विचार

नेपालमा जलवायु परिवर्तन र परिणाम

सन्ध्या घिमिरे |
चैत १४, २०७९ मंगलबार १७:१४ बजे

पछिल्लो पुस्ताले टुँडिखेलबाट हिमशृंखलाको सौन्दर्यको आनन्द लिन्थे । केही वर्ष अगाडिसम्म पोखरा विमानस्थलमा ओर्लिएपछि अन्नपूर्ण र माछापुच्छे्लाई देखेर मोहित हुन्थे, हेरिरहन्थे । हिमाल हेर्नु नेपाल भ्रमणको अभिप्राय हुन्थ्यो । तर अब टुँडिखेलबाट हिमाल देख्न भाग्यमानी हुनुपर्छ । 

माउन्टेन फ्लाइट नेपाली विमान सेवाहरूको आयको राम्रो स्रोत थियो । नेपाल एयरलाइन्सले माउन्टेन फ्लाइटका यात्रुहरूलाई सगरमाथा अवलोकन गरेको प्रमाणपत्र दिन्थ्यो । तर अब यी सबै एकादेशका कथा भए । हिउँँले छोपिएका सेता हिमाल हिउँ नपरेर नांगिन थालेका छन, कालो मृत पहाड बन्न थालेका छन् । यसक्रममा हिमालयबाट बग्ने नदीहरू सुक्न थाल्ने, अहिलेका नदी इलाका बगर हुने, मरुभूमीकरणले अकल्पनीय विपत्ति आउने खतरा नजिक, झनझन नगिच आइरहेको छ । नेपालका नदीहरूले भारतको गंगा, ब्रह्मपुत्र र इन्दुस इलाकाको लागि ‘जीवन धान्ने रक्तसञ्चार’को महत्व राख्छन् । त्यसमाथि पनि गंगा मात्रले यसको ग्रीष्मकालीन प्रवाहको लगभग ७० प्रतिशत हिमनदीहरूबाट प्राप्त गर्दछ । भारत र बंगलादेशमा झण्डै ४० करोड मानिस हिमालयबाट उत्पन्न वर्षा र नदीमा निर्भर छन् । तसर्थ, हिमनदीहरू घट्दै जाँदा नेपाल मात्रै नभएर भारत, बंगलादेश र यस क्षेत्रमा बसोबास गर्ने दुई अर्ब साठी करोड जनसंख्या नै प्रभावित हुन्छ । 


जलवायु परिवर्तन

जलवायु परिवर्तन एउटा विश्वव्यापी समस्या हो तर अन्तर्राष्ट्रिय स्तरमा यसको ध्यानाकर्षण सन् १९७२ मा ‘द लिमिट्स तो ग्रोथ’ नामक किताब प्रकाशन भएपछि मात्रै भएको हो । यसको प्रमुख खोज थियो प्राकृतिक कमीले जलवायु परिवर्तन प्रेरित गर्छ र सोही परिवर्तन नै हुनेछ हाम्रो ‘वृद्धि सीमा’ । सो किताबले अब को १०० वर्षभित्र जनसंख्या वृद्धि र औद्योगिकीकरण अनियन्त्रित रूपमा बढ्दै गएमा र प्राकृतिक स्रोतहरू खुम्चिँदै गएमा मानव जातिले आफ्नो सीमा पुग्नेछ भन्ने कडा चेतावनी पनि दिएको भेटिन्छ । नभन्दै सन् १९९० मा इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्जले व्यापक मूल्यांकनपछि जलवायु परिवर्तनमा पहिलो रिपोर्ट प्रकाशन गरेको थियो जसमा औसत विश्वव्यापी तापक्रम प्रति दशक ०.३ डिग्रीले बढेको घटना उल्लेख गरेको थियो ।

