विचार

अक्टोबरको वरिपरि

सुरेन्द्र नेपाल श्रेष्ठ |
असोज २९, २०७९ शनिवार १६:४ बजे

सुरुमा क्यालेन्डर बन्दा अक्टोबर महिनाको नामकरण रोमन शब्द अक्टोबाट राखिएको थियो । जसको अर्थ हो आठ । दश महिनाको एक वर्ष हुँदा यो आठौँ महिना भएकाले यस्तो हुन गएको हो । अन्य केही महिनाहरू पनि यस्तै अंकको आधारमा राखिएका थिए । १२ महिनाको एक वर्ष बनेपछि केही महिनाको नाम फेरिए तर यो दसौँ महिना भए पनि अक्टोबर नै कायम भयो । अक्टोबर सामान्यतया दक्षिणी गोलार्धका केही भागहरूमा वसन्त मौसम हो भने उत्तरी गोलार्धका केही भागहरूमा शरद ऋतुको मौसम हो ।

दक्षिणी गोलार्धमा यतिबेला उत्तरी गोलार्धको अप्रिल महिना जस्तो हुन्छ । संसारका करिब सत्तरी देशहरूमा वर्षमा दुई पटक समय एक घण्टा अगाडि पछाडि गर्ने चलन छ । यो महिनाको अन्तिम आइतबारदेखि बेलायतमा पनि बिहानको दुई हुँदा एक मात्रै बज्ने भएकाले एक घण्टा बढी सुत्न पाइने हुन्छ । यो महिनाको जन्म फूल क्यालेन्डुला हो भने जन्म रत्नहरू टूमलाइन र ओपल हुन् । यो महिनाको २२ सम्म जन्मनेहरू तुला र त्यसपछि जन्मनेहरू वृश्चिक राशिका हुन्छन् ।


अन्य महिनाहरूमा जस्तै यो महिनाभरि संयुक्त राष्ट्र संघको घोषणाअनुसार निम्न विशेष दिनहरू संसारभरि नै विभिन्‍न कार्यक्रमहरूसहित मनाउने चलन छ । ०१ अक्टोबर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, ०२ अन्तर्राष्ट्रिय अहिंसा दिवस, ०३ विश्व आवास दिवस, ०४ विश्व अन्तरिक्ष सप्ताह (४–१०), ०५ विश्व शिक्षक दिवस, ०७ विश्व कपास दिवस, ०८ विश्व प्रवासी पक्षी दिवस, ०९ विश्व हुलाक दिवस, १० विश्व मानसिक स्वास्थ्य दिवस, ११ बालिकाको अन्तर्राष्ट्रिय दिवस, १३ प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस, १६ विश्व खाद्य दिवस, १७ गरिबी उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस, २४ ग्लोबल मिडिया र सूचना साक्षरता सप्ताह (२४–३१), २४ संयुक्त राष्ट्र दिवस, २४ विश्व विकास सूचना दिवस, २४ निशस्त्रीकरण सप्ताह, (२४–३०), २७ अडियोभिजुअल हेरिटेजका लागि विश्व दिवस, ३१ विश्व सहर दिवस ।

यी बाहेक विश्वका धेरै देशहरूमा कुनै विषयमा विशेष रूपमा सबैको ध्यानाकर्षण गर्न र सम्भावित समस्याहरूलाई समाधान गर्न वा इतिहासलाई सम्झनका लागि सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । बेलायतमा १९८७ देखि हरेक अक्टोबरमा, देशले ब्ल्याक हिस्ट्री मन्थ मनाउँदै आएको छ, बेलायतको इतिहासमा अफ्रिकी र क्यारिबियन सम्पदाका साथै एसियाली मानिसहरूको योगदानलाई सम्झन समर्पित महिना हो ।

प्रायः इतिहासका पुस्तकहरूले यहाँको विगतका कथाहरू लेखेका छन् र कालो इतिहास महिनाले विशेषतः यो देश समृद्ध हुन् विविध सांस्कृतिक सम्पदाको महत्वपूर्ण भूमिका रहेकाले त्यसलाई निरन्तरता दिन आवश्यक छ भन्‍ने सन्देश दिने गरेको छ । हुन त यो अभियान अमेरिकाबाट सुरु भएको हो तर त्यहाँ भने फेब्रुअरीमा मनाउने चलन छ ।

