विचार

प्रवासीको मन-२

डलर र रुपैयाँको रुख फरक भएकाले यतै भासिन बाध्य छौँ

राधिका बिष्ट |
माघ १२, २०७८ बुधबार १४:२२ बजे

अमेरिका धेरैको सपनाको देश । हामी जस्तो तेस्रो विश्वका मानिसकाहरूका लागि अमेरिका एउटा रङ्गीन संसार पनि । सपनाकै दुनियाँमा रमाएर हराउन सकिन्छ, अमेरिकामा । चौबिसै घण्टा जागा रहिरहने अमेरिका आएर सुन्दर भविष्य बनाउन धेरै मानिस तँछाडमछाड गरिरहेकै हुन्छन् । 

संसारकै शक्तिशाली देश अमेरिका पुग्ने लालसा बोकेर बसेका मनहरू र इच्छाहरू यहाँ पुगेपछि फरक लाग्छ । यो बिरानो दुनियाँमा पहिलोे पाइला टेकेपछि आफ्नो थातथोलो चटक्कै भुलेर यतै हराउने बाध्यता हुन्छ । घर–परिवार, आमा बुबा, आफन्तहरू, ईष्टमित्र, साथीभाइ चट्टै छाडेर परदेशमा हराउनुपर्ने बाध्यता हुन्छ । अमेरिकामा नातागोता र आफन्त पनि पराई भइदिन्छन् । छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी जस्तै हुन्छन् आफन्त पनि । 


अमेरिकामा सामाजिक जीवन, पारिवारिक जीवन र व्यक्तिगत जिन्दगी भन्दा काम ठूलो हुन्छ । यहाँ अधिकांश मानिसहरू एउटा हातले टाई बाँध्दै र अर्काे हातले ब्रेड टोक्दै कामतिर कुद्छन् । अमेरिकामा एक मिनेटको पनि महत्व हुन्छ । प्रत्येक घण्टाको श्रमको मूल्य पाइन्छ यहाँ । त्यसैले समयको बेगसँगै अमेरिकाको दिनचर्या बगेको हुन्छ । समय र श्रमको महत्व अमेरिकी जीवनमा ठूलो छ । यहाँ श्रम गर्नेहरू सधैँ व्यस्त र कुदाकुदमै जीवन बिताइरहेका हुन्छन् ।

अमेरिका आउनलाई हामी मरिहत्ते गर्छाैँ । भिजिट भिसा, डिभी भरेर वा लाखौँ खर्चेर महिनौँ जंगलको बाटो हिँडेर वा मेक्सिकोकाे पर्खाल नाघेर अमेरिका छिर्न चाहनेहरू पनि वर्षेनि लर्को लागेर आएकै हुन्छन् । कसैले अमेरिका र चन्द्रमा जाने मौका रोज्दा हामीमध्ये अमेरिका नै छान्छौँ होला ? हामीमध्ये धेरैलाई अमेरिकामा डलर फल्ने रुख हुन्छ भन्ने भान पर्छ । जता पनि डलरका रुखैरुख हुन्छन् र टप्प टिपेर खल्तीमा हाल्ने भन्ने कथ्य सोच्छौँ ।

आइतबारे बिदामा घुम्न गएका तस्बिरहरू फेसबुक, इन्स्टाजस्ता सामाजिक भित्ताहरूमा रंग्याएको देखेर अमेरिकामा स्वर्गीय सुख छ भन्ने मानक नबनाए हुन्छ । यहाँ बाँच्नलाई दश/बाह्र घण्टा उभिएर दैनिक पाखुरी नबजाए मुखमा माड लाग्दैन । साप्ताहिक, पाक्षिक वा मासिक घर भाडा तिर्नलाई पसिना बगाउनै पर्छ । घर र मोटरको ‘मोर्गेज’ तिर्नलाई थप ‘आवर’ पसिना बगाउनुपर्छ । 

काम गरिएन भने केही महिनापछि जोसुकै पनि बाटोमा पुग्न सक्छ । त्यसैले अमेरिका लोकतान्त्रिक र पुँजीवादी देश भए पनि काम भने साम्यवादी शैलीमा गर्नुपर्छ । यहाँ काम जे गरे पनि नेपालको जस्तो लाज हुँदैन र श्रमको सम्मान हुन्छ । श्रम गरेर राज्यलाई मजदूरदेखि मालिकसम्मले कमाइ अनुसारको कर तिर्नुपर्छ । त्यही करले बिमा, स्वास्थ्य उपचार जस्ता राज्यबाट पाउने सामाजिक सुरक्षा हरेक नागरिकले प्राप्त गर्छन् । राज्य भएको अनुभूति यहाँ हरेक नागरिकले महसुस गर्छन् ।

