विचार

आम नागरिकलाई पोल्ने यस्ता विषयले शासकलाई छुँदा नि छुँदैन !

दिपेश घिमिरे |
कात्तिक ४, २०७८ बिहीबार १८:१३ बजे

कोभिड-१९ सँगै धेरैले रोजगारी गुमाए । स्वरोजगार भएकाहरू पनि आफ्नो पेसा–व्यवसायबाट हात धुनुपर्यो । राजधानी लगायतका धेरै सहरी क्षेत्रका सटरमा महिनौँ ताला झुण्डिए । रोजगारीका लागि विदेश जानेहरूले पनि रोजगारी गुमाएर फर्किएका छन् ।

विगतका वर्ष जस्तै यस वर्ष पनि करिब ५ लाख युवा श्रम बजारमा प्रवेश गरे । तर नयाँ रोजगारीका अवसर बढेनन् । आफैँले केही उद्यम गर्न सक्ने वातावरण कोभिड–१९ को कारण बनेन । रोजगारीका अवसर गुमाएर समस्याका परेकालाई राज्यबाट कुनै सहयोग भएन ।


के सहर ? के गाउँ ? गरिबीको रेखामुनि रहेका करिब २० प्रतिशतभन्दा बढी नागरिक बेसहाराको अवस्थामा आफ्नो जीवन चलाइरहेका छन् । कोही एक छाक खाँदै त कोही लघुवित्त तथा सहकारीको चर्को ब्याजलाई झेल्दै । 

कोभिडका कारण ठूलो संख्याका नेपालीले स्वास्थ्य समस्या भोग्नुपर्यो । एघार हजारभन्दा बढी नागरिकले त यही समस्याका कारण ज्यान नै गुमाउनु पर्यो । ज्यान गुमाउनेले त गुमाए उनीहरूको आफन्त, परिवारका सदस्य, बालबालिकाको अवस्था हृदयविदारक र कारुणिक देखिन्छ । पछिल्लो दुई वर्षमा हामी सबैमध्ये कोही प्रत्यक्ष तथा कोही परोक्ष रूपमा तनाव, समस्या र अप्ठ्यारो अवस्था भोग्दै र बिताउँदै आइरहेका छौँ । 

यस्तो अवस्थामा नेपाली हिन्दू धर्मावलम्बीले यस वर्षको दसै‌ँ मनायौँ । केही समयमा तिहार, म्हः पूजा, उधौली, माघी, क्रिसमस, इद लगायतका चाडबाड अब एकपछि अर्को गर्दै आउँदै जाँदै गर्नेछन् । चाडबाड मनाउनुको अर्थ भनेको ‘सेलिब्रेसन’ अर्थात् उत्सव हो । तर समग्र नेपालीको मनोविज्ञान यतिबेला ‘सेलिब्रेसन’ गर्ने मुडमा देखिएन । कोभिड–१९ को महामारी अझै हटिसकेको छैन । सबैले खोप लगाउन पाएका छैनन् । यसले गर्दा पहिलाको जस्तो भेला हुने, मनोरञ्जन गर्ने अवस्था दसँैमा पनि रहेन ।

फेरि यही समयमा भएको अविरल वर्षाको कारण एकातर्फ बाढी पहिरो गइरहेको छ भने अर्कातर्फ किसानले भित्र्याउन ठिक्क पारेको बाली नष्ट भएको छ । यसै गरी देश यतिबेला आर्थिक, सामाजिक रूपमा कमजोर भएको छ भने नागरिक मनोवैज्ञानिक रूपमा विक्षिप्त अवस्थामा छन् । 

यद्यपि चाडबाडको विशिष्ट महत्व चाहिँ हुँदो रहेछ । गाउँको खेतीबारीको उत्पादनले नपुग्ने, नगद कमाउन देशमा रोजगारीको अवसर नहुने कारण अधिकांश गाउँबस्तीहरू युवाविहीन छन् । आर्थिक उपार्जनको आशामा सहरी क्षेत्र वा विदेश पुगेका युवक–युवती आफन्तलाई भेट्ने एउटा बलियो सन्दर्भ चाडबाडलाई नै बनाउँछन् ।

दसँै वा यस्ता अन्य चाडबाडको महत्व घट्दै गएको भनेर जति लेखे बोले पनि त्यस्तो हँुदो रहेनछ । चाडबाडको महत्व के हुन्छ भन्ने कुरा महिनाँै भारतका गल्लीमा भारी बोकेर केही पैसा र लुगाफाटो लिएर नेपाल भित्रिएको एकजना व्यक्ति र उसको परिवारको ओठमा हेर्यो भने विशिष्ट तस्बिर देखिँदो रहेछ ।

