विचार

हल

विमल आचार्य |
पुस २३, २०७९ शनिबार ९:५० बजे

२०७९ पुस २०, बुधबार । बिहान ९ बजे एक जोडी घरबाहिर निस्किन्छन् । सानो छोरोलाई स्कुटरको बीचमा राख्छन् । स्कुटर स्कुलनेर पुगेर रोकिन्छ । छोरोलाई स्कुल छोडेर उनीहरू कमलपोखरीतिर लाग्छन् । 

सिटी सेन्टरको अघिल्तिर स्कुटर रोकिन्छ । श्रीमती ओर्लेर टिकट काउन्टरतिर लाग्छिन् । श्रीमान्‌ चाहिँ सिटी सेन्टरको अर्धपरिक्रमा गर्छन् । कुमारी हलतिर जाने बाटोपट्टिबाट सिटी सेन्टरको सुरुङभित्र छिराउँछन् स्कुटर । पार्किङपछि उनको हातमा एउटा चिर्कटो देखिन्छ । 


श्रीमान्‌ एकदम हतारमा देखिन्छन् । मोबाइल फोन हेर्छन् । समय ९:२८ भइसकेको हुन्छ । उनी लिफ्टको बटन थिच्छन् । 

‘सीधै माथि आऊ ल, फोर्थ फ्लोरमा,’ लोग्ने फोनमा सुवासिनीलाई भन्छन् । 

फोर्थ फ्लोरमा तीन जना उभिएका छन् । ‘एक’ जोडी र ‘एक’ बिजोडी । ‘एक’, ‘एक’ जोड्दा दुई हुनुपर्ने । तीन भयो, श्रीमान्‌को हिसाबमा । 

उनीहरू अपरिचित श्रीमान्‌लाई देखेर मख्ख पर्छन् । 

उनीहरू किन मख्ख परे, श्रीमान्‌ छक्क पर्छन् । 

‘अवतार हेर्न आउनुभको हो ?’ उनीहरूमध्ये एक ।

‘हो हो ।’

(यसैबीच श्रीमतीको प्रवेश हुन्छ ।)

‘ल, पाँच जना भइम् त,’ उनीहरू भन्छन् ।

‘छ जना नभई चल्दैन,’ काउन्टरभित्रबाट आवाज आउँछ । 

सुरुमा अनुनयको भाषा बोलिन्छ— देखाइदिनु न प्लिज, एक जना त पुगेन नि ! 

‘छ जना नभई मिल्दैन,’ हलवाली ।

अनि अनुरोधको भाषा बोलिन्छ— हामी नियमित आउने दर्शक, नफर्काउनुस् न प्लिज ।

‘छ जना नभई मिल्दैन,’ हलवाली ।

अनि आग्रहको भाषा बोलिन्छ— हामी नै अर्काे एक जनाको टिकट लिन्छम् नि त !

‘हैन सर, भित्र हाम्रो क्लिनिङको काम भइराछ । ११ बजेको सो हेर्नुस् न ।’

‘अफिस जानुपर्छ, ढिलो हुन्छ, त्यही भएर त अहिलेको सो हेर्न आको ।’

‘तीन घण्टाको हो, अहिले हेर्नुभयो भने पनि त अफिस भ्याउनुहुन्‍न नि,’ हलवाली । 

एक अनुनय । दुई अनुरोध । तीन आग्रह । र, चौथो सवालमा आक्रोशको भाषा अनवरत बोलिन्छ :
- अफिस १० बजे मात्र हुँदैन म्याम, अफिसको चिन्ता नलिइदिनुस् ।
- हामीलाई थाह छ, फिल्म कति घण्टाको छ भनेर । 
- छ जना नभई नदेखाउने नियम कहाँ छ ? कि नियम देखाउनुस् कि फिलिम देखाउनुस् । 
- सो नहुने भए अहिले भर्खर किन यहाँ (बिग मुभिजको फेसबुकमा भर्खरै नाउ सोइङ लेखेको देखाउँदै) यस्तो लेखेको ? सो क्यान्सिल भको सूचना खै ? 
- यहाँको ठूलो मान्छे को हुनुहुन्छ, बोलाउनुस् म कुरा गर्छु । कहाँ कहाँबाट आइसकेपछि देखाउँदिनँ भन्‍न पाइन्छ ? हाम्रो समय बर्बाद भएन ? ‘समयको महत्व’ शीर्षकमा स्कुलमा निबन्ध त लेख्नुभको होला नि । सुरुमा छ जना नभई हुन्‍न रे । अनि ६ जना हुँदा हल क्लिनिङको काम हुँदै छ रे । फिल्म देखाउने यो कुन तरिका हो ? 
- तपाईंहरूको कुनै दोष छैन, हाकिम बोलाउनुस्, उहाँको नम्बर दिनुस् ।

