विचार

विश्वविद्यालय सुधार र जनशक्ति व्यवस्थापन

ईश्वरीप्रसाद पोखरेल |
भदौ २३, २०७९ बिहिवार १३:५६ बजे

विश्वविद्यालयका प्राप्त तथ्याङ्कीय विवरण तथा धारणागत प्रस्तुतिहरूको सूक्ष्म अध्ययनबाट समग्र शैक्षिक प्रणाली तथा आ आफ्नो संस्थाको नेतृत्व गर्ने पदाधिकारीहरूले सम्पादन गर्ने कार्यको निर्मम मूल्यांकन गर्न आवश्यक देखायो ।

सोधिएका प्रश्नमाथि विविहरूबाट प्राप्त उत्तरका आधारमा जिम्मेवार नेतृत्व तथा पदाधिकारी वर्गबाट व्यवस्थापकीय कुशलतामाथि आत्मसमीक्षा गर्ने र आफैँभित्र प्रश्नको उत्तर खोजी समाधान गर्न पर्दछ, भन्‍ने प्रतिवेदनले सिकाउँछ ।  अध्ययनका सरोकारवालाका जिज्ञासा, समस्या,चुनौती र संवेदनशील पक्षहरूका साथै, अवसरहरूलाई बुँदागत रूपमा लिपिवद्ध गर्नु र गराउनु र पस्किन सक्नु अध्ययनका मुख्य प्राप्ति हुन् भन्‍न सकिन्छ । केही विषय क्षेत्रगत तथ्यांकीय उपलब्धि तथा समीक्षाबाट सिकिएका पाठहरू :


विश्वविद्यालयमा जनशक्ति व्यवस्थापन 
- शिक्षणतर्फ १०,२०७ तथा व्यवस्थापनतर्फ १०,०३० गरी २०,२३७ जनशक्ति उच्च शैक्षिक निकाय– विश्वविद्यालयहरू) मा कार्यरत देखिन्छन् । शिक्षण तथा व्यवस्थापनतर्फको जनशक्ति भर्ना तथा खपतको वैज्ञानिक अनुपात मिलाउन मापदण्ड निर्माण गर्न आवश्यक छ । 
- प्राध्यापनतर्फ चार तह (प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, प्रशिक्षक) तथा व्यवस्थापकतर्फ तीन तह (सहायकस्तर, अधिकृतस्तर तथा वरिष्ठ अधिकृत) को व्यवस्थामा पदसोपान, वृत्ति विकास, दरवन्दी निर्धारण तथा कार्यजिम्मेवारी र जवाफदेहिताको वैज्ञानिक मापदण्ड तथा अनुपात मिलाउनु जरुरी छ ।

जनशक्ति व्यवस्थापन तथा सशक्तीकरण  
- एघार विश्वविद्यालयमध्ये आठ विविमा स्थायी सेवा आयोग, तीन विविमा पदपूर्ति समिति छन् । सबै विविमा छुट्टाछुट्टै सेवा आयोग तथा पदपूर्ति समितिको व्यवस्थाले शैक्षिक क्षेत्रको सार्वजनिक खर्चको दायरा धेरै बढाएको छ । एकीकृत विश्वविद्यालय सेवा आयोगको व्यवस्थापनबाट प्राध्यापक तथा व्यवस्थापक छनौट गरी जनशक्ति व्यवस्थापन गर्नु हरेक दृष्टिकोणले बढी मितव्ययी र गुणस्तरीय हुन्छ । 
- विश्वविद्यालय स्थापना गर्दा विवि पिच्छेका सेवा आयोग तथा पदपूर्ति समिति बनाइए, तीबारेमा विस्तृत छलफल आवश्यक हुन्छ र एकीकृत सेवा आयोग प्रणालीमा प्रवेश गर्न नीतिगत मापदण्ड आवश्यक हुन्छ ।
- सेवा प्रवेशमा न्यूनतम शैक्षिक योग्यता हुने व्यक्ति र अतिविशिष्ट विद्यावारिधि उपाधि हुनेसंगको पेसागत कार्यभूमिका, शिक्षण सिकाइ प्रभावकारिता तथा प्राज्ञिक जवाफदेहिता र गुणात्मकताको अन्तर अनुभूत गर्ने, गराउने सूचकहरू पारदर्शी हुनु, बनाउनु र कार्यान्वयनमा लैजानु आवश्यक छ ।  
- शिक्षणतर्फ सबै विश्वविद्यालयहरूमा सेवा प्रवेश अभिमुखीकरण, सेवा प्रवेश तालीम र सेवाकालीन तालीमको व्यवस्था अनिवार्य हुनु पर्दछ । 
- विश्वविद्यालयहरूले कुनै तालीम, प्रशिक्षणको व्यवस्था नगरी पेसागत उत्तरदायित्वमा प्रवीण नहुने भएकोले अदक्ष जनशक्तिलाई कक्षामा प्रवेश नगराउने नीति लिनुपर्ने । 
- व्यवस्थापनतर्फको जनशक्तिलाई सेवा प्रवेश अभिमुखीकरण, सेवा प्रवेश तालीम तथा सेवाकालीन तालीमको व्यवस्था अनिवार्य हुनु पर्दछ । 
- विश्वविद्यालयहरूले सेवा प्रवेश अभिमुखीकरण, सेवा प्रवेश तालीम तथा सेवाकालीन तालीम विना कुनै जनशक्तिलाई काममा प्रवेश नगराउने नीतिमा अडान लिने र कार्यान्वयनमा जानु पर्दछ । 
- शैक्षिक गुणात्मकता, व्यवस्थापकीय कुशलता तथा पेशागत उत्तरदायित्वका लागि अनिवार्य हुनुपर्ने तालीम प्रशिक्षण, कार्यविधि, प्रक्रिया र कार्यसम्पादन पेसागत क्षमता विकासप्रति विविहरूमा जागरुकता हुनुपर्ने हुन्छ ।

