विचार

डा. मोहन डाँगी : दाङदेखि वासिङटन डीसीसम्म

बहुप्रतिष्ठित जेफर्सन साइन्स फेलोसिपबाट सम्मानित भई उच्च पदमा पुग्ने पहिलो नेपाली

शिव नेपाल |
माघ १५, २०७८ शनिवार १७:५३ बजे

सन् ९० को मध्यतिर अध्ययनको लागि पेन्सिलभानियाको एडिनबोरोवाट वाइयोमिङको सेन्ट्रल वाइयोमिङ कलेज पुग्न मोहनलाई लगातार झण्डै तीन दिनको बस यात्रा गर्नुपरेको थियो । अमेरिकाको हिमाली राज्य वाइयोमिङ पुग्दा उनलाई ‘अमेरिकामा होइन कतै दूरदराजतिर’ पो पुगेछु कि जस्तो लागेको थियो ।  त्यतिबेला बरु दाङ र काठमाडौंतिरका सम्झना धेरै आएका थिए । उनी आफैंलाई पनि के गर्ने ? भन्ने भेऊ थिएन तर पछि त उनको मेहनत र लगावले कालान्तरमा सेन्ट्रल वाइयोमिङ कलेज नै माइलस्टोन भएर उभियो ।

अर्थात् आज उनी जुन पदमा आसिन छन, सीडब्ल्यूसी उनको शैक्षिक करिअरको सहयात्री बनेर उभिएको छ । वाइयोमिङको सोसोनी स्टेसन पुग्दा  मोहनलाई लिन एकजना जापानीज साथी आएका थिए । ‘सुरुतिर त कता कता नरमाइलो जस्तो लागेको थियो, पछि कलेजमा साथीहरूको व्यवहार र प्रोफेसरको न्यानो सद्भावले वाइयोमिङ मेरो नजिकको साथी जस्तै बन्यो’ आफ्नो मीठो विगत सुनाउँदै मोहनले भने । 


क्यालिफोर्नियाको स्टेट युनिभर्सिटी फ्रेज्नोमा ‘जोग्राफी एन्ड सिटी एन्ड रिजनल प्लानिङ’ विषयका प्रोफेसर मोहन डाँगी हाल अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकाससम्बन्धी एजेन्सी यूएसएआईडीको ‘दिगो पर्यावरणीय विज्ञ सल्लाहकार’को रुपमा राजधानी वासिङ्टन डिसीस्थित मुख्यालयमा कार्यरत छन् ।  अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेस, इन्जिनियरिङ र मेडिसिनवाट बहुप्रतिष्ठित जेफर्सन साइन्स फेलोसिपवाट सम्मानित भई यस उच्च पदमा पुग्ने मोहन पहिलो नेपाली हुन् ।

उनको सफलताबारे टिप्पणी गर्दै सेन्ट्रल वाइयोमिङ कलेज उनका तत्कालीन प्राध्यापक रजर मिल्टनले भनेका छन् ‘नेपालको गाउँवाट उच्च शिक्षाको लागि आएका मोहनमा धेरैभन्दा धेरै सिक्ने, जान्ने र सबैको प्रिय हुनसक्ने खुबी’ थियो । डाँगीको मेहनत, लगाव र तिक्ष्णतालाई नजिकवाट नियालेका प्रोफेसर मिल्टनले यिनै विशेषता डाँगीको सफलताका मानकको रुपमा व्याख्या गरेका छन् । 
 
क्यालिफोर्निया राज्यको स्टेट युनिभर्सिटी फ्रेस्नोमा जोग्राफी एन्ड सिटी एन्ड रिजनल प्लानिङ विषयका प्राध्यापकको रुपमा कार्यरत रहँदा मोहनको क्षमता र भिजनलाई देखेर नै सोही युनिभर्सिटीका चान्सलर डा. जोसेफ क्यास्ट्रोले डाँगीलाई ‘जेफर्सन साइन्स फेलोसिप’का लागि प्रस्ताव गरे र उनको प्रस्तावलाई संसारभरका पाँच उत्कृष्ट वैज्ञानिकहरूले अनुमोदन गरेका थिए । 

