विचार

नेपाल : के घर, के डेरा

यो सामान कति पर्छ भन्ने प्रश्नबाट यो सामान कसरी बन्छ भन्ने प्रश्न गर्ने पुस्ता जब जन्मँदैन...

पूर्णबहादुर परियार |
भदौ ३०, २०७९ बिहिवार ९:२० बजे

करिब तीन दशक अगाडि, रङ्गमञ्चमा नाटकका रूपमा मञ्चन गरिएको नाटकले सिनेमाको रूप पाएपछि ‘के घर के डेरा’ सिनेमा हलमा हेर्न पाइएको थियो । एउटा गाउँको विद्यार्थी बि.कम. पढ्न काठमाडौँ आउछ, इमानदार र स्वाभिमान भएकाले घरपतिको छोरी (एक मात्र सन्तान) ले मन पराउँदै गएकी हुन्छिन् । गरिबीको कारणले घरभाडा समयमा तिर्न सक्दैन । अति नै ताकेता गरेको घरपतिको छोरीले थाहा पाउँछिन् र आफूले नै सो विद्यार्थी युवालाई रकम दिएर भाडा त तिर्छिन् तर त्यो कुरा भिलेनले चियो गरेर थाहा पाइसकेको हुनाले घरपतिलाई भनिदिन्छ, बिचरा त्यो इमानदार डेरावाल विद्यार्थी जवान अपमानित हुन्छ ।

समयले कोल्टे फेर्छ, आफ्नो मिहिनेत र लगनका कारण सोही विद्यार्थी एकदिन म्यानेजर बन्‍न पुग्छ जहा घरपति ठेकेदार बनेर रकम भुक्तानी लिन पुग्दा आफ्नै घरमा भाडामा बस्ने विद्यार्थीलाई ज्वाइँका लागि योग्य ठान्दछन् र छोरीसँग बिहे गराइदिन्छन्, ‘डेरा’ नै ‘घर’ बन्‍न पुग्छ । सिनेमा सिद्धिन्छ, स्वाभिमानी केटो घरज्वाइँ भएपछि के हुन्छ, त्यो कि हामीले अड्कल गर्ने हो कि त सिनेमाको भाग–२ को कथाले बताउला ।


डेराको अर्थ व्यापक होला तर ठेट भाषामा भन्‍नु पर्दा छोटो र अस्थायी रूपमा निश्चित भाडा तिरेर बस्ने/बसिने भाडाको घर या कोठालाई डेरा भनिन्छ । साहित्यमा त यो दुनियाँलाई नै डेरा र जीवनलाई २ दिने मानिन्छ । एक दिन दुनियाँमा प्रवेश भएको दिन र अर्को दिन दुनियाँबाट बिदा लिएको दिन । व्यवहारमा न त डेरामा मात्र जीवन बिताउन स्वीकार्य छ, न त २ दिन नै ।

वर्तमान अवस्थामा मलाई करिब उस्तै लाग्छ । जन्म नेपालमै नै हुन्छ, पठनपाठन पनि, बोली फुट्न थालेदेखि झोला बोकेर परीक्षा र अन्तर्वार्ताका तगाराहरू पार गरेपछि नेपालमा टिक्न नसकिने या जागिरबाट प्राप्त हुने तलबले आफ्नो सपना पूरा नहुने टुङ्गो, आफ्नै बर्कतले छात्रवृत्ति प्राप्त गर्न सके उत्तम नत्र पुर्ख्यौली सम्पत्तिको आडमा केही घण्टा काम गरेर भए पनि पढ्न सकिने सर्तमा विदेश भासिन्छ । उताको मर्म के छ त्यो यथार्थ उसैलाई थाहा हुन्छ, घरलाई ऋणबाट मुक्त गर्दै संघर्ष अगाडि बढ्छ ।

