विचार

सिनेमा

विदेशी फिल्म वितरणको चक्रव्यूहमा नेपाली फिल्म

नयाँ नीति बनाएर विदेशी फिल्मको प्रवेश रोक्ने कसरी ?

सामीप्यराज तिमल्सेना |
पुस १६, २०७८ शुक्रवार १७:४० बजे

निर्माता अर्जुनकुमार रोकिएको आफ्नो फिल्म ‘चपलीहाइट ३’को प्रदर्शन मिति सार्वजनिक भएसँगै मिडियामा विदेशी फिल्मविरुद्ध आगो ओकलिइरहेका छन् । पुस २ गतेलाई फिल्म प्रदर्शनको मिति सार्वजनिक गरेका अर्जुनकुमारले त्यो मितिमा विदेशी फिल्मकै कारण आफ्नो फिल्म प्रदर्शन गर्न सकेनन् । उनले हलमा प्रदर्शन गर्ने भनेकै दिन ‘स्पाइडरमेन ः नो वे होम’ र तेलगु फिल्म ‘पुष्पा’ रिलिज हुँदै थिए ।  

‘चपलीहाइट ३’का निर्देशक निकेश खड्काले मसँगको भेटमा हलवालाकै आग्रहमा आफूहरूले फिल्म सारेको बताएका थिए । अर्को कुनै मितिमा आए राम्रो सो दिन्छौँ भन्ने वाचा गरेपछि आफूहरू संघारमा रहेको फिल्म सार्न बाध्य भएको निकेशको भनाइ थियो । यसपछि फिल्म सरेर १५ मा पुग्यो । बिहीबार पर्ने यो दिनमा फिल्म रिलिज गर्न निर्माता अर्जुनकुमारले लोभ गर्नुको कारण थियो तमु ल्होसारको सरकारी बिदा ।


तर अर्जुनकुमारले यहाँबाट पनि नभागी सुख पाएनन् । हलवाला र वितरकको संस्था नेपाल चलचित्र संघले दुइटा नेपाली फिल्म एकै हप्ता रिलिज गर्न नपाइने नियमको हवाला लिँदै उनलाई फिल्म सार्न बाध्य पार्यो । फिल्म सरेर अहिले पुस ३० मा पुगेको छ । निर्माता कुमार भन्दैछन्, ‘प्रचार प्रसारका लागि मसँग अब त फोटो पनि बाँकी छैनन् । उनले अहिले प्राविधिकका तस्बिर सार्वजनिक गर्ने धम्की दिइरहेका छन् ।’ 

फिल्म सरेकै रात उनले मलाई एउटा मेसेज पनि पठाए जसमा लेखिएको थियो, ‘चलचित्र संघको आग्रहलाई मानेर फिल्म सारेँ । यसपालि मेरो बाध्यता थियो तर मन अशान्त छ, दुखेको छ । जुन नियममा मलाई बाँधियो त्यो नियम सधैँ लागू होस् ।’

मैले थम्सअ बाहेक अरू केही गर्न सकिनँ । अर्जुनकुमारको मन दुखाउने त्यो दिन आउनुअघि केही घटनाक्रम विकसित भएका थिए जुन यहाँ उल्लेख गर्नेपर्ने हुन्छ ।  सरकारले दोस्रो महामारीका कारण बन्द भएका हल गत भदौ १६ को मन्त्रिपरिषद्को निर्णयानुसार खोल्ने निर्णय गर्यो । यो निर्णय आउनुअघि सिनेमाघर पाँच महिना पूर्णतया ठप्प थिए । महामारीको पहिलो वेग कम भएको समयमा केही समय हल खुलेका थिए तर तिनमा शिव श्रेष्ठबाहेक कुनै पनि नेपाली निर्माताले फिल्म रिलिज गर्ने हिम्मत गर्न सकेका थिएनन् । 

रातारात विदेशी फिल्म रिलिजको सवालमा राखिएको बुँदा हटाएर संघले नेपाली फिल्मलाई रोकेर विदेशी फिल्मलाई मैदान दिने ‘ट्रिकी’बाटो अपनाएको धेरै निर्माताको टिप्पणी छ । यदि माथि भनिएको ४ नं बुँदा रहन्थ्यो भने पनि त्यो लागू हुने सम्भावना न्यून रहन्थ्यो ।

