विचार

प्रदीप दाइ : बनारसदेखि मेडिसिटीसम्मका सम्झनाहरूमा

सुशीला कार्की |
भदौ ६, २०७९ सोमबार ७:२५ बजे

केही समयअघि प्रदीप गिरि दाइलाई म र दुर्गा सुवेदीसँगै मेडिसिटी अस्पतालमा हेर्न भनेर गएका थियौँ । उहाँ भारतबाट उपचार गराएर फर्केको केही दिन मात्र भएको थियो । आगन्तुकहरूसँग भेट गर्न अस्पतालले रोकेको थियो । तर प्रदीप दाइले दुर्गाजीसँग भेट गर्न इच्छा राख्नुभएको छ भन्‍ने कुरा हामीलाई जानकारी दिइयो । त्यही दिन पूर्वराष्ट्रपति रामवरण यादवजी पनि भेट गर्न भनेर जानुभएको हुँदा हामीले उहाँसँग राम्रोसँग भेट गर्न र कुरा गर्ने अवसर पाएका थियौँ ।

हामी पुग्दा प्रदीप दाइ निदाउनु भएको थियो । तसर्थ, कुनै बाधा–व्यवधान नगरी हामी उहाँ जागेपछि कुरा गर्न चुपचाप बसिरह्यौँ । प्रदीप दाइ हामी पुगेको आधा घण्टा पछि ब्युँझिनु भएको थियो र दुर्गाजीलाई देखेर खुसी हुँदै भन्‍नुभयो, ‘ए, दुर्गाजी आउनुभएको रहेछ ।’ लगत्तै मलाई देखेर खुसी हुँदै भन्‍नुभयो, ‘सुशीला तिमी पनि आयौ ।’ हुन त, हामीले उहाँ उपचार गरेर बसेको स्थान भारतको बम्बैमा नै गएर भेट गर्ने चाहेकामा उहाँले म नेपाल फर्केर आउँछु । नेपालमै भेट गरौँ भनी खबर पठाउनु भएको थियो ।


मेडिसिटी अस्पतालमा प्रदीप दाइको अनुहार हेर्दा, मलाई उहाँ बिरामी भएको जस्तो कतै अनुभूति भएन । कपाल पहिलेको जस्तो थियो, अनुहार हेर्दा क्यान्सरको बिरामी जस्तो प्रतीत हुँदैनथ्यो । पहिले उहाँलाई जस्तो देखेकी थिएँ, त्यस्तै देखिनुभएको थियो । मात्र अलिकलि शरीर दुब्लाएको जस्तो लागेको थियो । 

क्यान्सरको रोगीको हालत किमोथेरापी दिएपछि शरीरमा पर्ने नकारात्मक असरका कारण दयनीय अवस्था हुन पुग्दछ । तर प्रदीप दाइमा त्यस्तो कुनै असर पटक्कै देखिएको थिएन । मलाई त्यसबेला लागेको थियो, उहाँमा अत्यन्त धेरै आत्मविश्वास छ । मैले खुसी हुँदै उहासँग यही सब कुरा बताएकी थिएँ । प्रदीप दाइले पनि धेरै पटक मसँग सोधिरहनुभयो, ‘म स्वस्थ देखिएको छु ? तिमीलाई त्यस्तो लाग्यो ?’

फेरि विगतका कुराहरू हामीले एक पटक स्मरण गर्‍यौँ । उहाँले मेरो छोरा प्रशान्त कहाँ छन् र के गर्दै छन् भनी सोधीखोजी गर्नुभएको थियो । अनि मलाई धन्यवाद दिँदै भन्‍नुभयो, ‘तिमीले आफ्नो अनुभवलाई स्मरण गर्दै लेखेको पुस्तकमा बनारसको हाम्रो बसाइँबारे सबै कुरा लेखेकी रहिछौ, मैले पढेँ । अरू कसैले त्यसरी लेखेको छैन बनारसको बारेमा ।’