यी र यस्ता आक्रोश कुनै मुखर थिए, कुनै मौन । 

श्रीमती अघिदेखि श्रीमान्‌लाई आफूतिर तान्छिन्, ‘जाम् जाम्, अब धेर नबोल्नुस् ।’ 

हलवालाले दास बनाएका ‘दर्शक’ ११ बजेको सो कुर्ने भन्दै निस्किन्छन् ।  

१० मिनेट जति आक्रोशित भएका श्रीमान्‌ केही शान्त देखिन्छन् । लिफ्टमा ‘जी’ थिच्छन् । फेरि एक छिनपछि ‘माइनस वान’ थिच्छन् । उनी शान्त छैनन् रैछन् । 
सेन्टरका तला-तलामा कुनै चहलपहल थिएन । 

श्रीमान्‌ श्रीमती पारदर्शी लिफ्टबाट स्वाट्टै तल झरे, जसरी कविहरू सधैँ बासी विम्बमा झर्छन्, कि छानाबाट कि छाँगाबाट ।  

श्रीमान्‌ श्रीमती जी अर्थात् ग्राउन्ड छोडेर माइनस अर्थात् पातालमै उत्रिए । पातालमा झरेका दुर्वासा अवतारी श्रीमान्‌को पारो भने शिखरमै छ । 

स्कुटर चढेर श्रीमान्-श्रीमती बाहिरिँदै हुन्छन् । बाहिरिँदा श्रीमान्‌लाई फेरि निहुँ खोज्न मन लाग्छ । 

‘कति हो दाइ ?’ श्रीमती सुस्तरी सोध्छिन् । ‘२५ दिनुस्,’ सालिक बनेर उभिएको ऊ श्रीमान्‌तिरै घुरेर हेरेर भन्छ ।

सेन्टरको दायाँ कुनोबाट मूल सडकमा आइपुग्दा स्कुटर रोकिइन्छ । पार्किङवाले अघि दिएको चिर्कटो देऊ-को संकेत गर्छ । 

‘फिलिम हेर्न पाइएन, अब केको पैसा ?’ श्रीमान्‌ दुर्वासा । 

हेल्मेट र मास्कले छोपिएको श्रीमान्‌को अनुहार ऊ राम्ररी हेर्न चाहन्छ, सायद । एकसाथ आँखा तरेर श्रीमान्‌लाई, नाक फुलाएर श्रीमान्‌लाई, निधार खुम्च्याएर श्रीमान्‌लाई, कानमा औँला घुसारेर श्रीमान्‌लाई, मनमनैमा रिस तीनपाते हुन्छ, उसको । 

छाती ढुकढुक गरे पनि हेल्मेट र भाइजरमा श्रीमान्‌ ढुक्क छन् । पछाडि श्रीमती श्रीमान्‌को ढाडमा ढकढक गर्छिन् । 

‘कति हो दाइ ?’ श्रीमती सुस्तरी सोध्छिन् । 

‘२५ दिनुस्,’ सालिक बनेर उभिएको ऊ श्रीमान्‌तिरै घुरेर हेरेर भन्छ । 

‘जाबो एक मिनेटकै ढाइ रुप्या ?’ श्रीमान्‌ निहुँ थप्छ ।

श्रीमती आफ्नो ब्यागबाट निकालेर १०/१० का दुई र पाँचको एक नोट टक्र्याउँछिन् । 

‘बुझ्न आउँदा पार्किङमा जानै पर्दैनथ्यो नि, यहीँ रोकेर काउन्टरमा बुझ्न सक्नुहुन्थ्यो ।’ 