एघार महिना तीन हप्ता बारीको डिलमा बसेर सहर पसेका छोराछोरीको बाटो हेरेर बस्ने बूढी आमाको आँखामा हेर्यो भने फरक देखिँदो रहेछ । गाउँको घरमा रहनुभएका पाको उमेरमा पुग्नुभएका बाआमा यस्तै चाडबाडमा छोराछोरी वा आफन्तलाई भेट्न पाइने आशामा महिनौँ बिताउनु भएको छ । आर्थिक उपार्जन वा अन्य केही नाममा न भत्किएको परिवार कुनै पनि गाउँमा भेट्न मुस्किल पर्छ । यस्तो बिछोडिएको परिवारको पुनःमिलन त यही दसैँ र दसै‌ँ जस्तै अन्य चाडपर्वले गर्ने रहेछन् । 

सहरमा बस्दै सोचे जस्तो अवस्था गाउँमा छैन । गाउँमा पुग्दा देखिन्थ्यो बिरामी भएको व्यक्तिसँग भेट्न चाडबाड विशिष्ट अवसर रहेछ । आफन्त गुमाएर वा अन्य कारणले पीडामा रहेकालाई सहानुभूतिका केही शब्द भन्न पनि यो एउटा विशिष्ट सन्दर्भ बन्ने रहेछ ।

नयाँ पुस्ता काम र कमाइको दबाबमा मेसिन जस्तै बन्दै गएको छ । यो मेसिनसरी जीवनलाई एक आत्मासहितको जीवनमा परिवर्तन गर्ने, भावनासहितको जीवनमा परिवर्तन गर्ने एउटा महत्वपूर्ण सन्दर्भ यिनै चाडबाड मात्रै रहेछन् ।

चाडबाडले केही पीडामाथि नुनचुक पनि हाल्दो रहेछ । नेपाली समाज यतिबेला परिवर्तनको तीव्र गतिमा छ । यसलाई संक्रमण भन्न पनि सकिन्छ । यो परिवर्तन वा संक्रमणलाई विश्वव्यापी परिवर्तनले आफू अनुकूल बनाउँदै लगेको पनि छ ।

पैसाको महत्व बढेको छ । विभेदको पहाड झन् अग्लिदै गएका छन् । एउटा वर्ग वा केही व्यक्ति धनी हुँदै जाँदा ठूलो संख्याका मानिसहरू झन् झन् गरिब हुँदै गएका छन् । रातोदिन मेहनत गर्नेहरू त्यही हातमुख जोर्ने समस्यामा रुमल्लिरहेका छन् भने लप्पनछप्पन गर्नेहरू रातारात नवधनाढ्य बन्दै गएका छन् ।

समाजले धनीलाई हेर्ने र गरिबलाई हेर्ने दृष्टिकोण निकै फरक छ । इमानको कुनै मूल्य छैन । यस परिस्थितिमा समाजमा आर्थिक रूपमा कमजोर रहेका मानिसले हीनताबोध गर्ने अवस्था देखियो । अरु बेलामा जे जसरी दिन बिताए पनि चाडबाडका समयमा अझ समस्या निम्त्याइरहेको देखियो । चाडबाड मनाउने क्रममा गाउँमा यस किसिमका असमानताको अनुभव प्रस्ट गर्न सकियो ।

सहरमा कमाएर गाउँ जाने र जीवन धानेर मात्रै गाउँ जानेको बीचमा समाजले डरलाग्दो किसिमले असमान व्यवहार गरिरहेको छ । गाउँमै बसेर दुःख–सुख आफ्नो गुजारा चलाइरहेको र सहरबाट गाउँ भित्रिएको बीचमा पनि उस्तै असमानता देखिन्छ ।

यस असमानताले आर्थिक रूपमा कुनै उन्नति गर्न नसकेको व्यक्तिमा हीनताबोध र पीडाको पहाड थपेको देखियो । आगामी दिनमा मनोवैज्ञानिक रूपमा के असर पार्ला ? सोच्दा पनि डर लाग्छ । पक्कै पनि उसलाई उसको परिवार, आफन्त, छरछिमेकले नालायकको बिल्ला भिराइदिन्छन् । त्यसले त्यो व्यक्ति ‘डिप्रेसन’मा जान सक्छ । यी र यस्तै अवस्थाको शिकार बनेर कतिपयले आत्महत्या गर्लान् ? सम्झँदै कहाली लाग्छ ।  

