विचार

टिप्पणी

ग्लास्गो सम्मेलन: देउवाको 'बडील्यांग्वेज'ले प्रवाह गरेको सन्देश

चन्द्रशेखर अधिकारी |
कात्तिक २१, २०७८ १९:२५ बजे

संसद्‍मा प्रमुख प्रतिपक्षीको भूमिकामा समेत 'खरो उत्रन नसकेका' नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनपेक्षित रूपमा प्रधानमन्त्री बने । केपी शर्मा ओली नेतृत्वको सरकार कानुनतः अपदस्थ भएपछि देउवालाई एकाएक प्रधानमन्त्री बन्‍ने अवसर मिल्‍यो । ओलीका झुटा आश्‍वासन र चर्का गफका कारण निराश नागरिकको देउवासँग पनि उल्लेख्य अपेक्षा थिएन । 

‘देउवाले उल्लेख्य केही गर्न नसके पनि गलत चाहिँ नगरुन्’ भन्‍ने मात्रै अपेक्षा थियो । ओलीले ‘ड्यामेज’ गरेका काम मात्र देउवाले उल्टाइदिए मात्रै पनि उखुमै गरेको मानिने अवस्था थियो । नागरिकस्तरबाट ‘अन्डरइस्टिमेटेड’ देउवा यही छविका साथ ग्लास्गो पुगे। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप-२६)मा भाग लिन स्कटिस राजधानी पुगेका देउवाले त्यहाँ अन्तर्राष्ट्रिय नेतृत्वसँग भेटवार्ता गरे ।


कुनै पनि मुलुकको सरकार प्रमुखका हैसियतमा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा पुग्दा शक्ति मुलुकका प्रमुखसँग भेट गर्न सजिलो हुँदैन, त्यो पनि नेपाल जस्तो मुलुकका सरकार प्रमुखले । तर प्रधानमन्त्री देउवा शक्ति राष्ट्रका प्रमुखसँग  भेट्न मात्र सफल भएनन् उनले देशका केही एजेन्डा पनि राख्‍न सफल भए ।  विदेशी नेताहरूसँग देउवाले जुन किसिमको हाउभाउ र आत्मविश्‍वासका साथ कुरा गरे, यसले परराष्ट्र मन्त्रालयका अधिकारीसमेत चकित परे । परराष्ट्रका अधिकारीलाई कूटनीतिक च्यानलमार्फत साइडलाइन भेटवार्ता मिलाउन हम्मे हम्मे परिरहेको बेला देउवा आफैँले समय मिलाएका थिए ।

क्रिकेटको भाषामा भन्दा, व्याट्सम्यानले पाएको फ्रि हिट जस्तै । यो फ्रि हिट यसै खेर फाल्ने कि छक्का प्रहार गर्ने, यो ब्याट्सम्यानको प्रतिभा र अक्कलमा भर पर्छ । अर्थात अहिलेको परिस्थतिलाई आफू अनुकुल प्रयोग गरी आफ्नो पोजिसनलाई थप मजबुत बनाउने मौका देउवाका अगाडि छ ।

औपचारिक रिसेप्सन दौरान नै देउवाले शक्ति मुलुकका नेताहरूसँग लामो गफ गर्न सके । त्यही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेतासँग अनौपचारिक छुट्टै वार्ताका लागि समय मिलाए । सम्मेलनस्थलमा देउवाले अन्य नेतासँग वार्ताका लागि समय मिलाउँथे र औपचारिकता लागि परराष्ट्र अधिकारीलाई जानकारी दिन्थे ।

कहिलेकाहीँ यस्‍ता सम्मेलन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र मजबुत गर्ने मौका बन्‍न पुग्छन् । देउवाले यो तथ्यलाई ख्याल गरेको देखियो । यसको उदाहरण हो, बेलायती राजपरिवार र अमेरिकी राष्ट्रपति जो बाइडनसँगको गरेको वार्ता । उनीहरूसँग औपचारिक रुपमा भेटघाट गर्नका लागि समय नमिल्ने भएपछि देउवाले अनौपचारिक रूपमै लामो गफ गर्न भ्याए, रिसेप्सनमा नै । यी वार्ताबारे परराष्ट्र अधिकारीले देउवा आफैँले जानकारी दिएपछि मात्रै थाहा पाएका थिए ।

