विचार

आनन्दका सुभाषितहरू !

नारायण घिमिरे |
असोज १२, २०७९ ९:३४ बजे

सम्पूर्ण अठार पुराणहरू मार्फत ऋषि व्यासले अत्यधिक जोड दिएर केवल दुई नैतिक उपदेशहरू दिनु भएको छ। सेवा गर्नु पुण्य कार्य हो। सताउने दुष्ट-कर्म पाप।

अष्टा दशपुरणानम सारं व्यासेन कीर्थितम ।
परोपकारः पुण्याय पपाया परपीडनम ॥


मिठो शब्द प्रयोग गरी बोलिएका कुराहरू लाभकारी त हुन्छन् नै  त्यसले वातावरणलाई समेत उन्नतिको पथतर्फ डोर्‍याउँछ। त्यही कुरा तितो अप्रिय शब्दमा प्रस्तुत गर्दा पीडादायी मात्र होइन दूरगामी दुष्परिणाम समेत निम्त्याउने बन्दछ।

अभ्यावहति कल्याणं विविधं वाक् सुभाषिता। 
सैव दुर्भाषिता राजनर्थायोपपद्यते ॥

समाजमा भेटिने अत्यन्त मिठो भाषामा प्रस्तुत गरिएका अत्यन्त उपयोगी व्यवहारिक अर्ति उपदेशहरूलाई हाम्रो समाजमा सुभाषित भन्ने गरिन्छ। संस्कृत भाषामा असङ्ख्य सुभाषितताहरू प्रस्तुत भएको भेटिने गर्दछ।

वयमिह परितुष्टा वल्कलैस्त्वं दुकूलै:
सम इह परितोषो निर्विशेषो विशेष:।
स तु भवति दरिद्रो यस्य तृष्णा विशाला
मनसि च परितुष्टे कोऽर्थवान को दरिद्र:।।

यहाँ एक योगी आफ्नो राष्ट्र प्रमुखलाई प्रश्न सोधी रहेका छन्। प्रमुख ज्यु, हामी हाम्रो आश्रममा रुखको बोक्रा निर्मित घरबुना कपडामा छौ। तपाईँ रेसमी वस्त्रमा सजिएर रहनु भएको छ। तर पनि हामी तपाईँ जत्तिकै सन्तुष्ट छौँ। हाम्रो जीवनको गुणस्तर र सन्तुष्टिको स्वभाव तपाईँको भन्दा फरक प्रकृतिको पनि देखिदैन। अब तपाईँ नै भन्नुस् हामी आश्रममा निवासी र तपाईँ दरबारमा निवासी मद्ये को गरिब हो ? तपाईँ र हामीमा को धनी छ ? 

बस्तुगत यथार्थ के हो भने जसको तिर्खा तुलनात्मक रूपमा अधिक हुन्छ त्यही धेरै गरिब हुने गर्दछ। जसको मनमा अधिक सन्तुष्ट हुन्छ त्यो नै तृप्त अर्थात् धनी मानिन्छ। धनी भनेको धन दौलतले परिपूर्ण हुनु होइन। मन सन्तुष्ट रहनु हो। मन सन्तुष्ट रहनु भनेको सुखी हुनु पनि होइन। आनन्दित बन्नु हो।

विज्ञानको अनुसार मस्तिष्कको स्नायुको सञ्जालमा सङ्कलन भएको सूचना र अनुभवको आधारमा मानिसमा स्मरणहरू निर्माण हुने गर्दछ। जब हामी कुनै नयाँ चीज भेट्छौँ, त्यसले पैदा गर्ने आवेगलाई न्युरल नेटवर्क मार्फत मस्तिष्कमा पुर्‍याइन्छ। 

त्यसलाई मस्तिष्कले स्मरणमा रहेको विगतका अनुभवहरूसँग तुलना गर्दछ। त्यही तुलनामा आधारित रहेर मस्तिष्कले हाम्रा लागि तत्कालीन अनुभवहरुको निर्माण गर्ने गर्दछ। जुन हामीले अनुभूति गर्दछौ।