अमेरिकाभरका धेरै विश्वविद्यायलका धेरै नाम चलेका प्राध्यापक र विद्धानबीचको प्रतिष्पर्धाबाट आफ्नो छनोटलाई  प्रोफेसर डाँगी आफ्नो निरन्तरको अनुसन्धान, लगाव र  परिश्रमको निरन्तरताको रुपमा व्याख्या गर्छन । क्यालिफोर्निया राज्यबाट ‘जेफर्सन साइन्स फेलोसिप’ पाएर यूएसएआइडी र अमेरिकाको विदेश मन्त्रालयमा विशेषज्ञ सल्लाहकार पदमा नियुक्ति पाउन सफल दुई मध्ये एक हुन, डाँगी  । प्रोफेसर डाँगीका अनुसार यो कार्यक्रम अमेरिकाका पूर्व विदेशमन्त्री स्व कोलिन पावेलले आफू मन्त्री भएको बेलामा ल्याएका थिए ।

संसारभर फैलिएको यूएसएडको सल्लाहकार विज्ञको रुपमा उनको काम के हो त ? प्रोफेसर डाँगीका अनुसार मानवीय सहयोगको क्रममा ती सहयोग सामाग्रीहरूबाट उत्पन्न हुने फोहरमैला, त्यसको व्यवस्थापनको बारेमा अध्ययन, अनुसन्धान गरी यूएसएड र अमेरिकी सरकारलाई उचित सल्लाह दिनु नै उनको प्राथमिक काम हो ।

नेपालको दाङ जिल्लाको ढिकपुरमा जन्मी हुर्केका मोहनले दाङको नारायणपुरस्थित श्री सिद्धरत्ननाथ नमुना माविबाट एसएलसीमा उत्कृष्ट नतिजा ल्याएका थिए । डाक्टर बन्ने चाहना बोकेर काठमाडौं छिरेका मोहनले सपना बुन्ने सहर काठमाडौंलाई त्यहीबेला मात्र देखेका थिए । ‘अमृत साइन्स क्याम्पसबाट आर्ईएस्सी सकाएपछि मलाई कता कता फ्रस्टेसन जस्तो लाग्यो,’आफ्नो मनोदशावारे विश्लेषण गर्दैै उनले भने ‘ त्यसपछि अमेरिका पढ्न जाने निर्णय गरेको हुँ ।’ उनी त्यो बेला अमेरिका अध्ययन गर्न आए, जतिबेला पढ्न आउने नेपालीहरूको संख्याा ज्यादै नै न्यून थियो । 

सेन्ट्रल वायोमिङ कलेजबाट फिजिकल साइन्सेसमा एसोसिएट डिग्री लिएपछि उनको शैक्षिक यात्राले बेजोड गति लियो । किनभने उनी त्यो कलेजमा उत्कृष्ट भएका थिए ।  त्यसपछि त अमेरिकामा नाम चलेका  थुप्रै विश्वविद्यालयबाट स्कलरसिपका अफरहरू आउन थाले । तर उनले प्रेसिडेन्सियल स्कलरसिपअन्तर्गत कोलोराडो स्कुल अफ माइन्स चयन गरे र केमिकल इन्जिनियरिङमा मेजर र एसिएन स्टडिज एन्ड इन्टरनेसनल पोलिटिक्समा माइनरसहित स्नातक गरे ।

 ‘नेपालमा जन्मेकोले होला, कोलोराडोको हिमाल र पहाडले मलाई औधी आकर्षण गरेको थियो’ मोहनले कोलोराडो बसाइका अनुभव सुनाउँदै भने ।’  सन २००२ मा कोलोराडो स्कुल अफ माइन्सबाट  उच्च श्रेणीमा ईन्भाइरोमेन्टल साइन्स र इन्जिनियरिङमा मास्टर्स गरेपछि उनले २ वर्षजति केमिकल ईन्जिनियर भएर काम गरे । 