५ महिनापछि यसरी हल खोल्ने निर्णय गरे पनि फिल्म रिलिज गर्न न हल तयार थिए न नेपाली निर्माता । धुलोले छोपेका हल चिटिक्क पार्दै काठमाडौँका केही मल्टिप्लेक्सले ‘फास्ट एन्ड फ्युरियस’ रिलिज गरेर माहोल बनाउने प्रयास गरे । तर हलमा धेरै दर्शकले पाइला टेकेनन् । यसबीचमा विकास बोर्डको पहलमा नेपाली फिल्मको रिलिज क्यालेन्डर बनाउने र थप सुविधासहित नेपाली निर्मातालाई फिल्म रिलिज गर्न लगाउनेसहितका चर्चा सुनिए ।

तर एक महिनासम्म पनि निर्माता संघ र चलचित्र संघले सार्थक प्रस्ताव अगाडि ल्याएनन् । बरु यो बीचमा चलचित्र संघबाट आयो एउटा प्रस्ताव जहाँ असोज २१ देखि लागू हुने  गरी रिलिज हुने फिल्मको सेयर बाँडफाँडमा पहिलो हप्ता ५५/४५ गर्ने र दोस्रो हप्ता ५०/५० गर्ने बुँदा समावेश थियो । 

असोज १० मा चलचित्र संघका महासचिव अशोक शर्माको हस्ताक्षरमा सार्वजनिक यसमा भएको एउटा बुँदा भने निकै क्रान्तिकारी थियो । यसको ४ नम्बरमा लेखिएको बुँदाले भन्थ्यो, ‘नेपाली चलचित्रको प्रदर्शन मिति तोकिएको समयमा विदेशी चलचित्रहरू सोही मितिमा प्रदर्शन गरिने छैन ।’ 

यसको दुई नम्बरको बुँदामा भने अहिले अर्जुनकुमारलाई अप्ठेरो पारेको बुँदा थियो अर्थात् एउटा नेपाली फिल्मले प्रदर्शन मिति तोकेको समयमा अर्को नेपाली फिल्म चलचित्र प्रदर्शन गर्न नपाउने । यो सम्झौता असोज २१ देखि लागू भएर ३ महिनासम्म मान्य हुने पनि विज्ञप्तिमा उल्लेख थियो । 

तर जब अर्जुनकुमारले ‘कठपुतली’ रिलिज हुने अघिल्लो दिन फिल्म रिलिज गर्ने निर्णय सार्वजनिक गरे, पत्रकारले अर्जुनकुमार र चलचित्र संघले आफैँले बनाएको नियम उल्लंघन गरेको आसयका समाचार लेखे । यसको हप्ता दिनपछि चलचित्र संघ तात्यो र अर्जुनकुमारलाई पूर्वप्रकाशित सम्झौताका बुँदा देखाएर फिल्म सार्न बाध्य पारियो । तर यो क्रममा अशोक शर्माकै हस्ताक्षर रहेको अर्को सम्झौता सार्वजनिक भयो जहाँबाट ४ नम्बर बुँदा नै गायब थियो । पत्रकारले यो विषयमा प्रश्न गर्दा न संघ अध्यक्ष मधुसूदन प्रधानले चित्तबुझ्दो जवाफ दिए न अशोक शर्माले । अझ मधुसूदन प्रधानले त आन्तरिक सर्कुलरका लागि पठाएको विज्ञप्ति कसरी पत्रकारको हातमा पुग्यो भनेर प्रतिप्रश्न गरे । 

यहाँ अर्को कुरा पनि उल्लेख्य थियो, निर्माता अर्जुनकुमारले ‘कठपुतली’ रिलिज हुने अघिल्लो दिन फिल्म रिलिज गर्ने निर्णय गर्नुअघि नै निर्माताले चलचित्र संघको निर्णय मान्न छाडिसकेका थिए । दुई हप्ताको ‘विन्डो’ खाली छाड्नुपर्ने संघको नियम पुस ९ मा सार्वजनिक हुने ‘चुरीफुरी’ले उल्लंघन गरिसकेको थियो भने पुस १६ मा प्रदर्शन मिति तोकेर ‘कठपुतली’ले । तर आफैँले बनाएको नियम निर्माताले नमान्दा संघ मौन थियो । 

