विचार

पुना, मुम्बईदेखि चलचित्र ‘बहाव’सम्म

सामीप्यराज तिमल्सेना |
चैत १३, २०७९ सोमवार ७:२९ बजे

बाबु आमाले छोरा छोरीको रुचि तय गर्ने नेपाली समाजमा चितवन नवलपुरका प्रमोद कँडेल पनि अपवाद थिएनन् । परिवार डाक्टर भएको हेर्न चाहान्थ्यो, त्यो नभए कुनै प्रतिष्ठित कम्पनीको जागिरे । चलचित्रसँग त प्रमोदको परिवारको टाढा टाढासम्म पनि कुनै साइनो थिएन । तर ब्याचलर पढिरहँदा एक दिन प्रमोदलाई महसुस भयो, चलचित्रमा एक ट्राई त हान्नै पर्छ । यसरी चलचित्रका लागि प्रमोदले बुनेको जाल स्वयं चलचित्रको कथाभन्दा कम रोचक छैन । 

एसईइ सकेर प्लस टू गर्ने बेलामा उनलाई कलेज हैन कलेजको ड्रेसले लोभ्यायो । चितवनकै बालकुमारीमा प्लस टू पढ्ने निर्णय गर्दा प्रमोदलाई आउँदा जाँदा देखिने यो कलेजका विद्यार्थीले लगाएको कालो पेन्ट र सेतो सर्टले लोभ्यायो । भर्ना गरेपछि थाहा पाए, यो त होटल म्यानेजमेन्टको कलेज पो रहेछ । उनले केही दिनमै चाल पाए, ड्रेसले मात्र होइन रुचिले पनि झुक्याएछ ।


होटल मेनेजमेन्टमा खास मन बसेन । जसोतसो गरेर प्लस टू सके र ब्याचलरका लागि भने अहिलेको नखद विषय बीबीए पढे । तर यो पनि पढ्दा पढ्दै बीचैमा उनलाई लाग्यो, म यो विषयलाई पनि काम लाग्ने रहेनछु । ‘म तेस्रो वर्षदेखि कक्षा कोठा छाडेर पुस्तकालयमा बस्न थालेँ । यही समयमा मैले नेपाली साहित्यका सारा चर्चित कृति पढेँ । यसपछि त मलाई अरु जे बने पनि चलचित्र निर्देशक चाहिँ बन्छु बन्छु भन्ने लाग्यो,’ करिब ५ वर्षअघिका क्षण सम्झना गर्दै प्रमोदले भने । पुस्तकालयमा बसेको समयले प्रमोदलाई कथा लेखक बनायो । उनले साथीहरूका कथा साथीहरूलाई नै रोचक पारामा सुनाउन थाले । र बीबीएका अन्तिम वर्ष चलिरहँदासम्म उनी कन्फर्म भइसकेका थिए इकोनोमी हैन उनलाई आर्टमा रुचि छ । यसपछि उनले त्यो ठाउँसम्म पुग्ने बाटो खोज्न थाले । 

यसका लागि प्रमोदले काठमाडौँ आएर अस्कर कलेज पढ्ने विचार गरे । केही दिन पढे पनि तर कसो कसो यहाँ कुरा मिलेन । यसपछि उनले ठूलै ठाउँमा हेलिने निधो गरे । उनले देखे, सुनेको त्यो ठाउँ थियो, मुम्बई । तर यतिन्जेलसम्म घरमा भने म फिल्म पढ्छु भन्ने वातावरण बनेको थिएन । उल्टै बिग्रेको थियो । तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ प्रमोदले परिवारलाई शंका गर्ने ठाउँ पनि नदिई बीबीएको अन्तिम वर्षका लागि गर्नुपर्ने इन्टर्नका लागि भारतको पुनाको नोभेटेल होटल छाने । इन्डिस्ट्रियल ट्रेनिङका लागि यो होटल छान्नु पछाडिको उद्देश्य थियो, पुनाको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट छिर्ने । उनी १ वर्षे कोर्षका लागि पुना हान्निए । 

पुनाको होटलमा उनले १२ घन्टा ड्युटी गर्नुपथ्र्यो । त्योवापत केही पैसा र बस्न खान पाउने सुविधा थियो । तर केही दिन भलाद्मी भएर ड्युटी गरेपछि उनले बाहिर भाग्ने उपाय खोज्न थाले । यो क्रममा उनले पुनाको इन्स्टिच्युटमा गएर पढ्ने सम्भावना बारे बुझे । तर त्यहाँ पढ्नलाई नेपाल सरकारको सिफारिस चाहिने रैछ । सिफारिस नै भए पनि पढ्न पाउने कुरामा भने कुनै ग्यारेन्टी हुन्थेन ।  यो कुरा घरका मान्छेलाई भन्ने पनि सम्भावना थिएन । तर फिल्म पढ्ने चाह यति तीव्र थियो कि उनलाई होटलको काममा रुचि लागेन । प्रमोद ४ महिनामै नेपाल फर्किए । तर यतिन्जेलसम्म फिल्म पढ्न कहाँ के गर्नुपर्ने रहेछ भनेर चाल पाइसकेको थिए । पुनाको वरिपरि रहेका मराठी थिएटरमा समय बिताएर रैथाने बनिसकेका थिए ।