उता पुगेपछि थाहा हुन्छ, मासिक २ लाख कमाइ नेपालको लागि राम्रै तलब हो भन्‍ने सुनिन्छ तर त्यही मुलुकका नागरिक या त्यो मुलुकमा काम गर्ने अमेरिकी, युरोपेली नागरिकको तुलनामा मासिक २ लाख रूपैया उनीहरूले लिने ब्रेकफास्ट, लन्च र डिनरका लागि पनि काफी छैन भन्‍ने पनि राम्रोसँग बुझ्छ । हामीले त्यो मुलुकको स्तरअनुसार जीवन बिताएर दुई लाख बचेको हुँदैन, नेपालमा आफ्नो मर्म र परिवार सम्झेर आफ्नो इच्छालाई दबाएर, नेपालको शरीर, नेपालकै शैलीको गाँस, बास, कपासको कारणले त्यो रकमले नेपालमा कंक्रिटको घर पनि बन्छ । विदेशमा दु:ख हुन्छ नआऊ भन्‍न मन लाग्छ, कसले पत्याउने ? कसले टेर्ने ? मुम्बईमा बेचिने नारीले कोठीमा दु:ख हुन्छ नर्क हो, नजाऊ, भनेर नपत्याउने ठिटीहरू थुप्रै हुन्छन् र दलालहरू पनि सक्रिय हुन्छन् । अब चिन्तन गरौँ, नेपाल घर कि डेरा ?

इस्ट इन्डिया कम्पनीले नेपाली सेनालाई भर्ना लिन थालेपछि त्यहाँबाट नै गोर्खा रेजिमेन्ट (जीआर) बेलायत लगियो, अझै कुनै जीआर भारतमा, कुनै जीआर बेलायतमा बाँडिएको भेटिन्छ । भारत र बेलायतमा सेनामा, सिङ्गापुरमा प्रहरीको रूपमा वर्षेनि नेपाली युवाहरू जाने गर्छन । आम्दानीको हिसाबले भारत पहिले कमजोर देखिए तापनि अहिले धेरै सुधारिएको छ भन्‍ने चर्चामा आउँछ र आकर्षण अहिले तीनवटै मुलुकमा उस्तै छ । आफ्नो परिवारलाई सिङ्गापुर प्रहरीले मात्र साथमा लैजान पाउने प्रावधान भए पनि पछिल्लो दिनमा बेलायतमा पनि परिवार लैजान पाउने नियम बनेको पाइन्छ । नेपाली युवाका लागि यो राम्रो अवसर हो, अहिलेको जस्तो युवाको मूल्य नभएको अवस्थालाई इङ्गित गर्ने हो भने सुनौलो अवसर नै हो । फेरि पनि प्रश्न, नेपाल घर कि डेरा ?

एकछिन, दक्षिण कोरियाको चर्चा गरौँ । पछिल्लो समयमा इलेक्ट्रोनिक्सको विश्वकै राजधानी भएको दक्षिण कोरियाले नेपालीलाई व्यावहारिक बोलिचालीका कोरियन भाषा अनिवार्य बनाई परीक्षामा पास हुने नेपाली युवाहरूलाई रोजगारी दिने निर्णय अनुरूप युवाहरूको आकर्षण बढदै गइरहेको छ । केही अपवादबाहेक नेपालीहरूले प्रशासनमा काम गर्ने पक्कै होइन, हो त उद्योगमा परिणत भएको कृषि उद्योगमा नै ज्यादा युवा लगिन्छ । भाषा, दक्षता र प्राविधिक ज्ञानको स्तरोन्‍नतिसँगै जिम्मेवारी र उचित तलब पाउनेहरू पनि अवश्य छन् तर औसत कमाइ गर्नेहरू पनि नेपालमा सिधा साधा व्यवसायबाट कमाइने रकम भन्दा राम्रै हुन्छ ।

यसरी नेपाली युवाहरूलाई निर्यात गरी विदेशी मुद्रा आयात गर्ने हो भने अब सैनिक र प्रहरी बन्‍ने ट्रेनिङ स्कूल खोलौँ । अंग्रेजी ( वास्तवमा नेपांग्रेजी) त छँदै छ, स्पेनिस, चाइनिज, अरबी, कोरियन, जापानिज भाषालाई बच्चादेखि पढाऔँ ।

