विचार

सेप्टेम्बरको सेरोफेरो

सुरेन्द्र नेपाल श्रेष्ठ |
भदौ १८, २०७९ शनिवार १०:४२ बजे

१२ महिनाको एक वर्ष हुनुभन्दा अगाडि सातौँ महिनामा पर्ने सेप्टेम्बर महिना अहिले नवौँ महिना बनेको छ । क्यालेन्डर प्रयोगको सुरुवाती समयमा दश महिनाको एक वर्ष हुन्थ्यो । सेप्टेम्बर महिनाको नामकरण ल्याटिन भाषाको ‘सेप्टेम’बाट भएको थियो । जसको अर्थ हुन्छ, ‘सात’ अर्थात् सातौँ महिना । अन्य केही महिनाको नामकरण पनि यही आधारमा गरिएको थियो । वर्षको सुरुमा जनवरी र फेब्रुअरी थप्ने क्यालेन्डर सुधार भएपछि पनि यस महिनाको नाम त्यही नै कायम रह्यो । पहिला यो महिना २९ दिनको थियो, पछि एक दिन थपेर ३० दिनको हुन गएको हो । यो महिनाको १ तारिखदेखि उत्तरी गोलार्धमा शरद ऋतु र दक्षिणी गोलार्धमा वसन्त ऋतुको सुरुवात हुन्छ ।

राशिको हिसाबले सेप्टेम्बर २२ सम्म जन्मेकाहरू कन्या र त्यसपछि जन्मेकाहरू तुला हुन्छन् । त्यस्तै यो महिनाको जन्म पत्थर नीलमणि हो यो रत्न हजारौं वर्षदेखि अस्तिवमा रहँदै आएको छ । यद्यपि नीलमणि शब्दले सामान्यतया नीलो रंग मात्रै जनाउने भए पनि अन्य विभिन्न रंगमा पनि पाइन्छ । यस महिनाको प्रतीकको रूपमा एस्टर्स, फर्गेट मि नट र मर्निङ ग्लोरी फूललाई मानिन्छ । एस्टर्सलाई एकताका क्रान्तिको प्रतिनिधित्वको रूपमा लिइन्थ्यो । युद्धमा हराएका सिपाहीहरूलाई सम्झन यो फूल प्रयोग गरिन्थ्यो । साँचो प्रेम र सम्मानका लागि फर्गेट मि नट फुल दिइन्छ । मर्निङ ग्लोरी लामो समयदेखि प्रेमको प्रतीकको रूपमा पनि चिनिन्छ । 


मध्यकालीन इङ्गल्यान्डमा सेप्टेम्बर फसल महिना थियो । त्यति बेला विशेषतः मकैको बोटको पुतली जस्तो बनाएर खेत बारीको बीचमा राखिन्थ्यो । यसलाई देवीको आत्माका रूपमा मानिने र आफ्नो खेतमा मकैको पुतली नराखेको खण्डमा मकैको देवी मर्ने र बाली पनि मर्ने विश्वास थियो । तर यसलाई वन्यजन्तुहरूबाट बालीनाली जोगाउने उपाए पनि ठानिएको हुनुपर्छ । जुन अहिले पनि सबैतिर खेत बारीमा विभिन्न आकारका बुख्याँच्या राख्ने चलन छँदै छ । 

यसबारे अर्को एउटा चलन पनि भएको देखिन्छ । जसलाई ‘कलिङ द मेर’ अर्थात् जंगली स्त्री घोडा बोलाउने भनिन्थ्यो । आफ्नो खेतबारीमा उत्पादन भएका बालीहरू जाडो हुनुभन्दा अगाडि भित्र्याउन सकिएन भने वर्षभरि अनिकाल सहन पर्ने पनि हुन सक्थ्यो । त्यसैले आफूले सकेसम्म छिटो बाली काट्ने कोसिस गर्थे । आफ्नो बाली काटिसकेपछि अन्तिम बिटालाई घोडाको आकार बनाई अर्काको खेतमा राखेर जंगली घोडीलाई बोलाउने गर्दथ्यो । यदि उसले छिटो बाली काटेन भने जंगली घोडी आएर सबै बाली खाइदिन्छ भनेर छिटो बाली भित्र्याउँछन् भन्ने मान्यता थियो । सबैभन्दा पछिल्लो किसानले चाँहिँ ढिलो गरेबापत त्यस्तो छ्वालीको घोडा वर्षभरि राख्न पथ्र्याे ।

