विचार

बदरी दाइको समाजवादी स्वप्‍न, ‘भजन गाउँदै लिस्नो चढ्दै’

राजाराम बर्तौला |
मंसिर १८, २०७८ १६:५ बजे

‘१. किसान मजदुर र सिमान्तकृत वर्गका पेसागत औजारहरूले सिंगार्ने छन्,
२. विशाल प्रवेशद्वारहरूको भव्यतालाई  धानका बाला, उखु र मकैका जमराहरूले सजाइने छन्,
३. सांकेतिक रूपमा शिल्पकारहरूका कला र संस्कृति झल्कने भित्ते पोष्टरहरूले सम्मेलनस्थललाई झकिझकाउ गरी सजाइने छन्, 
४.     किसान मजदुरहरूको सहभागितालाई प्राथमिकता दिईनछ,
५. सम्मेलनमा भाग लिन आउने अतिथि तथा प्रतिनिधिहरूले आफ्नै देशमा उत्पादित वस्तुहरूवाट निर्मित खादी कपडा तथा मौसम र भूगोलअनुसारको वातावरण   अनुकुल भेषभुषालाई प्रवर्द्धन गर्नेछन्, 
६.     किशोर किशोरीहरू नेपाली परिधानमा सजिने छन् र
७.     समष्ठिमा सम्मेलनस्थलले राष्ट्रियताको सन्देश प्रवाहित गर्नेछ, भन्ने मेरो विश्वास र सारा सपना धुलिसात भए ।’

यी माथिका शव्दहरू मैले बनाएर लेखेको होइन । यो एउटा विश्वासीको उद्गार हो । त्यो विश्वासी जो गीता बाइवल भन्दा कम्युनिस्ट मेनिफेस्टोमा विश्वास राख्दछ । एउटा धार्मिक गुरुले त्यति गीता पाठ गर्दैन होला, जति यी बदरीदाइ कम्युनिस्ट मेनिफेस्टो पढ्छन् । खाँट्टी कम्युनिस्ट जन्मले भन्दा पनि हावापानीले । त्यसैले सधैँका यी सर्वहाराको बोलीलाई कतै केरमेट नगरी जस्ताको तस्तै उद्धरण गरेको हुँ । 


बदरीदाइले यी माथिका प्रसङ्ग नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चितौनको भरतपुरमा भइरहेको दसौँ अधिवेशनको उद्घाटन समारोहको लागि नारायणी किनारमा पैंतालिस लाखको लागतमा निर्माण गरिएको भनिएको मञ्चको साजसज्जा, भव्यता र विशालताप्रति लक्षित गर्दै व्यक्त गरेका हुन् । त्यसैगरी समारोहस्थलमा आउने अतिथि तथा प्रतिनिधिहरूको स्वागतको लागि ठाउँठाउँमा निर्माण गरिएको स्वागतद्वारको दृष्यलाई लिएर व्यक्त गरिएका विचारहरू पनि हुन् । 

दसौँ अधिवेशन उद्घाटन समारोहको लागि नारायणी किनारमा निर्माण गरिएको मञ्च वास्तवमा नै अति भव्य, सुन्दर र दर्शनीय थियो । यो मञ्च नदी किनारको बालुवामाथि बनेको भए पनि यसमाथि बसेर भाषण गर्ने मुलुकका शीर्ष नेताका पाउले बालुवाका कणलाई स्पर्श गर्न परेन । उद्घाटन समारोह अवलोकनको लागि तथा ताली पिट्नको लागि ल्याइने र आफै रमिता हेर्न आउने हजारौं हजार मानिसहरूको भिडमा मिसिएर मानव सागरमा डुबुल्की लगाएर मोक्षको कामना गर्नु संस्कारजन्य परम्परा नै हो हामी नेपालीहरूको । केही माथि त्रिवेणीधाम देवघाट भएको र यहाँ पनि देवाधिदेवहरूको नै समागम हुने भएकोले तीर्थ बराबर नै छ । काली र सेती गण्डकीको पवित्र जलप्रवाहले युक्त नारायणी नदी तटमा बसेर जलाभिषेक गर्नु मोक्ष पाउने कुरा हो । धर्मलाई अफिमको नसा सम्झने जडसूत्रवादी नेतागण तथा तिनीहरूका कार्यकर्ता तथा प्रशंसकहरू समेतले बाह्रबाह्र वर्षमा लाग्ने कुम्भ मेला जस्तै नारायणीमा लाग्ने माघे संक्रान्तीको मेलाको पवित्रताभन्दा कम हुने भएन । यहाँको महास्नानवाट कयौं नेताहरू नयाँ अवतारमा देखिने छन् भने कयौं नेताहरू आफ्नो महत्वाकांक्षालाई नारायणीमा विसर्जन गर्दै गृहप्रस्थान गर्नेछन् । ‘विधिको विधान यही छ भने, ललाटमा लेखेर मात्र नहुने रैछ’ भन्दै पुर्पुरोमा हात राखेर प्रायश्चित गर्नेछन् ।  

