विचार

‘मणिके मगे हिथे’ भाइरल मनोविज्ञान

लिलाराज खतिवडा |
कात्तिक ३, २०७८ बुधबार १९:७ बजे

एउटा श्रीलंकन गीत सामाजिक सञ्जालमा केही समयदेखि निकै लोकप्रिय भएको छ – ‘मणिके मगे हिथे’ ! राजधानी कोलम्बोकी योहानीले गाएको गीतको ‘ट्युन’ यति कर्णप्रिय छ कि नबुझेरै सुन्दा पनि यो सबैलाई मन परिरहेको छ । शब्द नबुझे पनि अन्य भाषाका कैयन मान्छेहरूमाझ यो गीत लोकप्रिय भइसकेको छ । 

त्यतिमात्रै होइन यसलाई एउटै श्रोताले बारबार सुनेको छ । कैयौँ सेलिब्रेटीले यसमा ‘रील्स’ बनाएका छन् । गीत टिकटक, युुट्युब, इन्स्टाग्राम र फेसबुक जस्ता चलेका सामाजिक सञ्जालमा भाइरल छ । यसका अनेकौँ कभर बनेका छन् । यो अनेक भाषाका लाखौँ मानिसहरूको रोजाईंमा परेको गीत हो । योहानीले आफ्नो मादक स्वर र अति उर्जामय मुस्कानले धेरैको मन जितेकी छिन् । उनी श्रीलंकामा त लोकप्रिय थिइन् नै । केही महिना यता उनी विश्वभर छाएकी छिन् ।


दुईचार पटक सुनेपछि सर्वप्रथम यस गीतको अंग्रेजी र हिन्दी अनुवाद खोजियो । ओहो ! शब्द पनि निकै मन छुने ! अब चर्चित गीतबारे केही लेख्न मन लाग्यो । अनि मथिंगल गर्न मन लाग्यो, वर्षकै सवार्धिक लोकप्रिय गीतमा पर्न सफल योहानीको ‘मणिके मगे हिथे’मा त्यस्तो के जादू छ ? 

खासगरी गायिकाका हल्का गाजलु गहिरा चुम्बकीय आँखा र उनको कोकिल स्वरभित्रको रहस्य खोज्दा उनी कहीँ न कहीँ आध्यात्मिक रुपमा रुपान्तरितमा लागिन् । कुनै पनि कलामार्फत विश्वमै रातारात ठूलो जनसंख्यालाई प्रभावित र प्रफल्लित तुल्याउन सक्नुमा ‘गडगिफ्ट’ र अनवरत साधना दुवै चाहिन्छ ।

बेलैमा आफ्नो प्यासन र प्रतिभा पहिचानमा लिएर गरिएको अनवरत साधना र संघर्षले ब्यक्तिमा रुपान्तरण घटित हुन्छ । जसको प्रस्तुतिले वरिपरिका अन्यलाई पनि आल्हाद उत्पन्न गराउँछ । यहाँ हृदयले काम गर्छ । भाषा गौण हुन जान्छ । त्यहाँ मष्तिस्क सुतिदिन्छ । अझ यसरी भनौँ, आफूले नबुझेको कुनै अर्को भाषाको सुमधुर गीत सुन्दासमेत हृदय फक्रिन्छ र मष्तिस्क आराम गर्न थाल्छ । विभिन्न साधना पद्धतिमा आफूले जानेको भन्दा इतर भाषामा कविता, गीत सुन्ने र अभ्याससमेत गर्ने सुझाव दिइएको छ ।

यसले हामीलाई ज्ञातबाट मुक्त गर्छ र अज्ञातको ढोका खोल्न प्रेरित गर्छ । योहानीको भाइरल गीतमा ‘हिलिंग पावर’ छ । र, यस गीतले विश्वका धेरै तनावग्रस्त मानिसलाई केही पलकै लागि भए पनि ‘हिल’ गरेको छ । गीत सुनेर मान्छेहरू तत्काल ‘फ्रेश’ हुन पुगे । यो नै संगीतको अथाह शक्ति हो । जो सीधै आत्मासँग जोडिएको छ । कहिलेकाहँीँ कुनै डाक्टरले वर्षौ उपचार गरेर पनि निको नभएका बिरामीहरू तीन मिनेटको सुमधुर संगीतले निको भएका प्रसस्तै उदाहरण भेटिन्छन् । आखिर वैकल्पिक चिकित्सा पद्धतिमा ‘म्युजिक थेरापी’को महत्व अपरम्पार छ । 