संसारभर बुबाको मुख हेर्ने दिन जस्तै पर्व चल्दै आएको छ । धेरैजसो देशमा जुनको तेस्रो आइतबार मनाउने भए पनि जनवरी महिनाबाहेक अरु सबै महिनामा कुनै न कुनै देशमा बुबालाई सम्मान गर्ने चलन चल्दै आएको छ । यस वर्ष सेप्टेम्बरको ४ तारिखमा अस्ट्रेलिया, फिजी, न्युजिल्यान्ड र पपुवा न्युगिनी र ११ तारिखमा लात्भिया र नर्थ म्यासेडोनियामा फादर्स डे मनाउनेछ । 

विशेषतः युरोपतिर लामो समयको झरी जाडोपछि आउने दुई महिनाको गर्मीले यस वर्ष त अत्यधिक तापक्रम बढ्यो । सेप्टेम्बर महिना लागेपछि शरद ऋतुको आगमनसँगै सबैले अलि शीतल महसुस गर्न थाल्ने र केही महिनापछि आउने क्रिसमस र नयाँ वर्षको लामो छुट्टीको आशामा दिन काट्न सजिलो महसुस गर्न थाल्छन् । बच्चा हुनेहरू पनि करिब दुई महिनाको छुट्टीपछि नयाँ ऊर्जासहित दैनिकीमा फर्किन्छन् । सायद त्यसैले होला ह्यारी पोटर, डेथली हेलोजमा लेखक जे के रोलिङले एक अंश यस्तो लेखिएको होला ‘त्यो वर्ष शरद ऋतु अचानक आयो जस्तो भयो । पहिलो सेप्टेम्बरको बिहान स्याउ जस्तै क्रिस्पी र सुनौलो थियो ।’

संसारका सबै देशमा मे १ का दिन मनाउने श्रमिक दिवस संयुक्त राज्य अमेरिका र क्यानडामा भने प्रत्येक सेप्टेम्बरको पहिलो सोमबार मनाउने गरिन्छ । यो दिनलाई श्रम दिवस मनाउन अमेरिकामा सन् १८८७ देखि नै धेरै राज्यहरूमा मान्यता दिइए पनि सन् १८९४ देखि मात्रै देशैभरि आधिकारिक रूपमा बिदा दिन थालियो । अमेरिकामा पनि विश्वका प्रायः सबै देशले मान्ने गरेको मे १ कै दिन श्रम दिवस मनाउने प्रयास गरिएको थियो तर हालसम्म त्यो सफल भएको छैन । उक्त दिन मनाउँदा त्यतिबेला भएको दंगालाई प्राथमिकता दिएको सन्देश जान्छ भन्ने धारणा रहेको छ ।

संसारका प्रायः सबै देशहरूमा फरक–फरक समयमा बुबाआमालाई विशेष सम्मान गर्ने प्रचलन छ । पोप फ्रान्सिसले सन् २०२१ मा प्रत्यक वर्ष जुलाईको चौथो आइतबार हजुर बा/आमा र बूढाबूढीहरूका लागि विश्व दिवस मनाउने घोषणा गरेका थिए । यो चलन अझै अन्तर्राष्ट्रियकरण भने भइसकेको छैन । तर केही देशहरूमा भने लामो समयदेखि नै यस प्रकारको विशेष दिन विभिन्न महिनामा मनाउँदै आएको देखिन्छ । जापानमा सन् १९६६ देखि प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो सोमबार वृद्धाहरूलाई विशेष सम्मान गर्ने चलन चल्यो । क्यानाडा, इस्टोनिया फिलिपिन्स र अम्मेरिकामा सेप्टेम्बरको दोस्रो आइतबार हजुरबा÷आमाको सम्मान गरिन्छ । बंगलादेशमा भने सेप्टेम्बर ९ का दिन उक्त पर्व मनाइन्छ ।  