विश्वविद्यालयमा जनशक्ति विकास नीति तथा उपयोग योजना 
- विश्वविद्यालयहरूले आफ्ना प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई अध्ययन बिदा, तलबी अध्ययन बिदा, छात्रवृत्ति अध्ययनसहित वृत्तिविकासको लागि तलबी अध्ययन बिदा जस्ता सुविधाको अवसर दिने गरेका छन् । 
- सुविधाको उपयोग गरी अध्ययन गर्नेहरू ( विगत १० वर्षमा ६५६ जना) रहेछन् । ती प्राध्यापकहरूबाट विविहरूले शैक्षिक गुणात्मकता, विकास प्रवर्धन तथा देश, समाज र शिक्षाक्षेत्रमा  प्राप्त गरेका उपलब्धिहरूको लेखाजोखा हुने र पारदर्शी अभिलेख राखिने पद्धति विकास गरेको हुनु पर्दछ ।
- राज्यको आर्थिक लगानीमा वैयक्तिक क्षमता र वृत्तिविकासको अवसर पाउनु ठूलो कुरा हो । यसबाट शैक्षिक उन्‍नयन तथा व्यवस्थापकीय पक्षमा जनशक्तिमा हासिल भएका सीपगत कार्यक्षमता प्राप्तिहरूको वैज्ञानिक अभिलेख राख्ने तथा बेला बेलामा ती उत्कृष्ट प्रतिभाको खोजी र उपयोग हुने पद्धति विविहरूले प्रारम्भ गर्नुपर्दछ । 
- शैक्षिक सुशासन तथा उच्च मूल्याङ्कनबाट प्रतिभा पलायन निरुत्साहन र राज्यको साधनस्रोत र मानवीय पक्षको व्यापक सदुपयोग हुने व्यवस्था अनिवार्य हुनै पर्दछ । 
- विशिष्ट क्षमताका नागरिकलाई देश बाहिरिनुबाट रोक्ने तथा प्रोत्साहित वातावरणमा जनशक्तिको सदुपयोग हुने  विविहरूले कार्यक्रम ल्याउनु पर्दछ । 
- विश्वविद्यालयको कार्य विधि, प्रकियाबाट वृत्तिविकासको अवसर पाएका जनशक्तिहरूबाट अध्ययन पश्चात पेसागत मूल्यमान्यता र आचरण अभिवृद्धिका सर्तहरू पालना हुनु अनिवार्य पर्दछ । 
- सर्तपालनाको नियन्त्रणमा नरह्ने र उल्लंघन गर्नेबाट क्षतिपूर्ति भराउने व्यवस्था शैक्षिक सुशासनका लागि आवश्यक हुन्छ । 
- प्रशिक्षकदेखि प्राध्यापकसम्म तथा कार्यालय सहायकदेखि वरिष्ठ अधिकृतसम्म वृत्तिविकासका अवसर प्राप्त गर्नेहरूको तह, श्रेणी र समयावधि तथा संख्यात्मक अनुपात तोक्ने वैज्ञानिक मापदण्ड निर्धारण हुनु, बनाउनु पर्दछ । 
- वृत्ति विकास तथा अध्ययन आदिका सुविधा तोक्न विश्वविद्यालयहरू पूर्ण स्वायत्त हुने अथवा राज्यको एकीकृत मापदण्ड विश्वविद्यालय अनुदान आयोग वा अन्य सरकारी निकायले निर्धारण गर्ने राष्ट्रिय बहस तथा निकास हुनु पर्दछ । 