श्रीलंकाकी युवा गायिका योहानी यो गीत गाएर एकाएक चर्चित हुनुका पछाडि हृदयीपर्शी स्वरसँगै उनको हाउभाउ, लावण्य, बान्की र मुस्कान पनि अति सम्मोहक लाग्छन् । गीत अब सुन्ने मात्रै कहाँ रह्यो र ? 

यो गीत सुन्दा हृदय जति प्रफुल्लित हुन्छ त्यसका साथमा योहानीले यसलाई गाएको हेर्दा झन् बढी अतिरेकमा पुगिन्छ । दुलन्जा एल्विसको रचना र समथ संगीतको कम्पोज रहेको यस गीतलाई योहानीले फक्रिएको फूल जसरी गाएकी छिन् । गीत गाउँदा बेलाबेला उनी नाक मास्तिर खुम्च्याउँछिन् । आवाजमा निर्दोषता झल्किन्छ । गायिकामा बालसुलभता कायम छ । मुस्कान मिसाएर गाइरहँदा उनका गालाका रेखी गाढा हुन्छन् । मिलेका दाँतहरू लहरै प्रकट हुन्छन् । लाम्चो अनुहारलाई खैरोकालो सिल्की कपालले थप सुन्दर बनाइदिन्छ ।

उनी बडा आनन्दले गाउँछिन्, ‘मणिके मगे हिथे ...!’ गीत सर्वाधिक रुचाइएको छ । यसप्रकार निखारिएको प्रतिभाको एक झिल्काले पनि पुरै दुनियाँलाई एकै झट्कामा प्रभाव पार्न सक्छ भन्ने कुरा थप एकपटक पुष्टि भएको छ । 

अर्का श्रीलंकन गायक सथीशन रथनायकसँग योहानीले गाएको यो गीत गत मे तेस्रो हप्ता युटुबमा रिलिज भएको थियो । यो यति लोकप्रिय भयो कि ३ महिनामा नै युटुबमा यसको भ्युज एक सय पचास मिलियन पुग्यो । श्रीलंकाकै सांगीतिक इतिहासमा यो पहिलो घटना थियो ।

यद्यपि यस गीतलाई सर्वप्रथम रथनायकले २०२० मा रिलिज गरेका थिए । तथापि गत मे महिनामा योहानीले यसको कभर गाएपछि मात्रै यो विश्वब्यापीरुपमा मन पराइएको हो । सयभन्दा बढी भाषामा यस गीतको कभर–भर्सन गाइएको छ । र, यस गीतलाई विश्वभरमा पचास करोड बढीले हेरिसकेका छन् ।

बलिउड महानायक अमिताभ बच्चनले पनि योहानीको यस गीतलाई इन्स्टाग्राममा सेयर गरेर निकै तारिफ गरेका छन् । उनले लेखे, ‘यस हृदययस्पर्शी गीतले मेरो नस्टाल्जिया बल्झाइदिएको छ ।’

हालसालै ‘बिग बोस’मा योहानीलाई बोलाएर सलमान खानले पनि यो गीत सिके । योहानीलाई श्रीलंकाकी ‘सेन्सेस्नल सिंगर’का रुपमा परिचित गराउँदै सलमानले उनीसँग निकै रमाइलो मान्दै ‘मणिके मांगे हिथे’ गाए । 

सलमानले उत्साहित हुँदै भने, ‘र, यो कुरा सत्य भयो कि गीत जुनसुकै भाषामा भए पनि ट्युन, संगीत र मेलोडि मन पराइयो भने गीत पक्का हिट !’
अनि योहानीले ‘बलिउड जायन्ट’लाई यो गीत अनुवाद गरेर सुनाइन् । हिन्दी नबुझे पनि योहानीले एउटा हिन्दी गीतसमेत गाएर सलमान र दर्शकको मन जितिन् । 
अन्त्यमा सलमानले भने, ‘वाह ! क्या गीत छ ! मजा आयो ।’