रातारात विदेशी फिल्म रिलिजको सवालमा राखिएको बुँदा हटाएर संघले नेपाली फिल्मलाई रोकेर विदेशी फिल्मलाई मैदान दिने ‘ट्रिकी’बाटो अपनाएको धेरै निर्माताको टिप्पणी छ । यदि माथि भनिएको ४ नं बुँदा रहन्थ्यो भने पनि त्यो लागू हुने सम्भावना न्यून रहन्थ्यो । तर असोज १० मा संघभित्र विदेशी फिल्मलाई रोक्ने प्रस्ताव कसले लग्यो र अशोक शर्माले कुन बेहोसीमा त्यसलाई सदर गरे, त्यसको अन्तःकथा बाहिर आयो भने चाहिँ रमाइलै हुन्छ । किनकि कुनै समय हिन्दी फिल्मलाई रोक्नुपर्छ भनेर चर्का कुरा गर्ने अशोक शर्मालाई पछिल्लो समय हिन्दी फिल्मकै उत्तिकै पक्षपाती भनेर टिप्पणी गर्ने गरिन्छ । 

यो समग्र प्रकरणले के देखाउँछ भने चलचित्र संघ नेपाली फिल्मको संरक्षणमा भन्दा पनि विदेशी फिल्मको संरक्षणको पक्षमा छ । तर दुःखको कुरा, यो कुनै ताजा कुरा चाहिँ होइन । यसका लागि चलचित्र संघ वा वितरकलाई मात्र दोष दिएर केही हुनेवाला छैन । संघलाई हिन्दी फिल्मको पक्षपोषण गर्नुपर्ने बाध्यता किन छ ? अर्जुनकुमारहरू नेपाली सिनेमा बनाउने निर्माता महामूर्ख हुन् भन्ने निष्कर्षमा कसरी पुग्दैछन् त्यसको जरा खोज्ने बेला आइसकेको छ । 

यसका दुइटा मुख्य कारण छन् । पहिलो, नेपाली सिनेमा गुणात्मक, मौलिक र प्रतिस्पर्धी छैनन् । यसलाई सरल भाषामा भन्दा नेपाली सिनेमा गतिला छैनन् र नेपाली फिल्मका दर्शक पनि यति बिघ्न छैनन् कि चलचित्र संघले विदेशी छाडेर नेपाली फिल्मलाई संरक्षण गर्न जाँगर चलोस् । दोस्रो, हलले घाटाको व्यापार गर्न हलमा खोलेका होइनन् । उनीहरू जुन फिल्म हलमा लगाउँदा दर्शक आउँछन् त्यही फिल्म लगाउँछन् ।  यसमा उनीहरूले नेपाली फिल्मलाई हेला गरेका होइनन्, माया गर्नुपर्ने बहाना नपाएका हुन् । चलचित्र संघ, वितरक वा लिएर नेपाली निर्माता कमसेकम अब चाहिँ ‘कन्फ्युज’ भइरहन पर्दैन । 

भोलि सलमान खान, शाहरुख खानका फिल्म झैँ प्रवास र अल्लु अर्जुनका फिल्मदेखि पनि नेपाली निर्माता पिठ देखाएर भाग्नुपर्ने दिन आउँदै छ । नेपाली निर्माता र नेपाली फिल्मका नीति निर्माताले यो दिन अनुमान गर्न ढिला गर्नुहुँदैन । 

फेसबुकमा वितरक वा चलचित्र संघलाई गाली गरेर यसको निकास निस्कनेवाला छैन । विदेशी फिल्मलाई लिएर वितरक वा हलवाला किन यति ‘पोसेसिभ’ छन् यसको जरा खोज्नुपर्छ । यसका लागि कि त नीति निर्माण गर्ने तहमा रहेका अर्जुनकुमारले ‘बोल्ड’ निर्णय गरेर विदेशी फिल्मलाई अनुपातमा रोक्ने निर्णय ल्याउन सक्नुपर्छ कि ‘चपलीहाइट’लाई ‘स्पाइडरमेन’ वा ‘पुष्पा’भन्दा ठूलो फिल्मका रूपमा स्थापित गर्न सक्नुपर्छ । तत्काललाई दुवै काम ‘सम्झने पानी छम्किने’ मात्र हुन् । 

विदेशी फिल्मप्रति संघ वा व्यक्तिगत रूपमा वितरक (नेपाली वितरकहरू पनि यही संघमा आबद्ध छन्) आसक्त हुने एउटै कारण छ, उनीहरू यसबाट कुस्त कमाउँछन् । त्यो पनि विनारिस्क । यसमा वितरकको तर्क हुनसक्छ, ‘कसरी रिस्क हुन्न ? हामी चाहिँ विदेशी फिल्म ल्याउन पैसा तिर्दैनौँ ? त्यो पैसा उठ्छ नै भन्ने के ग्यारेन्टी हुन्छ ?’ 