विगतको समग्र अनुभव सँग जब हाम्रो तत्कालीन अनुभव मिल्दोजुल्दो हुन्छ वा त्यो भन्दा सहज हुन्छ त्यसले दिने अनुभूतिलाई हामी खुसी भन्दछौ । यदि हाम्रो तत्कालीन अनुभव विगतको समग्र अनुभव भन्दा फरक प्रकृतिको हुन्छ वा हामीलाई असहजता थपिदिने हुन्छ तब त्यसलाई हामी दुःख वा पीडादायक वनेको अनुभूति गर्न पुग्दछौ। यदि दुवै स्थिति रहेन भने, हामी त्यसलाई बेवास्ता गरिदिने गर्दछौ। 

यस कारण एउटै घटनामा विभिन्न व्यक्तिहरूले फरक-फरक भावनात्मक अनुभूतिहरू प्राप्त गर्ने गर्दछन। आफूले महसुस गरेको अनुभूतिको आधारमा निश्चित कुरासँग मानिस लगाव (एट्याचमेन्ट), आकर्षण (लष्ट), विकर्षण (घृणा वा द्वेष) वा भ्रम (मोहित) आदि बनिदिने स्थिति पैदा गरिदिन्छ ।

विज्ञानमा जस्तै वैदिक मान्यता अनुसार समेत इन्द्रियहरूलाई पीडा दिने कार्य तथा अधर्म वा पाप कर्मको बोधले आत्मालाई पुर्‍याउने चोटलाई दुःखको रूपमा अनुभूति गरिन्छ। इन्द्रियलाई सहजता दिने कार्य तथा धर्म वा पुण्य कर्मको बोधले आत्मा लाई पुर्‍याउने खुसी र धन्यताले भने मानिसलाई सुखको अनुभूति दिन्छ।

संस्कृतमा हरेक अक्षरको एक भन्दा धेरै अर्थ हुने गर्दछ। तिनै अक्षर वाट बनेको शब्दको समेत अक्षरले सङ्केत गरे अनुरूपको अर्थ आउने गर्दछ। व्याकरण अनुसार दुःख र सुख दुवैले ‘ख’ अर्थात् खाली चिज लाई जनाउने गर्दछ। संस्कृतमा ‘ख’ को अर्थ शून्य वा आकाश भन्ने लाग्दछ। त्यही ‘ख’ मा ‘सु’ वा ‘दुः’ उपसर्ग लागेर सुख वा दुःख शब्द निर्माण भएको छ। ‘सु’ र ‘दुः’ दुवै तटस्थ उपसर्ग हुन्।

अनुभूति शून्य ‘ख’ वाट सहजता वा सकारात्मक दिसामा जानु लाई संस्कृतमा ‘सु’ भनिन्छ। शून्यतामा अर्थात ‘ख’ मा ‘सु’ ले पैदा गर्ने आवेगको गुण लाई सुख भनिएको छ। अनुभूति शून्य ‘ख’ वाट असहजता वा नकारात्मक दिसामा जानु लाई संस्कृतमा ‘दुः’ भनिएको छ।  शून्यतामा अर्थात् ‘ख’ मा ‘दुः’ ले पैदा गर्ने आवेगको गुण लाई दुःख भनिन्छ।

सुख र दुःख दुवैको पूर्णताको कुनै निश्चित हद हुँदैन। तिनीहरू मानिसको अनुभूतिमा नियमित रूपमा लामो समय सम्म एकनासले रहन समेत सक्दैनन्। दुवै क्षणिक हुन्छ। सुख र दुःखले  तपाईँ लाई तत्कालीन समयको अनुभवको अनुभूति मात्र दिन सक्छ। आनन्द दिन सक्दैन। 

आनन्द भनेको सुख र दुःख भन्दा बिलकुल फरक मनको तटस्थ अवस्था अर्थात् ‘ख’ हो। आध्यात्मिक चिन्तनमा निश्चित समयमा महसुस हुने “दुःख” र निश्चित समयमा महसुस हुने “सुख” दुवैको संयोजन गर्दै समय सँग कुनै सरोकार नहुने गरी मनलाई तटस्थ अवस्थामा (शून्यता, सुषुप्त अवस्था) पुर्‍याउनु लाई  परम आनन्दको ग्रहण भनिन्छ ।  

