विचार

डिसेम्बरको दैनिकी

सुरेन्द्र नेपाल श्रेष्ठ |
मंसिर २८, २०७९ बुधबार १३:३७ बजे

डिसेम्बर महिनाको नामकरण ल्याटिन शब्द decem बाट राखिएको हो । जसको अर्थ हो, दश । पुरानो रोमन क्यालेन्डर मार्च महिनामा सुरु हुन्थ्यो । दश महिनाको मात्र एक वर्ष भएकाले यो अन्तिम महिनालाई डिसेम्बर भनिएको हो । रोमन सिनेटले १५३ ईसापूर्वमा क्यालेन्डर परिवर्तन गर्दा वर्षको सुरुवात जनवरी र दोस्रो महिना फेब्रुअरी हुँदा डिसेम्बर बाह्रौँ महिना हुन पुग्यो । तर यसको नाम भने पुरानै कायम रह्यो । ३१ दिन हुने सात महिनामध्ये यो सातौँ वा अन्तिम महिना हो । दक्षिणी गोलार्धमा यो महिना गर्मी महिनाको र उत्तरी गोलार्धमा जाडो महिनाको पहिलो महिना हो । 

डिसेम्बर महिनामा संसारभरि नै विभिन्न कार्यक्रमहरूसहित निम्न दिवस मनाउने गरिन्छ :
१ विश्व एड्स दिवस, २ दासत्व उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, ३ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस, ४ बैंकहरूको अन्तर्राष्ट्रिय दिवस, ५ आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस, ७ अन्तर्राष्ट्रिय नागरिक उड्डययन दिवस, ९ नरसंहारको अपराध र यस अपराधको रोकथामका पीडितहरूको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस, ९ अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी दिवस, १० मानव अधिकार दिवस, ११ अन्तर्राष्ट्रिय पर्वत दिवस, १२ अन्तर्राष्ट्रिय तटस्थता दिवस र अन्तर्राष्ट्रिय विश्वव्यापी स्वास्थ्य कवरेज दिवस, १८ अरबी भाषा दिवस र अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २ अन्तर्राष्ट्रिय मानव एकता दिवस, २७ अन्तर्राष्ट्रिय महामारी तयारी दिवस ।


विश्वका सबै देशहरूमा आफ्नो इतिहासमा महत्व राख्ने दिनहरूलाई सम्झना गर्दै राष्ट्रिय छुट्टी दिने चलन छ । यस्ता दिनहरूमा प्राय:जसो ठूला देश वा साम्राज्यबाट स्वतन्त्र भई सार्वभौम राष्ट्र भएको दिनलाई मानिन्छ । यो महिनामा १ तारिखमा पोर्चुगल, ६ तारिकमा फिनल्यान्ड, ९ मा तान्जानिया, १६ मा कजाकिस्तान र बहराइन २४ मा लिबिया र २९ मा मंगोलियाले आफ्नो स्वतन्त्रता दिवस मनाउँछन् । 

१ डिसेम्बरमा रोमानियाले एकीकरण दिवस मनाउछन भने मध्य अफ्रिकी गणतन्त्रले राष्ट्रिय दिवस मनाउँछन् । त्यसै गरी संयुक्त अरब इमिरेट्स, भुटान र कतारले क्रमश: २, १७ र १८ तारिखमा राष्ट्रिय दिवस मनाउछ्न । त्यस्तै ५ मा थाइल्यान्डको राजा फुमिफोन जन्मदिन, १२ मा केन्यामा जम्हुरी दिवस, १६ मा बंगलादेशमा विजय दिवस, २३ मा जापानी सम्राट् अकिहितोको जन्मदिन मनाउने चलन छ । 