पढाइ र अनुसन्धानमा निकै प्रवीण मोहन जागिर खोज्दै विभिन्न कम्पनीका अफिस अफिसको ढोका ढोकामा आफ्नो रेजुमी वाँड्दै हिँडेको स्मरण सुनाउँदै भने ‘मलाई भौतिक रुपमा उपस्थित भएर नै आफ्नो बायोडाटा दिन जान मन लाग्थ्यो । धेरै कम्पनीहरूमा ढोका ढोमा पुगेर आफ्नो रेजुमी बुझाएँ ।’ 

त्यही क्रममा एकपटक यूएस डिपार्टमेन्ट अफ एनर्जीको नेसनल रिन्योबल एनर्जी ल्याब्रोटोरीबाट उनलाई फोन आयो र भनियो ‘हामी नेपालमा वैकल्पिक ऊर्जा सम्बन्धमा नेपाल सरकारसँग  मिलेर काम गर्न चाहन्छौ, के तिमी हाम्रो तर्फबाट संयोजक भएर काम गर्छौँ?’ मोहनलाई एकछिन त के भनाँै के भनौँ जस्तो भयो ।

आफूले रोजेको विषयमा त्यो पनि आफ्नै देशमा काम गर्न पाइने  अव त्यो खुसीको खबर आफ्नो आमाबुवालाई कहिले सुनाउने ? त्यतिबेला जताततै फोनको सुविधा पनि थिएन । त्यो खवर घरमा पुर्याउन उनलाई हप्तौं लागेको थियो ।  ‘वास्तवमा त्यो मेरो ड्रिम जब थियो’, आफ्नो अनुभव साट्दै उनले भने ‘म त भर्खरको ठिटो, पशुपतिशम्शेर जबरा, सोमप्रसाद उपाध्याय जस्ता दिग्गज राजनीतिज्ञहरू र नेपाल सरकारका सचिवहरूसँग काम गर्ने अवसर पाएँ ।’ यसलाई उनी आफ्नो करिअरको गोल्डन सुरुवातको रुपमा व्याख्या गर्न रुचाउँछन । 

वास्वतमा नेपालमा वैकल्पिक ऊर्जाको पहिलो जग हाल्ने काम त्यही बेलावाट भएको थियो । मोहनको अग्रसरतामा १९९८ मा नेपाल र विश्वका धेरै देशका विज्ञबीचमा एक अन्तर्राट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भयो । त्यही सम्मेलनले नेपालमा वैकल्पिक ऊर्जाको सूत्रपात गरेको मोहन सम्झन्छन् । 

अमेरिकाभरका विश्वविद्यायलका नाम चलेका प्राध्यापक र विद्धानबीचको प्रतिष्पर्धाबाट मोहन डाँगी जेफर्सन साइन्स फेलोसिपका लागि छानिएका थिए । 

सोही समयमा उनको माध्यमबाट  धेरै ग्रान्ट नेपालका शैक्षिक संस्थानहरूले प्राप्त गरे । पुल्चोक ईन्जिनियरिङ क्याम्पसले त तत्कालीन अवस्थामा विदेशी सहयोग मात्र होइन, ८ लाख ८० हजार डलरको ठूलो ग्रान्ट नेपाल सरकारबाट पनि पाएको थियो । त्यसलाई मातृभूमिप्रति आफ्नो कर्तव्यको रुपमा व्याख्या गर्दै मोहन भन्छन् ‘मैले आफ्नो तर्फबाट सकेको जति गरेको थिएँ ।’

मोहनले नेपालको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पुनर्नवीकरणीय उर्जा इन्जिनियरिङमा एमएस कक्षा सञ्चालन गर्न उल्लेख्य भूमिका मात्र खेलेका थिएनन्, पाठ्यक्रम बनाउन पनि निकै योगदान गरेका थिए । नेपाल र अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबीच ८ वटा समझदारीमा हस्ताक्षर गराउन मोहनले गरेको योगदान निकै गर्विलो छ, नेपालको लागि । 

