विचार

सिनेमा समीक्षा

राष्ट्रियताको राजनीतिमा ‘पठान’को कमजोर हाजिरी

सामीप्यराज तिमल्सेना |
माघ १६, २०७९ सोमवार ११:१० बजे

फिल्म ‘पठान’को मध्यतिर शाहरुख खानले एउटा जापानिज आर्टको कुरा गर्छन् । ‘किन्टुगी’ भनिने त्यो आर्टको विशेषता हो, फुटेका भाँडालाई सुन वा चाँदीको जलप लगाएर पहिलाको भाँडाभन्दा मूल्यवान् बनाउनु । यो आर्टको सन्देश हो, जीवनमा दोस्रो मौका अवश्य आउँछ जहाँ तपाईं आफूलाई पहिलाभन्दा मूल्यवान् बनाउन सक्नुहुन्छ । 

‘पठान’का लेखक श्रीधर राघवन र अब्बास टायरवालाले यो ‘किन्टुगी’लाई जुन सन्दर्भमा प्रयोग गर्न खोजेका छन् फिल्ममा त्यो स्पष्ट छ । तर जापानिज कलाको यो विशेषता पर्दाबाट बाहिर निस्केर शाहरुखको जीवनसँग खुबै स्वादले एकाकार भएको छ । चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले ‘पठान’बाट फेरि एक पटक आफूलाई मूल्यवान् साबित गरेका छन्, बक्स अफिसमा छिन्न भिन्न भएको आफ्नो स्टारडमलाई जोडेर । 


चार वर्षअघि रिलिज भएको ‘जिरो’ शाहरुखको अन्तिम फिल्म थियो र त्यो वर्षको सबैभन्दा ठूलो फ्लप पनि । ‘जिरो’ हम्मरको त्यो अन्तिम चोट थियो जसले शाहरुखलाई छियाछिया बनाएको थियो । तर यो शृंखला सुरु भएको थियो, लगभग पाँच वर्ष अघिदेखि नै ।

सन् २०१३ मा रिलिज भएको ‘चेन्नई एक्सप्रेस’पछि शाहरुखका कुनै पनि फिल्मले सानदार व्यापार गरेका थिएनन् । यसको एक वर्षपछि आएको ‘ह्याप्पी न्यु इयर’ले व्यापार त पुग्दो गरेको थियो तर कोही पनि यसलाई शाहरुखको फिल्म मान्न तयार थिएनन् । कलाकारको भिड रहेको फिल्ममा शाहरुखको बिजोग थियो । त्यसयता बक्स अफिसमा शाहरुखका लागि सुरु भएको खडेरी ‘दिलवाले’, ‘डियर जिन्दगी’, ‘रइस’, ‘फ्यान’, ‘जब हेरी मेट सेजल’ले पनि तोड्न सकेनन् । 

‘जिरो’को असफलताको तोडसँगै शाहरुखको निजी जिन्दगी पनि भूमरीमा चलिरहेको थियो । हिन्दु युवतीसँग विवाह गरे पनि उनको नाम पछाडि आउने ‘माइ सरनेम इज खान’ले बेला बेलामा भारतको राष्ट्रियतालाई संकटमा पार्थ्यो । उनी मोदीको नयाँ भारतका समर्थक बन्न सकिइरहेका थिएनन् । यसले उनका व्यापार व्यवसायदेखि पारिवारिक जिन्दगी पनि सरकारको वक्रदृष्टिमा परेको थियो 

 परिणामतः शाहरुखका छोराले ड्रग्स सेवन गरेको मुद्दामा केही रात कस्टडीमा बिताउनुपर्‍यो जुन आरोप प्रहरीले कहिल्यै पुष्टि नै गर्न सकेन । यस्ता धेरै घटनाले शाहरुख टुटेर छरपस्ट थिए तर ‘पठान’को सफलतासँगै उनी अहिले ‘किन्टुगी’ साबित भएका छन् । किनकि बक्स अफिसमा अहिले यो फिल्मले नयाँ कीर्तिमान कायम गरिरहेको छ । एउटा औसत फिल्म हेर्न भारतमा मानव सागर उर्लिएको छ । 

औसत के अर्थमा भने भारतमाथि छिमेकी पाकिस्तानबाट सुरक्षा खतरा रहेका विषयमा भारतले हजारौँ फिल्म बनाएको छ र दर्शकले पहिले नै अनुमान पनि हुन्छ, यस्तोमा जित कसको हुन्छ ? तर पनि फिल्म दर्शकको नजरमा जमेको छ भने यसको पहिलो श्रेय शाहरुखकै भागमा परेको छ । दोस्रो श्रेय एक्सन कोरियोग्राफर केसी ओनिललाई जान्छ जसले जल, जंगल जमिन, आकाश जताततै हिरो र भिलेनलाई भिडाएका छन् । केसी ओनिल तिनै स्टन्ट डिजाइनर हुन् जसले टम क्रुजलाई फाइट खेल्न सिकाउने गरेका छन् ।

‘पठान’मा पनि ‘मिसन इम्पोसिबल’देखि जेम्स बन्ड सिरिजका ‘गोल्डेन आई’ र ‘टुमरो नेभर डाइज’ आदि फिल्मका स्टन्ट याद आउँछन् । तर फाइटमा अब देखाउन बाँकी के नै होला र ! कलाकारको कुरामा चाहिँ यो फिल्म हेरेपछि लाग्छ, जोन अब्राहमले नायकत्व भएका चरित्र छाडेकै बेस । ‘एन्टी हिरो’ टाइपमा उनी लाजबाब छन् ।