विश्वभर डिसेम्बरमा विभिन्न प्रकारका उत्सवहरू मनाउने गरिन्छ । स्थानीय रुपमा आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्दै देशभित्र र बाहिरका पाहुनाहरूलाई आकर्षण गर्ने यो एउटा महत्वपूर्ण माध्यम हो । नयाँ वा परापूर्वदेखि चल्दै आएका यस्ता पर्वहरूमा स्थानीय रीतिरिवाज अनुसारको भेषभूषा, खानपिन, बाजागाजा प्रदर्शन गरिन्छ । विशेषत: डिसेम्बर महिनामा भने प्राय: सबै देशमा क्रिसमस र नयाँ वर्षको चहलपहल हुने हुँदा सबैमा छुट्टै प्रकारको भाव पैदा भएको देखिन्छ । यति बेला सुरु हुने मेलाहरू एक दिनदेखि सय दिन सम्म पनि चल्ने गर्दछ । 

यो महिनामा मनाइने प्रख्यात पर्वहरूमा डिसेम्बर २ देखि जनवरी २३ सम्म एम्स्टर्डम, नेदरल्यान्डमा हुने एम्स्टर्डम लाइट फेस्टिवल, १ देखि ११ सम्म हुने डिकेन्स फेस्टिभल– डेभेन्टर, नेदरल्याण्ड, डिसेम्बर २७ देखि सात जनवरीसम्म चिराङ, असम, भारतमा हुने चिराङको द्विजिङ पर्व, २५ देखि ३ सम्म काली, कोलम्बियामा हुने फेरिया दे काली, डिसेम्बर २७ देखि जनवरी १ सम्म वुडफोर्ड, क्वीन्सल्याण्ड, अष्ट्रेलियामा हुने वुडफोर्ड लोक महोत्सव, १७ डिसेम्बरमा कोन्या, टर्कीमा हुने मेभलाना महोत्सवहरू मुख्य हुन् ।

त्यस्तै लामो रुपमा मनाइनेमा २३ डिसेम्बर देखि २८ फेब्रुवरीसम्म चीनमा हुने हार्बिन आइस एण्ड स्नो फेस्टिवल, नोभेम्बर १ देखि २ फेब्रुवरी १ दिनसम्म कच्छ, गुजरात, भारतमा चल्ने रण उत्सव र नियाग्रा फल्स, ओन्टारियो, क्यानाडामा ११ दिन चल्ने शीतकालीन लाइट पर्वहरू प्रख्यात छन् । नयाँ वर्षको पूर्वसन्ध्या अघिल्लो रात संसारका सबै देशहरूमा हर्षोल्लासका साथ जमघट र आतेसबाजी गर्ने चलन प्रथाका रुपमा नै स्थापित भइसकेको छ । 

यस वर्ष नेपालमा डिसेम्बर ८ मा उँधौली पर्व, योमरी पुन्ही, धान्य पूर्णिमा, गैडु पूजा र डिसेम्बर ३ तमु ल्होसार र श्वेत–मत्स्येन्द्रनाथ स्नान पर्व मनाइन्छ । मङ्सिर पूर्णिमाका दिन दत्तात्रेय जयन्ती पर्दछ । यो धान्य पूर्णिमाका नामले पनि प्रसिद्ध छ । यो दिन पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान छ । किरात समुदायको उँधौली पर्व र नेवारहरूले यो पूर्णिमालाई योमरी पुन्ही भन्छन् । 

अहिले संसारमा अति प्रचलित हुन पुगेको प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे जस्तै नेवारी परम्परामा धेरै अगाडिदेखि चलेको थियो । योमरी पुनीको (यो भनेको मन पर्ने र मरी भनेको रोटी हो) दिन त्यति बेला टोलटोलमा केटाकेटीहरू एक अर्काको घरमा योमरी माग्न जाने चलन थियो । आफूलाई मन पर्ने केटा वा केटीसँग यही अवसरमा कुराकानी भई भोलि पल्ट कतै भेट्ने समय मिलाइने हुँदा त्यो दिनलाई मतिना पारु भन्ने चलन थियो भनिन्छ । नेपाल भाषामा मतिनाको अर्थ प्रेम र पारुको अर्थ प्रतिपदा भएको हुदा योमरी पुनिको भोलि पल्ट पौष कृष्ण पक्षको प्रतिपदा अर्थात थिन्ला गा:पारुको दिनलाई प्रेम दिवस हो भन्न सकिन्छ । 