हाम्रो गाउँघर र समाजमा कर तिर्ने समयमा बाहेक राज्यको अनुभूति छैन । आफ्ना नागरिकलाई जुनसुकै समयमा पनि हेर्नुपर्ने र संरक्षण गर्नुपर्ने दायित्व राज्यको हो । तर हाम्रो दुर्भाग्य अप्ठ्यारोमा परेको समयमा पनि राज्यले नागरिकलाई हेरेन । वास्ता गरेन ।

कोभिडको महामारीले यत्रो समस्या निम्त्याउँदा पनि राज्यले वास्ता गरेन । विगतदेखिको अभ्यास हेर्ने हो भने त्यस्तो अवस्था देखिँदैन । आधुनिक नेपालको इतिहासलाई मिहीन रूपमा विश्लेषण गर्यौँ भने शासकलाई अप्ठ्यारो पर्दा नागरिकले ज्यानको बलि चढाउन तयार हुनुपर्ने तर नागरिकलाई असर पर्दा सामान्य सहयोग पनि दिन तयार नहुने अवस्था हामीले वर्षौंदेखि भोग्न अभिशप्त छौँ ।

बन्दाबन्दीको समयमा राज्यले नागरिकलाई घरभित्र थुन्यो । घरबाहिर निस्किन नदिनेले खाना घर–घर पुर्याउनुपर्ने हो । तर त्यस्तो भएन । ती नागरिक जो बिहान–बेलुका काम गरेर आफ्नो गुजारा चलाउँथे उनीहरूले आफ्नो पेट कसरी भरे होलान् ? यो देशको शासकलाई कहिल्यै यसले पोलेन ।

शासकले एउटा दलील पेस गरिरहेका छन् हाम्रो देश आर्थिक रूपमा सम्पन्न छैन । त्यसैले अन्य देशले जस्तो राहत दिन सक्दैन । तर हामी स्रोत–साधन नभएर आजको अवस्थामा आएका होइनौँ भएको स्रोत–साधनको उपयुक्त ढंगले परिचालन गर्न सक्ने क्षमता नभएका शासकले गर्दा यस्तो अवस्था आएको हो भन्ने चेतना भरिदिने सल्लाहकार भएनन् या सल्लाह सुनेनन् ।

एउटा सानो उदाहरण हेराँै । हाम्रो यस्तो देश हो, जहाँ मासिक रूपमा लाखौँ रुपैयाँमा घर–भाडा थाप्ने सहरी क्षेत्रका उमेर पुगेका घरधनी, दर्जनौँ बिगाहा खेत भएका उमेर पुगेका जमिनदार, ठूलो व्यापार भएका उमेर पुगेका व्यापारीलाई पनि सामाजिक सुरक्षा भत्ता दिन्छ । के त्यो जरुरी छ ?

हाम्रो यस्तो देश हो जहाँ सहरी क्षेत्रमा बसोबास गर्ने लाखौँ रुपैया मासिक आम्दानी र आफ्नै बंगला भएका व्यक्तिलाई कौसी खेतीका लागि भनी हजाराँै रुपैयाँ अनुदान बाँड्छ । के यो आवश्यक ? जरुरी छ ? 

चौर–चौरमा मन्दिर, डाडाँमा भ्युटावर, चोक चोकमा प्रवेश गेट के यी आवश्यक कुरा हुन् ? विगत छाडिदिऔँ चालु आर्थिक वर्षको संघीय तथा प्रादेशिक सरकारको बजेट मात्रै हेर्यौँ भने पनि यस्ता तमाम विकृति कति भेटिन्छ कति । 

नेपालले यतिबेला गर्नुपर्ने काम भनेको उत्पादन बढाउँदै त्यसको व्यवस्थापन र वितरणको न्यायपूर्ण प्रणाली स्थापित गर्ने हो । यति व्यवस्थित प्रणाली बनाउन सक्ने हो भने अहिलेकै स्रोत र साधनबाट भोक भोकै ज्यान गुमाएका सूर्यबहादुर तामाङहरूको आयु बढाउन सकिन्छ । सामान्य उपचारको अभावमा ज्यान गुमाएकाहरूको, कोभिडको कारण रोजगारी गुमाएकाहरूको जीवनमा आमूल परिवर्तन ल्याउन सकिन्छ । 

कुनै पनि व्यक्ति आफैँ गरिब हुँदैनन् । यही समाजको बनोट, सम्बन्ध तथा संरचनाले कोहीलाई गरिब र कसैलाई धनी बनाउने हो । एकजना विद्वान् डेभिड सेडनले आफ्नो पुस्तकमा लेख्नुभएको छ कि ‘पोभर्टी इज द आउट–कम अफ दी पोलिसी फेलियर ।’