महिना बित्यो कि खातामा निश्चित रकम आइपुग्छ, मोबाइलमा औंला थिच्यो घरमा परिवारको सदस्यले पनि तुरुन्त पाउँछ । त्यहाँ प्रविधि छ, सुधारिएको सप्लाई चेन छ, कृषिलाई उद्योगमा बदल्ने इच्छाशक्ति भएको सरकार र सरकारी संयन्त्र छ, त्यो बुझेर नेपाल छुट्टीमा आउँछ युवा, कल्पना पनि गर्छ तर पूर्वाधार (द्रुत यातायात, विद्युत्, अत्याधुनिक मेसिन, सिँचाइ प्रविधि, रोग उन्मूलन प्रविधि, नतिजाका लागि समर्पित अनुभवी टिम, उच्च कोटिको तालिम) देख्दैन । परिवार र नातेदारको यादहरूलाई सम्हाल्दै पुन: पीडालाई आत्मसात् गर्दै अरु सहयात्राीको अनुहार हेर्दै आफूलाई सम्हाल्दै जहाज चढ्नुपर्ने हुन्छ । केही दिन पीडादायी भए पनि बिस्तारै दैनिकी सामान्य हुँदै जान्छ । फेरि पनि प्रश्न आउँछ, घर कि डेरा ?

यो सिलसिलाको अन्त्य हो कि सुरुवात ? 
खाडी र मलेसियाको भने व्यथा उस्तै भए पनि भाषा सिक्नुपर्ने र भाषा परीक्षा पास गर्नुपर्ने बाध्यता छैन । खाडीमा भारतीय, बङ्गलादेशी, पाकिस्तानी, श्रीलंकन, नेपाली प्रशस्त हुने भएकाले प्राय: हिन्दी भाषा बुझ्ने भएपछि भाषामा योग्य नै मानिन्छ । नेपालीहरूभन्दा दशकौँ अगाडिदेखि नै अन्य मुलुकका नागरिकहरू कम्पनीहरूमा विशिष्ट पद सम्हालेर बस्ने भएकाले नेपालीहरू उनीहरूका मातहतमा काम गर्दछन् । लामो समयसम्म साउदी अरब, कुवेत, बहराइनमा घरायसी काम गर्नेहरू भने केही वर्षमा नै अरबी भाषा पनि बोल्न सक्ने हुन्छन् । भाषा सिक्न सकेमा राम्रो, नजान्दा कामबाट नै वञ्चित हुनु चाहिँ पर्दैन । साधारणतया दुई वर्षमा दुई महिना छुट्टी पाइने व्यवस्था हुन्छ खाडीमा । फेरि उही प्रश्न, आफ्नो मुलुक घर कि डेरा ?

हामी नेपाली जोखिम वहन गर्न नसक्ने मानव समुदायमा पर्छौं । टेलिभिजनमा देख्नु भएकै होला, खेलहरू । ओलम्पिकमा कति खेल खेलिन्छन्, हाम्रो मुलुकले कति खेलमा भाग लिन्छ, बढीमा एक दर्जन ? १५ या २० खेल ? फर्मुला वान भन्‍ने कारदौड, मोटर साइकल दौड टि.भि. र युट्युबमा हेर्नु भएकै होला, हाम्रो कुन पुस्ताले आफ्नै मुलुकमा त्यो खेल खेल्ने मौका पाउँछ ? कहिले बन्छन् त्यस्ता पूर्वाधार नेपालमा ? कसले बनाउँछ ? छ कसैसँग जवाफ ?

साधारण दाल, भात, तरकारी सेवन गरेर खुसी हुने नेपाली समाजको घर चाहिँ डेरा र डेरा चाहिँ घर भएको पत्तै छैन । माया पानी जस्तै ओरालो बग्छ । आफ्नै मुटु मानेर गाँस कटाएर पालेका सन्तति नेपालमा नअटाउनु दुर्भाग्य नै हो र त्यो निम्त्याउने तपाईं हामी सबै हो । सरकारी विद्यालयमा व्यावहारिक शिक्षा भनेको कृषि र कृषिको औद्योगिकीकरण हुनुपर्थ्यो त्यो हुन सकेन । बालबच्चालाई माटो खेलाउन दिइएन । कृषि पेसा मृत अवस्थामा छ । अब त्यही र त्यस्तै काम गर्न अंग्रेजी विषय पनि काम लागेन ।