त्यसैगरी विभिन देशमा यो महिना स्तन क्यान्सर, स्वास्थ्य साक्षरता, विद्यालय पैदल जाने, चिकित्सा अल्ट्रासाउन्ड जागरूकता, रेट सिन्ड्रोम जागरूकता, विश्व अन्धोपन जागरूकता, रजोनिवृत्ति, शाकाहारी जागरूकता विषयमा महिनाभरि नै कार्यक्रमहरू गर्ने गरिएको छ ।

विश्वका प्राय सबै देशमा विभिन्‍न समयमा बाबु आमालाइ विशेष सम्मान गर्दै दिन बिताउने वा सम्झने गरिन्छ । आ-आफ्नो रितिरिवाज र परम्परा अनुसार यस्तो  दिन भने वर्षभर विभिन्‍न समयमा पर्छ । लक्जम्बर्गमा यो महिनाको  पहिलो आइतबार र रसियामा तेश्रो आइतबार हाम्रोमा बुबाको मुख हेर्ने भने जस्तो पर्व मनाउने चलन छ ।

त्यस्तै गरि बेलारुसमा अक्टोबर १४, मलावीमा १५ गते र अर्जेन्टिनामा तेश्रो आइतबार आमालाई सम्मान गर्ने गरिन्छ । भियतनाममा भने प्रत्येक वर्ष अक्टोबर २० मा मनाइने महिला दिबस कै दिन विशेष गरि आमालाई सम्झने परम्परा छ ।

नेपाल र भारतमा प्रयोग गरिने विक्रम संवत् गुजरातमा भने कात्तिक शुक्ल पक्ष प्रतिपदाका दिनबाट सुरु हुन्छ । अधिकांश समय, गुजराती नयाँ वर्ष अन्‍नकुट पूजाको दिनमा सुरु हुन्छ जसलाई गोवर्धन पूजा पनि भनिन्छ । गुजराती नयाँ वर्षका दिन पुरानो बही खाता बन्द गर्ने र नयाँ बही खाता प्रयोग गर्ने चलन छ । गुजरातमा परम्परागत बही खातालाई चोपडा भनिन्छ । नयाँ चोपडा(हरू) दीपावली पूजाको समयमा देवी लक्ष्मीको उपस्थितिमा उनको आशीर्वाद लिनका लागि उद्घाटन गरिन्छ ।

आर्थिक वर्षलाई लाभदायक बनाउन चोपडा पूजाको समयमा नयाँबही खातामा लक्ष्मीको शुभ प्रतीक चिन्ह लगाइन्छ । त्यसै गरी राजस्थानका मारवाडीहरू दीपावलीलाई आफ्नो नयाँ वर्ष मान्छन् । उनीहरूले दीपावलीलाई नयाँ परियोजनामा लाग्नका लागि शुभ दिन मान्छन् र यसैले यसलाई नयाँ वर्षका रूपमा मनाउँछन् । मारवाडी नयाँ वर्ष राजस्थानका लगभग सबै भागहरूमा ठूलो आकर्षण र उत्साहका साथ मनाइन्छ । मानिसहरू प्रायः चाँदीको सिक्का किन्छन् किनभने यसलाई शुभ सगुनको रूपमा हेरिन्छ ।

गुजरातीले जस्तै नयाँ वर्षका दिनमा नयाँ हिसाब किताब खोलेर त्यसमा सुपारी राख्दा सौभाग्य र समृद्धि आउने विश्वास उनीहरूको छ । सोही दिन नै नेपाललमा पनि नेवारी समुदायमा शंख धरले सबैको ऋण माफी गरिदिएको दिनको सम्झनामा नयाँ वर्ष नेपाल संवत् मनाइन्छ । यसपालि अक्टोबर २६ का दिन पर्ने म्ह वा गोवर्धन पूजाको दिनदेखि नेपाल संवत् ११४३ सुरु हुनेछ ।

