विचार

ताप्केको तेल र सोलीको सेल

राजाराम बर्तौला |
कात्तिक २८, २०७८ ८:५६ बजे

यो सेल अंग्रेजी सेल होइन, न त कालकोठरी जनाउने जेलको सेल हो । यो राजनीतिक दलहरूले भन्ने गरेको जस्तो राजनीतिक सेल पनि होइन । ब्याट्रीको सेल त होइन नै, फेरि हाते टेलिफोनलाई जनाउने सेलफोन पनि होइन । यो त झर्रो नेपाली शब्दकोशको रोटीको परिकारलाई जनाउने शब्द ‘सेल’ हो । यो त ताप्केमा तातेको घिउ वा तेलमा हातबाट पिठोको लेदोलाई झार्दै फनक्क घुमाएर बनाउने एकप्रकारको स्वादिष्ट व्यञ्जन वा गुणकारी गुलियो परिकार हो । 

यो सेलरोटी नेपालीहरूको सांस्कृतिक पक्षको एउटा अविभाज्य अंग हो । नेपालीहरूले मनाउने चाडबाड, पूजापाठ, यज्ञ, होम, शुभ मांगलिक कार्य होस् वा अन्य विशिष्ट कार्य होस् सेलरोटी बनाएर प्रसादको रूपमा चढाउनु वा सामाजिक कार्य सम्पन्न गर्नु एउटा अनिवार्य आवश्यकता हो, रीति हो । परम्परादेखि चल्दै आएको र पिंढी दरपिंढी अघिल्लो पुस्ताले सीप हस्तान्तरण गर्दै आएको यो विशिष्ट पाककला सांस्कृतिक धरोहर पनि हो । 


खाँदा त मीठो छ नै, पौष्टिक र बलवर्धक पनि छ । सबैभन्दा बलियो पक्ष त यसले धार्मिक अनुष्ठानहरूमा प्राप्त गरेको विशिष्ट स्थान पनि हो । कुनै पनि धार्मिक अनुष्ठान गर्दा घरमा सेलरोटी पकाउँदाको घिउको बास्ना आउनु पर्दछ भन्ने मान्यता रहेको छ । सेलरोटी देवकार्यका लागि त भयो नै पितृकार्यमा समेत प्रसादका रूपमा चढाउनु पर्दछ भनिन्छ । कुलपूजा गर्दा होस्, वा दसैं–तिहार, अथवा श्राद्ध आदि कार्य गर्दा अनिवार्यरूपमा सेल रोटी पकाइएको हुन्छ । 

यसो हेर्दा सेलरोटी पहाडी उच्च आर्य जातिको मात्र सांस्कृतिक धरोहर हो कि भन्ने भ्रम पर्न सक्दछ । तर यो यति विशाल छ कि सेलरोटी कुनै एउटा जातिविशेषको मात्र धरोहर होइन । यो त राष्ट्रिय पहिचान र सांस्कृतिक धरोहर हो । यद्यपि, सेलरोटी मध्यपहाडी क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म सबै जातजाति, भाषाभाषी, जनजाति, आदिवासी सबैको आफ्नै खाद्यान्न परिकार हो । सेलरोटी नपाक्ने घरै हुँदैन भन्दा अलि बढी होला । तर अधिकांश नेपालीहरूको घरमा सेलराटी पाक्छ । तसर्थ साझा परिकार हो यो नेपालीहरूको । उच्च हिमाली र तराईको केही भागमा भने यसलाई त्यति महत्व दिइएको देखिँदैन । तर मध्यपहाडमा भने यो व्यापक छ । 

भर्खरै तिहार सकिएको छ । देउसी भैलेलाई दक्षिणा दिँदा नाङ्लामा बत्ती बालेर, धान, चामल, मकैमध्ये कुनै एक र द्रव्यको अतिरिक्त घरमा पकाइएको सेलरोटीसहित सयपत्री फूलमाला दिएको बिर्सिएको छैनौ होला हामीले सायद । देउसी, भैलीले ‘झिलिमिली झिल्ला सेलरोटी मिल्ला’ भनेर भट्याएको पनि भुलेका छैनौँ होला । सेलरोटीसँग जनजिब्रो यसरी लट्ठिएको छ कि चाडबाड आयो कि सेलरोटीको झझल्को आइहाल्दछ हामीलाई । अर्थात् चाडबाडको पर्याय हो सेलरोटी ।  

तिहारको रौनक त बाँकी नै होला । त्यसै गरी भर्खरै छठ पनि सकिएको छ । सेलरोटी नचढाए भगवान् त खुसी हुँदैनन्, तिहारमा भाइहरू कसरी खुसी हुनु ! तिहारको टिकामा दिदीबहिनीहरूले दिएको भाइमसलासँगै सेलरोटी र अनरसा खाएर सकिएको छैन होला । बाँकी सेलरोटी फ्रिज हुनेको फ्रिजमा नहुनेको दराजमा थन्किएर बसेको होला । तिहारमा ‘सेल’ र छठमा ‘ठेकुवा’ भएन भने त पर्वको मजा नै रहँदैन । तसर्थ अहिले हामीको घरमा सेलरोटी र ठेकुवा बासी भएर बसेको छ । यो त फेरि जति बासी भयो त्यति मीठो हुन्छ । तताउँदै खाँदै । सेल र खीर जति बासी त्यति मीठो भन्दछन् पारखीहरू । शुद्ध घिउमा बनाइएको सेल र ठेकुवा जति दिनपछि खाए पनि बिग्रँदैन । 