अर्थात् गरिबी भनेको नीतिगत असफलताको कारण सिर्जित समस्या हो । न यो भगवान्ले बनाएको हो न त भाग्यले नै ठगेको हो । यदि त्यसो हो भने त त्यो नीतिगत कमजोरीहरू सुधार गर्नुपर्ने हो । त्यो सुधार गर्न त राज्यकै दायित्व प्रमुख हुन्छ । नीतिगत तहमा रहेका कमजोरीहरूलाई व्यवस्थापन गर्दै गरिब तथा विपन्नमैत्री नीति निर्माण गर्नुपर्ने हो ।

तर हाम्रा शासकहरूलाई गरिबीको रेखामुनि रहेका नागरिकको पीडाले छुँदैन । न त कर्मचारीतन्त्रलाई छुन्छ । नेतालाई चुनावका बेलामा नागरिक चाहिने हो, कर्मचारीतन्त्रलाई त कहिल्यै नागरिक चाहिन्छ भन्ने अनुभूति नै देखिन्न । यसको प्रत्यक्ष प्रभाव गाउँघरमा पुग्दा अनुभव गर्न पाइन्छ ।
 
भर्खरै नयाँ दिल्ली सरकारले अविरल वर्षाको कारण बाली भित्र्याउन नपाएका किसानलाई प्रतिहेक्टर ८० हजार रुपैयाँको दरले राहात दिने घोषणा गर्यो । तर हामी कहाँ यस्तो हुँदैन । राजनीतिको अभीष्टता नागरिकलाई राहत दिनु हुँदै होइन हाम्रोमा । कोभिड, बाढी–पहिरो तथा अन्य विपद्जन्य कारणले संकटमा कहिल्यै समयमा राहत पुग्दैन ।

यस्तो समयमा अप्ठ्यारोमा रहेका नागरिकलाई समयमै राहात वितरण गर्न हाम्रा शासकलाई केले छेक्यो ? त्यसको खोजी गर्ने हो भने एउटा मात्र कुरा भेटिन्छ त्यो हो चेतना । उनीहरूसँग दुःखी पीडित, विपन्न तथा संकटमा परेका नागरिकको पीडालाई सुन्न, बुझ्न सक्ने चेतना नै छैन । हालका शासक र राणा शासकमा केही फरक नै देखिँदैन ।

उनीहरूलाई पनि आफ्नो र आफ्नो परिवारको चासो थियो, यतिखेर पनि त्यही चासो छ । अलिकता बदलिएको भनेको आफ्ना गुटका कार्यकर्ताको चासो पनि थपिएको छ । अरु केही परिर्तन नै आएको छैन । नागरिकप्रति जवाफदेही र उत्तरदायी हुने शासकीय पद्धतिको विकास गर्न नसक्दा नागरिकको पीडाले शासकलाई छँुदैन । पुल्चोकको मन्त्री क्वार्टरले नपुगेर भँैसेपाटीमा अर्बौँ लगानी गरेर पाँचतारे होटल जस्ता मन्त्री क्वार्टर बनाउन उद्यत शासक एउटा प्रणाली बनाएर गरिबलाई राहत दिन तयार छैनन् । 

अन्त्यमा, चाडबाडका आफ्नै मान्यता र बुझाइहरू हुन्छन् । यस्ता चाडबाडले कतिपय अवस्थामा परम्परागत समयदेखिको चलनलाई निरन्तरता दिन योगदान गर्छन् । अर्कातर्फ यस्ता चाडबाडले हामीलाई आफूमा थप परिवर्तन गर्न, रूपान्तरण गर्न तथा बदलिँदो समाज अनुसार आफूलाई बदल्दै लैजान पनि योगदान गर्छ ।

यस्ता चाडबाड मनाउने क्रममा वा यस्ता अवसरमा देखिएका विभिन्न सवालहरूलाई सम्बोधन गर्ने क्रममा परिवर्तन आवश्यक छ । गर्नुपर्छ भन्ने चेतना पनि हामीमा भर्दै लैजान्छ । इतिहासको मिहिन अध्ययनले देखाउँछ हाम्रा शासक बदलिँदैनन् । जस्तै परे पनि बदलिँदैनन् । 

त्यसैले शासकलाई सत्बुद्धि प्राप्त होस् भन्नुको केही अर्थ छैन । यसर्थ, भर्खरै मनाएको दसैँ र अब आउँदै गरेका तिहार, म्हःपूजा, उधौली–उभौली, क्रिसमस, इद लगायतका चाडपर्वले चेतनाहीन र विवेकहीन शासकलाई परिवर्तन गरी चेतनशीललाई नेतृत्वमा पुर्याउने सत्बुद्धि हामी सबै नागरिकलाई प्राप्त होस् । चाडबाडको यही शुभकामना ।

[email protected]


Author

थप समाचार
x