प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय राजनीतिमा चिनिएका व्यक्ति हुन् । यसअघि नै चार पटक प्रधानमन्त्री बनिसकेका देउवाले दर्जनौँ सभा सम्मेलनमा भाग लिइसकेका छन् । यसकारण पनि उनी सम्मेलनस्थलमै शक्ति मुलुकका नेतासँग अनौपचारिक भेटमै कसरी आफ्ना कुरा राख्‍ने भन्‍ने विषयमा पोख्त छन् । 

मुलुकमा संविधान जारी गरिएपछि भएको निर्वाचनमा नराम्ररी पछारिएको देउवा नेतृत्वको नेपाली कांग्रेस सरकारमा हुनेछ भनेर सायद कसैले अनुमान गरेका थिएनन् । ओलीको दम्भ र अनेकन तिकडमका कारण कांग्रेस सत्तामा पुगेको र देउवा प्रधानमन्त्री बनेको तथ्य जगजोहर छ । ओलीले बहुमतको सरकार मात्रै होइन, आफ्नै पार्टीसमेत जोगाउन नसकेपछि देउवालाई बोनसमा सत्‍ता प्राप्त भयो । क्रिकेटको भाषामा भन्दा, व्याट्सम्यानले पाएको फ्रि हिट जस्तै । यो फ्रि हिट यसै खेर फाल्ने कि छक्का प्रहार गर्ने, यो ब्याट्सम्यानको प्रतिभा र अक्कलमा भर पर्छ ।

अर्थात अहिलेको परिस्थतिलाई आफू अनुकुल प्रयोग गरी आफ्नो पोजिसनलाई थप मजबुत बनाउने मौका देउवाका अगाडि छ । देउवामा यो परिस्थतिको फाइदा उठाउने मनसाय देखिन्छ । आगामी महाधिवेशनमा पार्टी सभापति हत्याउने र ससंद्को निर्वाचनमा दललाई पुनः बहुमत दिलाउने अनि फेरि प्रधानमन्त्री बन्‍ने देउवा सपना कसैबाट छिपेको छैन । 

तर यो सपनाको दुःखान्त के हो भने उनले देखेको यो सपना आत्मकेन्द्रित छ । पार्टीलाई पहिलो बनाउनेभन्दा पनि जसरी हुन्छ पार्टीमा आफ्नो हालिमुहाली कायम गर्ने र सकेसम्म आफैँ प्रधानमन्त्री बन्‍ने लक्ष्यमा छन्, देउवा । आफैँ सर्वेसर्वा हुनभन्दा कम्युनिस्ट पार्टीबाट विरक्तिएको ठूला तप्कालाई कांग्रेसले देशलाई अघि बढाउन सक्छ भन्‍ने सन्देश दिनु महत्वपूर्ण हो भन्‍ने कुरा उनले अझै बुझेको आभास हुँदैन । तर कांग्रेस एमालेभन्दा बलियो भएर होइन, एमाले आफैँ विभाजित भएर आफू प्रधानमन्त्री बन्‍न पाएको तथ्य  बिर्सन देउवालाई छुट छैन ।

देउवाले काठमाडौँ विमानस्थलमा अमेरिकी राष्ट्रपति जो बाइडनले टोपी देखेर नै आफूलाई चिनेको बताएर पोसाकले पाएको चर्चालाई पुष्टि गरेका थिए ।

 
जे होस् हाल देउवा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप बलियो बनाउन सक्ने स्थानमा पुगेका छन् । नेपालका प्राय प्रधानमन्त्रीहरूले छिमेकको भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायसँग औपचारिक साक्षात्कार गर्ने काम सुरु गर्थे । तर यसपटक देउवाको पहिलो विदेश भ्रमण भने अन्तर्राष्ट्रिय सम्मेलन आयोजनास्थल बन्यो । हुन त सम्मेलनस्थल बेलायत नेपालको पुरानो मित्र हो । तर बेलायत भ्रमण देउवाले गरेको दुईपक्षीय भ्रमण भित्र पर्दैन ।