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

प्रत्येक महिना पर्ने संक्रान्ति अर्थात् सूर्यले एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्ने दिनलाई सबै देशमा महत्व दिने गरिन्छ । त्यसमध्ये पनि जाडो मौसम र गर्मी मौसममा पर्ने दुईवटा संक्रान्तिलाई (जुन डिसेम्बरको २१ वा २२ र जुन महिनाको २ वा २१ मा पर्दछ) झन् विशेष महत्व दिइन्छ । यस वर्ष शीतकालीन सक्रान्ति, जसलाई हाइबरनल संक्रान्ति पनि भनिन्छ । डिसेम्बर २१ मा परेको छ । यस दिन बहराइन अमेरिकी सामोआ, मलेसिया, जापान र मकाउमा सरकारी बिदा नै दिइन्छ । यस दिन सूर्यले सबैभन्दा छोटो बाटो यात्रा गर्ने हुँदा सबैभन्दा छोटो दिन र लामो रात हुने गर्दछ । 

बौद्ध धर्म अवलम्बन गर्ने श्रीलंका बुद्धको जन्म पूर्णिमाको दिन भएर पनि हुन् सक्छ प्रत्येक महिनाको पूर्णिमाको दिन त्यहाँ सरकारी बिदा दिने चलन छ । यी प्रत्येक दिनको आफ्नै नाम छन् र त्यसले बौद्ध धर्ममा प्रमुख घटनाहरूको सम्झना गराउँछन् । यस वर्ष डिसेम्बर सातमा परेको अन्दुवाप पूर्णिमा पोया दिवस वर्षको अन्तिम पूर्णिमाको दिन मनाइन्छ । यो श्रीलंकाको इतिहासमा एक महत्वपूर्ण छुट्टी हो । यो बिदा अनुराधापुरामा अशोककी छोरी संगमिताले भारतको पवित्र जय श्री महाबोधीबाट बोको बिरुवा ल्याएको दिन भनेर मानिन्छ । उनले यो पवित्र बो बिरुवालाई सुनको कचौरामा श्रीलंका ल्याइएको थियो र त्यसपछि अनुराधापुराको महामेवना बगैंचामा रोपिएको थियो । पछि यस रुखका बो बिरुवालाई बुद्ध दर्शन र संस्कृति फैलाउन श्रीलंकाको अन्य भागमा पनि लगिएको उल्लेख छ ।

यी दिनहरूमा, पसल र व्यापार सामान्यतया बन्द रहने र मासु र रक्सी बिक्री निषेध गरिन्छ । यस दिन हजारौंको संख्यामा बौद्ध भक्तहरू अनुराधापुरामा पवित्र बो रूखलाई श्रद्धाञ्जलि अर्पण गर्न आउँछन् । यसबाहेक, संगमिताले काठको काम, कृषि, स्वदेशी औषधि आदि जस्ता शिल्प र विषयहरूमा पनि आफ्नो विविध सीपहरू फैलाएकी थिइन्, जसले देशको विकासमा मद्दत गरेको थियो । आज पनि विश्वको सबैभन्दा पवित्र रुख महामेवना उयानामा रहेको जयश्री महाबोधिलाई मानिन्छ । बुद्धले भारतको बिहारमा रहेको बोधिवृक्षमुनि ध्यान गरेर बुद्धत्व प्राप्त गरेको इतिहासमा उल्लेख छ । बुद्धले आफ्नो जीवनकालमा श्रीलंकाको भ्रमण गरेका थिए पनि भनिन्छ । 

अन्य देशहरू अरु समयामा जस्तै यो महिनामा पानामामा डिसेम्बर ८, इन्डोनेसियामा डिसेम्बर २२ मा आमा अनि बुल्गेरियामा डिसेम्बर २६ का दिन बुबालाई विशेष सम्मान गरिन्छ । 

