विचार

बौद्धिक अपाङ्गता भएका छोराछोरीप्रति तपाईंको भूमिका के ?

इकागज |
मंसिर २१, २०७९ बुधबार ११:४२ बजे

आफ्ना बालबालिकामा बौद्धिक अपाङ्गता भएको पुष्टि हुँदा धेरै अभिभावकहरू विचलित हुन्छन् । उनीहरूको भविष्यलाई लिएर निकै चिन्तित हुन्छन् । आफ्ना बालबालिकामा उमेरअनुसार परिवर्तन नदेख्दा अभिभावक र परिवारका सदस्य चिन्तित हुनु स्वाभाविक हो । तर, बौद्धिक अपाङ्गता भएका बालबालिकाले पनि ज्ञान र सीप सिकेर आफ्नो हेरचाह आफैँ गर्न सक्छन् । आय आर्जन गर्न र आत्मनिर्भर हुन सक्छन् । यसो हुँदा अभिभावक र परिवारका सदस्यलाई सहज हुन्छ । 

बौद्धिक अपाङ्गता भएको बालबालिकाको शिक्षाका लागि अभिभावकको मुख्य भूमिका हुन्छ । यस्ता बालबालिकाले धेरै कुरा अभिभावकबाटै सिकिरहेका हुन्छन् । किनभने, उनीहरूको धेरै समय अभिभावकसँगै बितिरहेको हुन्छ । स्कुलमा भन्दा धेरै समय उनीहरूले घरमै बिताइरहेका हुन्छन् । खाने, पिउने, चर्पीको प्रयोग गर्ने, सरसफाइ गर्ने, लुगा लगाउने, लुगा धुने कुरा उनीहरूलाई घरमै सिक्न सजिलो हुन्छ । घरको सिकाइ अनौपचारिक हुन्छ । परिवारका सदस्यसँग अन्तरक्रिया गर्दै उनीहरूलाई काममा सहभागी गराउन सकिन्छ ।


बौद्धिक अपाङ्गता भएका कतिपय बालबालिकाका हात खुट्टा लुला हुने र औँला पनि राम्ररी नचल्ने हुन्छन् । अभिभावकले यस्ता बालबालिकाका हात खुट्टा दरो बनाउन स्थूल र सूक्ष्म मांसपेशी विकासका क्रियाकलाप गराउनुपर्छ । उनीहरूलाई हात खुट्टा बिस्तारै चलाउने, तन्काउने, खुम्च्याउने, उठाउने, हात खुट्टा टेकेर उठने, भित्ता समाएर उभिने, हिँड्ने जस्ता क्रियाकलाप गराउनुपर्छ ।

यस्ता क्रियाकलापलाई स्थूल मांसपेशी विकासका क्रियाकलाप भनिन्छ । औँला राम्ररी चलाउन गुच्चा तथा केराउका दाना टिप्ने, कागज पट्याउने, कागज काट्ने, पेन समाउने, रङ भर्ने, टाँक लगाउने, तुना बाँध्ने जस्ता अभ्यास गराउनुपर्छ । यस्ता क्रियाकलापलाई सूक्ष्म मांसपेशी विकासका क्रियाकलाप भनिन्छ । स्थूल र सूक्ष्म मांसपेशी विकासका क्रियाकलाप गराउन अभिभावकले विज्ञको सल्लाह लिनुपर्ने हुन्छ ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाकालाई कुनै काम वा सीपको अभ्यास गराउँदा टुक्रा–टुक्रा गरेर गराउनुपर्छ । उदाहरणका लागि हात धुने काम । यसका लागि सबैभन्दा पहिला धारो खोल्ने, बन्द गर्ने, साबुन लगाउने, हात मिच्ने, पखाल्ने जस्ता टुक्रे काम सिकाउनुपर्छ । कामको अभ्यास गराउँदा पहिले मौखिक निर्देशनबाट गराउने प्रयास गर्नुपर्छ ।

त्यसले सकिएन भने संकेतले निर्देश गर्नुपर्छ । संकेतले पनि काम गराउन सकिएन भने आफैँले काम गरेर देखाउनुपर्छ । देखाएर पनि काम गर्न सकेनन् भने आफैँले उनीहरूको हात समाएर काम गरेर देखाउनुपर्छ । 

बौद्धिक अपाङ्गता भएका कतिपय बालबालिका मौखिक निर्देशन नबुझ्ने पनि हुन्छन् । उनीहरूका लागि चर्पीमा दिसा पिसाब गर्नुपूर्व के–के गर्ने र दिसा पिसाब गरिसकेपछि के–के गर्ने भन्नेबारे चित्रहरू ट्वाइलेटको भित्तामा टाँसिदिनुपर्छ । घरको अन्य ठाउँमा पनि दाँत माझ्दा, मुख धुँदा, खाना खाँदा र लुगा लगाउँदा गरिने टुक्रे कामको चित्र टाँसिदिनुपर्छ । बौद्धिक अपाङ्गता भएका किशोरीलाई महिनावारी व्यवस्थापन गर्ने सीप सिकाउनु पनि अति आवश्यक छ । यसमा परिवारका सदस्यले प्याड चिनाउने र त्यसको प्रयोग गर्ने, सफाइ गर्ने अभ्यास गराउनुपर्छ । 