‘म चार महिनामै नेपाल फर्किएँ र आफ्नो बजेटले भ्याउने फिल्म कलेजको खोजीमा लागे । यो क्रममा मुम्बई डिजिटल फिल्म एकेडेमी भेटेपछि, केही समयमै मुम्बई फर्किएँ,’ उनले केही वर्षअघिको संघर्ष स्मरण गर्दै भने । यो सन् २०१७ को कुरा थियो । विश्वभर कोरोना महामारीले मानिस अचानक घर भित्र कैद हुने समय चल्नु ठीक अघि सन् २०१९ मा प्रमोद नेपाल फर्किए । 

मुम्बई डिजिटल फिल्म एकेडेमीमा उनले पटकथा लेखन तथा निर्देशनको सैद्धान्तिक ज्ञान लिए । निर्देशनमा पनि क्राइम साइकोलोजी उनले स्पेसलाइजेसन गरेको विषय थियो  । अपराध मनोविज्ञानमा विशेष दक्षता हासिल गरेको भए पनि ‘बहाव’मार्फत पहिलो पटक निर्देशनमा डेब्यू गरेका प्रमोदले पारिवारिक विषयलाई कथानक बनाएका छन् । सत्य घटना प्रेरित फिल्ममा हरेक घरमा घटिरहने घटनालाई कथाको रुप दिएको प्रमोद बताउँछन् । 

‘बहावको कथा नेपाली समाजमा घटिरहने कथा हो । यसलाई दुई पुस्ताबीचको ग्यापको कथा भन्दा पनि हुन्छ,’ प्रमोद भन्छन्, ‘स्वभाविक रुपमै दुई पुस्ताको सोच्ने तरिका फरक हुन्छ । यसले निम्त्याउने समस्या नै हाम्रो बहावको कथा हो ।’

प्रमोदले प्रचार सामाग्रीमा फिल्मलाई जिज्ञाषा, विचार र यथार्थको कथाको रुपमा व्याख्या गरेका छन् । उनले फिल्मको सारा कथा यिनै विषय वरिपरि घुमेको बताए । ‘फिल्ममा सुरक्षा पन्तले निर्वाह गरेको चरित्र जिज्ञाषु छ । आफू वरिपरिका घटनाक्रमलाई लिएर उत्सुक छ । यो सबै कुरालाई लिएर उसले विचारको निर्माण गरेको छ । तर समाज र उसको परिवारको यथार्थ फरक छ,’ प्रमोदले फिल्मको विषय थप प्रष्ट पार्दै भने । 

उनले एकसरो कथाबाहेक हाम्रो समाजलाई निर्देशित गरिरहेको राजनीतिक दर्शनलाई पनि कथाको एउटा तहको रुपमा प्रयोग गरेका छन् । उनले मौलिकताको कुरा गरिरहँदा हाम्रो समाजलाई केले निर्देशित गरिरहेको छ भन्ने कुरा कथामा अभिव्यक्त हुनुपर्छ भन्ने मान्यतामा रहेर कथामा राजनीतिक दर्शनको रमरमी राखेको बताए ।

‘हामी मौलिक फिल्मको कुरा गर्छौँ । त्यो के हो भनेर खोज्दै गर्दा मैले के महसुस गरेँ भने हाम्रो राजनीतिक विचार, हाम्रो आफ्नो रैछ । यही राजनीतिक विचारले हाम्रो समाजमा क्रान्तिकारी र सुक्ष्म परिवर्तन दुवै भइरहेका रैछन्,’प्रमोद भन्छन्, ‘हामीले यो कुरा कथामा र खिचाइमा पनि समावेश गर्ने प्रयास गरेका छौँ । फ्रेममा पनि त्यो प्रयोग अटाउने कोशिस गरेका छौँ ।’

‘बहाव’लाई प्रमोद स्वयंले लेखेका हुन् । तर कलाकारबाहेकको बाँकी क्रिएटिभ टिम प्रमोदले मुम्बईबाट मगाएका हुन् । त्यसो त उनले सुरुमा कथा नै हिन्दीमा लेखेका थिए । तर हिन्दीमा भन्दा नेपालीमा फिल्म बनाउन कम खर्चिलो हुने भएपछि फिल्म अहिलेको स्वरुपमा आएको हो । तर भारतमा यसको रिलिजको सम्भावनाको बारेमा प्रमोदले खासै सपना देखेका छैनन् ।

किनकि भारतमा पिआर भ्यालु हेरेर वितरकले फिल्म लिने नलिने निर्णय गर्ने हुनाले अहिलेलाई आफूले त्यताको बारेमा नसोचेको बताउँछन् । तर फिल्ममा काम गर्ने भारतीय साथीहरू भने नेपालको बजारमा उत्सुक रहेको प्रमोद बताउँछन् ।  ‘मेरो भारतीय साथीहरू नेपालमै फिल्म बनाउने कुरामा बरु सकारात्मक छन् । किनकि बहाव जुन बजेटमा बनेर रिलिज हुँदैछ, त्यो बजेटमा त्यहाँ फिल्म बनाउने कल्पना पनि गर्न सकिन्न । हामीहरू नेपालमै फिल्म बनाएर विश्वमा लैजाने कुरा सोचिरहेका छौँ,’ प्रमोदले भने । 

यही चैत २४ मा रिलिज हुने फिल्ममा सुरक्षा पन्त र कमलमणि नेपालको मुख्य भूमिका रहेको छ । फिल्मलाई श्रीधर पौडेलले निर्माण गरेका हुन् ।
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x