विचार

स्वतन्त्रहरू धेरै त भुइँफुट्टा हुन्, इतिहास र समाजको ज्ञान छैन

खगेन्‍द्र संग्रौला |
मंसिर ६, २०७९ २०:६ बजे

यो चुनावको प्रारम्भिक नतिजामा मुख्यतः सचेत पाठकले, सचेत वा भुक्तभोगी मतदाताले पुराना अनुहारहरू नरुचाएको अवस्था छ । पुराना अनुहार जो पटक पटक इतिहासमा परीक्षा भयो । इतिहासको पूरक परीक्षामा फेल भएका फेरि पनि उठाइएका उम्मेदवारहरू हेरेर मानिसहरू दिक्दार भएका छन् । नयाँ अनुहार खोजिएको छ । त्यसमा पनि विवेक, बुद्धि, अनुभव र ज्ञान मानिसमा छ कि छैन भनेर खोजिएको छ । मतदाता विवश थिए । विकल्प त्यही मात्रै हुने भएको हुनाले अनुहार मात्रै हेरेर भोट दिए ।

पुष्पकमल (प्रचन्ड), शेरबहादुर देउवा, खड्गप्रसाद ओली तीनै जनाले पहिला आफ्नो पार्टीलाई घरेलु पार्टी बनाए । आफ्नो घरका मान्छे, वरिपरिका चाकडीबाज, उम्मेदवारी किन्नेहरू राखे । सत्ता गठबन्धनका नेता र प्रतीक्षामा रहेका खड्गप्रसाद ओलिले सिक्ने कुरा धेरै छन् । यदि नसिक्ने र अर्को पटक यसरी चुनावमा उठ्ने हो भने कोही पनि रहँदैनन् । बूढाखाडाहरूलाई इतिहासको कुचोले बढारेर कहाँ पु¥याउँछ, सबैलाई सबक हो । 


नेपाली कांग्रेसका दुई कुरा देखियो । गठबन्धनमा पुष्पकमल र माधव प्रवृत्तिले धोका भयो भन्छन् । यो गठबन्धन धोका हुन लायकको गठबन्धन हो । कुनै सिद्धान्तमा आधारित गठबन्धन होइन । प्राविधिक र गणितीय गठबन्धन हो । 

गठबन्धनमा सम्बद्ध पार्टीका स्वार्थगत कुरा मात्रै रहेको हुनाले यो गठबन्धनमा धोका दिनु र धोका खानु स्वाभाविक कुरा हो । दाहाल र नेपालले धोका खानु स्वाभाविक हो । पुष्पकमल दाहाल र माधव नेपालका पक्षले भोट दिए किनकि उनीहरू खड्गप्रसाद ओलीका दुश्मन हुन् । कांग्रेसले दाहाल र नेपाललाई भोट हालेनन् । 

५–६ महिना अगाडि नै सचेत र सिद्धान्तनिष्ठ कांग्रेसले गठबन्धन मान्दैनौँ भनेका थिए । कतिपयले कांग्रेसको प्रचण्डीकरण, कांग्रेसको माओवादीकरण भनेर गिज्याएका थिए । धेरै कांग्रेसले भोट दिएनन् । भोट नदिँदा कांग्रेसलाई लाभ भयो । अरू दुईलाई घाटैघाटा भयो । त्यसो हुँदाहुँदै कांग्रेसलाई बढी स्वतन्त्रता छ । गगन थापा अथवा कसैले शेरबहादुरको नाक अगाडि आलोचना गर्न सक्छन् । आलोचना गरेकै बापत उनलाई सजाय हुँदैन । अनेक ढंगबाट प्रतिशोध लिइएला, त्यो बेग्लै कुरा हो । तर दण्डित हुँदैनन् । कांग्रेसमा लोकतन्त्र छ । फराकिलो छ । उदार छ । कांग्रेसमा युवाहरू उठाइयो । जितेका पनि छन् उनीहरूले । लोकतन्त्रको हकमा कांग्रेसको चुनावी परिणाम राम्रो हो । कांग्रेसमा मतदाताले शेरबहादुरलाई तासिरहेका र गगन थापाहरूलाई उठाइरहेका छन् । मेरो विचारमा यो राम्रो हो । 