अन्त्यमा फेरि त्यही सदैव मसँग गुनासो गर्ने गरेको कुरा नै दोहोर्‍याउनुभयो, ‘अरू कुरा त सबै ठीकै गर्यौ । तर मेरो बाघ जस्तो मित्र दुर्गाजीलाई भने तिमीले बाँधेर राखिदिएकी छौ ।’ यसपटक भने उहाँका कुरा सुनेर म रिसाइनँ । बरू हाँसी मात्र रहे । २०७३ सालताका प्रदीप दाइलाई दुर्गाजीले एक पटक खाना खान बोलाउनु भएको थियो । उहाँ हामीकहाँ आउनेबित्तिकै मलाई देखेर भन्‍नुभयो, ‘तिमीले ठीक गरिनौ सुशीला । दुर्गाजीलाई अनाहकमा बाँधेर राखेकी छौ ।’

त्यो दिन प्रदीप दाइ र मेराबीच यस विषयमा लामो विवाद नै चलेको थियो । मैले उहाँलाई पनि सोधेँ, ‘कसरी मैले तपार्इंका मित्रलाई बाँधेर राखेको छु र ?’ प्रदीप दाइको भनाइ थियो कि दुर्गाजी यस्तो घरेलु हुने किसिमका मानिस नै होइन, सक्रिय व्यक्ति हुन् । अनि दोषसमेत लगाउनुभयो, ‘तिमीले नियन्त्रण गरेका कारणबाटै उहाँ राजनीतिमा सुस्त हुनु भएको हो ?’ 

मलाई देखेपछि प्रदीप दाइले जहिले पनि त्यही कुराको गुनासो गरिरहनु हुन्थ्यो । म न्यायाधीश भएपछि धापासीमा डेरा गरी बसेका बखत प्रदीप दाइको पनि बसाइँ त्यतै थियो । नजिकको बसाइँ हुँदा दुर्गाजी र प्रदीप दाइको दैनिकजसो बिहान, बिहान भेटघाट भइरहन्थ्यो । यी दुवैबीच स्वभाव मिल्ने हुँदा आपसी सद्भाव, प्रेम र प्रगाढ स्नेह रहेको थियो । तर ०७२ सालको भूकम्पले गर्दा प्रदीप दाइ बसेको घर क्षतिग्रस्त भएर बस्नलायक रहेन । उहाँको डेरा धापासीबाट सरेपछि दुर्गाजीको प्रदीप दाइसँगको भेटघाट अलि पातलियो ।

वास्तवमा भन्‍ने हो भने प्रदीप दाइमा न लोभ थियो, न पाप । न कसैको ईष्र्या, न माया, न मोह, न घरजम । न सम्पत्ति जोडेर सुखसयल गरी जीवन बिताउने कुनै आकांक्षा नै थियो । फगत एउटा योगी र सन्यासीको जस्तो उहाँको जीवनशैैली र स्वभाव हो । उहाँले न पैसाप्रति मोह राखेर कहिले बचत नै गर्नुभयो । उहाँको निम्ति उहाँको पकेट नै बैङ्क थियो, जो प्राप्त गर्‍यो त्यसैमा सन्तोष गरेर मिलेर बाँडेर खाने बानी । मीठो पनि खान नपर्ने, राम्रो लाउन पनि नपर्ने अति साधारण । माछा मासुसम्म नखाने, हरियो सागपात तरकारी भए पुग्ने । यहाँसम्म कि विराटनरमा आउँदा कहिलेकाहीँ हाम्रो घरमा बस्ने गर्नुहुन्थ्यो । त्यहाँ उहाँलाई आधुनिक खाने कुरा केही मन नपर्ने, पाउरोटीको कस्तै परिकार बनाइदिए पनि नरूचाउने बरू साधारण भुटेको चिउराले नै सन्तुष्टि दिने गर्थ्यो ।

एक पटक संयोगवश, हामी दुईचार महिना काठमाडौंको थापाथलीको एउटा घरमा सँगै बस्ने मौका मिलेको थियो । उहाँ माथिल्लो तलामा हुनुहुन्थ्यो, हामी तल्लो तलामा बसेका थियौँ । २०५२ सालको वर्ष थियो, उहाँ सांसद हुनुहुन्थ्यो । प्रदीप दाइ प्राय: ढिलो उठ्ने हुँदा संसद् जाँदासमेत लुगा ध्यान नदिई इस्त्री नगरेको खादीको कुर्ता र सुरूवाल लगाएर जाने गर्नुभएको थियो । 

