्रेमको चोटले रुझेपछि त के चाहियो र ? यही दार्शनिक पूर्वप्रेमीलाई हेर्ने उत्कट चाहनाले नै हो यहाँ उपस्थितिका लागि प्रेरित गरेको मलाई । 

सभाहल पूरै भरिएको थियो । दर्शकदीर्घाको पहिलो हरमा बसेकी थिएँ ताकि उसको नजर परोस् । उसको गजलको शब्द शब्द नछुटाई कानमा परोस् । चाहना त यही थियो कि उसको अनुहार प्रस्टसँग देखियोस् । मेरो उपस्थितिको असर परोस् । ऊ उत्तेजित होस्, भावुक होस्, द्रवित होस्, विगतमा हराओस् र वर्तमानसँग साक्षात्कार गरोस् । म चाहन्थेँ, उसको अनुहारमा आउने भावहरूलाई समेटूँ र आफूमा सजाऊँ । सभाहलभित्रको बत्तीको चमकमा प्रेम चरित आलोक भई छरियोस् । 

नाम चलेका प्रतिष्ठित साहित्यकारहरूको आगमन, स्वागत र स्टेजमा आसन ग्रहण निर्निमेष हेरिरहेँ । अहो ! शब्दमा देखिने उसको चञ्चलताको भार शरीरले नथेग्ने भएछ । शृगांरिक, अलंकारित, लालित्ययुक्त र उत्तेजक शब्द सिर्जना गर्ने सिद्धहस्त शिल्पीलाई फुलेका कपालहरूले गिज्याउने भएछन् । मानिस उही, स्वभाव उही, तन, मन र जोस पनि उही देखिने तर काँध अलिकति झुकेछन् । पोषणको कमीले होला कविको ज्यान पनि खिरिलो भएछ । आँखाको ज्योति कम भएर होला चुच्चे नाकले बोक्ने चस्मा पाएछ । तर के गर्ने आँखा कमजोर भए पनि सपना देख्न छोडेको हैन । आँखा अगाडि उही पुरानै रङ्गीन तस्बिर नाच्ने गर्दछ । ज्यान पुरानो भए पनि मन पुरानो नहुने रहेछ, चञ्चल र अस्थिर । 

कति बेरदेखि हेरिरहेको छु, उसलाई उसको नजर ममाथि परोस् भनेर । कयौं पटक मेरो लङतर्फ नजर आए, तर अडिएन । यसको अर्थ हो, मेरो रूपले उसको ध्यान आकर्षण गर्न सकेन । उसको नजर पहिलाको म नै खोजिरहेको होला । यो झोलिएको, चाउरिएको अनुहारमा त्यो कसरी पाउने । उसले आफू चाउरिएको देखेको छैन । उसको मन अझै युवक नै होला र त ऊ यौवनाहरूतर्फ बढी आकर्षित भइरहेछ । उसका बान्की मिलेका गजलका टुक्काहरू उतै लक्षित छन् ।

जलका हरफहरू मेरा नाममा लाक्षणिक छन् तर उसका नजर उपस्थित युवतीहरूमा । उसले वाचन गर्‍यो, ‘सुनयना, तिमीलाई मैले मुटुको बीचमा कैद गरेको छु, छुट्ने प्रयास गरेर त हेर, कति अरुको मात्रै तारिफ गछ्र्यौ यो नादानलाई एकपटक आँखामा सजाएर त हेर ।’

उसको आँखामा उही बालापन थियो । सायद, उसको अन्तरमनले त्यही हरिया खेत, जंगल, चौर, चराहरूको चीरबीर, झरनाको कलरव, नदीको नाद स्पन्दन गरिरहेको थियो । आँखै अगाडि उसको वर्तमान बसेकी थिई तर उसले चिन्न सकेन । 


 

 
  
  


 


Author

थप समाचार
x