अन्य विषय त विद्यालयमा कोर्समा समावेश गरी प्राथमिकतामा राखेर पढाइएको छैन । नर्सरी केजीदेखि अंग्रेजीमै खेल्ने, पिउने, खाने, सुत्ने गर्दा पनि १२ पास गरेपछि आईएलटीएस (आयल्स) मा मनग्य स्कोर ल्याउनैपर्ने हुन्छ, अंग्रेजी भाषामा पढाइने विश्वविद्यालमा योग्य हुनका लागि । मतलब हामी अंग्रेजी पढिरहेका/पढाइरहेका छैनौ, नेपांग्रेजी पढाइरहेका छौँ । हामीले सही ढङ्गले उच्चारण गर्न पनि सिकाएका छैनौँ । उच्चारण व्याकरणको अभिन्‍न अङ्ग हो । पुराना पुस्ताका कथाव्यथा छाडौँ, अहिले, २०७९ सालसम्ममा १२ पास गर्नेहरूको अंग्रेजीको स्तर हेर्ने सुन्‍ने हो भने ९८% विद्यार्थीको बोल्ने, सुन्‍ने, लेख्ने, पढ्ने सीपहरू हुनुपर्ने स्तरभन्दा धेरै तल छन् । दोषी को ? अंग्रेजीपछि जापान अध्ययन गर्न जानेहरूको पीडा फेरि अर्कै छ ।

छात्रवृत्तिबाहेक शुल्क तिरेर जुनसुकै विषय पढ्न जानेहरूले २ वर्षसम्म त जापानिज भाषामा निपूण हुनुपर्ने रहेछ । रटानको अंग्रेजी कामै लागेन । बिचरा केही घण्टा पाएको कामबाट आर्जित रकमले आफू रुखोसुखो खाएर नेपालमा रकम पठाई ऋणमुक्त हुँदा रहेछन् । जब भाषामा दख्खल प्राप्त हुन्छ, उनीहरूलाई जापानमा काम गर्न योग्य मानिँदो रहेछ र नेपालमा स्नातक सिध्याएर जानेहरूले सीमित समय काम गर्न अनुमति पाउँदा रहेछन् ।

यसरी नेपाली युवाहरूलाई निर्यात गरी विदेशी मुद्रा आयात गर्ने हो भने अब सैनिक र प्रहरी बन्‍ने ट्रेनिङ स्कूल खोलौँ । अंग्रेजी ( वास्तवमा नेपांग्रेजी) त छँदै छ, स्पेनिस, चाइनिज, अरबी, कोरियन, जापानिज भाषालाई बच्चादेखि पढाऔँ । आजसम्मको गतिविधि नियाल्दा औपचारिक शिक्षा ग्रहण गर्दै देशको सेवा गर्नेहरूलाई नियमित तलब भत्ता नपुग भई यिनै रगतका डल्लाहरूले कमाएर ल्याएको रकममा विमानस्थलदेखि नै र्याल काढ्दै सरकारी काममा झन्झट पैदा गर्दै काम हुनु अगाडिको बक्सिस (घूस) लिनुपर्ने बाध्यता छ । मौलिकता र संस्कृति त गुमाइसकिएको अवस्था छ ।

अन्त्यमा, यो सामान कति पर्छ भन्‍ने प्रश्नबाट यो सामान कसरी बन्छ भन्‍ने प्रश्न गर्ने पुस्ता जन्मँदैन, हामी आफैँ पनि भाडामा उपलब्ध गराउने र भावी पुस्ता पनि भाडामा नै लगाउने परिपाटीले टेवा पाउनेछ । मुसा र मौरीबाट केही सिकौँ । मुसाको उद्देश्य पेट भर्नु हो तर पेट भर्ने उधेडबुनमा कहिलेकाहीँ दुलोमा पस्दा सिधै सर्पका मुखमा पुग्छ । अवैध बाटोबाट विकसित मुलुकमा पुग्नेहरूको मुसाको हबिगत भएको छ । हाम्रो संस्कृति मौरीको जस्तो हो, परिवार केन्द्रित थियो रानी जता गयो त्यतै । जापान, दक्षिण कोरिया सबै मौरीका उदाहरण हुन् ।

परियारका लेखहरू


Author

थप समाचार
x