सन् १९६९ मा नौ वर्षीय बालक रसेल क्यापरली आफ्नो हजुरबुबा र आमाको सम्मानमा एउटा विष दिन घोषणा गरी पाऊँ भनी राष्ट्रपति निक्सनलाई एक विशेष पत्र लेखेपछि सुरु भएको यो अभियानलाई धेरै उमेर भएका वृद्धाहरूलाई विशेष सम्मान र कदर गर्नुपर्छ भनेर युवाहरूमा जागरण चलाउँदै आएका मारियन म्याकक्वेडको विशेष पहलमा केही सांसदहरूको सहयोगमा सेनेटर रान्डोल्फले फेब्रुअरी १९७७ मा ‘प्रत्येक वर्षको श्रम दिवसपछि सेप्टेम्बरको पहिलो आइतबारलाई ‘राष्ट्रिय हजुरबुबा आमा दिवस’को रूपमा घोषणा गर्न अनुरोध गर्दै सिनेटमा एक संयुक्त प्रस्ताव पेस गरेका थिए । त्यसलाई सन् १९७८ अगस्त ३ मा तत्कालीन राष्ट्रपति जिमी कार्टरले घोषणामा हस्ताक्षर गरेपछि आधिकारिक रूपमा देशैभरि मनाउन थलिएको हो । 

संयुक्त राष्ट्र संघको निर्णयअनुसार यो महिनाभरि निम्न विशेष दिनहरू संसारभरि विभिन्न कार्यक्रमहरूसहित मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय परोपकारी दिवस ५ तारेख, निलो आकाशका लागि स्वच्छ हावाको अन्तर्राष्ट्रिय दिवस ७, अन्तर्राष्ट्रिय साक्षरता दिवस ८ शिक्षालाई आक्रमणबाट जोगाउन अन्तर्राष्ट्रिय दिवस ९, दक्षिण–दक्षिण सहयोगका लागि संयुक्त राष्ट्र दिवस १२, अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस १५, ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस १६, विश्व रोगी सुरक्षा दिवस १७, अन्तर्राष्ट्रिय समान वेतन दिवस १८, अन्तर्राष्ट्रिय शान्ति दिवस २१, सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस २३, आणविक हतियारको कुल उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस २६, विश्व पर्यटन दिवस २७, सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस २८, खाद्य नोक्सान र फोहोरको अन्तर्राष्ट्रिय जागरूकता दिवस २९ र विश्व समुद्री दिवस÷अन्तर्राष्ट्रिय अनुवाद दिवस ३० तारेख । 

विश्वका प्रायः सबै देशहरू कुनै न कुनै साम्राज्यको अधीनमा शासित हुन पुगेका थिए । ठूला साम्राज्यबाट स्वतन्त्र भएपछि पनि आन्तरिक समस्याका कारण धेरै देशहरू पटक–पटक भिन्न अस्तित्वमा आएका पनि छन् । त्यसैले सबै देशहरूले आफ्नो देशको स्थापना भएको दिनलाई विशेष पर्वका रूपमा मान्ने गर्दछन् । कहिल्यै पनि अरुको अधीनमा नरहेका थोरै देशमा पनि त्यहाँको महत्वपूर्ण दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउने चलन छ । उदारहणका लागि, नेपालले सेप्टेम्बर १९ मा गणतन्त्र स्थापना भएपछि संविधान घोषणा गरिएको दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै आएको छ । सोही दिन नै सेन्ट कित्ट्स एन्ड नेभिसले सन् १९८३ मा बेलायतसँग छुट्टिएको दिनलाई सम्झिन्छ । यो महिनाको १, ७, १२, १७ र २४ मा क्रमशः स्लोभाकिया, फिजी, स्वीजरल्यान्ड, अमेरिका र क्याम्बोडियाले पनि संविधान दिवस मनाउँछन् । सेप्टेम्बर महिनामा ८ गते एन्डोरा, २१ आर्मेनिया, माल्टा र बेलिज, ३० बोस्तवाना, २२ बुल्गेरिया र माली, १५ कोस्टारिका, एल साल्भाडोर, ग्वाटेमाला, होण्डुरस, निकारागुवा, ६ इस्त्वानिया, ८ उत्तरी म्यासेडोनिया, १६ पपुवा न्युगिनी, ९ ताजक्स्थान, २ त्रान्सनिस्त्रिया र भियतनाम, २७ टुर्किस्तान, १ उज्बेक्स्तानलगायत अन्य केही देशले आफ्नो विशेष दिन मनाउँछन् । 

