विचार

नेपाली कांग्रेसमा कस्तो नेतृत्व चाहिन्छ ?

ज्ञानेन्द्रबहादुर कार्की |
मंसिर १८, २०७८ शनिवार १६:३८ बजे

यतिबेला नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । नेपाली कांग्रेसलाई कस्तो नेपाली कांग्रेस बनाउने भन्नेसम्बन्धमा महाधिवेशनबाट अभिमत जाहेर हुनेछ ।

आम कांग्रेसजनले २०७४ को निर्वाचनलाई समीक्षा गर्दै हरेकले आफ्नो स्थानबाट पार्टीलाई सुदृढ, एकतावद्ध, समावेशी र लोकप्रिय बनाउन भूमिका खेल्नुपर्नेछ । नेपाली कांग्रेस सबैको पार्टी हो, महिला, आदिवासी, जनजाति, मुस्लिम, मधेशीलगायत देशका जुनसुकै भूगोलमा बसोबास गर्नेहरूको यस पार्टीमा आस्था छ । नेपाली कांग्रेस धोती कछाड लगाउने होस् या दौरा सुरुवाल वा बख्खु लगाउने सबैको पार्टी हो । 


हामीले महाधिवेशन गर्दैगर्दा नेपाली कांग्रेसलाई  सबैभन्दा लोकप्रिय र समावेशी पार्टी बनाउनुपर्नेछ । सबै क्षेत्र, जात, भाषा, भूगोलका बासिन्दाले नेपाली कांग्रेस मेरो पार्टी हो भन्ने अपनत्व महशुष गर्नेगरी महाधिवेशन सम्पन्न हुन सकोस् भन्नेमा नेपाली कांग्रेसको नेतृत्व पंक्तिले यथेष्ठ ध्यान दिएको देखिन्छ ।  

नेपाली कांग्रेसका प्रतिनिधिहरू सुझबुझपूर्ण र विवेकी नेतृत्वको पक्षमा छन् । मैले किन पनि २०७४ सालको निर्वाचनको समीक्षा गर्न आग्रह गर्छु भने दुईओटा ठूला कम्युनिष्ट पार्टीहरूको एकताले नेपाली कांग्रेसका लागि कठोर परिस्थिति सिर्जना भयो । २०७४ को निर्वाचनपछि प्रदेशमा, केन्द्रमा र राज्य संयन्त्रका हरेक ठाउँमा कम्युनिष्टहरू आए । त्यो अवस्थामा हामीले एउटा विश्लेषण गरेका थियौं कि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान उल्लंघन गर्दै राज्य संयन्त्र कब्जा गरेर देशलाई तानाशाहीको बाटोमा लिएर जाँदैछन् । 

यही निष्कर्षका आधारमा हामीले अन्य दलहरूसँग सहकार्य गरेर शान्ति, स्थिरता, लोकतन्त्र र संविधानको पक्षमा उभियौं । नेपाली कांग्रेसको सुझबुझपूर्ण नेतृत्वका कारण मुलुक दुर्घटनाबाट जोगियो । नत्र आज फेरि हामी लोकतान्त्रिक व्यवस्थाका लागि पुन आन्दोलनमा जानुपर्ने स्थिति आउन सक्थ्यो !

हामी सबैले गर्व गर्नुपर्छ कि नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्‍व, सुझबुझपूर्ण र अनुभवी राजनीतिक कदका कारण मुलुक अधिनायकवादको बाटोमा प्रवेश गर्नबाट रोकियो । पाँच दलको गठबन्धनले संविधान र पद्धतिलाई जोगाएको छ । आज हामी विधिको शासन, दीगो दीगो सुशासन, लोकतान्त्रिक अधिकार र आर्थिक विकासको बाटोमा मुलुकलाई अघि बढाइरहेका छौं । 