‘कहाँ बुझ्न आको हो त ? हेर्नै आको हो,’ स्कुटर कुदाइसकेपछि श्रीमान्‌ खै कसलाई जवाफ फर्काउँछन् । 

‘अवतार : द वे अफ वाटर’ हेर्न नपाएपछि श्रीमान्‌ ‘दुर्वासा अवतार : द वे अफ वार’मा लाग्छन् । 

बाटोभरि श्रीमान्‌ले स्कुटर त्यति छिटो के चलाए र, दिल-दिमाग (दिदि) एकैचोटि तूफान हुइँकियो । हुइँकियो कि सुइँकियो भन्‍ने श्रीमान्‌लाई थाहा त छ, तर दिदिले मान्दैन । दिदि चलाएर आफ्नै गिदी खराब गर्न श्रीमान्‌ चाहँदैनथे । 

तर, श्रीमान्‌ले आफ्नै दिदिसित हार खाए । 

श्रीमतीले श्रीमान्‌को गतिसित हार खाइन् ।

‘रोक्नु रोक्नु,’ सुनेपछि मात्र श्रीमान्‌ले चाल पाए, श्रीमतीको गन्तव्य आएछ । 

ट्राफिक प्रहरी श्रीमती सवारी चालक श्रीमान्‌लाई उपदेश दिएर गुड्डे भन्दै बिदा भइन् । 

श्रीमान्‌ले उपदेश केही सुनेनन्, सम्झिएनन् । देश सम्झिरहेका बेला उपदेश मुला कसले सुन्छ ? 

श्रीमान्‌को मन दोमन भयो, यता जाऊँ कि उता ? श्रीमान्‌ एकछिन स्कुटरमाथि उसै बसिबसे । 

केही बेरमा श्रीमान्‌को स्कुटर शान्तिनगरमा रोकियो । त्यहाँ उनको अफिस छ । 

श्रीमान्‌ले सबैभन्दा पहिला आफ्नो कम्प्युटर खोले । दायाँबायाँ केही नहेरी धमाधम टाइप गर्न थाले । 

दिदिमा जे जे चलेथे, सबै कुरा दुरुस्तै उतारे । होइन होइन, दुरुस्तै उतारेनन् । दिदिका अश्लील शब्द मुखमा आउन दिएनन् । मुखमा आए पनि कम्प्युटरमा चुहिन दिएनन् । यदि सब चुहिन्थे भने यो लेख ‘वास्तविक’ हुने थियो । र, हुने थियो— अश्लील । 

यी सिनेमावालाहरू, हलवालाहरू फिलिमलाई जीवनको अभिन्‍न अंग बनाइनुपर्ने बताउँछन् । सिनेमा हेर्नुलाई विलासिता हैन, जीवन संस्कृति बनाउनुपर्ने भन्दै रुन्छन् । सिनेमा फगत चक्षुरञ्जन र मनोरञ्जन मात्र होइन, यो कलाको बलियो हाँगो हो भन्छन् । 

गाँस, बास, कपास, सहवास जस्तै मनोरञ्जन पनि मान्छेलाई चाहिन्छ । र, मनोरञ्जनको महलमा सिनेमाको रोल नम्बर एक छ । 

म:म खान आएको ग्राहकलाई चाउमिन खानुस् भन्दै चाउमिनका फाइदाको लेक्चर दिन्छ ?

उसो भए सिनेमा गाँस जस्तै अनिवार्य हो भने हल बन्द गर्न पाइन्छ त ? के कुनै रेस्टुरेन्टले एक जना मात्र ग्राहक हुनुभयो, खुवाउदिनँ भन्छ ? एक जनालाई मात्र पकाउँदा धेरै खर्च लाग्छ, ग्रुपमा आउनुस् भन्छ ? अथवा दुई घण्टापछि मात्र खुवाउँछु भन्छ ? म:म खान आएको ग्राहकलाई चाउमिन खानुस् भन्दै चाउमिनका फाइदाको लेक्चर दिन्छ ? ‘अवतार’ हेर्न आउनेलाई ‘डिसेम्बर फल्स’ र ‘डिसेम्बर फल्स’ हेर्न आउनेलाई ‘अवतार’ हेर्नुस्, कुन चाहिँ होटेलले भन्छ ? सिनेमा गाँस जस्तै हो पनि भन्‍ने अनि भोकाएर हलसम्म गएकालाई भोकभाकै अपमानित गर्ने ?