तपाइको जीवनमा तपाईँ सँग सम्पूर्ण कुराहरू हुने गर्दछ। तपाइले तपाईँलाई उपलब्ध भएका ती कुराहरू मात्र भेट्ने र देख्ने गर्नु हुन्छ जुन तपाईँ लाई तपाईँको आफ्नै धारणाले अनुभूति गर्ने अनुमति एवं स्वीकृति दिने गर्दछ। 

त्यसैले सनातन मान्यतामा आफूले आफ्नो जीवनमा रहेका सम्पूर्ण तागतहरू पहिचान गर्न, त्यसको आध्यात्मिक पक्ष ओझेलमा पर्न  नपाउने गरी व्यवहारिक रूपमा अनुभूति गर्न र त्यस वाट सम्भव बन्ने सम्पूर्ण आनन्द (सञ्चितानन्द) प्राप्तिको लागि प्रयत्न गरिन्छ।
 
प्रकृतिको नियम बारे आधुनिक विज्ञानले बुझ्न सकेको हाल सम्मको यथार्थलाई जब तपाईँ वेदका ऋचाहरूमा उल्लेख गरिएका सूचनाहरू सँगै तुलना गरी आपसी सहमतिका पक्षहरू खोतल्नु हुन्छ, तब तपाईँ त्यहाँ एक अजीवको संयोग भेट्नु हुनेछ। 

वेदका ऋचाहरूले दिएको कुनै सूचनाहरू विज्ञानले प्रमाणित गरिसकेको तथ्यको बारे बोलिएको भेटिन्छ। कुनै हाल सम्म विज्ञान वाट  प्रमाणित बनी नसकेको तर अनुभूति वाट भने ती सूचनाहरू यथार्थको निकै करिब रहेको महसुस हुने गर्दछ। वेद लगायतका श्रुतिहरूका आधारमा लेखिएका गीता, पुराण, कथा, इतिहास आदि जीवनको उद्देश्य, आरोग्य, वैराग्य आदि बारेका वेदका निचोड समाजमा सहज रूपमा प्रस्तुत गर्न लेखिएका स्मृतिहरू रहेको अनुभूति मिल्दछ। 

जस्तै: अग्नि पुराण,  अध्याय १९ मा संसारमा दुःखको उत्पत्ति कसरी भयो भनेर सहज रूपमा समाजमा पुर्‍याउने नियतले तलको कथा उल्लेख गरिएको छ। हिंसा र अधर्म पति-पत्नी थिए। त्यो दम्पतीबाट अनृत (असत्य-झूट) र निकृट (छल-कपट) नामका दुई छोरीहरू पैदा भए। तिनीहरू बाट भय (डर), नर्क (इन्द्रियहरू लाई भौतिक पिडा दिने दर्द), माया (भ्रम) र वेदना (पीडा) नामका चार छोरीहरू जन्मिए। 

मायाले मृत्यु जन्माइन। मृत्यु सबै जीवित वस्तुहरूको संहारक बनी दियो। वेदनाले रौरव (एक विशेष प्रकारको मानसिक पिडा दिने नर्क) सँगको संसर्ग वाट बाट दुःखको (शोक) जन्म दिइन। मृत्युबाट जाति (जन्मद्वारा निर्धारण गरिएको शरीरको निश्चित स्वरूप र अस्तित्व), जरा (उमेर), शोक (चिन्ता), तृष्णा (लोभ, तिर्खा) र क्रोधको (रिस) जन्म भयो।

वैदिक अवधारणा अनुरूप आत्म ज्ञाननै ईश्वरको ज्ञान हो। ईश्वरको ज्ञान भनेको दृश्य, अदृश्य, अनुभूति गर्न सकिने र अनुभूति समेत गर्न नसकिने प्राकृतिक नियमको सिद्धान्त बारे जानकारी प्राप्त गर्नु हो।   

हामीले आज सम्म विकसित गरिएको प्रविधि र उपाय मार्फत उल्लेखित सबै प्रकृतिको प्राकृतिक नियमको रहस्य उजागर गर्न सम्भव नबनी रहेको अवस्थामा परम्परागत रूपमा सम्भव बनिरहेको आत्म ज्ञानको मार्ग मार्फत ती रहस्यहरू महसुस गर्न सकिने हुँदा आत्मा ज्ञानको मार्गलाई शाश्वत सुख वा आनन्द प्राप्तिको मार्ग भनि स्विकारिएको हो।

