विचार

विश्वव्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता

सरोज भट्टराई |
पुस १२, २०७९ मंगलबार १३:२५ बजे

मार्क्स भन्छन्- मान्छेले आफ्नो इतिहास आफैँ बनाउँछन् तर उनीहरूले आफूले चाहे जसरी आफैँले छानेका अवस्थामा होइन, अतीतबाट आएको र आआफैले जम्काभेट गरेको अवस्थामा  । अर्को ठाउँमा मार्क्स भन्छन् –आफूभित्र उत्पादक शक्तिको विकासको ठाउँ रहुन्जेल कुनै पनि सामाजिक व्यवस्था ढल्दैन र पुरानो व्यवस्थाको गर्भमा नयाँ व्यवस्थाको भौतिक परिस्थिति परिपक्व नभई नयाँ व्यवस्थाको विकास हुन सक्दैन । मार्क्सले यो प्रस्तावनालाई आफ्नो विधिको मूलभूत सूत्रमध्येको एक मानेका छन् । 

नेपाली समाजको अबको दिशा समाजवाद उन्मुख हुनुपर्ने कुरा संवैधानिक र राजनीतिक रूपले स्थापित भैसकेको छ । तर, सहज प्रश्न के उठ्छन् भने के विश्वको र नेपालको पुँजीवादी व्यवस्थामा थप विकासको ठाउँ समाप्त भइसकेको छ ? के नेपाली समाज र विश्व समाजको वर्तमान भौतिक परिस्थितिको गर्भमा नेपाली समाजवादको भौतिक परिस्थिति तयार भएको छ ? के नेपालमा समाजवाद हामीले चाहे जसरी निर्मार्ण गर्न सकिन्छ ? 


चीनको अन्तर्राष्ट्रिय योजना र नेपाल
विश्वव्यवस्थामा एउटा उदीयमान राष्ट्रका हिसाबले चीनको भीमकाय अन्तर्राष्ट्रिय योजना पनि छ , बीआरआई । प्रश्न छ , हाम्रो आमविकास र बीआरआईको सम्बन्ध कस्तो हुन्छ ? के बीआरआई नेपालको समाजवादउन्मुख विकासको लागि सहायक या अनुकुल हुन्छ ? सन्देह पनि छ , बीआरआईमार्फत चीन नयाँ साम्राज्य या प्रभुत्वको रूपमा त उदय हुँदैन ?

नि:सन्देह बीआरआई एउटा विशाल महत्वकांक्षी योजना हो । पुरानो उपनिवेशवाद र आजको अमेरिकी प्रभुत्वको सिद्धान्त र नियतसँग तुलना गर्ने हो भने, बीआरआई अतुलानीय रूपले नरम र मानवीय छ । उपनिवेशवादले अन्य देश र सभ्यताहरूलाई असभ्य र तल्लोस्तरको, आफूलाई उच्च र सभ्य संस्कृति या जातिको मान्दथ्यो र सभ्यकरणलाई आफ्नो लक्ष्य बताउँथ्यो । यसमार्फत प्रयोग गरिएको सैनिक बल र हिंसाको त कुरै नगरौं । १९९० पछि आक्रामक रूपले अघि सारिएको र केही हदसम्म अभ्यास गरिएको नयाँ अमेरिकी शताब्दी परियोजना त सैनिक शक्तिमार्फत अमेरिकी स्वार्थका लागि अमेरिकी प्रभुत्वलाई विश्वस्तरमा स्थापना गर्ने खुला आकांक्षा राख्दछ ।  विश्वव्यापारको नियम अमेरिकाले लेख्नुपर्छ भन्‍ने ओबामा स्वयम्को अभिव्यक्तिमा अमेरिकी प्रभुत्वको चाहना स्पष्ट हुन्छ । 