सिनेमा बास जस्तै महत्वपूर्ण हो भने के कुनै गेस्ट हाउसले एक जना मात्र आउनुभो, दुई जना आउनुस् भन्छ ? (साथी खोज्ने पाहुनालाई कुनै गेस्ट हाउसले आफैँ साथी मिलाइदिन सक्छ, यो बेग्लै कुरा ।) 

यात्रु आएनन् भनेर के कुनै टेम्पो सुन्धारा स्टेसनमा दिनभरि रोकिन पाउँछ ? छ जना यात्रु भएनन् भनेर चढेका यात्रुलाई डेढ घण्टा कुराउँछ ? यात्रु थोरै भए भने लामो रुटको सवारीले यात्रुलाई अर्को सवारीमा चढाइदिनसम्म सक्छ । आफ्नो हलमा दर्शक ‘नपुगेपछि’ हलवालाले नजिकैको अर्काे हलसम्म दर्शकलाई लगिदिन सक्दैन ? 

तर, प्रश्न के हो भने दर्शक एक जना भए पनि फिल्म देखाउँछु भन्‍नेले देखाउनुपर्छ । एक जना दर्शकका अघि नाट्य थियटरमा कलाकार कुन आत्मबल र प्रेरणाले अभिनय गर्दो हो ? गर्छ त ।

ग्राहक ईश्वर हुन् भन्‍ने व्यवसायीले ईश्वरलाई यति हेप्छन् भने मान्छेलाई कति हेप्दा हुन् ? हलवालाहरूलाई हेक्का रहोस्, तिम्रा दर्शक हकवाला हुन् । दर्शकहरू उपभोक्ता कानुनमा अलिकति सचेत हुनेबित्तिकै तिमीहरूको जिन्दगी नै सिनेमा बन्छ ।  

के कुनै ग्राहक/उपभोक्ता दुनियाँमा योविधि हेपिँदो हो ? नेपालमा जति ग्राहक हेपिने कुनै ग्रह ब्रह्माण्डमा छ ? दुनियाँ र ब्रह्माण्डको कुरो आइहाल्यो । 

श्रीमान्‌ले केही दिनअघि मात्र सिने जगत्कै एउटा समाचार पढेका थिए । उपभोक्ता हक र हितको प्रसंगमा समाचार सान्दर्भिक छ । 

अभिनेत्री एना डे आर्मसलाई युनिभर्सल पिक्चरले ‘एस्टर्डे’ फिल्मको ट्रेलरमा देखाउँछ । एनाका दुई जना फ्यानले उनैलाई नै हेर्न भनेर फिल्मको टिकट लिन्छन् । तर, हलमा हेर्दा एना थिइनन् । एनाका फ्यानद्वयको मुड बिग्रिन्छ । निर्माण कम्पनीले आफूहरूलाई ठग्नु ठगेको, आफूहरूको इमोसनल अत्याचार गरेको महसुस हुन्छ । अनि उनीहरूले ५० लाख अमेरिकी डलर क्षतिपूर्ति मागसहित अदालतमा मुद्दा हाल्छन् । दर्शकले मुद्दा हालेपछि निर्माण टिमले ‘दर्शक तान्‍न ट्रेलरमा जे पनि राख्न सकिने’ जवाफ अदालतलाई दिन्छ । तर, अदालत उपभोक्ताको पक्षमा छ । मुद्दा अगाडि बढेको छ । अन्तिम निर्णय आई नै नसके पनि फैसला उपभोक्ताको पक्षमा आउने पक्कापक्की जस्तै छ । हलिउडमा यो समाचार चासोको विषय बनेको छ ।  

उता ती श्रीमान्‌ त्यस्तो पक्रियामा छन् । यता श्रीमान्‌ पैसा बुझाएर उसैबाट गोदाइ खाएर फर्केका छन् ।  