विद्यार्थी शैक्षिक वृत्ति तथा मापदण्ड 
- सरकारी लगानीका विश्वविद्यालयहरूका आंगिक क्याम्पसहरूमा प्रायः कुनै न कुनै किसिमको छात्रवृत्ति, शैक्षिक सहुलियत तथा सेवासुविधाको व्यवस्था गरिएका छन् । 
- पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्ति तथा निःशुल्क पठनपाठनको व्यवस्था प्रायः सरकारी आङगिक क्याम्पसहरूमा बढी छन् । तिनको प्राप्तिको मापदण्ड तथा सूचक वैज्ञानिक हुनुपर्ने देखाउँछ । 
- विश्वविद्यालयहरूमा उपलब्ध तथा विद्यार्थीहरूले प्राप्त गर्ने छात्रवृत्ति, सेवासुविधा पारदर्शी तथा वैज्ञानिक बनाउने आधार, सूचक तथा मापदण्डहरू व्यापक बहसबाट सरोकारवालाको व्यापक सहभागितामा बनाइनु पर्दछ । 
- शैक्षिक संस्थाहरूमा उपलब्ध सुविधाहरूको उचित सदुपयोग भएको पुष्ट्याइ गर्ने, विधि, प्रक्रिया र अभिलेखाङ्कन तथा सत्यापन गर्ने व्यवस्था विविहरूमा मिलाइएको र जवाफदेही हुनुपर्ने हुन्छ । 
- यो संक्षिप्त अध्ययनमा पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्ति, निःशुल्क पठनपाठन र छात्रावास सुविधा उपभोग गर्नेहरूको संख्या ८ हजार माथि रहेको देखिन्छ । 
- देशव्यापी आ–आफ्ना विद्यार्थीहरूले यी पक्षमा कहाँ कहाँ ? के के ? र कति कति ? सुविधा प्राप्त गर्दछन्, भन्‍ने सबै विविहरूसंग विवरण छैन, जुन सबै अभिलेख विविहरूले अनिवार्य राख्नु पर्दछ । 
- शैक्षिक संस्थाहरूले देशभरी सबै प्रकृतिका सेवासुविधा उपभोग गर्ने छात्र छात्राहरूको विवरण अध्यावधिक गर्ने र सुविधाका लागि सही उम्मेदवारको छनौट गरी प्रभावकारिता र विश्वसनीय मापदण्ड विकास र पालना अनिवार्य भएको देखाउँछ । 
- मानव पूँजी विकास तथा जनशक्ति विकास र पेसागत क्षमता अभिवृद्धिमा राज्य, सरकार तथा संस्थाको आर्थिक लगानी अंश स्पष्ट तोकिएको तथा पारदर्शी हुनुपर्ने देखाउँछ । 

शिक्षा प्रणाली तथा वैयक्तिक क्षमता विकासका कार्यक्रमहरू 
- विश्वविद्यालयहरूमा उपलब्ध हुने शैक्षिक क्षेत्रका सिर्जनशील गतिविधिहरू, सहक्रियाकलाप, अतिरिक्त क्रियाकलापको अति नै महत्वपूर्ण स्थान हुन्छ भन्‍ने कुरामा विविहरू जति संवेदनशील हुनुपर्ने, त्यति देखिएन । 
- अतिरिक्त क्रियाकलापको माध्यमबाट वैयक्तिक क्षमता तथा वृत्ति विकासको ढोका खोल्न शैक्षिक संस्थाहरूमा उपलब्ध हुने हरेक साधन स्रोतको सदुपयोग, लाभग्राही सन्तुष्टि दर तथा त्यसको कार्य सफलता प्रभाव पक्ष अति संवेदनशील हुने गरी अध्ययन र संरक्षण हुन सकेको देखिएन । 
- शारीरिक तथा मानसिक प्रवर्धन गर्ने, गराउने अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थी वर्गलाई सामाजिकीकरणको मूल मार्गमा प्रवेश गराउने विधि तथा पद्धतिमाथि गहन अध्ययन, अनुसन्धान गर्ने र अध्यावधिक गर्दै, आवश्यकतानुसार परिमार्जन, सुदृढीकरण तथा विस्तार र गुणस्तर अभिवृद्धिका योजनाहरू विविहरूले सार्वजनिक गरी विद्यार्थी आकर्षण गर्ने गरेको देखिएन ।

पोखरेलका अन्य लेख पनि पढ्नुहोस्


Author

ईश्वरीप्रसाद पोखरेल

लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उपसचिव हुन् ।


थप समाचार
x