एउटा सुपरस्टार पनि हरेक फिल्मसँगै जन्म लिन्छ र मर्छ । ‘पठान’ले फेरि एक पटक शाहरुखलाई जन्म त दिएको छ तर खुट्टी दह्रो गरी टेक्न ‘पठान’ जस्तो फिल्म गरेर मात्र पुग्दैन ।

फिल्मकै मात्र कुरा गर्ने हो भने सम्भवतः ‘पठान’ शाहरुखका लागि लेखिएको र बनाइएको फिल्म हो तर फिल्मभित्र जोनको तुलनामा शाहरुख बिचरा लाग्छन् । तर, ५७ वर्षको उमेरमा उनले गरेको मेहनत र बनाएको ज्यान आकर्षक देखिन्छ । बरु दीपिका आँखाबाट हट्लिन्, शाहरुखलाई हटाउन गाह्रैपर्छ । यसको एउटा कारण चाहिँ विगतका दिनमा उनले हामीमाथि कुँदेको इमेज पनि होला । सफल र असफल प्रेमीका रुपमा शाहरुख हाम्रो पुस्ताका आइकन हुन् ।

बारम्बार राष्ट्रियताको परीक्षामा बस्न बाध्य बनाइएका शाहरुखले ‘पठान’मार्फत मनोरञ्जनसँगै भारतमा बहसमा रहेका केही कुराको सटिक उत्तर दिन खोजेका छन् । फिल्मको कथा राजनीति वरिपरि घुम्छ जहाँ शाहरुख आफ्नो राष्ट्रियताको अडान पनि फिल्मको कथासँग जोडेर वाचन गर्छन् । शाहरुख र दीपिकाको एउटा दृश्य छ जहाँ दीपिकाले शाहरुखलाई सोध्छिन्, ‘के पठान भनेको मुस्लिम हो ?’ शाहरुख भन्छन्, ‘त्यो त मलाई थाहा छैन । मलाई त बाबुआमाले सिनेमा घरमा छाडेर गएका थिए । पठान त मेरो अरु कसैले राखिदिएको नाम हो ।’

शाहरुखले बोलेको यो संवाद फिल्मभित्रको पठानले हैन, शाहरुख खानले बोलेको हो । किनकि शाहरुखहरूको जन्म सिनेमा हलमा नै हुन्छ । र सिनेमा हल नै यस्तो ठाउँ हो जहाँ प्रवेश गर्नलाई मान्छेको नाम, थर, जात, धर्म, लिंग केही पनि सोधिन्न । सम्भवतः दुनियाँको सबैभन्दा ‘धर्म निरपेक्ष’ ठाउँ नै सिनेमा हल हो । 

योबाहेक फिल्मले काश्मिर र आर्टिकल ७० को कुरा उठाउँछ जहाँ शाहरुख अतिवादको चक्र छाडेर भाइचाराको सन्देश दिन अग्रसर छन् । सायद यही कारण हुन सक्छ पठान आइएसआई एजेन्ट रुबिना मोहसिन (दीपिका)लाई दोहोर्याएर विश्वास गर्छ र संकटको घडीमा केही हुन नदिने प्रण गर्छ । फिल्मभित्र झिलिक्क आएर हराइजाने यस्ता दृश्यले यस्तै बेग्लै बेग्लै कथ्य उजागर गरिरहन्छन् । यो फिल्मले बाँकी धेरै हिन्दी फिल्मले जस्तो पाकिस्तानलाई एक मात्र दुश्मनका रूपमा चित्रण गर्दैन । त्यहाँका केही मानिस मात्र भारतको बर्बादीमा लागि परेको कथ्य पेस गर्छ ।

शाहरुख खानले सन् १९८८ मा ‘फौजी’ टेलिफिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । उनको यो यात्राले ३५ वर्ष पूरा गरेको छ । तर रोचक के छ भने ३५ वर्षपछि शाहरुख ‘पठान’मा फेरि एक पटक फौजी बनेका छन् जो सामु देश बचाउने जिम्मेवारी त छँदै थियो तर त्योभन्दा ठूलो जिम्मेवारी थियो बक्स अफिसको दौडमा आफूलाई टिकाउने ।

‘पठान’मार्फत उनले एक तीरले दुई निशाना साँधेका छन् र यो पटक निशाना ताकेकै ठाउँमा लागेको पनि छ । तर फिल्म बिजनेस यस्तो ठाउँ हो जहाँ एक माघले जाडो जाँदैन । एउटा सुपरस्टार पनि हरेक फिल्मसँगै जन्म लिन्छ र मर्छ । ‘पठान’ले फेरि एक पटक शाहरुखलाई जन्म त दिएको छ तर खुट्टी दह्रो गरी टेक्न ‘पठान’ जस्तो फिल्म गरेर मात्र पुग्दैन । यसो भनिरहँदा बुझ्नुपर्ने कुरा छ भने शाहरुख ‘लार्जर देन लाइफ’ टाइपकै हिरो हुन् । उनबाट दैनिक जीवनलाई उद्धिपन गर्ने कलाको आस गर्नु पनि हाम्रो भ्रम हुनेछ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x