राज्यमा बस्नेहरू जनताको करमा भ्रष्टाचार गरेर मोजमस्ती गर्नुपर्छ भन्ने सोचमा हुँदैनन् नेपालमा जस्तो । काम चोर हुने र छलछाम गर्ने छुट अमेरिकामा हुँदैन । मेरो देश नेपाल रेमिटेन्सबाट चलेको छ । हामी जस्ता युवा जनशक्ति खाडीदेखि, मलेसियासम्म, एसियादेखि अमेरिकासम्म पुगेर श्रम गरेर रेमिटेन्स पठाएर राज्य र नेताहरू पालिएका छन् ।

कामबाट आएपछि साताभरिलाई पुग्ने गरी जोहो गरेको खाना फ्रिजबाट झिकेर खायो अनि सुत्न गयो । फेरि बिहान हुन्छ, उही रुटिन पछ्यायो, मोटरको स्टेरिङमा बस्यो कुद्यो । मेसिनले झैैँ काम गर्ने बानीको विकास हुनुपर्छ अमेरिकामा । काम गर, राज्यलाई कर तिर । राज्यका ऐन, नियम, कानुनलाई पालना गर, अनि मात्रै अमेरिकामा रमाऊँ भन्ने जुनसुकै सरकारको नीति हुन्छ । 

नेपालमा जस्तो अमेरिकामा सयौँ वर्षदेखिको सिस्टम कुनै सनकी शासकले सनक चढेर निमेषमै बिथोल्न सक्दैन । सिस्टमले चलेको सर्वशक्तिमान देश अमेरिकामा श्रम र सीपको सम्मान गरिएको छ । त्यसैले तेस्रो विश्वका लागि मात्रै नभएर विकसित देशका मानिसहरूका लागि अमेरिका एकपटक आउनैपर्ने देश भएको हो । अमेरिका सीप र क्षमता भएकाहरूका लागि उर्बर थलो हो ।

यहाँ सूचना प्रविधिका गुगल, एप्पल, माइक्रोसफ्ट जस्ता जाइन्ट कम्पनीमा काम गर्ने उच्च दक्ष जनशक्तिमा हाम्रै छिमेकी देश भारतीयहरूको संख्या उच्च छ । केही गरी उनीहरूमध्ये केही भारत नै फर्कन चाहे भने राज्यका प्रतिनिधिहरू विमानस्थलसम्म गएर के सेवा सुविधा बढाउनुपर्‍यो भनी आफ्नै देशमा सीप र क्षमतावानलाई रोक्न खोज्छन् । ब्रेन ड्रेन रोक्ने काइदा गज्जबकै छ । 

अमेरिका आएपछि महमा मौरी भुलिएझैँ धेरैजसो भुलिन्छन् । वर्षौंदेखि घरपरिवार, आमाबुबाबाट छुट्टिएर यतै भासिन्छन् । अमेरिका आएर फर्किएका भनेका एक जना कोलम्बस मात्र थिए, अमेरिका पत्ता लगाएर भन्ने कहावत पनि छ । अमेरिकी डलर र नेपाली रुपैयाँ बराबर हुन्थ्यो भने र अमेरिका जस्तै राज्य सिस्टमले चलेको हुन्थ्यो भने हामीमध्ये धेरै आमाबुबा, छोराछोरी, साथीभाइ, ईष्टमित्र, आफ्नै समाजमै रमाएर नेपालमै रमाएर काम गर्दैँ हुन्थ्यौँ ।

डलर र रुपैयाँको रुख धेरै फरक भएर यतै भासिन बाध्य भएका छौँ । अमेरिकालाई ‘मेल्टिङ–पट’ भनिन्छ । तर यो महको भाँडो हो भन्दा फरक नपर्ला । जहाँ अवसरको खोजीमा आएकाहरू उही महको भाँडोमा हराउँछन् र रमाउँछन् । (हाल क्यालिफोर्निया, अमेरिका)

(इकागजले प्रवासी नेपालीका अनुभूति–अनुभव छापिरहेको छ । तपाईं पनि आफ्ना अनुभव अध्ययन लेखी [email protected] इमेलमा पठाउन सक्नुहुन्छ । )

 


Author

थप समाचार
x