लगभग ग्यारेन्टी हुन्छ । अहिले असामान्य परिस्थिति भएको बेलाबेग्लै हो अन्यथा, विदेशी फिल्मका वितरक सितिमिती घाटामा जाँदैनन् । नेपाल आउने धेरैजसो विदेशी फिल्म प्रतिशत सेयर गर्ने सर्तमा आउँछन् भने केही ठूला बजेटका बलिउड मात्र फिक्स रकममा आउँछन् । २ अर्बका विदेशी फिल्ममा १ करोड लगानी गर्नु ठूलो रिक्स होइन जति २ करोडको फिल्म बनाउँदा दुई हजार पनि हातमा नपर्ने रिस्कमा नेपाली निर्माता छन् । भएन जस्तासुकै विदेशी फिल्म पनि हेर्न आउने खास दर्शक छन् जबकि नेपाली फिल्मले तिनै दर्शक शिला खोजेर बस्नु परिरहेको छ । 

विदेशी फिल्मको ढुंगामा तरुल बनेर च्यापिने नेपाल पहिलो देश होइन । विश्वका सबै उद्योग कुनै न कुनै विदेशी फिल्मको चेपमा छन् । तर धेरै देशले विदेशी फिल्मसँग भिड्ने आआफ्नो रणनीति बनाएका छन् । जस्तो कि आफ्नै गतिलो घरेलु बजार भएका चीन र दक्षिण कोरिया जस्ता देशले विदेशी फिल्मलाई कोटा लगाएका छन् भने भारतमा भने नेपालमा झैँ विदेशी फिल्म निर्वाध आउँछन् । भारतमा पनि ‘स्पाइडरमेन’ र तेलगु फिल्म ‘पुष्पा’ले सबबाट वाहवाही पाएको ‘८३’लाई डुबाएपछि विदेशी फिल्मको निर्बाध प्रवेशलाई लिएर बहस सुरु भएको छ । दक्षिण भारतीय फिल्म ‘पान इन्डियन’ रिलिजको नाममा हिन्दी फिल्मको बजारमा घुस्न थालेका छन् जसले केही वर्षमै हिन्दी फिल्मको बजार कब्जामा लिने आँकलन सुरु भएका छन् । 

नेपालमा पनि दक्षिण भारतीय फिल्मले हिन्दी फिल्मले झैँ नेपाली निर्माताको टाउको दुखाउने कुरामा वादविवाद गरिरहन पर्दैन । हिजो ‘बाहुबली’ र ‘केजीएफ’को कमाइ र आज ‘पुष्पा’का दर्शक चमत्कार होइनन् । नेपालीहरूले विगत ८/१० वर्षयता युट्युबमा दक्षिण भारतीय फिल्म हेर्दै आएका छन् । अब तिनलाई नेपाली दर्शकले बलिउडको हिरो हिरोइनभन्दा कम नजिकका ठान्न थालेका छैनन् । भोलि सलमान खान, शाहरुख खानका फिल्म झैँ प्रवास र अल्लु अर्जुनका फिल्मदेखि पनि नेपाली निर्माता पिठ देखाएर भाग्नुपर्ने दिन आउँदै छ । नेपाली निर्माता र नेपाली फिल्मका नीति निर्माताले यो दिन अनुमान गर्न ढिला गर्नुहुँदैन । 

भयावह आगामी दिनलाई नियन्त्रण गर्ने एउटै उपाय छ, नेपाली निर्माता निर्देशकले ज्यादाभन्दा ज्यादा प्रतिस्पर्धी फिल्म बनाउने वा नयाँ नीति बनाएर विदेशी फिल्मको निर्बाध प्रवेश रोक्ने । यदि यी काम नगर्ने हो भने नेपाली फिल्मले झन् कठिन दिनको सामना गर्नुपर्नेमा शंका छैन । 


 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x