विचार

इतिहासको पाठ

कहिलेकाहीँ नासपातीको बोटमा पनि स्याउ फल्छ !

हरिबहादुर थापा |
पुस १०, २०७८ शनिवार ८:१३ बजे

कहिलेकाहीँ हाम्रो भूमिमा अस्वाभाविक शैलीमा विदेशी पात्रहरू बहुचर्चित हुन आइपुग्छन् । तिनको चर्चासँगै आमनागरिकमा तिनीहरूबारे बुझ्‍ने चाहना पलाउँछ । अनि त्यो मुलुक पनि बुझ्‍ने चाहना हुन्छ नै । तिनैमध्ये एक पात्र हुन्, ‘निकोलाई चाउचेस्कु ।’

चाउचेस्कु ३६ वर्षअघि अर्थात् २०४६ सालभर नेपालमा खुब चर्चामा थिए । चाउचेस्कु पूर्वी युरोपेली मुलुक रुमानियाका तानाशाही कम्युनिस्ट राष्ट्रपति थिए । उनलाई तत्कालीन दलविहीन पञ्चायती शासकहरूले नै चर्चाको केन्द्रबिन्दुमा ल्याएका हुन् । ‘प्रजातन्त्रका घोर विरोधी’ उनको एक वाक्यका कारण नेपालमा पनि उनी खुब चर्चामा आइपुगेका हुन् ।


चाउचेस्कुको तानाशाही शासनविरुद्ध रुमानियामा आन्दोलन चलिरहेको थियो । आन्दोलनकारीको माग थियो, रुमानियामा तानाशाही चाउचेस्कु फाल्दै प्रजातन्त्र स्थापना गर्ने । चाउचेस्कु ‘प्रजातन्त्र’ शब्दैसमेत सुन्‍न सक्दैन थिए । अनि आन्दोलनकारी त्रस्त तुल्याउन उनको वाक्य थियो, ‘आन्दोलनबाट प्रजातन्त्र ल्याउनु भनेको नासपातीको बोटमा स्याउ फलाउनु हो ।’ सँगै रुमानियाका आन्दोलनकारीले राष्ट्रपतिलाई व्यंग्य गर्न नासपाती र पीपलको बोटमा स्याउ झुण्ड्याउन पनि बाँकी राखेका थिएनन् ।

अनि हाम्रा पञ्चहरूका निम्ति त्यो वाक्य मन्त्रझैँ बन्यो । रुमानिया आन्दोलन चलिरहँदा नेपालमा पनि जनआन्दोलनको पृष्ठभूमि तयार हुँदै थियो । अर्थात् त्यो समय २०४६ को जनआन्दोलनको पूर्वसन्ध्या थियो । अझ त्यतिखेर कम्युनिस्टविरुद्ध धेरैजसो मुलुकमा माहौल छेडिएको थियो । हामीकहाँ चाहिँ कांग्रेस-कम्युनिस्टको सहकार्यमा आन्दोलनको माहौल सिर्जना हुँदै थियो । 

उता पञ्चहरू आन्दोलन जसरी पनि दबाउन चाहन्थे । तिनीहरू मनोवैज्ञानिक त्रासदीदेखि शासकीय दमनको नीतिसम्म प्रयोग गर्थे । अनि त्यहीकारण ‘प्रजातन्त्र भनेको नासपातीको बोटमा स्याउ फल्नु हो’ भन्‍ने वाक्य नेपालमा खुब प्रयोग गरे । कतिपय पञ्चले चाहिँ ‘पीपलको बोटमा स्याउ फलाउनु हो’ भन्‍न भ्याए । त्यो वाक्य पञ्चहरू खुब रसिलो तवरमा प्रयोग गर्थे । उता पञ्चहरूका त्यस्ता वाक्यांश छाउँदा कांग्रेस नेताहरूको सार्वजनिक चेतावनी हुन्थ्यो, ‘इतिहासको कठघरामा तानाशाही शासकले पनि झुक्नुपर्छ ।’

फल्यो, नासपातीको बोटमा स्याउ 
जब रुमानियामा आन्दोलनले उग्र रूप लिँदै गयो, तब चाउचेस्कुले शासन बच्ने स्थिति देखेनन् । र, आफू बाँच्ने अवस्था पनि देखेनन् । त्यसपछि मुलुक छाड्दै तिनी र श्रीमतीसहित हेलिकोप्टरबाट भाग्न लाग्दै थिए । उनलाई सेनाले पक्राउ गर्‍यो । अर्थात्, उनकै निर्देशनमा चल्ने बफादार सेना अन्तिम समयमा उनैलाई नियन्त्रणमा लियो ।