कोप-२६ सम्मेलनबाट फर्किएपछि देउवाको ‘बडी ल्यांग्वेज’मा आत्मविश्‍वास देखिन थालेको उनलाई भेट्ने नेताहरूको अनुभव छ ।  यसको प्रमुख कारण, ग्लास्गोमा उनले गरेको भेटघाट र वार्ता नै हो । देउवाको भ्रमण टोलीमा भलै राष्ट्रसंघ महाशाखा प्रमुख र न्यूयोर्कस्थित नियोग प्रमुख परेनन्, तर यसले देउवालाई महत्वपूर्ण मान्‍न सकिने साइडलाइन वार्ता गर्न रोकेन । त्यहाँ उनले अमेरिकी राष्ट्रपति जो बाइडनदेखि मंगोलियाको राष्ट्रपतिसम्मलाई भेटे ।

छिमेकी प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिए । जोमसोम र पशुपतिनाथ दर्शनका लागि निम्ता दिएकाले मोदीको आगामी भ्रमणलाई धार्मिक भ्रमण भनिँदैछ । तर मोदी काठमाडौँ आइपुगेपछि उनीसँग दुईपक्षीय मामलामा छलफल गरिने भएकाले औपचारिक भ्रमणको तयारी गर्न देउवाले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेका  छन् । 

कोप-२६ सम्मेलनमा एक सयभन्दा बढी मुलुकका राष्ट्र एवं सरकार प्रमुख उपस्थित थिए । उनीहरूका अगाडि देउवाले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले भोगिरहेको समस्या र प्रभावलाई स्पष्टसँग राखे । नेपालमा हिमनदी पग्लिँदा समुद्रको सतह बढ्ने र टापु देशहरूको अस्तित्व नै संकटमा पर्ने जस्ता विषयलाई देउवाले उठाए । कम कार्बन उत्पादन गर्ने मुलुक जलवायु परिवर्तनको अधिक मारमा परिरहेकाले विश्‍व समुदायले यसतर्फ ध्यान दिनुपर्ने देउवाको माग थियो । 

देउवालाई हम्मेसी हाँसेको देख्‍न पाइन्‍न । तर ग्लास्गोमा देउवा निकै हँसमुख देखिएका थिए । त्यहाँ उपस्थित अन्तर्राष्ट्रिय मिडियासँग पनि देउवा राम्ररी प्रस्तुत भएको देख्‍न सकिन्थ्यो । भारतीय प्रधानमन्त्री मोदीसँगको छलफल निकै लामो समयसम्म चलेको बताइएको छ । सोही बेला उनले मोदीकाे नेपाल र आफ्नो भारत भ्रमण पनि तय गरे ।

जलवायु परिवर्तनबाहेक राजनीतिक एजेन्डा पनि बोकेर देउवा युरोप पुगेका थिए। अमेरिकी राष्ट्रपति जो बाडनसँगको भेटमा उनले नेपाल-अमेरिकाबीचको पछिल्लो सम्बन्धबारे पनि कुरा उठाए । बेलायती प्रधानमन्त्री बेरिस जोन्सनलाई नेपाल भ्रमणको निम्ता दिन भ्याए ।

नेपालको राजनीतिक घटनाक्रमबारे जोन्सनले राखेका जिज्ञासाको जवाफ दिँदै देउवाले यहाँ राजनीतिक स्थायित्व कायम हुने प्रष्ट पारे । कुनै बेला बेलायतमै अध्ययन गरेका देउवा जोन्सनलगायतका बेलायती अधिकारीहरूसँग भेटघाट गर्न पाउँदा निकै खुसी देखिन्थे ।

देउवालाई हम्मेसी हाँसेको देख्‍न पाइन्‍न । तर ग्लास्गोमा देउवा निकै हँसमुख देखिएका थिए । त्यहाँ उपस्थित अन्तर्राष्ट्रिय मिडियासँग पनि देउवा राम्ररी प्रस्तुत भएको देख्‍न सकिन्थ्यो । भारतीय प्रधानमन्त्री मोदीसँगको छलफल निकै लामो समयसम्म चलेको बताइएको छ ।