साँच्चै नै इन्टरनेटको दुनियाँ यति शक्तिशाली छ कि यहाँ कहिले, कसले र कसरी अचानक सनसनी फैल्याइदिन्छ, कसैलाई अत्तोपत्तो हुँदैन । इन्टरनेटको दुनियाँमा प्रतिभा अब छिपेर रहन सक्दैन । अति उर्जाले भरिपूर्ण भएको खण्डमा त्यो कुनै न कुनै बेला तपाईं हाम्रो मोबाइल फोनमा टप्किएर हामीलाई मोेहनी लगाउने छ । यो युगमा ज्युँनुको मजै यही हो । 

योहानी पनि त्यस्तै प्रतिभाशाली र चमत्कारिक गायिका हुन् । उनको यो गीत केही वर्षअघि कोरियाबाट आएको ‘ग्यांगम स्टाइल’ भन्दा कता हो कता उच्चस्तरको छ । कोरियन युवक साइले गाएको ग्यांगम ‘रफ’ र ‘लाइटहार्टेड डान्स’ गीत हो भने, ‘मणिके मगे हिथे’ चाहिँ ‘सोलफूल मेलोडी’ ! यी अलग–अलग ‘जानरा’का गीतहरूको एउटै विशेषता चाहिँ के हो भने, सम्बन्धित भाषा नबुझ्नेहरूमाँझ पनि यी अति लोकप्रिय भए ।

त्यसो त, माइकल ज्याक्सन एकै रातमा सुपरस्टार भएका होइनन् । उनी स्यानैदेखि त्यस्तै गाउँथे । त्यस्तै नाच्थे । त्यो उनको गहन प्यास थियो । ज्याक्सनको स्त्रैण उर्जा सतहमा आएको थियो । उनको स्वर पनि स्त्रैण । त्यस्तै कुरा योहानी डिलोका डे सिल्भामा पनि लागू हुन्छ । उनी स्यानैदेखि प्रतिभावान रहिछन् । उनको पनि पौरुष उर्जा सतहमा आएको । 

अनि चमत्कार हुँदैन त ?

उनी श्रीलंकन गायिका मात्रै होइन, गीतकार, र्‍यापर, म्युजिक प्रोडुसर, मोडेल र युटुबर हुन् । पौडी र पोलो खेल उनका शौख हुन् । उनी टिकटकमा पनि प्रख्यात छिन् । उनी एक सफल व्यापारीसमेत हुन् । उनी वाद्यवादनका सामग्री आयात–निर्यात गर्छिन् ।

अब २८ वर्ष लाग्ने भए तापनि कोलम्बो शहरकी रैथाने योहानी भर्खरै टिनएज सकिएझैँ लाग्छिन् । उनको स्वर र चेहरामा डायमण्डझैँ निखार छ । उनको रसायनमा बालसुलभता कायम छ । उनले आफ्नो चेतनाको संवेदनशिलतालाई अझ तिखारेकी छिन् । जहाँ दुनियाँका अधिक मान्छेहरू बोधा, संवेदनाहीन र रोगी प्रतीत हुन्छन्, त्यहाँ यी सिलोनी गायिका चुस्त, अति संवेदनशिल र सादगीले भरपूर लाग्छिन् ।

एक मानव कसरी फक्रिनुपर्ने हो ? उनी त्यसरी नै फक्रिएकी छिन् । उनीभित्रको पौरुष स्पष्टतः प्रकट भएर उनलाई एक ‘सम्पूर्ण स्त्री’ तुल्याइदिएको छ । यसप्रकार उनमा मिरा र राधाको झंकार एकसाथ तरंगित भएझैँ लाग्छ ।  

अन्तर्निहित पौरुष उर्जालाई चिनेर परिस्कृत गर्ने स्त्री ‘सम्पूर्ण स्त्री’ कहलिन्छे । त्यस्तै आफूमा विद्यमान स्त्रैण उर्जालाई चिनेर परिस्कृत गर्ने पुरुष ‘सम्पूर्ण पुरुष’ कहलिन्छ । नत्र यहाँ जिन्दगीहरू आधाअधूरै समाप्त हुन्छन् ।