सैनिकले पक्राउ गरी १९८९ डिसेम्बर २५ अर्थात् २०४६ पुस १० का दिन चाउचेस्कु र उनकी श्रीमतीलाई मृत्युदण्ड दिइयो । अनि उनको शासकीय रजगजमा जोडिएका यावत् सम्पत्ति जफत गरियो । उता रुमानियाबासीलाई चाहिँ सफल आन्दोलनबाट विजयी माहौल र क्रिसमसको उल्लास दुवै अवसर एकै दिन मिल्यो ।

चाउचेस्कु आफू मात्र होइन कि उत्तर कोरिया जसरी नै वंशीय शासन स्थापित गर्न भएभरको शक्ति लगाउँदै थिए । उनकी श्रीमती एलेना शक्तिशाली थिइन् । श्रीमती मात्र होइन कि छोरालाई पनि उत्तराधिकारीकै रूपमा अघि बढाउँदै थिए । हुन पनि चाउचेस्कु पन्ध्र वर्ष निरन्तर कार्यकारी राष्ट्रपति रहे । अझ २४ वर्ष कम्युनिस्ट पार्टीको महासचिव रहँदै शासनलाई आफ्‍नो नियन्त्रणमा राखेका थिए । रुमानिया पनि राजतन्त्रबाट गणतन्त्र हुँदै कम्युनिस्ट शासन पद्धतिबाट गुज्रेको थियो ।

चाउचेस्कु परिवारका अधिकांश सदस्य र आफन्त उच्च सरकारी पदमा आसीन थिए । उनकी श्रीमती एलेना रुमानियामा दोस्रो शक्तिशाली व्यक्तिका रूपमा चिनिन्थिन् । उनी कम्युनिस्ट पार्टी राजनीतिक समितिको प्रमुख र उपप्रधानमन्त्री समेत बनेकी थिइन् । उनी आफू महारानीकै रूपमा प्रस्तुत हुन्थिन् । अधिक शक्तिले एलिनाको स्वभाव उन्मत्त थियो । अनि त्यहीकारण रुमानियावासी नागरिकलाई ‘किरा’ ठान्थिन्, नागरिक होइन । 

एउटा भाइ रक्षा उपमन्त्री र सेना जर्नेल थिए । अर्का भाइ पुलिस प्रमुख र आन्तरिक मामला उपमन्त्री थिए । दाजु-भाइ मात्र होइन, ससुराली खलक पनि टन्‍नै सरकारी ओहोदामा । निकोलाई चाउचेस्कु जसले शक्ति पृथकीकरणका हरेक अंग ध्वस्त मात्र पारेनन् कि तिनको ‘वस्त्रहरण’ नै गरे । अझ उनको निरंकुश शासन सन्दर्भमा प्रश्न उठाउने धेरैको ज्यानै हरण भएको थियो ।

अनि पञ्चका ओठ-मुख सुक्यो
त्यति शक्तिशाली राष्ट्रपति चाउचेस्कुको पतनले विश्व हल्लाउने नै भयो । चाउचेस्कुको पतनको लहरले नेपाललाई पनि छाड्दैन भन्‍ने निष्कर्षमा तिनै पञ्चहरू पनि पुगे । त्यो दृश्यसँगै हाम्रा पञ्चहरूका ओठ-मुख सुक्यो । तिनीहरू पनि मनोवैज्ञानिक रूपमा आत्तिन पुगे । उता चाउचेस्कुको पतनसँगै नेपालमा पञ्चायतविरोधी माहौल बन्दै गयो । आश्चर्यजनक रूपमा चाउचेस्कु शासन पतन भएपछि हाम्रा अनुदारवादी पञ्च शासकहरू र दरबार त्रस्त हुन पुग्यो ।

तानाशाही, भ्रष्ट र खराब शासकलाई नागरिकले जसरी पनि बदला लिन्छन्, फरक यत्ति हो- कुनै बीभत्स रूपले बदला लिन्छन् त कुनै लोकतान्त्रिक शैलीमा ।

नेपाली राजनीतिमा चर्चामा आइपुगेका चाउचेस्कुले पतनपछि अलि उदारवादी भनिएका पञ्चहरू पनि हौसिन पुगे । त्यतिखेर रुमानिया मात्र होइन, पूर्वी युरोपबाट एकाधिकारवादी साम्यवाद ढल्दै थियो । पोल्यान्डमा गैरसाम्यवादीहरू शासनमा आए । हंगेरीले ‘जन’ शब्द हटाउँदै स्वतन्त्र निर्वाचनमा प्रवेश गरिरहेको थियो । पूर्व र पश्चिम छुट्याउने अर्थात् प्रजातन्त्रवाद र साम्यवाद छुट्याउने बर्लिन पर्खाल ढलेको पनि डेढ महिना भइसकेको थियो ।