पश्चिमी अस्ट्रेलियाली मुराडोर आदिवासी जनजातिले ग्रेगोरियन क्यालेन्डरमा अक्टोबर ३० का दिन नयाँ वर्षको दिन मनाउँछन् । उक्त दिन मित्रता, मेलमिलाप र बितेको वर्षलाई धन्यवाद दिने चलन छ । मुराडोर मानिसहरू एक विलुप्त जनजाति हुन् यद्यपि तिनीहरूको संस्कृति र कलाकृतिहरू वर्षैभरि विभिन्‍न चाडबाडका माध्यमद्वारा मनाउने गर्दछन् ।

विभिन्‍न माध्यमबाट संसारमा आफ्नो नाम अमर राख्न सफल धेरै व्यक्तिहरूको जन्म यस महिनामा भएका छन् । तेस्रो मुगल सम्राट् अकबर १५ अक्टोबर १५४२ मा जन्मेका थिए । अमेरिकाका वर्तमान उपराष्ट्र पति कमला ह्यारिस (२० गते), पूर्वराष्ट्रपतिहरू जोन एडम्स (३० गते), जिमी कार्टर (१ गते), थियोडोर रुजबेल्ट (२७ गते) जन्मेका थिए । भारतका सर्वमान्य नेता माहात्मा गान्धी (२ गते) पूर्व राष्ट्रपति अब्दुल कलाम (१५ गते) रुसका वर्तमान राष्ट्रपति पुटिन (७ गते), बेलायतका पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचर (१३ गते), पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान (५ गते) जन्मेका थिए । भारतीय सिनेमाका दुई हस्तीहरू अमिताभ बचन र रेखाको जन्मदिन क्रमशः ११ र १० अक्टोबरमा पर्दछ ।

त्यस्तै विश्व प्रसिद्ध फुटबल खेलाडी पेले २३ अक्टोबरमा जन्मिए । अमेरिकन एक प्रसिद्ध गायक मेल स्ट्रिट आफ्नो ४३ औं जन्मदिन, अक्टोबर २१, १९७८ मा आफैँले गोली हानेर ज्यान लिएका थिए । त्यस्तै बीबीसी विज्ञान–कथा टेलिभिजन शृङ्खला ‘डक्टर हू’मा ह्यारी सुलिवानको भूमिका निभाएका इयान डन मार्टरको जन्म अक्टोबर २८, १९४४ मा भएको थियो भने सन् १९८६ को त्यही दिन हृदयघातका कारण मृत्यु भएको थियो ।

विज्ञान र प्रविधिको विकास सँगसँगै मानव इतिहास पनि परिष्कृत हुँदै जान्छ । संसारमा धेरै काम यस महिनामा स्थापित भएका छन् । केही महत्वपूर्ण घटना यहाँ उल्लेख गरिएको छ । अक्टोबर ९, १८७६ पहिलो द्विपक्षीय टेलिफोन कुराकानी, ६ गते, १९५६ डा. अल्बर्ट सबिनले आफ्नो पोलियो खोप सामूहिक परीक्षणका लागि तयार भएको घोषणा गरे, ४, गते १९५७ सोभियत संघले स्पुतनिक प्रक्षेपण गर्‍यो, १ गते १९५८ नासाले आफ्नो काम सुरु गर्‍यो, ८ गते, १९५८ डा. एके सेनिङले पहिलो आन्तरिक पेसमेकर प्रत्यारोपण गरे, १४ गते, १९६८ बाह्य अन्तरिक्षबाट पहिलो प्रत्यक्ष प्रसारण सन् १९०१ देखि, संसारकै सर्वोकृष्ट मानिने नोबल पुरस्कार भौतिक विज्ञान, रसायन विज्ञान, फिजियोलोजी वा चिकित्सा, साहित्य र शान्तिमा विशेष योगदान पुर्‍याएका विश्वभरका पुरुष र महिलाहरूलाई सम्मान गर्दै आएको छ ।