भिजाइएको चामलदानालाई ढिकीमा कुटेर वा पिँधेर पिठो बनाएपछि त्यसलाई शुद्ध घिउको दाउन र सखर या चिनीसहित पानीमा मुछेर लस्सादार बनाइन्छ । यसरी तयार गरेको लस्सादार चामलको पिठोलाई ताप्केमा तातेको तेल वा घिउमा फनक्क घुमाएर गोलाकार बनाउँदै हालेपछि सेलरोटी पाक्छ । अलिअलि काँडा उम्रेको र सलक्क बान्की मिलेको सेलरोटीलाई राम्रो मानिन्छ । शुद्ध घिउमा बनाएको रोटी धेरै दिनसम्म सुरक्षित राखेर खान सकिन्छ । भनौं झनै स्वादिष्ट हुन्छ । 

सेलरोटीको कुरा गर्दा आफ्नै अतीत पनि वर्तमान वनेर अगाडि आउँदो रहेछ । तिहारको टिका लगाइसकेपछि सेलरोटी र अनरसाको छुट्टै पोको बनाएर पठाउँथे बहिनीहरू । काठमाडौँको चिसोमा महिना दिनसम्म पनि तताउँदै खान कम्ता मज्जा आउँथेन । मेरोजस्तै कथा अरुहरूको पनि त होला नि सम्झनाका पत्रहरूमा जमेका । धेरैका स्मृतिका चिसो बासी रोटी तताएर खाएको सम्झना ताजै होला । 

छठको ठेकुवा पनि त्यस्तै हो । तराईमा मूलतः पूर्वीतराई मिथिलाञ्चलमा मनाइने छठ पर्वमा ‘ठेकुवा’ अनिवार्य परिकार हो । तराईवाट छठ मनाएर फर्किएका काठमाडौँवासीहरूले फ्रिजमा राखिएको यो पकवानको स्वाद लिंदै गरेका होलान्, जसरी पहाडियाहरूले सेलरोटी । 

सेलरोटी होस् या ठेकुवा यिनीहरूको आफ्नै सांस्कृतिक पक्ष पनि छ । सामाजिक व्यवहारमा पनि सेलरोटीको विशिष्टस्थान रहेको छ । चेलिबेटीलाई बिहेदान गरेर पठाएपछि माइतीघर आएर आफ्नो घर फिर्ता जाँदा ‘खाजा’ पठाउने चलन छ । यो चलन भने बाध्यताको उपज हो कि जस्तो लाग्दछ । बुहारीलाई भनेकोजस्तो खानपिन नहुने, बुहार्तनको पीडा पनि हुने हुँदा माइती आएका बखत केही महिनाका लागि खाजा खान पुग्ने गरी खाद्य सामग्री पठाउनु माइती पक्षको बाध्यता हो । परम्परागत रूपमा बुहारीलाई घर गरी खान धेरै कठिन थियो । अहिले त परम्पराको बिँडो थाम्ने धेरै छन् भने आजभन्दा अगाडिको समाजले यस्तै कठिनाइ भोग्नुको यथार्थ नकार्न सकिन्न । माइतबाट घर फर्कने छोरीलाई सक्ने मातापिताले आफ्नो गच्छेअनुसार सेलरोटी, कसार, अनरसा, झर, चिउरा, सख्खरलाई सोलीभरि हालेर भरिया लगाएर पठाउने चलन थियो । जनजातिहरूमा त चेलीलाई अनिवार्यरूपमा सोलीभरि सेलरोटी, सुकुटी आदि पठाउने चलन अद्यापि छँदै छ । 

म बढेर हुर्किसक्दा पनि मेरी आमालाई मामाघरको हजुर आमाले सोलीभरि सेलरोटी र अन्य खाद्य परिकार पठाएको सम्झना तातै छ । आमालाई पठाएको खाजा राख्नका लागि मामाघरबाट एउटा छुट्टै काठमा सन्दुक पनि दिएर पठाउनुभएको थियो । पछिसम्म पनि त्यो हाम्रो घरको शोभा भएर बसेको थियो । पछि त्यो पनि बूढो भएर आफैँ नासिएर गयो । 

मेरी आमा सेलरोटी पकाउन सिपालु हुनुहुन्थ्यो । जस्तो सबैलाई आफ्नी आमाको सीपमा गर्व लाग्दछ त्यस्तै मलाई पनि लाग्दछ । उहाँलाई गाउँघरमा आइपर्ने चाडपर्व, विशेषअवसर आदिमा सेलरोटी पकाइदिन अनुरोध आउँथ्यो । आमाले पकाएको सेलरोटीको स्वाद नै विशिष्ट हुन्थ्यो । सलक्क परेको, अलिअलि काँडा उम्रेको सेलरोटी देख्दै स्वाद बढाउने खालको हुन्थ्यो । सेलरोटीको पाककला मात्र होइन कि नौनीबाट घिउ बनाउने कलामा पनि मेरी आमा विशिष्ट हुनुहुन्थ्यो । कनिकादाना परेको दानादार सेतो घिउको डल्लो खान पनि उत्तिकै मजा आउने । यस्तो दानादार शुद्ध घिउमा बनाएको सेलरोटी म तिहार सकिएको महिना दिनपछि पनि सेक्दै खाँदै गर्थे । 

तिहार सकिएको र सेलरोटीको बास्ना ताजै रहेको यो समयमा गाउँघरको तरेली परेको बाटोहरूमा लरकनै हिँड्ने चेलीबेटीहरू र तिनीहरूले आफ्नो दाजुभाइका लागि बनाएर सोलीभरि भरेर ल्याएको सेलरोटी र अनरसाको हरहर वासना र स्वादको सम्झना यस आलेखमा पोखिएको हो । सेलरोटी हाम्रो सांस्कृतिक पहिचान र राष्ट्रिय व्यञ्जन भएकाले यसको संरक्षण र प्रवद्र्धन गरिनु पर्दछ ।



Author

थप समाचार
ad
x