केही समयअघि बुद्ध एयर एक जना यात्रु राखेर उडेको थियो । संयोगले ती एक्लो यात्रु हलवाला नै थिए । ती एक्लो यात्रु यिनै हुन्, जसले पटकपटक दर्शकलाई अपमान र शोषण गरेका छन् । अर्कै फिल्म हेर्न गएका दर्शकलाई झुक्याएर आफ्नो फिल्म हेर्न बाध्य पारेका छन् । यसरी झुक्याउनु भनेको विराटनगर जानुपर्ने उनलाई धनगढी पुर्याएर त्यहीँ छोडी हिँडेजस्तै हो । अझ यी हलवालाले एक्लो दर्शक भनेर हलमा सिनेमा नचलाएर फर्काएका पनि होलान् । 

आफू एक्लो यात्रु बन्दा यी हलवालाले आफू र आफ्नो क्षेत्रको व्यावसायिकता सम्झे होलान् ? व्यावसायिकताविना नै व्यवसायी कहलिन पाइने रहेछ यहाँ ? एउटा सिटको पैसा तिरेर प्लेन चार्टर गर्ने यी हलवालाले एउटा सिटको पैसा बुझाउनेलाई जीवनमा कुनै दिन हल जिम्मा दिएका होलान् ?

‘हामी त एक्लो दर्शकलाई हप्काएर फर्काइदिन्छौँ, तपाईंहरू पनि घाटा खाएर नउडाउनुस्’ भनेर सुझाव दिए कि बरु ? हलवालाहरूको पाठ सिक्ने हो भने बुद्ध एयरले छ जना यात्रु नभई प्लेन नउडाए भो !

स्कुटर सयर, हैन हैन भाव सयर गर्दै अफिस दौडिएका श्रीमान्‌को दिदि तातेको थियो । बानेश्वरमा एउटा महँगो कलेजछेउ ट्राफिक जाममा उभिँदा श्रीमान्‌ झनै सोचमग्न देखिएका थिए । उनले सोचेका थिए :  
हलवालाहरू र नेपालका शिक्षा व्यापारी उस्तै उस्तै रहेछन् । अहिले सहरका धेरै कलेजमा पढ्न खोजेको विषय पढ्न पाइएको छैन । पढाउँदैनौँ भनेको विषय त्यहीँ पढ्न पाऊँ भनेर त कुन चाहिँले निहुँ खोज्दो हो र ? तर, जुन जुन विषय/संकाय पढाउँछु भनेर अनुमति लिएपछि/प्रचार गरेपछि पढाउनुपर्दैन र ? हलवालाले जस्तै ‘ग्रुप बनाएर आऊ’ भन्छन्, शिक्षादैत्यहरू । 

एक जना व्यक्ति कोही होइन यहाँ ? भीड मात्र सबथोक हो ? एक जनाको अब कुनै मूल्यै छैन ? उसको इच्छा, चाहना, रहर भीडअनुसारै हुनुपर्ने ? सपना पनि बेग्लै खाले देख्नै नपाइने ?

ग्रुप बनाउने काम विद्यार्थी/दर्शक/उपभोक्ताको हो ? एक्लै पढ्न, एक्लै सिनेमा हेर्न, एक्लै हिँड्न पाइँदैन भने यो लोकतन्त्र, यो गणतन्त्र किन र कसका लागि मात्र हो ? नागरिकले आफू कहर काटेर कर तिरिरहनुपर्ने खाँच्चो अब पनि छ र ? 

एक जना व्यक्ति कोही होइन यहाँ ? भीड मात्र सबथोक हो ? एक जनाको अब कुनै मूल्यै छैन ? उसको इच्छा, चाहना, रहर भीडअनुसारै हुनुपर्ने ? सपना पनि बेग्लै खाले देख्नै नपाइने ?