संसारभरि देशहरूमा आ–आफ्नै, राष्ट्रिय घटनाहरू घट्छन् । यद्यपि, जलवायु परिवर्तन र यसले निम्त्याएका परिणामहरू एउटा साझा धागो ( ‘कमन थ्रेड’) हो जसले विश्व–ब्रह्माण्डलाई नै ऐक्यबद्ध बनाएको छ । वातावरण परिवर्तनले केवल हाम्रो वरिपरिको वातावरणलाई मात्रै चुनौती दिँदैन तर हाम्रो अस्तित्वलाई नै धरापमा राखेको छ । यसको चाप, दायरा र मात्रा हेर्दा, त्यसैगरी मानव विकास, समृद्धि र सुरक्षामा प्रत्यक्ष असर गर्ने हुनाले यसले अहिलेको एक्काइसौँ शताब्दीमा विश्वव्यापी व्यवस्था र स्थिरता कायम राख्न पनि प्रमुख भूमिका खेल्छ ।

नेपालमा जलवायु परिवर्तन

नेपालमा वातावरणलाई राष्ट्रिय एजेन्डा बनाउन थालिएको धेरै भएको छैन । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०४८ सालमा गठित निर्वाचित सरकारको पुनर्गठनमा पहिलो पटक वातावरण राज्यमन्त्रीको नियुक्ति भएको थियो । २०५२ सालमा शेरबहादुर देउवा सरकारमा वन र वातावरण जोडेर मन्त्री नियुक्त गरियो । एक महिना पछि भएको मन्त्रिपरिषद्को पुनर्गठनदेखि वनबाट हटाएर वातावरणलाई जनसंख्या जोड़न थालियो । २०६३ मा वातावरणलाई विज्ञान तथा प्रविधिसँग जोडियो । तर २०७२ मा केपी ओली सरकारमा फेरि वातावरणलाई जनसंख्यासँग जोडि़यो । यसपछि गठन भएको देउवा सरकारमा वातावरणलाई जनसंख्यासँगै राखिए पनि तीन महिनापछि वनसँग जोडियो । यसरी नेपाल वातावरणको प्राथमिकता निर्धारणकै अलमलमा रुमल्लिरहेको प्रस्ट हुन्छ । किन वातावरणलाई मुख्य एजेण्डा नबनाएर जनसंख्या र वनको उपविषयको तल्लो तहमा किन राखिने गरेको छ ? यसको औचित्य कुनै पनि सरकारले प्रस्ट गर्न सकेको छैन । 

नेपालमा सन् १९५६ देखि सुरु भएको अवधि योजनाले धेरै क्षेत्रहरूको विकास समेटेको पाइन्छ । जस्तै यातायात, सञ्चार, कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, गरिबी निवारण आदि तर सन् २००७ सम्म आइपुग्दा पनि कुनै अवधिमा हामीले जलवायु परिवर्तनलाई शीर्ष प्राथमिकता दिइएको पाउदैनौँ । कुनै पनि सरकारले आफ्ना नीति, नियम, योजनाहरूमा वातावरणलाई केन्द्रित गरेर लक्षित दृष्टि सिर्जना गरेको पाइँदैन ।

विगतमा हामीले हेर्दा, सुन्दा वा पढ्दा जलवायु परिवर्तनले निम्त्याउने लक्षणहरूको अनुमान औँल्याउँथ्यौं र अनुमान लगाउन सक्थ्यौं भने आजको दिनमा आउँदा हामीले सर्वत्र त्यस्ता लक्षण देख्न पाउछौँ । त्यसमाथि पनि नेपालको विविध जलवायुको कारण विश्वव्यापी रूपमा जलवायु परिवर्तनको जोखिममा नेपाल चौथो स्थानमा पर्दछ । 