यता चीन पनि २०५० सम्ममा अन्तराष्ट्रिय हैसियत र राष्ट्रिय शक्तिका हिसाबले ‘विश्वनेता’ हुने योजनामा छ । तर सँगसँगै चीनले बीआरआई शान्ति, सहकार्य खुल्लापन, समावेशिता, पारस्पारिक सिकाइ र पारस्पारिक लाभको भावनामा आधारित हुने आग्रह राख्दछ ।  पश्चिमी सभ्यतालाई श्रेष्ठ ठान्‍ने र ‘सभ्यताको झडप’ विश्वको भविष्य देख्ने प्रवृत्तिका विपरीत चीनले अन्य सभ्यताका उपलब्धिबाट सिक्ने, मानवजातिको लागि भविष्यका साझा समुदायको निर्माण गर्ने अभिलाषा राख्दछ । यसमा सैनिक शक्तिको दम्भ र प्रभुत्व कतै छैन ।

चीन भन्छ –‘अरू देशहरूका आन्तरिक मामलामा हस्तक्षेप गर्ने, हाम्रो सामाजिक व्यवस्था र विकासको मोडलअरूलाई निर्यात गर्ने, हाम्रो चाहना अरूमाथि लाद्ने हाम्रो नियत छैन ।’ यो परियोजनामा चीनले आफू भूराजनीतिक दाउपेच नगर्ने, स्थायित्व प्रतिकूल हुने गरी साना समूह नबनाउने बरु ‘सुमधुर सहअस्तित्वको लागि ठूलो परिवार’ निर्माण गर्ने चाहना रहेको बताउँछ ।

तर चीनका आलोचकहरू बीआरआईमार्फत् विभिन्‍न देशमा निर्माण भएका परियोजनाहरूअन्तर्गत चीनले ती देशहरूमा प्रभुत्व जमाउन सक्ने अनुमान गर्छन् । यस विषयमा यसै भन्‍न हाल अलि छिटो हुनेछ तर सार्वभौम सत्ताको अभ्यासलाई नै प्रतिकूल असर पर्ने गरी चीनले प्रभाव पारेको भने खासै देखिएको छैन । तर भविष्यमा के हुन्छ अनिश्चित छ र किटानसाथ केही बन्‍न सकिन्‍न ।

यद्यपि ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा के प्रष्ट छ भने चीनियाँ समाजको हालको वर्ग संरचनाअन्तर्गतको वर्ग सङ्घर्ष कसरी अगाडि बढ्छ भन्‍ने कुराले चीनियाँ राज्य र कम्युनिस्ट पार्टीको दृष्टिकोण र नीतिलाई  निर्माण गर्छ । तर यो स्वयम् नै अरू धेरै कुरामा भर पर्दछ । हालको वर्ग सङ्घर्षमा समाजको चाहना राख्ने वर्ग प्रभावशाली भए त्यसले चीनलाई समाजवादतर्फ लान्छ र आजको बीआरआईमा व्यक्त भएको भाव सोहीअनुसार कार्यान्वयन हुन सक्ने वातावरण बन्छ । 

तर यो सङ्घर्षमा पुँजीपति वर्ग बलियो प्रभावशाली भयो भने त्यो वर्गको स्वार्थअनुसार चीनको वैदेशिक नीति र देशहरूसँगको सम्बन्ध निर्धारण हुनेछ । जसअन्तर्गत अरू देशहरूबाट अधिकतम् लाभ प्राप्त गर्नु नै त्यसको मुख्य लक्ष्य हुनेछ र त्यसका लागि आवश्यक सबै विधि चीनले अवलम्बन गर्नेछ । नेपालको हकमा पनि त्यही कुरा लागू हुनेछ । तर के पनि सम्भव छ भने सामरिक वा सुरक्षा हिसाबले नेपालको महत्त्वलाई चीनले विशेष स्थान दिए नेपाल–चीन सम्बन्ध नेपालका लागि अनुकूल नै हुनेछ ।  

तर चीनमा मजदुर वर्ग बलियो हुँदै जाने, पश्चिमा पुँजीवादी केन्द्रहरूको आर्थिक शक्ति कमजोर हुँदै जाने, त्यहाँ पनि समाजवादी आधारहरू बलिया हुँदै जाने, र नवउदारवादले सिर्जना गरेका तमाम समस्या र सामाजिक आर्थिक अन्तरविरोध पुँजीवादी प्रणालीभित्र हल नहुने परिस्थिति बनेपछि त्यसले समाजवाद अनुकुलको भौतिक आधार तयार गर्नेछ । स्मरण रहोस्, पुँजीवादमा पुँजी विस्तारको या पुँजी सञ्चालनको ठाउँ रहुन्जेल पुँजीवाद चोला फेरेर बाँचिरहनेछ । तर, भूमण्डलीकृत भएपछि पुँजीवाद बाँचिरहने अवस्था हुँदैन होला । ऐतिहासिक भौतिकवादका हिसाबले त्यो बेला समाजवादको वस्तुगत परिस्थिति निर्माण भएको अवस्था हुन सक्नेछ । 