चाउचेस्कुको नेपाल गाँठो
तिनै चाउचेस्कु श्रीमतीसहित २०४३ चैतमा नेपाल भ्रमणमा आएका थिए, त्यसकारण पनि काठमाडौँवासीका निम्ति नाम नौलो थिएन । तिनको तस्बिर काठमाडौंवासीको आँखामा झल्झल्ती आउने नै भयो । चाउचेस्कु श्रीमती एलेनासहित २०४३ चैत पहिलो साता तीन दिने राजकीय भ्रमणमा आएका थिए । त्यही बेला रुमानियाले नेपालको शान्ति क्षेत्र प्रस्तावमा समर्थन जनाएको थियो । त्यसरी प्रस्तावमा समर्थन जनाएपछि पञ्चायती शासकहरू उनीसँग गदगद हुने नै भए । त्यसले पनि नेपाललाई रुमानियासँग नजिक ल्याएको थियो । 

हुन पनि पञ्चायतकालभरि विदेशी राष्ट्रपतिहरूको भ्रमण खुब हुन्थ्यो । पछिल्लो कालखण्डमा चाहिँ विदेशी राष्ट्रपतिको भ्रमण विरलै हुँदै छ । चाउचेस्कु नेपाल हुनुपूर्व नेपालमा निकै तयारी गरिएको थियो । सहर सफाइ हुने नै भयो । उनको भ्रमणका क्रममा स्वास्थ्यमा कुनै गडबडी देखिए उनलाई रगत चाहिन्थ्यो । 

त्यस निम्ति मानिसको सूची तयार गर्ने र तयारी हालतमा राख्‍ने जिम्मा तत्कालीन प्रशासक खेमराज नेपाललाई प्राप्त भयो । तिनको नाम वीर अस्पतालमा लेखाउनुपथ्र्याे । कुनै कारणले भीआईपी बिरामी परेको या आवश्यक भएको खण्डमा उपस्थित हुनुपर्थ्यो । त्यही प्रयोजन निम्ति रक्तदाता सम्पूर्ण विवरण पहिल्यै संकलन गरिन्थ्यो ।

चाउचेस्कुको रगत ‘ओ नेगेटिभ’ रहेछ । जुन रगतको मेल विरलैसँग मात्र मिल्थ्यो । सूचना जारी गरी खोज्दा जम्मा ८ जना ‘ओ नेगेटिभ’ रगत भएका व्यक्ति फेला पर्‍यो । त्यसमा मन्त्री नरेन्द्रनाथ बाँस्तोलाकी बहिनी पनि थिइन् । चाउचेस्कुलाई स्वागत गर्न राजा वीरेन्द्र त्रिभुवन विमानस्थलमा आफैँ गएका थिए । बाटामा दुवैतिर नेपाल-रुमानियाको झण्डा फहर्‍याइएको थियो ।

रुमानियाका राष्ट्रपतिको पहिलो नेपाल भ्रमण भएका कारण झण्डा नयाँ हुने नै भयो । तर, नेपालको चाहिँ धेरै पटक प्रयोग भइसकेको पुरानो झण्डा थियो । त्यो मधुरो झण्डा देखेपछि राजा वीरेन्द्र असन्तुष्ट हुन पुगे । दरबार फर्किएलगत्तै मन्त्रीहरूलाई बोलाए । र, भने- ‘त्यति पुरानो झण्डा पनि राख्ने हो, तुरुन्त फेर्नू ।’त्यसपछि छ-छ महिनामा नयाँ झण्डा तयार गरी फेर्ने नीति तय भयो । त्यो भ्रमणसँगै वीरेन्द्र र चाउचेस्कुबीच घनिष्ठ सम्बन्ध हुने भयो । उतिखेर वीरेन्द्रको असल मित्रका रूपमा तानाशाही शासक चाउचेस्कुलाई ठानिएको थियो ।

अन्ततः त्यति शक्तिशाली शासकको अन्तिममा त्यो गति हुन पुग्यो । तानाशाही, भ्रष्ट र खराब शासकलाई नागरिकले जसरी पनि बदला लिन्छन्, फरक यत्ति हो कुनै बीभत्स रूपले बदला लिन्छन् त कुनै लोकतान्त्रिक शैलीमा । अनि हरेक शासकको चाहना चाहिँ निकोलाई चाउचेस्कु जसरी नै शासन चलाउने हुन्छ । अनि तिनको शासकीय अन्त्य चाहिँ त्यसरी नै हुन्छ, जसरी तिनीहरू शासन चलाउन उद्यत हुन्छन् । कोही चाउचेस्कु जसरी सकिन्छ भने कोही आत्मआलोचना गर्दै मुलुकभित्र रहन्छन् ।

त्यसकारण शासकीय वृत्तमा आसीन पात्रहरूले बुझ्नुपर्छ, ‘हो, कहिलेकाहीँ नासपाती या पीपलको बोटमा पनि स्याउ फल्छ ।’ जबसम्म साहसी नागरिक हुन्छन्, तबसम्म नसोचिएको परिवर्तन हुन्छ नै ।


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x