डिसेम्बर २ मा घानामा किसान दिवस, डिसेम्बर ५ मा कोस्टारिकामा सेनाको उन्मूलन दिवस, डिसेम्बर ६ युक्रेनमा सेना दिवस, अल्बानियामा डिसेम्बरमा राष्ट्रिय युवा दिवस, मोजाम्बिकमा डिसेम्बर २५ मा पारिवारिक दिवस, भानुअतुमा डिसेम्बर २७ मा पारिवारिक दिवस, २९ डिसेम्बरमा भारतमा गुरु गोविन्दसिंह जयन्तीको अवसरमा सरकारी बिदा नै दिने गरिन्छ ।

डाक्टर जोसे रिजाल (Rizal) फिलिपिन्सलाई स्पेनको दासत्वबाट मुक्त गराउने अभियानका एक हस्ती थिए । उनि पेसाले डाक्टर अनि उपन्यासकार थिए । उनको १८८७ मा प्रकाशन भएको उपन्यास ‘Nolif\ me Tanger' को कारण त्यहा क्रान्ति अगाडि बढेको ठानी उनको हत्या गरिएको थियो । डिसेम्बर ३, १८९६ मा, रिजाललाई बागुम्बायनको मैदानमा फायरिङ स्क्वाडद्वारा मृत्युदण्ड दिइएको थियो । यद्यपि उनले कुनै पनि लडाइँमा भाग लिएका थिएनन् तर उनी पक्राउ परे र देशद्रोहको मुद्दा चलाइयो । फिलिपिन्स स्वतन्त्र भएपछि सन् १८९८ मा, फिलिपिन्सका प्रथम राष्ट्रपति, एमिलियो अगुनाल्डोले स्पेनिस औपनिवेशिक शासनकालमा हताहत भएकाहरूको सम्मानका लागि राष्ट्रिय शोकको रूपमा प्रत्येक वर्षको डिसेम्बर ३ का दिन रिजाल डे मनाउने घोषणा गरेका थिए ।

संसारभरि डिसेम्बर २५ मा जेसस क्राइस्टको जन्मदिनको रुपमा मनाउने गरेको क्रिसमसबारे सबैको एकमत छैन । अहिले पनि विश्वका १४ देशहरू, इजिप्ट, इरिट्रिया, इथियोपिया, म्यासेडोनिया, रूस, मोन्टेनेग्रो, बेलारुस, सर्बिया, ग्रीस, युक्रेन, बुल्गेरिया, मोल्डोभा, जर्जिया, इजरायलमा , अन्यत्र भन्दा १३ दिन पछाडि अर्थात् जनवरी ७ मा मात्रै क्रिसमस मनाउने चलन छ । यी देशका नागरिकहरू अहिले पनि जुलियन क्यालेन्डरअनुसार यो पर्व मनाउने गर्दछन् ।

अर्को रमाइलो विषय इजरायलमा क्रिसमस तीन पटक मनाइन्छ । क्याथोलिक, प्रोटेस्टेन्ट र रुसी अर्थोडक्स चर्चहरूले डिसेम्बर २५ मा, ग्रीक अर्थोडक्स, सिरियाली अर्थोडक्स, कप्टिक अर्थोडक्स र रोमानियाली अर्थोडक्स चर्चहरू, अन्यहरू लगायतले जनवरी ६ मा र आर्मेनियाली अर्थोडक्स चर्चले जनवरी १८ मा क्रिसमस मनाउँछन् । जुलियन क्यालेन्डरअनुसार क्रिसमस मनाउने देशहरूका केही परम्पराहरू समान देखिन्छन् । यो अवधिमा उपवास र दान कार्यहरू गर्ने समय मानिन्छ भने ४ दिनसम्म माछा मासु खाने गरिँदैन । क्रिसमसको पूर्वसन्ध्यामा १२ परिकारहरूसहित पारिवारिक विशेष रात्रिभोज गर्ने चलन छ । तर केहीले भने क्रिसमसको पूर्वसन्ध्यामा व्रत बस्ने र भोलिपल्ट आकाशमा पहिलो तारा देखेपछि मात्रै खाने चलन छ । 