एक जनाको इच्छा केही होइन भने लाग्छ भने एक भोट नपुगेर सांसद/मन्त्री हुन नपाएकालाई सोध्नुस्- एकको मूल्य । दश वर्षदेखि ‘एक्लै’ सत्याग्रह गरिरहेका डा. गोविन्द केसीलाई सोध्नुस्- एकको मूल्य ।

मानौँ, कसैलाई कुनै विषय एक्लै पढ्न मन लाग्यो, उसले किन नपाउने ? कुनै विषय छुपेरुस्तम तरिकाले एक्लै पढेर देशभरिमा एक जना मात्र विद्यार्थीबीच गोल्ड मेडलिस्ट बन्‍न मन लाग्यो रे श्रीमान्‌लाई, किन नपाउने ?

अहिले नाम चलेका केही मानविकी कलेजमा विद्यार्थीले अर्थशास्त्र, राजनीतिशास्त्र, इतिहास, भूगोल, साहित्य, भाषा, संस्कृति, यी र यस्ता विषय पढ्न पाइरहेका छैनन् । एक त यी विषयमा विभिन्‍न कारणले रुचि/आकर्षण घट्दो छ । तर, जतिको रुचि छ, ती पनि पढ्न नपाएर अरु विषयतिर धकेलिनु परेको छ । पढ्ने इच्छा नै कुण्ठित पार्ने देश, यो कस्तो देश ? 

हलवाला र शिक्षावालाहरूले टेम्पो वा बुद्ध एयरबाट कहिले शिक्षा लिन्छन् ? पढाउँछु भनेको विषय नपढाउने कलेजलाई शिक्षा मन्त्रालय/विश्वविद्यालयले कारबाही किन नगर्ने ? एक जना यात्रु उडाएन भने नागरिक उड्डयन प्राधिकरणले त सोध्छ त, शिक्षा मन्त्रालयले सोध्नुपर्दैन ?

१० जना नभई पढाइ नहुने हो भने त भोलि तत्तत् विषय पढेका कोही पनि हुने भएनन् । संविधानमा मौलिक हकअन्तर्गत ‘प्रत्येक नागरिक/प्रत्येक व्यक्ति’ बारम्बार लेखिएको हुन्छ । यो भनेको हर नागरिक/हर व्यक्तिको सम्प्रभुता र सम्पूर्णताको प्रश्न हो । एक होस् वा अनेक, यहाँ हर कोही स्वयंमा पूर्ण छ । हरेक व्यक्ति एउटा ब्रह्माण्ड हो । अहम् ब्रह्मास्मि । 

एक जना पाठक नभए पनि हर दिन पुुस्तकालय खोलिन्छ, खोल्नुपर्छ । एक जना भक्तजन नआए पनि हर दिन मन्दिरको ढोका खोलिन्छ, खोल्नुपर्छ । टक सो पूरा हेर्ने एक जना दर्शक नभए पनि बासी नेताजीहरूसँग टक सो गर्नैपर्छ । (आफ्ना लेख पूरा पढ्ने एक जना नभए पनि श्रीमान्‌लाई लेखिरहनुपर्छ ।) यस्तै यस्तै । 

अब तपाईंहरूको मनमा प्रश्न होला- हर एकको इच्छा पूरा गर्न कसरी सकिन्छ ? देश घाटामा जाँदैन ? हल घाटामा जाँदैन ? कलेज घाटामा जाँदैन ? यसरी त शिक्षामा फजुल खर्च बढाउँदा समृद्धिको सपना अपूरो हुँदैन र ?

एउटा ताजा उदाहरण । केही समयअघि ‘ऐना झ्यालको पुतली’ फिल्म हेर्न पाइएन भनेर देशैभरिबाट गुनासो आएको थियो । हलवालाले त्यो फिल्मै नदेखाउनु र देखाउँछु भनेर नदेखाउनुमा बेग्लै सवाल छ । ‘ऐना झ्यालको पुतली’जस्ता फिल्म देखाइनुपथ्र्यो, देखाएनन् । तर, नदेखाउनुभन्दा देखाउँछु भनेर बोलाएर, टिकट बेचेर, पार्किङको पैसा असुलेर फ्वाँस्यै फर्काउनेहरू अपराधी हुन् । 

व्यापारमा कहिले नाफा हुन्छ, कहिले नोक्सान । सधैँ नाफा खोज्ने हो भने त राजनीति गरे भयो । ‘शीर्ष नेता’हरूको पूजा, अर्चना, आराधना, स्तुतिमा लागे भो । 