सेप्टेम्बर महिना यात्रा गर्नका लागि उत्कृष्ट समय हो । यस समयमा विश्वभरि धेरै प्रकारका चाडपर्वहरू आयोजना गरिन्छ । स्थानीय चाडपर्वमा प्रत्यक्ष रूपमा भाग लिएर त्यस ठाउँको संस्कृतिको अनुभव गर्न र बुझ्न सकिन्छ । विभिन्न देशको परम्परागत गीत, संगीत, खाना, भेषभुषा तथा चालचलन थाहा पाउन संसारभरका मानिसहरू विभिन्न स्थानमा पुग्ने गरिन्छ । 

रेगाटा स्टोरिका, भेनिस, इटाली, ४ सेप्टेम्बर, मध्यशरद वा मूनकेक महोत्सव– चीन १० सेप्टेम्बर, अक्टोबरफेस्ट, म्युनिख, जर्मनी, १७ सेप्टेम्बर–४ अक्टोबर, लामर्से, बार्सिलोना, स्पेन २३–२५ सेप्टेम्बर, त्यस्तै अमेरिकाको लङ आइल्यान्ड कार्निवल र भर्जिनिया कार्निवल ‘ऋबचष्दँभकत’ सेप्टेम्बर १०, जापान सोका सप्ताहन्त सेप्टेम्बर १४ देखि २० सम्म, शरद इक्विनोक्स महोत्सव– चिचेन इत्जा, मेक्सिको २१ सेप्टेम्बर, बर्लिन लाइट्स फेस्टिवल– बर्लिन, जर्मनी ७–१६, ब्रिस्बेन महोत्सव– ब्रिस्बेन, क्वीन्सल्यान्ड, अस्ट्रेलिया २ देखि तीन हप्ता, एसियन वीक, न्यूयोर्क ः ९–१४ लन्डन ः १६–२०, मिलान ः २०–२६, पेरिस : २६ सेप्टेम्बर– ४ अक्टोबर, रक इन रियो– रियो डी जेनेरियो, ब्राजिल प्रत्येक २ वर्षमा २–४ र ८–११ सेप्टेम्बर, सान माटेओ महोत्सव– ओभिएडो, स्पेन १६–२५, भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव– भेनिस, इटाली, ३१ अगस्ट–१० सेप्टेम्बरलगायत प्रत्येक देशमा यो महिनाभर विभिन्न प्रकारका स्थानीय तथा राष्ट्रिय पर्वहरू मनाइन्छ ।

बेलायतका अहिलेसम्मका ५५ प्रधानमन्त्रीहरूमध्ये बोनर ल, एच.एच. आस्किथ, हेनरी क्याम्पबेल–ब्यानरम्यान, अगस्टस फिट्जरोय र हेनरी पेल्हमको जन्मदिन यो महिनामा पर्छ भने अमेरिकाको ४६ जना राष्ट्रपतिहरूमध्ये २७ औँ राष्ट्रपति विलियम हावर्ड टाफ्ट सन् १८५७ सेप्टेम्बर १५ मा जन्मेका थिए । हाल भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी, रसियाका पूर्वराष्ट्रपति तथा वर्तमान प्रधानमन्त्री दिमित्री मेदवेदेभ, सिंगापुर निर्माता ली कुआन यू, इङल्यान्डकी महारानी एलिजाबेथ प्रथम, राजा हेनरी पाँचौँ, फ्रान्सको राजा लुइस चौधौँको जन्मदिन पनि यही महिनामा पर्दछ । जापानमा दुई पटक गरी सबैभन्दा लामो समय प्रधानमन्त्री भएका र यही जुलाई आठमा हत्या भएका शिन्जो आबे पनि सन् १९५४ सेप्टेम्बर २१ मा जन्मेका थिए । 

मानिस जन्मेपछि मर्नु स्वाभाविक र अनिवार्य छ । तर केही मानिसहरू आफू जन्मेकै दिन नै मरेका छन् । यस्तै अमेरिकाको चलचित्रमा ख्याति प्राप्त दुई कलाकारहरू आफ्नो जन्मदिनको दिन सेप्टेम्बर ६ र २१ का दिन आफ्नो ८९ र ९७ वर्षको जन्मदिन पूरा गरेर बितेका थिए । प्रसिद्ध खलनायक ओट्टो क्रुगर सन् १८८५ मा र अभिनेत्री ग्रेस ब्राडली सन् १९१३ मा जन्मेका थिए । उनीहरू दुवै जना ३०÷४० को दशकमा अत्यधिक व्यस्त थिए । 