यस पुरस्कारका जन्मदाता अल्फ्रेड नोबेल एक आविष्कारक, उद्यमी, वैज्ञानिक र व्यापारी थिए जसले कविता र नाटक पनि लेखेका थिए । उनको जन्म पनि २१ अक्टोबर १८३३ मा भएको थियो । उनले यो पुरस्कार कोषका लागि लगभग २६५ मिलियन डलर छाडेका थिए । उनको सम्झनामा प्रत्यक वर्षको अक्टोबर महिनाको दोस्रो हप्ताभित्र यो पुरस्कार पाउने व्यक्तिहरूको नाम घोषणा गर्दै आएको छ ।

संसारका प्रायः सबै देश ठूला साम्राज्यहरूबाट स्वतन्त्र भएको सम्झनामा प्रत्यक वर्ष स्वतन्त्रता दिवस मनाउने गर्दछन् । १ अक्टोबरमा पलाउ, टुभालु, साइप्रस, नाइजेरिया, २ गते गिनी, ३ गते इराक, ४ गते लेसोथो, ८ गते क्रोएसिया, ९ गते युगान्डा, २४ गते जाम्बिया, २७ गते तुर्कमेनिस्तान र सेन्ट भिन्सेन्ट र ग्रेनेडाइन्सले स्वतन्त्रता दिवस मनाउँछन् भने चीनले १ गते, स्पेनले १२ गते र अस्ट्रियाले २६ गते राष्ट्रिय दिवस मनाउँछन् । जर्मनीले भने ३ अक्टोबरमा एकता दिवस मनाउँछन् ।

यी दिनहरूमा सरकारी बिदा हुने हुँदा विभिन्‍न किसिमका कार्यक्रमसहित हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । यो महिना नेपाल संसारमै एक महिनामा सबैभन्दा बढी राष्ट्रिय बिदा दिने देशको रूपमा चिनिन्छ । दसैँ, तिहार र छठ सबै यही महिनामा परेको हुँदा आठ दिन सबै सरकारी कार्यालय बन्द हुन्छन् ।

यस वर्ष नेपालमा छठ मनाएको भोलिपल्ट अक्टोबर ३१ मा वार्षिक रूपमा मनाइने ह्यालोवीन, संसारको सबैभन्दा पुरानो पर्वमध्ये एक हो । ह्यालोवीन अझै पनि विश्वभरका धेरै देशहरूमा व्यापक रूपमा मनाइन्छ । आयरल्यान्ड, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा, परम्पराहरूमा पोसाक पार्टीहरू, मजाक र विभिन्‍न खेलहरू खेल्छन् । मेक्सिको र अन्य ल्याटिन अमेरिकी देशहरूमा, हाम्रो गाईजात्राजस्तै डिया डे लोस मुर्टो मृतक प्रियजन र पुर्खाहरूलाई सम्मान गरिन्छ । इङल्यान्डमा पनि भूत–प्रेत जस्तो देखिने लुगा लगाउने, बालबालिकाहरूसँग ठूलाहरू पनि घरघरमा गएर पैसा माग्ने प्रचलन छ । महिनौँ अगाडिदेखि बजारमा यस पर्वका लागि विभिन्‍न पोसाकहरू र फर्सी बेच्ने चलन छ । यो दिनबाट जाडो मौसम सुरु हुन्छ ।

अस्ट्रेलियामा बढ्दो मदिरापान र रक्सीको दुरूपयोगको बढ्दो खतरालाई मध्यनजर राख्दै त्यसविरुद्ध जनचेतना चलाउने उद्देश्यले यो महिनाभरि पेय पदार्थ प्रयोग नगर्ने र सबैले यो अभियानलाई सहयोग गर्न आर्थिक संकलन गर्ने गर्दछन् । स्वेच्छिक सहभागीहरूले उठाएको पैसा लाइफ एजुकेसन अष्ट्रेलियामा जान्छ र त्यस संस्थाले अष्ट्रेलियाली बालबालिकालाई लागुऔषध र मदिरा दुरूपयोगमा सहभागी नभई स्वस्थ जीवनशैलीको आनन्द लिने तरिका सिकाउँदै आएको छ । यो अभियानलाई अक्सोबर इअकयदभच नामकरण गरिएको छ । यसबाट प्रभावित भै अमेरिका र बेलायतले पनि सोबर अक्टोबर भनेर यो महिनामा सकेसम्म मदिरा सेवन नगर्ने वा कम गर्ने र त्यसबाट बचेको केही पैसा यससम्बन्धी काम गरिरहेको सामाजिक संस्थालाई दिने गरिन्छ ।