अब नयाँ पुस्ताले राजनीतिक व्यवस्था (पद्धति) को लागि आन्दोलन गर्नु नपरोस् । संविधान र लोकतन्त्रको रक्षाका लागि यतिबेला हामीलाई सशक्त र मजबुत नेपाली कांग्रेस चाहिएको छ । त्यसको आधार भनेको नेपाली कांग्रेसभित्र एकता, सांगठनिक सुदृढीकरण र कांग्रेसका कार्यकर्ताको सुझबुझ नै हो । नेपाली कांग्रेसले मात्र यो देशलाई शान्ति, स्थिरता, लोकतन्त्र र कानुनी शासनमा डोर्‍याउन सक्छ । यसका लागि नेपाली कांग्रेसले लोकतन्त्र पक्षधरशक्तिहरूसँगको एकतासँगै उन्नत लोकतन्त्र अभ्यास तथा मुलुकको  विकास उन्नति र समृद्धिको बाटोमा लिएर निरन्तर अघि बढ्नेछ । 

त्यसकारण कांग्रेसको अधिवेशनका प्रतिनिधिहरू, महाधिवेशन प्रतिनिधिहरूले सुझबुझ अपनाउनुपर्छ भनेको हुँ । आवेगमा आएर, भावनामा बगेर वा आग्रह र पूर्वाग्रहमा लागेर मतदान गरियो भने नेपाली कांग्रेस सुदृढ र बलियो बन्न सक्दैन । नेपाली कांग्रेस सुदृढ होस्, मजबुत होस् भन्ने आम कार्यकर्ताको भावना र आकांक्षालाई प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको काँधमा नै सुदृढ कांग्रेस बनाउने जिम्मेवारी छ । 

लोकतान्त्रिक पार्टीभित्र हरेक संरचनामा नेतृत्व चयनमा स्वस्थ आन्तरिक प्रतिस्पर्धा हुनसक्दछ, त्यसलाई अन्यथा मान्नु हुँदैन । तर प्रतिस्पर्धा अत्यन्त सौहार्द रहोस् । पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धाकै कारण हामीले तिक्तता र विग्रहको भावना राख्यौं भने कांग्रेस कमजोर हुन्छ र कार्यकर्ताको आकांक्षा र भावनाको अपमान हुन्छ । तिक्तता, विग्रह र जिम्मेवारी पन्छाउने कुराले भोलि मुलुकको जिम्मेवारी बोक्नुपर्ने नेपाली कांग्रेस कमजोर हुन्छ । 

नेपाली कांग्रेसका आफ्ना मूलभूत राजनीतिक मूल्य र मान्यताहरू छन् । हाम्रो निश्चित दर्शन छ । देशमा शोषण, गरिबी, अराजकता र भ्रष्टाचारबाट जनतालाई मुक्त गर्न, उनीहरूको स्वतन्त्रता र अधिकारको रक्षाका लागि संघर्ष, बलिदान र उत्सर्ग गरेर मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएका हुन् । यस्ता हरेक आन्दोलनको अगुवाइ नेपाली कांग्रेसले गरेको छ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा ल्याएको संविधानलाई कसरी रक्षा गर्ने, पद्धति र कानुनी शासनलाई रक्षा गर्ने, सुशासनलाई सुदृढ गर्ने भन्नेतर्फ हामी प्रतिवद्ध छौं । संविधान जीवन्त दस्तावेज हो, यसमा संशोधनका गुञ्जायस सधैं रहन्छ । यसमा आवश्यक परिवर्तन गर्नुपर्छ भने पनि गरेर आन्तरिक एकतालाई मजबुत बनाउनुपर्छ, संविधान मास्‍नतर्फ लाग्ने होइन । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही गम्भीर गल्ती भएको हो । 

नेपाली कांग्रेसमा परिपक्व नेतृत्वले मात्र यस पार्टीका संस्थापकहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर तथा गिरिजाप्रसाद कोइराला लगायतको सपना पूरा गर्न सक्छ । आश्वासनरूपी कर्णप्रिय भाषण गरेरमात्र विकास हुनसक्दैन, न त संगठन नै हुन्छ । त्यसकारण अब नेपाली कांग्रेसले अघि सारेको आर्थिक रूपान्तरण, आम नेपाली जनताको समृद्धिको एजेण्डालाई मूर्त रूप दिन सामर्थ्यवान, अनुभवी र शासनसत्ता सम्हालेको नेतृत्वको आवश्यकता छ । नेपाली कांग्रेसलाई अहिले इतिहासले दिएको यो जिम्मेवारीलाई मनन गर्दै देशलाई आर्थिक समृद्धि र रूपान्तरणको कोर्समा अघि बढाउनसक्ने नेतृत्व चयन गर्नुपर्छ । 