साइन्स डिप्लोम्याटको रुपमा अन्तर्राष्ट्रिय रुपमा ख्याती बन्दै गएको बेलामा मोहनले त्यो लोभलाग्दो जागीर छोड्दा  धैरै साथीभाइ र आफन्तले समेत खल्लो मानेका थिए । नछोड्न सल्लाह दिएका थिए तर उनले त्यसको परवाह नगरी केमिकल इन्जिनियरिङमा अर्काे काम सुरु गरे । उनको विवाह सन् २००४ मा सदिच्छा राणासँग भयो । उनीहरूका एक छोरी र एक छोरा छन् । डा. राणा हाल युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरमा वैज्ञानिकको रुपमा कार्यरत छिन् । 

काठमाडौं आएर काम गर्दा त्यहाँको फोहोर र त्यसमा भएको राजनीतिले मोहनलाई धेरै नै सताएको थियो ।  पछि अमेरिकामा थप अध्ययनको लागि उनी मेरिल्यान्डस्थित जन्स हप्किन्स विश्वविद्यालयमा आबद्द भए र जोग्राफी एन्ड इन्भारोमेन्टल इन्जिनियरिङमा मास्टर्स र पिएचडी पूरा गरे । पर्यावरण र फोहोर व्यवस्थापनमा उनले पिएचडीसँगै विज्ञता हासिल गरेका छन् । उनले प्राप्त गरेको विज्ञतालाई अमेरिकी सरकारले उपयोग गरिरहेको छ । यूएसएआइडडी गर्ने मानवीय सहयोगको क्रममा उत्पन्न हुने फोहरमैला, त्यसको व्यवस्थापनको बारेमा अध्ययन, अनुसन्धान गरी त्यसको थप व्यवस्थापनमा उचित सल्लाह दिनु नै मोहनको प्रमुख कार्य हो । अमेरिकी सरकारले उनको विज्ञतालाई प्रयोगमा ल्याएको छ । 

नेपालको फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ त ? भन्ने प्रश्नमा प्रोफेसर डाँगीले भने नेपालको फोहोर व्यवस्थापनमा खासै समस्या देख्दैनन् बरु नीति निमार्ण र राजनीतिको केन्द्रमा बसेकाहरूमा समस्या देख्छन् । भन्छन् ‘वास्तवमा काठमाडौंको  ७१ प्रतिशत फोहोर अर्गानिक छ यसकारण फोहोर आफैंमा समस्या होइन, समस्या त व्यवस्थापन र नीति निमार्णको कार्यान्वयनमा हो ।’ अमेरिकाको दृष्टान्त दिँदै मोहन भन्छन् ‘यहाँ दुईतीन वटा काउन्टीको एउटा ल्यान्डफिल्ड हुन्छ, उनीहरू मिलेर काम गरिरहेका छन् । नेपालको समस्या मात्र उचित व्यवस्थापन र त्यसको कार्यान्वयन हो ।’

दाङदेखि वासिङटन डीसीसम्मको आफ्नो करिअरको उचाइको पहिलो श्रेय कस्लाई दिन चाहान्छन् त प्रोफेसर मोहन ? उनको सजिलो जवाफ छ, ‘बुबाआमालाई ।’  हुन पनि उनका बुबाले गाउँमा स्कुल खोल्ने र सीमान्तकृतहरूलाई शिक्षाको व्यवस्थापन धेरैअघि देखि नै गर्दै आएका थिए  । सायद यसैको प्रभाव होला, नेपाललाई हब बनाएर उनी केही गर्न चाहन्छन् । भन्छन् ‘मेरो स्थानबाट मैले नेपाललाई मात्र गर भन्न मिल्दैन र म यूएसएआइडी अन्तर्गत हाम्रो कार्यक्रमलाई दक्षिण एसियामा नै विस्तार गरिनुपर्छ भन्ने मान्यतामा विश्वास गर्छु ।’


Author

थप समाचार
x