विराट जनयुद्ध नामको संग्राम गरेका पुष्पकमल दाहाल, १२ बुँदे सहमति गरेका, आफ्नो शक्तिलाई बुद्धिमानीपूर्वक जोगाएर शान्ति प्रक्रियामा प्रवेश गरेपछि, बुद्धि भएको व्यक्ति जस्तो लाग्थ्यो । नजिकबाट संगत गर्दै जाँदा उनी पिँध नभएको लोटा जस्तो लाग्यो । क्षमता नभएका होइनन् । वक्तित्व कौशल भएका हुन् । उनी अस्थिर छन् । अडान, मान्यता भन्ने छैन । माओवादी पार्टीलाई घरेलु पार्टी बनाएका छन् । त्यस्तो पार्टीको पतन यसरी हुनु स्वाभाविक नै हो ।

पुष्पकमल आफूलाई मात्रै प्रधानमन्त्री होइन, रामचन्द्र पौडेलदेखि ओनसरी घर्तीसमेतलाई प्रधानमन्त्री बनाउँदै हिँडेका थिए । हालसम्मको नतिजाको संकेत बुझ्दा पहिलो पार्टी कांग्रेस, दोस्रो एमाले, तेस्रो घन्टी, चौथो हलो, पाँचौं पुष्पकमल हुने छाँट छ ।

दलीय व्यवस्थालाई बुझ्दा दलका विकृतिहरूको जवाफ दलमा नै खोज्ने हो । दलीय व्यवस्थामा उत्पन्न भएका भ्रष्टलाई दलबाटै पन्छाउने हो । दलको विकल्प दल नै हो । खराब दलको विकल्प असल दल हो । स्वतन्त्र भन्नेहरू, बागी भन्नेहरू अधिकांश भुइँफुट्टाहरू हुन् । उनीहरूको राजनीतिक पृष्ठभूमि छैन् । इतिहासको ज्ञान छैन । समाजको ज्ञान छैन । प्रतिबद्धता छैन । इमान छैन । बालेनलाई देखे, बालेन जस्तो बाली उठाउन आए सबै झोला बोकेर । 

म चितवन बस्दा मान्छेहरू भन्थे, ‘अन्तको बापति चितवनको सभापति’ । महेन्द्रले पुनर्वास खोले देशभरिका मान्छे आए । विभिन्न बात लागेका मान्छे आए, ती सभापतिमा लडे । स्वतन्त्रमा चुनाव लड्न आएका त्यस्तै बापति लाग्छ मलाई । आफ्नो वडामा किन चुनाव नलडेको ? एउटा कार्टुन पढेको थिएँ । यहाँबाट उठौं कसैले चिन्दैन भोट दिँदैन, उहाँबाट उठौं सबैले चिन्छन् भोट दिँदैन । त्यस्तै हो । 

रवीन्द्र मिश्रजीको राजनीतिक यात्रा जहाँबाट सुरु भएको थियो त्यहीँ अवतरित भयो । सबै स्वतन्त्र भन्नेहरूको अवतरण त्यही हो । कि त बहुदलीय मान्यतामा प्रतिबद्ध हुनुपर्छ । अन्यथा कुनै रंग छैन । 

मिश्रले एकछिनको निम्ति मायाजाल गरेर केही भ्रमको व्यापार गरेका थिए । भ्रमको धन्दा धेरै दिन चलेन ।

उता झापामा युग पाठक पनि उठेका छन् । कविहरूले कहिलेकाहीँ स्वैरकल्पनात्मक रहर गर्छन् । हामी युग पाठकलाई महाकवि भन्छौं । उनी प्रतिभासम्पन्न मान्छे हुन् । उनले राम्रो उपन्यास लेखे । कवि भावना भएको हुनाले चिह्न पनि पुतली जस्तो उडेर काठमाडौंबाट गए । जे प्रयोजनले जे कारणका लागि हराउँछु भनेका थिए त्यो सही छ । सही कारणलाई पृष्ठभूमि पुगेको थिएन ।

खड्गप्रसादले १८ हजार भोट ल्याउँदा कविले ९३ भोट ल्याए । महाकविलाई ठक्कर प्राप्त भयाे जे होस् । 

(कुराकानीमा आधारित)


 


Author

थप समाचार
ad
x