नेपाली कांग्रेसलाई त्यस्तो सभापति चाहिएको छ, जसले सबैलाई समेट्न सकोस् । मुलुकमा स्वदेशी लगानीकर्तालाई प्रोत्साहीत अनि बाह्य लगानी आकर्षित गर्न सकोस् र सबै नेपालीलाई धनी बनाउने कार्यको नेतृत्व गरोस् । गाउँ–ठाउँमा हाम्रो संगठन बलियो बनाउँदै स्थानीय, प्रदेश र संघमा नेपाली कांग्रेसलाई विजय गराउनेगरी हामी अघि बढौं । 

अहिले नेपाली कांग्रेसको सभापतिलाई देशले नेता स्वीकार गरेको छ, पाँच दलीय गठबन्धनले नेता मानेको छ । यी सबै पृष्ठभूमिलाई ध्यानमा राखेर हामीले आगामी महाधिवेशनमा सुझबुझपूर्ण र विवेकपूर्ण छनौट गरौं र नेपाली कांग्रेसको नेतृत्वमा मुलुकलाई समृद्ध बनाउने कार्यको नेतृत्व नेपाली कांग्रेसले गरोस् । 

नेपाली कांग्रेस तीन पुस्ताको पार्टी हो । तीनै पुस्ताको भावनालाई संयोजन गरेर पार्टीलाई अघि बढाउने नेतृत्व नेपाली कांग्रेसलाई आवश्यक छ । सतही, एकांकी कुरा गरेर, कर्णप्रिय भाषण गरेरमात्र संगठन निर्माण हुँदैन; १४औं महाधिवेशनबाट सबैभन्दा लोकप्रिय र सबैको पार्टी बनाउन संगठन निर्माणमा लाग्‍नुपर्छ । 

हाम्रो मुलुकको आर्थिक विकासका लागि धेरै सम्भावना छन्, अथाह प्राकृतिक स्रोतसाधन छन् र तिनको उपयोगका लागि राम्रा नीतिहरू पनि छन् । जलविद्युत्, कृषि र पर्यटन विकासको माध्यमबाट आगामी दशवर्षभित्र समृद्ध मुलुक बनाउने नेतृत्व नेपाली कांग्रेसले लिनेछ । भावी पुस्तालाई मलेसिया, युएई र कतार जानुपर्ने बाध्यता अन्त्य गरेर अबको पुस्तालाई समृद्ध बनाउने कार्यको नेतृत्व नेपाली कांग्रेसले लिएको छ । 

अन्त्यमा म एउटा प्रसङ्ग उल्लेख गर्न चाहान्छु– २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउनुभएपछि राजा वीरेन्द्रले बोलाएर दरबारमा भेट्न जानुभयो । बीपी दरबारबाट फर्केपछि गणेशमानजीले सोध्नुभएछ, ‘राजाले तिमी भने कि तपाईं ?’ 

बीपीले भन्नुभएछ, ‘म केवल मलाई होइन, डेढ करोड नेपालीलाई तपाईं भनाउन गएको हुँ ।’

त्यस्तै, नेपाली कांग्रेसले यतिबेला तीन करोड नेपालीको समृद्धि चाहेको छ । जनतालाई समृद्ध बनाएर मात्र राजनीतिक अधिकारप्रति जागरुक बनाउन सकिन्छ र राजनीतिक व्यवस्थाको स्थायित्व रहन्छ भन्ने मान्यता नेपाली कांग्रेसले राख्दै आएको छ । 
(मन्त्री कार्कीद्वारा विराटनगरमा प्रदेश १ को अधिवेशनमा व्यक्त विचार) 
 


Author

ज्ञानेन्द्रबहादुर कार्की

कार्की सञ्‍चार तथा सूचना प्रविधि मन्त्री हुन् ।


थप समाचार
x