केही उदाहरणले विषयवस्तुको केन्द्रमा नियालौँ । जस्तो कृष्ण जागृत पूर्ण पुरुष थिए । उनको स्त्रैण शक्ति ह्वात्तै सतहमा आएको थियो । त्यसरी नै राधा पनि संगीत र साधनाले रुपान्तरित पूर्ण स्त्री थिइन् । राधाको पौरुष शक्ति उसैगरी सतहमा आएको थियो । जब उनीहरू भेट भए, अस्तित्वको बृत्त पूरा हुन गयो । राधाभित्र पहिल्यै कृष्ण जागृत थिए । अनि कृष्णभित्र पनि एउटी राधा पहिल्यै जागृत थिइन् । अब उनीहरूको मेल साधारण हुँदैन । त्यो मेल असाधारण हुन पुग्छ । त्यसैले उनीहरूको जोडी प्रेमको प्रतिकको रुपमा आजपर्यन्त जिवित छ ।

हुन पनि हामी सबै, बाबु र आमाको आधा–आधा फल हौँ । हामीमा बुबा र आमाको बराबरी वा कमबेसी गुणहरू जस्ताको तस्तै सरेर आएका हुन्छन् । तर यहाँ अक्सर पुरुषले आफूभित्रको स्त्रीलाई फक्रिन दिँदैन । दबाउँछ । स्त्रीले पनि आफूभित्रको पुरुषलाई जाग्न प्रेरित गर्दिन । दवाउँछे । 

दृष्टान्तका लागि,

यदि तपाईंले कुनै युवतीलाई ‘तिमी त केटा जस्तै देखिन्छौँ भन्नुभयो भने, के उनी खुशी हुन्छिन् ?’

त्यसरी नै तपाईंले कुनै युवकलाई ‘तिमी त केटी जस्तै देखिन्छौँ भन्नु भयो भने, के ऊ खुशी हुन्छ ?’

तपाईं स्वयम् के गर्नु हुन्छ ?

यदि यस्ता प्रश्नमा कोही दुःखी हुन्छ भने, पुरुष भए ऊ आफ्नी आमा र मावलीको विराट लहरलाई नै नकारिरहेको छ । स्त्री भए उनी आफ्नो बुबाको विराट लहरलाई नै नकारिरहेकी छिन् ।   

आमा र बुबाको आधा–आधा तत्ववोध आफूभित्र नहुनेहरू यहाँ सबै आधा अधूरै छन् । त्यसैले जगतमा कृष्ण र राधा जस्ता पूर्ण मानवहरू बेलाबेला आउनुपर्ने हुन्छ । पुरुष झैँ देखिने स्त्री र स्त्री झैँ देखिने पुरुष विशेष हुन्छन्, यदि उनीहरूले आफ्नो त्यस्तो प्रकृति थाहा पाएर थप साधना गरे भने । अब उनीहरू मानवेत्तर हुन्छन् ! यो कुनै अवहेलनाको विषय होइन । यसको अवहेलना गर्नेहरू नै एक दिन अपहेलित हुने छन् । चक्र त्यसरी घुम्छ ।

यी सब लामा कुरा भए भने ‘मणिके मगे हिथे’ गाउने योहानी पनि पौरुषेय उर्जा जागृत भएकी ‘सम्पूर्ण स्त्री’ हुन् । उनले आफूभित्रको पौरुषलाई पनि प्रकट हुने अवसर दिइन् र स्त्रैण उर्जालाई पनि गोडमेल गरिरहिन् । त्यो सब उनको चेहरा र बान्कीमा प्रकट हुन्छ । उनको सुमधुर र सम्मोहक आवाज र हाउभाउमा प्रकट हुन्छ । नत्र उनले के गाइन् भन्ने थाहा नहुँदा पनि किन मान्छेहरू उनीतर्फ चुम्बकीय भए त ? एकसाथ करोडौँ मान्छेको ध्यान तान्न सक्ने उनीसँग त्यस्तो के शक्ति छ ? यस लेखकको ‘भागुरिध’मा त्यो पक्कै उनको क्रमशः विकसित भएको सादगी हो । सादगी अति चुम्बकिय हुन्छ ।