बेलायतमा विगत ११ वर्षदेखि धूमपानबाट छुटकारा गराउने उद्देश्यसहित यो महिनालाई विशेष महत्व दिएको छ । एक अनुसन्धानबाट लगातार २८ दिनसम्म कसैले धुम्रपान रोक्न सक्ने त्यसलाई त्याग्ने सम्भावना पाँच गुणाले बढ्छ भन्‍ने देखाएअनुसार यो महिनाभरि धुम्रपान नगर्न विभिन्‍न प्रकारका प्रचार प्रसार र सहयोग गर्दै आएको छ । यो अभियानलाई क्तयउतयदभच नामकरण गरिएको छ ।

संसारका सबै देशहरूमा आफ्नो परम्परा र रीतिरिवाजअनुसार वर्षभरि नै विभिन्‍न प्रकारका उत्सवहरू मनाउने चलन प्राचीन कालदेखि चल्दै आएको हो । विकासको गति सँगसँगै संसार साँघुरो र सुलभ हुँदै गएको छ । त्यसैले आफूलाई मन पर्ने ठाउँको पर्वहरू हेर्न त्यहीअनुसारको समयमा मिलाएर बिदा मनाउन जाने छाप बढिरहेको छ । यो महिनामा विश्वका विभिन्‍न देशहरूमा हुने केही प्रतिनिधिमूलक उत्सवहरूबारे केही उल्लेख गरेको छु । यी पर्वहरूमा स्थानीय खाना, पिना, बाजा, गाजा, भेष, भूषासहित आगन्तुकहरूलाई लोभ्याउने प्रयास सबैले गर्ने गर्दछन् ।

अक्टोबरफेस्ट, जर्मनी १७ सेप्टेम्बर – ३ अक्टोबर, दसहरा, नेपाल भारत लगायत हिन्दु धर्म मान्‍नेहरू बसोबास गर्ने विश्वका धेरै देशहरू, ५ अक्टोबर, हाचिमान मात्सुरी, जापान ९ देखि १० अक्टोबर, कन्कर्स डि क्यासल्स, स्पेन, अक्टोबर १ र २, अल्बुकर्क अन्तर्राष्ट्रिय बेलुन पर्व, संयुक्त राज्य अमेरिका २ देखि १० अक्टोबर, रबर डक रेस, जर्मनी अक्टोबरको सुरुमा, कारियो डि नाजारे, ब्राजिल दोस्रो साता, न्यूयोर्क सहरको गाउँ हेलोवीन परेड, संयुक्त राज्य अमेरिका ३१ अक्टोबर (वार्षिक), मासकारा महोत्सव, फिलिपिन्स २३ अक्टोबर, पेरिस, नुइत ब्लांच, फ्रान्स, अक्टोबर पहिलो शनिबार, नागा फायरबल महोत्सव, थाइल्यान्ड अक्टोबरको मध्यदेखि अन्त्यसम्म, बार्सेलोना रेगेटा इटाली १ देखि ९, इनले लेक प्यागोडा महोत्सव, म्यानमार २५ सेप्टेम्बरदेखि ३० अक्टोबर, दिवाली, नेपाल भारतलगायत हिन्दु धर्म मान्‍नेहरू बसोबास गर्ने विश्वका धेरै देशहरू अक्टोबर २५ देखि २७ सम्म धुमधाम साथ मनाइन्छ ।

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका लेखकले विविध विषयका अलावा ‘महिनाको महिमा’ फेब्रुअरीदेखि प्रत्येक महिनाबारे लेख लेख्दै आएका छन् ।)

श्रेष्ठका अन्य लेखहरू :


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x