नेपालमा जलवायु परिवर्तन र यसका जोखिम 

नेपालमा असमान भूभाग र क्षेत्रीय मौसम प्रणालीहरूद्वारा सञ्चालित यहाँ अत्यन्त विविध र जटिल हावापानी पाइन्छ, विभिन्न सामाजिक–आर्थिक, भौतिक, भौगोलिक र राजनीतिक अवस्थाका कारण, नेपाल जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी जोखिममा परेको देशको सूचीमा परेको छ । (क्लाइमेन्ट चेन्ज रिलटेड इन्डिकेटर्स अफ नेपाल, २०२२)

सानो जग्गा, सीमित सिँचाइ उपलब्धता, कम आय स्तर, सीमित संस्थागत क्षमता र जलवायु–संवेदनशील प्राकृतिक स्रोतहरूमा कृषिको बढी निर्भरता भएका सीमान्त किसानहरूको ठूलो अनुपातले जोखिमको स्तर बढाउँछ । (वर्ल्ड बैंक, २००८) 

कुनै बेला हरियो वन नेपालको धन भनेर चिनिने देशमा अहिले इच्छित बाली उत्पादन र पशुधन उत्पादनमा समस्या देखिरहेको छ । अतिवृष्टि र अनावृष्टि जस्ता विपत्तिले ठाउँ–ठाउँमा पहिरो गइरहेको छ र उर्वर हरिया बालीनालीलाई सुख्खा गहिरा दरारले प्रतिस्थापन गरिरहेका छन् ।

यसबाहेक, कृषि क्षेत्रमा बाढीको उच्च जोखिम, माटोको क्षरणमा वृद्धि र कीट र रोगहरूको दायरा÷प्रचलनमा हुने परिवर्तनहरूसहित अन्य प्राकृतिक प्रकोपको जोखिम अत्यधिक बढेर गएको छ । यसै गरी हाम्रा पन्ना जस्ता हरिया पहाड अनियन्त्रित वन विनाश, औद्योगिकीकरण, आधुनिकीकरण, सहरीकरण र मानव बस्तीले गर्दा हराउँदै गएका छन् ।

नेपालमा जलवायु परिवर्तनले विशेष गरी जलवायु संवेदनशील संक्रामक रोगहरूबाट जनावरहरूको मृत्युदर र विकृति बढाइरहेको छ । बढ्दो तापक्रम र सापेक्षिक आर्द्रताले पनि दाना सामग्रीमा अफलाटोक्सिनको संक्रमण उच्च रहने हुनाले जनावरहरूमा विषाक्तताको जोखिम बढाउँछ । संक्षेपमा भन्नुपर्दा जलवायु परिवर्तनका कारण नेपाली कृषकहरूले पशुपन्छी उत्पादनबाट घाटा बेहोर्नुपरेको विडम्बना देखिन्छ ।

जलवायु परिवर्तनका कारण नेपालले ग्लेसियर लेक आउटबर्स्ट बाढी (न्ीइँक) को बढ्दो खतराको सामना गरिरहेको छ । नेपालमा एक हजारभन्दा बढी हिमनदी रहेको विश्वास छ । फोक्सुण्डो ताल, त्शो रोल्पा, चाम्लाङ उत्तरी सो, चाम्लाङ दक्षिण त्शो र लुम्डिङ सो जस्ता हिमनदी तालहरू पघ्लियेर बाढी–पहिरोको

जोखिम निम्त्याउन सक्छन् । यसले हिमाली भेगमा बस्ने समुदायमा ज्यान, सम्पत्ति, भौतिक संरचनाहरूलाई ठूलो क्षति पुर्याउँछ । 
यी सर्प जस्ता सुलुलु बग्ने नदी–नालालाई जोगाउनु हाम्रा लागि अत्यावश्यक भइसकेको छ किनकि हाम्रा हीरा जस्ता टल्किने हिमालमा हिउँ नपरेर पुरानो चमक रहेन । 