हुन् त संसारमा अहिलेसम्म अन्तिम विश्व युद्ध भन्ने मौका पाई रहेको दोस्रो विश्व युद्ध पनि सेप्टेम्बर १ सन् १९३९ बाट सुरु भएर सेप्टेम्बर २ सन् १९४५ मा अन्त्य भएको थियो । त्यो युद्धमा झण्डै पाँच करोड मानिसले ज्यान गुमाइएको अनुमान गरिन्छ । अमेरिकाको ट्वीन टावरमाथि सन् २००१ को सेप्टेम्बर ११ मा हमला भएपछि संसारभरि नै सुरक्षाको विषयमा ठूलै उथलपुथल भएको थियो । आधुनिक विश्वको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आतंककारी घटनाका रूपमा दर्ज भएको उक्त दिन संसारभरि नै शोक दिवसका रूपमा सम्झने चलन छ ।

पुरातन इजिप्टियन परम्पराअनुसार कोप्टिक नयाँ वर्ष मनाइन्थ्यो जुन अहिले पनि एथियिपियामा त्यसैलाई आधार मानिन्छ । यस वर्ष त्यहाँको नयाँ वर्ष सेप्टेम्बर ११ मा परेको छ । त्यहाँ बाह्र महिना नै ३० दिनको हुन्छ र अन्तिम महिना ५ वा छ दिनको हुन्छ । ग्रेगोरियन क्यालेन्डरमा फेब्रुअरी जस्तै चार वर्षमा एक दिनको घटी बढी हुने गर्दछ । अहिले त्यहाँको वर्ष २०१४ साल हो र सेप्टेम्बर ११ देखि २०१५ हुनेछ । 

सन् १७५२ मा बेलायतले पनि जुलियन क्यालेन्डर त्याग्न निर्णय ग¥यो र ग्रेगोरियनको प्रयोग गर्ने भयो । यसो गर्दा ३ सेप्टेम्बरदेखि १३ सेप्टेम्बर अर्थात् ११ दिन हटाउनुपर्ने भयो । परिणामस्वरूप २ तारेखबाट एकै पटक १४ हुन पुग्यो । त्यसैले बेलायतको इतिहासमा ती ११ दिन गायब भयो । धेरैले आफ्नो उमेर बढेको र जीवन छोटो हुने हुँदा ‘हामीलाई हाम्रा ११ दिन फिर्ता देऊ’ भनेर सडकमा विरोध प्रदर्शन गरेका थिए ।

नेपालमा सेप्टेम्बर सातमा निजामती सेवा दिवसमा सरकारी कर्मचारीहरूका लागि, ९ सेप्टेम्बर इन्द्र जात्रामा काठमाडौँ उपत्यकामा, १९ सेप्टेम्बर, संविधान दिवस र सेप्टेम्बर २६ घटस्थापनाको दिन देशैभरि सार्वजनिक बिदा दिने चलन छ । यही दिनदेखि हिन्दु धर्मालम्बीहरूले नवरात्रि पूजा सुरु गर्दछन् । 

अन्त्यमा, मानव सभ्यताको यति लामो कालखण्डमा यो महिनामा भए गरेका धेरै विषय एउटा सानो लेखमा उतार्न सक्ने सम्भावना रहँदैन । मलाई मन लागेका केही विषय उठान गरेको मात्रै हो । यो महिनाबारे ‘मेक इट सेप्टेम्बर, टु रेमेम्बर’ भन्ने पनि चलन छ । मेरो जन्म दिन पनि यही महिनाको १५ तारिखमा पर्ने हुँदा महिनाको सुरुवातसँगै नयाँ उमङ्ग थपिँदै गए जस्तो लाग्छ । यो महिना जन्मदिन हुनेहरू सबैलाई एकमुष्ठ शुभकामना । अर्को महिना ‘अक्टोबरको आसपास’ लिएर आउने नै छु । 

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका लेखकले विविध विषयका अलावा ‘महिनाको महिमा’ फेब्रुअरीदेखि प्रत्येक महिनाबारे लेख लेख्दै आएका छन् ।)


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x