हालै मेडिसिटी अस्पतालमा भेट्दा पनि सोध्नुभयो, ‘मैले बनारसमा बस्दा तिम्रो नाम हन्टरवाली, हिम्मतवाली राखेको स्मरण छ ?’ मैले भनेँ, ‘किन नहुनु, थाहा छ ।’ उहाँले दुर्गाजीतिर फर्केर भन्‍नुभयो, ‘मैले बहिनीको नाम हिम्मतवाली राखेको ठीकै भएछ । आखिर नेपालको प्रधानन्यायाधीससम्म बन्‍न सफल भइन्, सुशीला ।’

कुनै राप्रपाको नेताले नेकपा एमाले र नेपाली कांग्रेसको नेताहरूको लाउने खाने आचरण बारेमा बोल्दै कांग्रेसको सांसदहरू हाउसमा आउँदा घरमा राति सुतेको लुगा नै लगाएर आउने गरेका अल्छी छन् भनी छेडखान गरेछन् । त्यो छेडखान मैले अखबारमा पढेपछि दाइलाई त्यही कुरा भनेर संसद्मा जाँदा अलि छरितो भएर जाने गर्नुपर्यो भनी ती राप्रपाको नेताले बोलेको कुरा सुनाइदिएको थिए । तर प्रदीप दाइले त ती नेतालाई भेटेरै तिमीले यी सब कुरा किन भनेको भनी रिसाउनुभएछ ।

थापाथलीमा केही समयसम्म सँगै एउटा घरमा बस्दा उहाँको निराला स्वभाव पनि देखियो । रात परेपछि उहाँको दिनचर्या सुरु हुने गरेको थियो । एउटा पाकिस्तानी गजल गायिकाको गजल बाह्र बजेपछि बजाउनु हुन्थ्यो र खाना बनाउन केटाहरूलाई लगाएर राति पढ्ने गर्नुभएको थियो । त्यो गजल सुन्दासुन्दै मलाई पनि मन परेको थियो । उहाँको कोठा अस्तव्यस्त देखेर मलाई सहयोग गर्न बसेकी बहिनीले एक दिन सफा गरिदिइछन् । भोलिपल्ट गाली खाइन् ।

त्यसबेला मेरो छोरा जन्मेको थियो । एक दिन एकाएक मलाई देखाइदिनुपर्‍यो भन्‍नुभयो । मैले देखाएँ । उहाँले बच्चा देखेर भन्‍नुभयो, ‘कसले मलाई साढे तीन किलोको भनेको थियो भन्दै थियो, म त टुकुटुकु हिँड्ने भयो होला भानिज भनेको भानिज सानै रहेछ ।’ उहाँको कुरा सुनेपछि हामी सबै हाँसेका थियौं । तिनै दिनताका मसँग मलाई मन्त्री बन भन्दैछन् तिमी इमानदारीपूर्वक भन म बनौँ कि नबनौँ भनी मसँग सल्लाह माग्नुभएकोमा मैले नबन्‍नुस् तपाईंलाई बेचेर खान्छन् दाइ भनेपछि उहाँ बन्‍नु पनि भएन ।

उहाँले जीवनभरि आफू एक्लै भए पनि सदैव एउटा समूह बनाएर बसेको पाइयो । सबैलाई भएसम्म सहयोग गर्ने गर्नुहुन्थ्यो । एक पटक २०७६ तिर हुनुपर्छ, दुर्गा पोखरेल लगायतका केही दिदी बहिनीहरू हामी भारततर्फ घुम्न भनी जाँदा बनारसमा प्रदीप दाइसँग भेट भएको थियो ।