श्रीमान्‌-श्रीमतीजस्तै फरक्क फर्किने ती सबै दर्शकलाई क्षतिपूर्तिको हक छ ।

हल हाउसफुल पनि त हुन्छन् । कमाउने बेला कमाइरहने, अनि घाटा हुन्छ भनेर दर्शक फर्काउने ? टिकट किन बेच्ने त ? कलेजमा कुनै विषय/संकायमा विद्यार्थी भरिभराउ हुन्छन्, कुनैमा हुँदैनन् । धेरै भएकोबाट नाफा लिइरहने अनि कम भएको विभाग बन्द गरिदिने त ? फेरि शिक्षा भनेको त अलिकति नैतिकता, अलिकति दायित्व, अलिकति कर्तव्य, अलिकति जिम्मेवारीसित पनि जोडिने क्षेत्र होइन र ? कुनै विषय/संकाय अब चाहिँदै नचाहिने हुन् भने बन्द गरे पनि भयो । तर बन्द गर्नुभन्दा पहिला अब यी विषय किन चाहिँदैनन् भनेर अनुसन्धान गर्नु/गराउनु, प्रतिवदेन लेख्नु/लेखाउनु, सार्वजनिक विमर्श पनि त चल्नुपर्ला नि । 
हरेकले चाहेको सिनेमा हेर्न पाउनुपर्छ । हरेकले चाहेको विषय पढ्न पाउनुपर्छ । एक्लै नै पाउनुपर्छ । 

कालीमाटी तरकारी बजारमा ‘नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन’ किन्‍न पाइएन भनेर कसैले गुनासो गरेको छैन । रत्न पुस्तक भण्डारमा तोरीको साग किन्‍न पाइएन भनेर पनि कसैले गुनासो गरेको छैन । ल क्याम्पसमा साहित्य र त्रिचन्द्रमा जुरिसप्रुडेन्स पढ्न पाऊँ भन्‍ने गुनासो पनि यो होइन । सक्छन् भने भगवान कोइरालाले आँखा जाचेर देखाऊन्, सन्दुक रुइतले मुटु जाचेर देखाऊन न त । यस्तो भन्‍ने ‘चेतना’बाट हामी अलिकति थोरै माथि आइसकेका पनि होऔँला । 

हलवाला र शिक्षावालाहरूसँगको गुनासोको विषय यो होइन । प्रश्न के हो भने सेड्युलमा राखेपछि त्यो हुनुपर्छ । छैन भने, पूर्वसूचना हुनुपर्छ । दुई क्ष, क्षमा र क्षतिपूर्ति भन्‍ने शब्द त्याँनेर हुनुपर्छ । टिम बनाएर आऊ भन्‍नलाई हलवालाहरू रेफ्री हुन् ? एक्लै नआऊ, भीडमा मात्र आऊ भन्‍नलाई हलवालाहरू चुनावी नेता हुन् ? 

यहाँ कर तिरेका नागरिकलाई सरकार जति हेप्छ, शुल्क तिरेका ग्राहकलाई निजी क्षेत्र उस्तै हेप्छ । नागरिकको शोषण र अपमान गर्नमा सरकार र निजी क्षेत्रको तीव्र प्रतिस्पर्धा छ ।   नागरिक दास मानसिकता पालेर रैती र प्रजा अवतारमा जहिलेसम्म बस्नेछन्, तहिलेसम्म नागरिक शासन मृगतृष्णा हुनेछ ।  

हलमा पुगेर फिल्म हेर्ने चलन घट्दो छ । यस्तोमा आउने दुई-चार जना दर्शकलाई आऊँआऊँ लाग्ने गरी टिकाउने कि उल्टै अपमान गरेर फर्काउने ? हैन भने सिनेमा संस्कृतिको संकुचनमा उनै हलवाला किन रुने ? मानविकी पढ्न चाहने दुई-चार जनालाई लखेट्ने अनि मानविकी खुम्चियो भनेर किन निधार खुम्च्याउने ?  