आइक्यू एयरको भर्खरै प्रकाशित तथ्यांकअनुसार विश्वभर दूषित र गुणस्तरहीन हावाको सूचीमा काठमाडौँ प्रथम स्थानमा रहेको छ । नेपालमा भित्री र बाहिरी वायु प्रदूषकबाट हुने मृत्यु दरप्रिित लाख थियो जुन नेपालमा हृदय रोगका कारण मृत्यु दरपछि दोस्रो उच्च हो । त्यसमाथि पनि सन् २०२२ को एक रिपोर्टका अनुसार काठमाडौँको पानीको नमूना हेर्दा लगभग ७० प्रतिशत दुषित थियो । (द काठमान्डौ पोस्ट, २०२२) दुषित पानीको सेवनका कारण पैदा हुने पानीजन्य रोगहरू जस्तै कोलेरा, झाडा–पखाला, टाइफाइड, आदिको संक्रमण तीव्र रूपमा फैलिन सक्छ । 

मानिसमा मात्रै सीमित नभएर यसको परिणाम वन्यजन्तु र वनस्पतिमा पनि देखिन्छ । जलवायु परिवर्तनले स्व–सन्तुलित परिस्थितिकीय–पद्दतिमा असन्तुलन ल्याउने हुँदा त्यस पद्धतिमा निर्भर विशेष जात–जातिका वन्यजन्तु र वनस्पतिको अभिवृद्धिमा अवरोध आउनुका साथसाथै लोप हुँदै ति जाति–प्रजातिको सर्वनाश हुन सक्ने चेतावनी नजिकिँदै गएको छ । उदाहरणका लागि वातावरण संकटका कारण खतरामा परेका प्रजातिहरू मध्ये हिम चितुवा, आसामी बाँदर, रेड पान्डा, स्पाइनी ब्याब्लर (नेपालमा मात्रै पाइने चरा) आदि वन्यजन्तुको संरक्षण अत्यावश्यक देखिन्छ । त्यसैगरी वनस्पतिमा आइसेलु, यार्सागुम्बा, सर्पगन्ध, सल्ला, आदिलाई पनि तत्काल ध्यानमा राखी जोगाउनतर्फ लाग्नु पर्ने चेतावनी विश्व रिपोर्टले दिन्छ । 

निष्कर्ष

एकादेशमा काठमाडाैँ एयरपोर्टबाट टलक्क हिमाल देखिएका कारण पर्यटकहरू ओर्लन मान्दैन थिए । आज एक टुक्रा हिमाल पनि भाग्यले साथ दिए मात्रै हेर्न पाइन्छ । यति छोटो समयावधिमा पनि हामीले धेरै नोक्सान बेहोर्नु परेको छ । हीरा जस्ता हिमाल अहिले काला चट्टान हुन पुगे । पन्ना जस्ता पहाड अहिले नाङ्गो झार हुन पुगे । वास्तविकतामा मानव जाति यही पारिस्थितिक पद्धति र प्रणालीको अभिन्न भाग हाैँ जसको वरिपरिको पर्यावरणसँग अन्योन्यास्रित सम्बन्ध छ ।

भर्खरै प्रकाशित ‘द न्युयोर्क टाइम्स’ (मार्च २०, २०२३) को शीर्षकमा वातावरण प्यानलका अनुसार पृथ्वीले अबको एक दशक भित्रमा नै गम्भीर विश्वव्यापी तापक्रमको सीमा पार गर्ने छ भन्ने पुष्टि गरेको छ । यद्यपि, यस अनुसन्धानका अनुसार, करोडौंको कोष, विशाल परिवर्तन र विश्वव्यापी सहकार्य हुने हो भने यसलाई सुरक्षित तहसम्म ल्याउन सकिन्छ । 

