विचार

अबको संसद अस्थिर हुनसक्छ

प्रा. पुरुषोत्तम दाहाल |
मंसिर ७, २०७९ बुधवार १८:१६ बजे

प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा आगामी संसद अस्थिर हुने आँकलनहरु हुन थालेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम घोषणा हुने क्रम जारी छ । देशभरका केही क्षेत्रका मत परिणाम घोषणा भइसकेका छन् भने धेरै स्थानमा मत गणना कार्य जारी छ । घोषणा भइसकेका र गणना भइरहेका मत परिणामहरु हेर्दा ठूला दलका स्थापित नेताहरु पराजित भइरहेका छन् ।

नयाँ दलका नयाँ उम्मेदवार तथा पुरानै दलका पनि नयाँ उम्मेदवारहरुले अग्रता कायम राखिराखेको अवस्था छ । प्रारम्भिक परिणामहरु हेर्दा ठूला तथा पुराना दलका नेताहरुलाई पाखा लगाउँदै संसदमा थुप्रै संख्यामा नयाँ पार्टी र उम्मेदवारहरु आउने अवस्था देखिएको छ । यसले राजनीतिक स्थायित्व माथि नै प्रश्नचिन्ह खडा गर्नसक्ने विश्लेषण हुन थालेको छ । र यो अवस्था आउन निश्चित जस्तै छ ।


संसदमा १० भन्दा बढी राजनीतिक दलहरुको प्रतिनिधित्व हुने देखिन्छ । धेरै राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुनु र कसैको बहुमत नहुनुले संसद अस्थिर हुनसक्छ ।संसदमा वि.सं. २०५१ साल पछिको भद्दा राजनीतिक खेल हुनसक्छ । नेपाली काँग्रेस पहिलो पार्टी हुने, एमाले दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो हुनसक्ने आँकलन मेरो छ । 

तर समानुपातिकले नेपाली काँग्रेसलाई यो पटक भयानक पछाडि पार्‍यो । राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै लगिदियो काँग्रेसको भोट जति । काँग्रेसलाई तह लगाउन पनि समानुपातिकमा घण्टीमा भोट हाले । संसदमा दश वटा पार्टी त निश्चित आउने र कसैको बहुमत नहुने अवस्था छ ।

सत्तारुढ गठबन्धनले अझै पनि बहुमत ल्याउन सक्ने सम्भावना भने कायम रहेको छ । अब बन्ने सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्नसक्ने देखिन्छ । यद्यपी यस निर्वाचनमा नेपाली कांग्रेसका मतदाताले माओवादी केन्द्रलाई मत नदिएको भन्दै गठबन्धन टुट्न सक्ने पनि अर्काे सम्भावना भएको पनि हैन । गठबन्धन टुटेको अवस्थामा नेपाली काँग्रेस र नेकपा (एमाले) को सरकार बन्नसक्ने अर्काे विकल्प देखिन्छ । काँग्रेस बाहेकका शक्तिको सरकार बन्न सक्ने सम्भावनालाई पनि नकार्न भने सकिदैन ।

संविधानतः सरकार बनेको दुई वर्षसम्म सरकारका विरुद्ध अविश्वास प्रस्ताव ल्याउन नपाइने भएकाले दुई वर्ष सरकार चलेपनि त्यसपछि भने अस्थिरताको समस्या बल्झिन सक्छ । नयाँ राजनीतिक दलहरुले पुरानो शैलीका कुराहरुलाई दोहोर्याउनु हेुँदैन। वैचारिक रुपमा पनि नयाँ हुनुपर्ने र कर्म, व्यवहार र आचरणले नयाँपन दिन सक्नुपर्नेमा चैं मेरो जोड छ । नयाँ उम्मेदवार तथा राजनीतिक दलहरुलाई निर्वाचनका क्रममा गरेका खर्चलाई पारदर्शी बनाउन र सार्वजनिक गर्न आग्रह गर्दछु ।

वैचारिक रुपमा सशक्त हो कि, वैचारिक रुपमा नयाँ हो कि, कर्मले, व्यवहारले नयाँ हो कि, आचरणले नयाँ हो कि ? योग्यता र सामथ्र्यले नयाँ हो कि ? पुरानै शैलीका जम्मै कुरा दाहो¥याउने अनि भन्ने नयाँ पुस्ता ? यसबाट काम लाग्दैन । नयाँ व्यक्ति र पार्टीहरुलाई मेरो आग्रह, उहाँहरुलाई प्रश्न गर्नुपर्छ, यो निर्वाचनका क्रममा उहाँहरुले गर्नुभएको खर्च र आम्दानी सार्वजनिक रुपमा घोषणा गर्नुपर्छ । श्रोत खोल्नुपर्छ । उहाँहरुले नढाँटीकन भन्नुभयो आम नागरिकलाई, उहाँहरुले नयाँ कामको थालनी गर्नु हुनेछ । पारदर्शी हुनुपर्छ ।

नेपाली राजनीतिका गलत प्रवृत्तिको अन्त्य हुनुपर्ने अहिलेको आवशश्यकता हो । मुलुकका लागि आवश्यक प्रवृत्तिहरुको विकास गरिनुपर्छ ।

न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा आधारित


Author

थप समाचार
x