लगातार चार वर्ष कोही भक्तजन आएनन् भनेर पूजारी मन्दिर भत्काउँछ र ? मन्दिरको अस्तित्व र महत्व भक्तजन र भीडसँग मात्र हुन्छ र ? कुनै विषय कुनै कालखण्डमा हराउन सक्छ । तर, त्रिभुवन विश्वविद्यालयलगायतले विद्यार्थी नभएकाले विभाग खारेज गर्न पाउँछ ? भक्त नआउँदा मन्दिर नभत्काइए जस्तै विद्यार्थी नआउँदा शिक्षाको मन्दिर भत्काउन पाइँदैन । आज नभए भोलि, भोलि नभए पर्सि जागरण आउँछ । जग नै मासे, खै के आउँछ ? 

हेर्न नजुरेको (हैन हैन नपाइएको) ‘अवतार’तिर फर्कौं । बिग मुभिजले बिहान साढे ९ बजे अवतारको सो हुँदै छ भनेर त्यही बेला साढे ९ बजे नै आफ्नो फेसबुकमा पोस्ट गरेको छ ।  त्यतिबेला सो क्यान्सिल भएको सूचना हाल्ने कि नाउ सोइङ लेख्ने ? कति हेपेको के ? 

नेपालको संविधान, २०७२ को धारा ४४ मा ‘उपभोक्ताको हक’अन्तर्गत लेखिएको लाइन हेक्का रहोस् । लेखिएको छ, ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ । गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’ 

श्रीमान्‌-श्रीमतीजस्तै फरक्क फर्किने ती सबै दर्शकलाई क्षतिपूर्तिको हक छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ अनुसार हर उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय, भरपर्दो सेवाको हक छ । कोही साहुले आफूले नदिएको, नगरेको सेवामा गलत दाबी गर्छ भने उपभोक्तालाई क्षतिपूर्तिको हक छ । कुनै साहुले आफूले दिएको वस्तु तथा सेवाबाट नराम्रो असर दिएको छ भने क्षतिपूर्तिको हक छ । 

सरकार, गैरसरकारको सेवाबाट स्वास्थ्य, अर्थ, मनोविज्ञान, समयदेखि जे जे जति जति क्षति हुन्छ, पूर्ति हुने अधिकार कानुनले सुनिश्चित गरेको छ । हुनलाई यो देशका नागरिक अधिकारसम्पन्‍न र सार्वभौमसत्तासम्पन्‍न छन् तर विपन्‍न छन् । अर्थले त विपन्‍न छँदै छन् । शिक्षाले विपन्‍न, चेतनाले विपन्‍न, आँटले विपन्‍न, आत्मविश्वासले विपन्‍न । 

आत्मविश्वासले विपन्‍न । एक लाख क्षतिपूर्ति पाउन जुनीभर अदालत धाउनुपर्ला र दुई लाख सकिएला भन्‍ने जायज चिन्ताले चिन्तन ग्रस्त छ । 

र अन्त्यमा,
श्रीमान्‌लाई देखेर टिम पुग्ने भो भनेर मुस्कुराउनुभएका प्रिय एक जोडी र एक बिजोडी अपरिचित मित्र ! तपाईंहरूले हलवालासित अनुनय, अनुरोध र आग्रहसम्मको भाषा बोल्नुभयो । अत्ति भएपछि श्रीमान्‌ चाहिँ आक्रोशको भाषामा ओर्लनुभयो । श्रीमान्‌ले आक्रोश ओकल्नुपूर्व नै तपाईंहरू डेढ घण्टापछि आएर ‘अवतार’ हेर्ने भनेर साइड लाग्नुभयो । 

तपाईंहरूको परिचय र सम्पर्क त अहिले श्रीमान्‌श्रीमतीसँग छैन । तर, तपाईंहरूको हँसिलो, निर्दोष र निश्छल तर निरीह अनुहारको ‘अवतार’ ताजा छ । सायद तपाईंहरुले त पाँच प्लस दुई बराबर सात घण्टा लगाएर ‘अवतार’ हेर्नु पनि भयो होला । यसै लेखमार्फत श्रीमान्‌को आह्वान छ । कृपया सम्पर्कमा आउनुस् साथी । हामी मुद्दामा प्रवेश गरौँ ।

र, मुद्दाको अर्थ केस पनि हो र इस्यु पनि । 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x