सोही बेला उनले मोदीकाे नेपाल र आफ्नो भारत भ्रमण पनि तय गरे । सार्कदेखि सबैखाले दुईपक्षीय समस्याको बारेमा दुई नेताबीच छलफल भएको कुरा बाहिर आएका छन् जुन सकारात्मक हो । मोदीसँगको भेटवार्ताले नेपाल र भारतबीचको सम्बन्ध पुरानै ट्र्याकमा फर्काउने अनुमान गरिएको छ ।

दुई छिमेकीबीचको सम्बन्ध भारतले लगाएको नाकाबन्दीपछि न्यानो छैन । यसबाहेक दार्चुलाको तुइन प्रकरण, लिम्पियाधुरा सीमा विवाद, ईपीजी प्रतिवेदन लगायतका विषयले पनि दुई मुलकलाई पुरानै अवस्थामा फर्कन दिएका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेवित्तिकै देउवाले आफ्नो र मोदीको भ्रमणबारे जानकारी दिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पनि देउवा दंगदास थिए । 

सरलता र तामझाम नरुचाउने उनको बानीले पनि विदेशी नेतासँग घुलमिल हुन सहज भएको एक सहभागीले बताए । देउवालाई बेलायतमा स्वागत गरेका एक गैर आवासीय नेपालीले देउवासँगको भेट सुनाउँदै भने, ‘उहाँको सरलता  देखेर छक्कै परियो । कुनै तामझाम र रोकावट थिएन । सोधेका विषयमा सहजै जवाफ दिएका थिए । यसअघि प्रधानमन्त्रीका रूपमा ओलीले बेलायत भ्रमण गर्दा विमानस्थलमा देखिएको दृष्य फरक थियो ।’ अघिल्ला प्रधानमन्त्री सर्वसाधारणको पहुँचमा थिएनन् तर देउवा नेपालीमाझ सहजै खुलेको उनको अनुभव थियो ।

प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको मुद्दामा उठाएको प्रसंगले जति चर्चा पायो त्यसरी नै सामाजिक सञ्जालमा उनको प्रस्तुति (बडिल्याङवज, हाउभाउ) को पनि चर्चा भयोे । त्रिभुवन विमानस्थलमा तामझाम नगरी बेलायत निस्किएका देउवाको सरलतालाई बेलायतस्थित नेपाली समुदायले निकै रुचाएको पाइयो । समान्यतयाः धेरै नबोल्ने र बोली हाले पनि रिसाई हाल्ने स्वभावका प्रधानमन्त्री देउवा बेलायतमा भने निकै हँसिलो मुद्रामा प्रस्तुत भएका थिए । 

प्रधानमन्त्री देउवासँग खिचेको फोटोलाई भारतीय प्रधानमन्त्री मोदीले उच्च प्राथामिकताका साथ आफ्नो सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा राखे, त्यो पनि नेपालीमै । यस्तै देउवाले बेलायती प्रधानमन्त्री वोरिस जोन्सनलाई भेट्दा गरेको बेलायतशैलीको अभिनन्दन (कुइनो ठोकाइ) लाई विदेशी सञ्चार माध्यमले पनि स्थान दिए ।

परम्परागत शक्ति र उदाउँदा शक्ति राष्ट्र एवं सरकार प्रमुख अघि देउवा उसैगरी हँसिलो मुद्रामा प्रस्तुत भएका थिए । प्रधानमन्त्री देउवासँग खिचेको फोटोलाई भारतीय प्रधानमन्त्री मोदीले उच्च प्राथामिकताका साथ आफ्नो सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा राखे, त्यो पनि नेपालीमै ।

यस्तै देउवाले बेलायती प्रधानमन्त्री वोरिस जोन्सनलाई भेट्दा गरेको बेलायतशैलीको अभिनन्दन (कुइनो ठोकाइ) लाई विदेशी सञ्चार माध्यमले पनि स्थान दिए । देउवाले सम्मेलनका क्रममा लगाएका पोसाकले पनि उपस्थित नेताको ध्यान तानेको थियो ।