अनुभूति गर्न सकिएको प्राकृतिक नियमको रहस्यहरूले आफूलाई म भनेर चिनाउने हाम्रो आफ्नै जीवनको रहस्य बुझ्न हामीलाई सहज हुनेछ। जीवनको रहस्य बुझ्न सक्दा आफ्नै जीवनको उद्देश्य र गन्तव्य बारे हामी परिचित बन्दछौ। जीवनको उद्देश्य र गन्तव्य परिचित वनेको क्षणबाट हामी आफ्नै सोचको आन्तरिक इन्जिनियरिङ गरी दैनिक कर्मलाई आफ्नो उद्देश्य र गन्तव्य मैत्री बनाउन सफल हुन्छौ। 

जीवनको भौतिक सुखलाई इन्द्रियहरूको सुख भन्ने गरिन्छ। अन्तर आत्माको सुखको अनुभूति लाई आनन्द भनिन्छ। संसार नियमित रूपमा परिवर्तनशील छ। लगभग सबै कुरा व्यापारीकरण बनिरहेको हालको वैश्य युगमा हामी नियमित-परिवर्तन शाश्वत सत्य हो भन्ने यथार्थलाई भुलेर अपरिवर्तनीय रुपमा नियमित व्यापारिक उन्नतिको मात्र ध्याउन्नमा आफ्नै उद्देश्य र गन्तव्य मैत्री नरहेका कर्म सञ्चालनमा लागि रहेका छौ। 

उद्देश्य र गन्तव्य अमैत्री कर्महरूको प्रतिफलको असीमित धनको मालिक बनिरहँदा हामी आफै भने शक्ति,  वैभव, यौन आशक्ति, मान-सम्मान आदिको असीमित भोक र लालच ग्रस्त वनिरहेका  छौ। अर्थ प्राप्तिको लागि जस्तो सुकै अपराध कर्म संग समेत सम्झौता गर्न संस्कारको विकास गरेका छौ। पापजन्य परिस्थितिको दास बनेका छौ। 

धन, वैभव र ऐश्वर्यको मालिकको मन भने नजानिँदो अशान्तिले छटपटाइ रहेको भेटिन्छ।  अर्थ प्राप्तिमा शिखर चुमेको महाजन आफ्नै लागि, परिवारको लागि, आफन्तको लागि, समाज जस्ता वरत्र तथा र परत्रको लागि समयको गरिब बनेको छ। आफ्नै भनिएको धन, वैभव र ऐश्वर्यको विश्वासिलो चाकरमा परिवर्तित भएको छ।

हाम्रो समाज नै परिवर्तन अत्यन्त कठिन चिज रहेको भन्ने भ्रममा बाँची रहेका छ। अपरिवर्तन असम्भव रहेको प्राकृतिक नियमको अकाट्य सिद्धान्त समाजले महसुस गर्न सकिरहेका छैनौ।     

मानव भौतिक सुख प्राप्तिको क्षेत्रमा ठुलो प्रभाव छोड्न सकेको विज्ञानले हाम्रो समाज लाई खुसी आदि जस्ता विषय समेत किनबेचको वस्तुको रहेको दुबिधा थोपरी दिएको छ। हाम्रा बजारहरूमा आज खुसीहरू बेचिँदै छ। लिलामी हुने गरेका छन्। 

खुसी किन्नकै लागि मानिसहरूले ठुलो मूल्य तिरिरहेका छन्। त्यही मूल्य चुकाउने होडमा समाज ठुला-ठुला अपराधको चपेटामा समेत परिरहेको छ। 

यथार्थमा वास्तविक दिगो सुख (आनन्द) बाहिरी भौतिक सुख प्राप्ति वाट सम्भव हुँदैन। आनन्द भित्रैबाट प्राप्त गर्नुपर्दछ। भित्रै वाट प्राप्त हुन सकेको आनन्दले मात्र हामी सफल बन्न सक्दछौ भन्ने बोध वैदिक ज्ञानले दिने गर्दछ।

घिमिरेका यी पनि पढ्नुस् :


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x