त्यस्तै भाषा विकासका क्रियाकलाप पनि गराउनुपर्छ । बौद्धिक अपाङ्गता भएका बालबालिकामध्ये केही उच्चारण अशुद्धि भएका वा तोते बोली बोल्ने र केही बोल्नै नसक्ने पनि हुन्छन् । यस्ता बालबालिकाका लागि सम्भव भए ‘स्पिच थेरापिस्ट’को सल्लाह लिएर बोली र भाषा विकासका क्रियाकलाप वा अभ्यास गराउनु बेस हुन्छ । बोली र भाषा विकासका लागि उपयुक्त श्वासप्रश्वास आवश्यक हुने भएकाले उनीहरूलाई सुरुमा बेलुन फुक्ने, बाजा र बाँसुरी बजाउने जस्ता अभ्यास गराउनुपर्छ ।

बौद्धिक अपाङ्गता भएका कतिपय व्यक्ति पटक्कै बोल्न नसक्ने पनि हुन सक्छन् । उनीहरूका लागि आफूले संकेत गरेर देखाउनुपर्छ । उनीहरूलाई पनि संकेत गर्ने अभ्यास गराउनुपर्छ । संकेत गर्दा संकेतिक भाषा शब्दकोश प्रयोग गर्नु उपयुक्त हुन्छ । यो शब्दकोश उपलब्ध नभएको अवस्थामा प्राकृतिक शब्द संकेत गर्न सकिन्छ । उनीहरूलाई संभव भएसम्म घरमा लेखपढका क्रियाकलाप गराउनुपर्छ । हात नचल्ने अवस्थाका बालबालिकालाई खुट्टाबाट लेखाइको अभ्यास गराउनुपर्छ ।

यसरी अभ्यास गराउँदा पहिले ठूला र पछि साना अक्षर लेखाउने अभ्यास गराउनुपर्छ । यस्ता बालबालिकाले ढिलो सिक्न सक्छन् । यस्तो अवस्थामा अभिभावक वा परिवारका सदस्य विचलित हुनुहुँदैन । यी कुरा बौद्धिक अपाङ्गता भएका बालबालिकामा हुने स्वाभाविक गुण हुन् भनेर धैर्य साथ निरन्तर उनीहरूको विकासमा योगदान दिनुपर्छ ।

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि अभिभावकले निम्न भूमिका निर्भाह गर्नुपर्छ :
- उनीहरूलाई भेदभाव नगरी परिवारको सदस्यको रूपमा स्वीकार गर्नुपर्छ ।
- स्वास्थ्य जाँच र अवस्था पहिचान गर्न पहल गर्नुपर्छ ।
- अवस्था र आवश्यकताअनुसारका साधन, उपकरण तथा सिकाइ सामग्रीको व्यवस्था गरिदिनुपर्छ ।
- सिकाइका घर वरपरको वातावरणमा घुलमिल गराउनुपर्छ । 
- हिँडडुलमा समस्या भएका बालबालिकाका लागि साधन तथा उपकरण प्रयोगको अभ्यास गराउनुपर्छ ।
- घरमा अपाङ्गताअनुकूल भौतिक संरचना विकास गर्नुपर्छ ।
- केही गर्न सक्दैनन् भनेर बेवास्ता गर्नुहुँदैन । 
- आफूले गर्ने काममा सहभागी गराउनुपर्छ ।
- फुर्सदको समयमा उनीहरूसँग खेलेर रमाइलो गर्नुपर्छ, आफूले नभ्याउँदा साथीहरूसँग खेल्ने वातावरण मिलाइदिनुपर्छ ।
- बालबालिकाको अवस्था हेरेर गणना गर्ने, पैसा चिनाउने, घडीमा समय हेर्ने, क्यालेन्डरमा बार गते छुट्याउने अभ्यास गराउनुपर्छ ।
- आफूसँगै छरछिमेक, बजार, मेला, चाडपर्व आदिमा लिएर जानुपर्छ । 
- विद्यालय जान आउन सक्ने अवस्थाका बालबालिकालाई विद्यालय भर्ना गराइ पठनपाठनको व्यवस्था मिलाउनुपर्छ । 
- उनीहरूलाई ‘तिमीहरू पनि सक्छौँ’ भनेर हौसला दिनुपर्छ ।
- आगो, पानी, बिजुलीका तार, घोच्ने र काट्ने हतियारको जोखिमबाट जोगिन सिकाउनुपर्छ । 
- उनीहरूले सोधेका कुरा झर्को नमानी बताउनुपर्छ ।


Author

थप समाचार
x