यी सबै विषयहरूवाट निर्विकार, निवृत्त र निरपेक्ष हुन् बदरीदाइ । हुनत जन्मजात कम्युनिस्ट, घामपानी, झरी, बतासले पनि हल्लाउन नसकेको जर्जर शरीर लिएर पनि विचारमा दृढ ठाडो उभिएका हुन् लामो कालसम्म । उभिँदै छन्,अझै पनि । तर धरमर देखिन्छ, हतार देखिन्छ, काँपेको र थरथराएको देखिन्छ । विगतको मूल्याँकन सायद ठीक भएन । हिसाब किताबमा राखेको फर्मुला मिलेन यिनको । बिरासतमा पाउने एकांगी भोग भो जिन्दगी । विचारको धनी भए पनि सम्पतीको सुकुम्वासी हुन यिनी । सुकुम्वासीको कुरा कस्ले सुन्ने ?त्यसैले यिनी बानेश्वरका फुटपाथे नेता हुन् लखर लखर हिँड्ने । नेताहरूको ढोलकको तालमा नाचेका भए यी दाइ पनि अहिले ल्यान्डक्रुजर चढेर नारायणी किनारको सभास्थलमा सहभागी हुन् भरतपुरको कुनै पाँचतारे होटलमा बसेर भुजा ज्यूनार गरिरहेका हुनेथिए । 

नारायणी तिरमा संगीतमय वातावरणमा कसैको देवत्वकरण भइरहेको नाद ध्वनी यिनी काठमाडौँमा नै बसेर सुनिरहेका छन् । उता भिषण भाषण चलिरहँदा यी दाइ भने बानेश्वरको फुटपाथमा लखरलखर हिँड्दै रहेछन् । बाटोमा कम्युनिस्ट नेता र कवि देख्यो भने सकेसम्म छलेर हिँड्नु भन्छन् । छल्दाछल्दै पनि यिनीले च्याप्प समातिहाले र भने, ‘कता हो लुखुरलुखुर?’ ‘कता हुनु नि, नेताहरू जति सवै चितवन गएका छन् रे सडक कतिको खालि छ भनेर हेर्न निक्लेको नि,’ मेरो जवाफ थियो । ‘ए, त्यसो पो । यसो चिया खाँदै गफ गरौं न,’ थपी त हाले । ‘हुन्छ, किन चिया नि स्या नै बजाउँला नि हुन्न?’ स्याको कुरा सुनेपछि नेताजीको आँखा पनि चम्किला भए । ‘यतै कतै अलि राम्रो ठाउँमा पसांै न, केही गफ पनि गर्नु छ,’ बदरीदाइले भने । ‘लौ जता गएपनि के भो र सर्वहारा त भइहाले’ मनमनै भनेँ । 

बानेश्वरको एउटा ठीकैको क्याफे छिरियो । अलि पहिला भएको भए त पुतलीसडकको पुस्करको सेकुवाघर जाउँ भन्थे होलान् । आजकाल सहरमा सेकुवाघरको ठाउँ नयाँनयाँ क्याफेहरूले लिँदै गएका छन् । अनि पारखीहरूको लागि विभिन्न स्वदेशी एवम् विदेशी परिकारहरूले पनि स्थान जमाएका छन् । 
के मगाउँ दाइँ, भोड्का, ओल्ड दरबार, रोयल स्ट्याग, या रम?

‘यो नेपाली रक्सी चाहिँ खाँदा पानी खाएको जस्तो, भोलिपल्ट टाउको दुखेर हैरान पार्छ क्या भाइ । पानी कै स्वाद लिने भएपछि त त्यो स्कटल्यान्डको पानी चाहिँ दामी छ के । त्यसै गरौं न हुँदैन । बरु थोरै लिउँला ।’

कुरा बुझ्नु न हो । ‘यी दाइले आज डुबाउने भए’ मनमनै भनियो । 
बोतलको बिर्को खुलेसँगै विचारको धारा पनि खुल्छ भन्छन् पिउनेहरूको । दाइले कुरा सरु गरे, ‘अव हामी साम्यवादीहरू सादा जीवन उच्चविचार राख्न पर्छ भन्ने मान्यता राख्ने मानिस हौं क्या भाइ । तर हाम्रो मुहान नै बिग्रियो’ उनले चिन्ताको पोको फुकाए । 
के भयो र दाइ त्यस्तो ?

‘के भएन भनन । खल्तिबाट एउटा चिर्केटो झिकेर देखाउँदै भने, ‘यो सहभागीहरूको लागि खानाको कुपन (मटन खाना (एक बोतल बियर र सुकुटी । एकजनाको लागि दैनिक तीनहजारको हिसाब आउने देखियो । पाँचलाख मानिस सहभागी हुने भएपछि बेहिसाब खर्च हुने भएन ?’ साम्यवादी दलको यो चाला देखेर म त छक्क परें । यी पूँजीवादी भासमा नराम्ररी भासिए भाइ, अब उठ्न सक्दैनन् । बदरीदाइको  निष्कर्ष थियो ।    

एमाले जुन भासमा भासिए पनि हामीहरू चाहिँ स्कचको भासमा डुब्दै थियौं । ‘दाइ चितवन किन नगएको,’ मैले सोधेँ । ‘खर्चबर्च नभएर ।’ ‘के अव जिन्दगी यस्तै चलाउने दाइ?’ मैले सोधें । उनको जवाफ थियो, ‘होइन, अब भजन गाउँदै लिस्नो चढ्ने, सगरमाथा कति नै माथि छ र ?’   

बाँसवारी
काठमाडौँ



Author

थप समाचार