नेपालमा समाजवादका मूलभूत सर्त  
विश्वव्यवस्थाको यो प्रकृति र चलायमानतासँगको सम्बन्धका अतिरिक्त नेपालमा समाजवादका लागि अनिवार्य रूपले निम्न कुराहरूले महत्त्व राख्छन् । एक – नेपालमा प्रभुत्वमा रहेको हालको अनुत्पादक पुँजीलाई उत्पादक पुँजीमा रूपान्तरण गर्ने प्रक्रिया सुरु हुनुपर्छ । यो प्रक्रिया त्यति सजिलै सुरु हुँदैन । वर्तमानमा वित्तीय पुँजीको निरन्तर पुनरुत्पादन, विस्तार र विकास भइरहेको छ । यस पुँजीको पुनरुत्पादनमा रोकावट या सङ्कट नआएसम्म यसको रूपान्तरण निक्कै जटिल या  असम्भवप्राय: नै रहन्छ ।

रूपान्तरणका लागि ठूलो योजना र राजनीतिक  आवश्यक हुन्छ तर यो पुँजीले राजनीतिक र समाजका अन्य संस्थाहरूमा प्रभाव र कब्जा जमाएको हुँदा रूपान्तरणलाई रोक्ने जबर्जस्त प्रयत्न गर्दछ । यस पुँजीमा सङ्कट या प्रभावकारी प्रतिकूलता आएपछि मात्र रूपान्तरणको बाटो वस्तुत: खुला हुन्छ । त्यस कारण हाल शासन गरिरहेका पुँजीको क्षमता, आकार, गतिशीलता, विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जालो, त्यसको सङ्कटको नियम र दिशा बुझ्नु, सङ्कटबाट रूपान्तरणको विधि र दिशाको खाका बनाउनु नेपालको समाजवादी आन्दालनको एक महत्तम् कार्यभार हो । 

दुई – समाजवादतर्फ जानलाई समाजवादमा मात्र आफ्नो तत्कालीन र दिर्घकालीन हित देख्ने वर्ग या वर्गहरू, तिनको बहुमत, सङ्गठन र चेतना आवश्यक हुन्छ । हाल नेपालमा त्यस्तो वर्ग छ वा छैन ? नेताका आदर्श र प्रबुद्ध चाहनाले समाजवाद आउँदैन । वर्ग र त्यसको भौतिक परिस्थितिविनाको समाजवादको चाहनाको सैद्धान्तिक आधार काल्पनिक समाजवाद हो, वैज्ञानिक समाजवाद होइन ।

तीन – हाललाई कल्याणकारी प्रावधानमा सबैको समान पहुँचलाई समाजवादको थालनीको विन्दु मान्‍ने हो भने पनि त्यसको एक महत्त्वपूर्ण सर्त हो – राजकीय तथा सार्वजनिक क्षेत्रको व्यापक भूमिका र त्यसको आर्थिक क्षमता । यो कुरा स्वयं सार्वजनिक क्षेत्रको भूमिका र सबलताको पक्षधर वर्गको प्रभावशाली उपस्थिति, भूमिका या हस्तक्षेपविना असम्भव हुन्छ ।  

सारमा, नेपाली समाजवादी आन्दोलनले विश्वव्यवस्थाको चरित्र, दिशा, त्यसको सङ्कट, चीनको भूमिका र दिशा, र त्यस प्रक्रियामा विकसित हुने वर्गहरू र तीनका सङ्घर्ष आदिको अध्ययन नगरी आफ्नो सम्भावना र दिशा तय गर्न सक्दैन ।

सरोज भट्टराई  काठमाडौँ  स्कुल अफ लका विद्यार्थी हुन्  ।


Author

थप समाचार
x