देउवाले काठमाडौँ विमानस्थलमा अमेरिकी राष्ट्रपति जो बाइडनले टोपी देखेर नै आफूलाई चिनेको बताएर पोसाकले पाएको चर्चालाई पुष्टि गरेका थिए । बाइडन नेपाल आएका अमेरिकी राष्ट्रपति हुन् भने जोन्सन नेपालबारे जानकारी राख्‍ने बेलायती प्रधानमन्त्री हुन् ।

दुवैले देउवालाई दिएको समय र कुराकानी उल्लेख्य थियो । दुवैले नेपाल सुन्दर रहेको भन्दै प्रशंसा गरेको र यहाँ आउने रहर सुनाएको पनि देउवाले आफ्ना निकटस्थलाई सुनाएका छन् । दुई दिन लन्डन रहेर नेपाली समुदाय र बेलायती सांसदसँग भेटघाट गरी देउवा ग्लास्गो गएका थिए । 

देउवाको भेटघाटमा शक्तिराष्ट्रका प्रमुखसँग जे जति भेटघाट र कुराकानी भए ति लिपीबद्ध नहुनु भ्रमणका ‘माइनस प्वाइन्ट’ हुन् । भएका कुराकानी लिपिबद्ध गर्ने काम खासै भएनन् । तर देउवाले त्यहाँ महत्वका थुप्रै कुराहरू गरेको परराष्ट्रका अधिकारीहरू नै बताउँछन् । परराष्ट्रका कर्मचारी देउवासँगको भ्रमणबाट आफू र देउवाबीच सम्वन्ध कसरी बनाउने भन्‍नेमा केन्द्रित रहँदा त्यहाँ टिपोट गर्ने र त्यसलाई राख्‍ने काममा कसैको रुचि भएन ।

बेलायतस्थित नेपाली दूतावासमा राजदूत नभएका कारण कार्यबाहकले नै देउवा भ्रमणका बेला आवश्यक व्यवस्थापन गरेका थिए । परराष्ट्र अधिकारीले कार्यक्रमको प्रकृतिको विषयमा जानकारी नदिँदा देउवा कतिपय अवस्थामा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन गएझैं पनि प्रस्तुत भएका थिए । पछि यो कुरा चाल पाएपछि भने देउवाले सँगै गएका कर्मचारीलाई झपारेको देउवाको भ्रमणटोलीमा रहेका एक प्रत्यक्षदर्शीले बताए ।

देउवाको भेटघाटमा शक्तिराष्ट्रका प्रमुखसँग जे जति भेटघाट र कुराकानी भए ती कुराकानी लिपिबद्ध गर्ने काम खासै भएनन् । लिपीबद्ध नहुनु भ्रमणका ‘माइनस प्वाइन्ट’ रहे ।

यसपछि भने कर्मचारी पूर्ण रूपमा देउवा खुसी पार्ने प्रयत्नमा लागेका थिए । मुलुक हितको कुरा देउवामार्फत गराउने र केही नयाँ प्रस्तुति दिनेभन्दा पनि आफू देउवासँग कसरी नजिकिन सकिन्छ भन्‍नेमा लागेको पनि ति प्रत्यक्षदर्शीले हामीलाई बताए ।

केही क्षम्य कमजोरीसहित देउवाको यो भ्रमण मोदीलाई नेपाल ल्याउने, सार्कको गतिवधि अघि बढाउने, दुईपक्षीय सम्वन्ध विस्तार गर्ने, अमेरिकासँग एमसीसीको कुरा स्पष्ट पार्ने, त्यसको प्रक्रिया बारे जानकारी दिने, बेलायतसँग पुरानो मित्रता देखाउनेदेखि श्रीलंकालाई लुम्बिनीमा अस्पताल बनाउन दिने जस्ता कार्य र सिधा उडानको नियमितता जस्ता विषयमा भएका सकारात्मक पाटाका रूपमा लिन सकिन्‍छ । विदेशमा झैँ देशमा पनि देउवा यावत् विषयमा राष्ट्रले राखेको अपेक्षा पूरा गर्न लाग्ने हो भने विगतमा लागेको ‘अक्षम’ को दाग कम हुँदैजाने अपेक्षा गर्न सकिन्छ ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
ad
x