नेपालले जलवायु परिवर्तनलाई मध्येनजर गर्दै वातावरणसम्बन्धी राष्ट्रिय नीति तथा प्राथमिकता निर्धारण गरेर एउटा छुट्टै मन्त्रालय, मन्त्रि, नीति, नियम, विनियम, कोषको व्यवस्था गर्नु अपरिहार्य देखिन्छ । यसरी पर्यावरण र वातावरण विभाग छुटट्याउने र त्यहाँ तालिम, बिजारोपण, जन–चेतना फैल्याउने जस्ता कार्यक्रमहरू नियमित राख्नु पर्ने देखिन्छ । 

नेपालमा मुख्य रूपमा जलवायु परिवर्तनका परिणामलाई प्रतिक्रियात्मक ढंगले भन्दा पनि सक्रिय र जोखिम न्यूनीकरणका दृष्टिले वर्तमानका महत्वपूर्ण कार्यक्रम हरूको परिवर्तन र अनुगमनको आवश्यकता छ । जलवायु परिवर्तनशीलतालाई मुख्यप्रवाह गरेर राष्ट्रिय नीति र योजना प्रक्रियामा ल्याउने काम नेपालले अझै हासिल गर्न बाँकी नै छ । 

हिमालय क्षेत्रका अद्वितीय सांस्कृतिक र वातावरणीय विविधतालाई सम्बोधन गर्ने विकास प्रतिक्रियाहरूलाई प्रतिस्थापन गर्दै आएका आधुनिक परिवर्तनहरूले यस क्षेत्रको दीर्घकालीन दिगोपनको न्यूनीकरण गर्दै थप जोखिमयुक्त तुल्याउँछ । त्यसकारण हिमाली क्षेत्रका लागि लामो–अवधि र दिगो विकासका नीतिहरू परिमार्जन गर्न नेपाल सरकारले त्यहाँका स्थानीय वासिन्दाहरूसँग सहकार्य गर्दै मौलिक र साँंस्कृतिक विविधतालाई जोगाउनु पर्छ । 

जलवायु परिवर्तनको बारेमा सचेतना र कार्यशालाहरू, बैठकहरू, र गतिविधिहरू जहाँ अनुकूलन विकल्पहरूको पहिचान सञ्चालन गरिन्छ त्यहाँ समुदायहरूको प्रत्यक्ष संलग्नता हुनु आवश्यक छ । स्थानीय समस्या, स्थालाकृति, तथ्यांक, स्थानिक रोग, स्थानिक वनस्पति र वन्यजन्तु आदि सबैको सम्बोधन गरेर एकाई तहबाट वातावरण संरक्षण गरेमा मात्रै समग्र रूपमा विकास अनुकुल छ । 

नेपालको हिमाली भेगमा एउटा राष्ट्रिय आपतकालीन हेल्पलाइन पनि स्थापना गर्न पहल गर्नु पर्ने देखिन्छ । हिमनदी पग्लेर आउन सक्ने पहिरोको जोखिमबाट बच्नका लागि स्थानीय समुदायमा यस्ता बुथहरू स्थापना गर्नु राष्ट्रिय नीतिबाट निर्देशित हुनु पर्छ । 

नेपालले आफ्नो वातारण जोगाउने प्रयासले विश्व समाजको सामु एउटा ज्वलन्त उदाहरणको रूपमा प्रतिपादित गर्न सक्नु पर्छ । वातावरण संरक्षणमा सहकार्य र सहयोग गर्नका निमित्त विश्व समाजले प्रोत्साहन गर्न सक्नु पर्छ । 

रवीन्द्रनाथ टैगोरले ‘जसले आफू कहिल्यै छायाँमा बस्न पाउँदिन भन्ने थाहा हुँदा पनि रुख रोप्छ उसले जिन्दगीको अर्थ बुझ्न थालेको छ’, भने झैँ हामीले अहिले नै बुझेर भावी पुस्ताका लागि हरिण र स्वच्छ पृथ्वी छोड्न सक्नु पर्छ । 


दमक, झापा
कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि राख्ने घिमिरे कानून र मनोविज्ञानकी विद्यार्थी हुन् । 


Author

थप समाचार
x