अझ उनको वास्तविक उमेर थाहा पाएपछि त लेख्न मन लाग्छ, उनी साँच्चै नै रुपान्तरित । हुर्किँदै जाँदा धेरै मानिसहरूको ‘अन्तस् खजाना’ उनीहरूबाट टाढाटाढा हुँदै जान्छ । चहकिला आत्मिक बत्तीहरू मधूरा बन्दै जान्छन् । ठीक त्यसको विपरीत योहानी आफूभित्रको खजानाको एकदम नजिक छिन् । उनी चम्किएकी छिन् । 
२०१६ देखि युटुबको दुनियाँमा प्रवेश गरेर र्याप गीत गाउँदै क्रमशः उनी छाउन थालिन् । तापनि उनलाई प्रख्यात बनायो, ‘मणिके मगे हिथे’ले । ब्वाइज कट कपालमा एउटा फुच्चे केटाझैँ पनि देखिने उनी अब श्रीलंकाकी ‘र्याप प्रिन्सेस’ कहलिइन् । ब्रुश गरिएको कपाल अहिले बढेको छ र ‘थाइकट स्टाइल’ पाएको छ ।

पूर्व आर्मी अफिसर मेजर जनरल प्रसन्न डे सिल्भाकी यी जेठी छोरीले खारिएको उत्तम प्रतिभा देखाएर आज विश्वलाई नै प्रसन्न तुल्याउन सफल भएकी छिन् । उनले बलिउडमा पनि आफ्नो दमदार इन्ट्री गरिसकेकी छिन् । कुणाल देशमुख निर्देशित शिद्धत फिल्मका लागि उनले टाइटल ट्रयाक र अन्य गीत गाइसकेकी छिन् । झट्ट हेर्दा एलिशा चिनोइ र फाल्गुणी पाठकको झल्को दिने योहानी बलिउडका गीतहरूकी पारखी हुन् । बलिउड संगीतमा अब उनले आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । 

यी मृगनयनीको साधना कायाकल्प भएर आभामण्डलमा अति चहकिलो रुपमा प्रकट भएका कारण पनि उनी धेरैको आकर्षण छिन् । भनिन्छ नि, ‘जब शम्मा जल्ती है तो परवाने आ जाते हैँ !’ 

के भन्छ त यस् गीतले ?

मणिके मगे हिथे

मुदुवे नूरा हंगुम यावी 

अविलेवी 

नेरिये नुम्बे नागे

मागे नेट एहा मेहा यावी 

सिहिवेवी 

मा हिथ लंगम दवटेना

हुरु पेमक पटलेना 

रुव नारी 

मनहारी 

सुकुमाली नुम्ब थमा

हिथ लंगम दवटेना

हुरु पेमक पटलना 

रुव नारी 

मनहारी 

सुकुमाली नुम्ब थमा 

मणिके मगे हिथे ...!

नेपालीमा अनुवाद: 

मेरो हृदयमा, बेबी

हर भावुक विचार तिम्रैबारे हुन्छन्

आगो दन्किए जस्तै 

तिम्रो वदनको बान्किले 

मलाई पलक झप्काउँनै दिँदैन 

म लिप्त छु

तिमी मेरो हृदयको समिप छौ 

मानौँ, म तिमीलाई सदा जान्दछु

तिमी एक देवीझैँ देखिन्छौ 

मेरो मन प्रफुल्लित छ 

तिमी सबैभन्दा प्रिय छौ  

तिमी मेरो हृदयको समिप छौ 

मानौँ, म तिमीलाई सदा जान्दछु

तिमी एक देवीझैँ देखिन्छौ 

मेरो मन प्रफुल्लित छ 

तिमी सबैभन्दा प्रिय छौ 

मेरो हृदयमा, बेबी !

किन किन यी चमत्कारिक गायिका र बहुमुखी प्रतिभाकी खानी सिलोनी युवतीको गीत आजकल म पनि सिकिरहेको छु । अरुको जस्तै मेरो पनि ध्यान खिच्न सफल भएकामा ‘योहानी बेबी’लाई अथाह धन्यवाद । मेरो मन प्रफुल्लित छ । र, ‘मणिके मगे हिथे’ अब मेरो हृदयमा समाहित हुन पुगेको छ ।


Author

थप समाचार
x