क्रिसमसको पछिल्लो दिनलाई बक्सिङ डे भन्ने चलन छ । पहिला धनी वा साहुहरूले २५ मा क्रिसमस मनाउने र त्यसको भोलिपल्ट नोकर चाकर वा गरिबहरूले छुट्टी लिएर पर्व मनाउने चलन थियो । सामूहिक रुपमा क्रिसमस मनाउन सजिलो होस् भनेर चर्चमा चन्दा बाकस राखिने र त्यो बाकस खोलिने दिन भएको हुँदा यो नामकरण भएको थियो भन्ने पनि छ । नोकर चाकरहरू २५ को दिन पकाउने सर सफाइ गर्नमा नै व्यस्त हुने हुँदा भोलि पल्ट मात्रै फुर्सद हुने र मालिकहरूले दिएको उपहार खोल्ने दिन भएकोले पनि बक्सिङ डे भनिएको हो भन्ने छ । तर आधुनिक युगमा यी सबै भनाइहरू मिथक जस्तो मात्रै लाग्ने हुन्छ नै । अहिले भने यो दिन बजारमा सबै सामानको मूल्य घट्ने हुँदा प्राय: सबै किनमेलका लागि बाहिर जाने चलन चलेको छ । प्राय: सबै देशले यो दिन राष्ट्रिय छुट्टी दिने गर्दै आएको पनि छ । २६ तारिख शनिबार वा आइतबार परेको वर्षमा भने सोमबार पनि बिदा दिने गरिन्छ । 

अमेरिकाका ४६ राष्ट्रपतिमध्ये यो महिना तीन जना जन्मिएका थिए । यी हुन् डिसेम्बर ८ मा मार्टिन भान बरेन, १७ मा एन्ड्रु जोह्न्सन र २८ मा उड्रो विल्सन । त्यस्तै बेलायतका ५७ जनामध्ये २९ औँ प्रधानमन्त्री बेन्जामिन डिजराइली २१ डिसेम्बर र तीसौँ प्रधानमन्त्री विलियम इवार्ट ग्लाडस्टोन २९ डिसेम्बर दुईजना मात्र यो महिनामा जन्मेका हुन् । त्यस्तै कम्युनिस्ट नेताहरू स्टालिन र माओ क्रमश: ९ र २६ मा जन्मेका हुन् । भारतका पाँचौँ प्रधानमन्त्री चरण सिंह २३ डिसेम्बर, दसौँ प्रधानमन्त्री अटल बिहारी बाजपेयी २५ डिसेम्बरमा र बारौँ प्रधानमन्त्री इन्दरकुमार गजुरल डिसेम्बर ५ मा जन्मेका हुन । 

नेपाल राज्यको एकीकरण गर्ने राजा पृथिवीनारायण शाह डिसेम्बर २५ जन्मेका थिए भने गणतन्त्रका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जन्मदिन डिसेम्बर ११ हो । त्यस्तै भारतमा जन्मेका विश्वभरि प्रख्याति पाएका आध्यात्मिक गुरु रामदेव र दार्शनिक ओशो क्रमश: डिसेम्बर २५ र ११ मा जन्मेका हुन् । 

२० औं शताब्दीका केही प्रख्यात नागरिक अधिकार नेताहरू, मार्टिन लुथर किङ, जुनियर, डब्ल्यूईबी डु बोइस, र थुरगुड मार्सलसँगसँगै काम गरेका तर धेरै प्रचारमा नआएका, एला बेकरको जनमा र मृत्यु एकै दिन हुने थोरैमध्ये एक हुन् । उनको जन्म डिसेम्बर १३, १९३ मा भर्जिनियामा भएको थियो र ८३ वर्षपछि सन् १९८६ मा सोही दिन उनको निधन भयो । त्यस्तै हवाईका राजा कामेहामेहा वीको, डिसेम्बर ११, सन् १८७२ मा आफ्नो ४२ औं जन्मदिनमा मृत्यु भयो भएको थियो ।

श्रेष्ठका अन्य लेखहरू


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x