हामी त्यहाँबाट फर्केर नेपालतर्फ आउने क्रममा दिउँसो उहाँ हामीलाई रेल्वे स्टेसनसम्म पुर्याउन भनी आउनुभयो । बस्दाबस्दै उहाँले आफू दिल्लीतर्फ जाने योजना त्यहीँ बसेर बनाउनुभयो । तर त्यो जाडो महिना हुँदा उहाँसँग लाउने गरम कपडा लुगाफाटो केही थिएन एकसरो मात्र लुगा लगाउनुभएको थियो । हामीले त्यही कुरा भन्यौँ, ‘दाइ लुगा कपडा बेगर कसरी जानुहुन्छ ?’ उहाँले मैले ओढेको सेतो ढाकाको खास्टो माग्नुभयो, त्यो ठूलो खाले खास्टो थियो । मैले उहाँलाई दिएँ । उहाँ त्यही ओढेर दिल्ली जाने रेलको टिकट काटेर त्यता लाग्नुभयो । हामी नेपाल फर्कियौं ।

प्रदीप दाइ यति सरल हुनुहुन्थ्यो कि एक पटक सारनाथमा बीपी कोइराला बस्ने गरेको घरमा जानुभयो । तर त्यतिबेला त्यहाँ कोही थिएन, सुशीला आमा र केही दलका कार्यकर्ताहरू मात्र थिए । म पनि संयोगले त्यहीँ पुगेकी थिएँ । उहाँ वास्तवमा बीपी सान्दाजुलाई भेट गर्न जानुभएको रहेछ । तर सान्दाजु अघिल्लो दिन नै सारनाथ छाडेर बाहिर जानुभएको थियो । 

प्रदीप दाइ सुशीला आमासँग बसेर गफ गर्न थाल्नुभयो । त्यसैबीच प्रदीप दाइले भन्‍नुभयो, ‘भोक लाग्यो ।’ सुशीला आमाले मलाई चिया बनाएर बिस्कुट ल्याइदेऊ भन्‍नुभयो । प्रदीप दाइले भन्‍नुभयो, ‘होइन चियासिया खान्‍नँ म, बरू दरो नास्ता खान्छु ।’ 

सुशीला आमाले भन्‍नुभयो, ‘भात खुवाउँछु, बस ।’ प्रदीप दाइले भन्‍नुभयो, ‘म छिट्टै फर्कन्छु ।’ प्रदीप दाइको जिद्दी देखेर सुशीला आमाले भन्‍नुभयो, ‘लौ अब तँलाई यतिखेर के खुवाउनु ?’ त्यो प्रश्न गर्नुभएको मात्र के थियो प्रदीप दाइले त तपाईंले जे दिए पनि म खान्छु ल हेर्नुस् त भनेर चिनी राखेको कप तानेर आँैलामा चिनी चोप्तै बारम्बार चिनी चाटेर हँसाएको ती क्षणको स्मरण छ ।  

बनारस बस्दा उहाँका त्यहाँका स्थानीय मित्रहरू असंख्य थिए । उहाँको साथमा दुईचार जना साथीभाइ जहिले पनि बसेकै हुन्थे । बनारस हिन्दू विश्वविद्यालयमा पढ्ने छात्रछात्राहरू उहाँको डेरामा भेट गर्न जाँदा वरिपरि घेरेर बस्ने गरेको देखन्थ्यो । गुदौलियाका गुण्डा केटादेखि लिएर विद्वान्हरू प्रदीप दाइसँग नतमस्तक थिए र सम्मान पनि गर्थे । रातीको शान्त वातावरणमा पुस्तक पढ्ने र बेलाबखतमा विद्वा्नहरूसँग छलफल गर्ने उहाँको बानी थियो । डेरामा मानिसहरू एकसे एक सबै उहाँलाई भेट गर्न भनेर आइरहन्थे  ।

उहाँकी कान्छी बिनी मन्जु दिदी, काकाकी छोरी इमा लगायत अन्य हिन्दू विश्वविद्यालयका नेपाली छात्राहरूसमेत हामी उहाँको डेरामा बेलाबखतमा भेट गर्न भनी जाने गथ्र्यांै । विद्यार्थी जीवन त्यो पनि परदेशमा अलिकति पकाएर मीठो खाने ठाउँ र प्रदीप दाइको विद्वत् कुराको भाषण सुन्‍नलाई हामी पनि लालायित थियौँ । 

तर एक दिन बस्तीपुरबाट उहाँको आमाले पठाएको शुद्ध तोरीको तेलको ठूलो सिसाको भाँडा घोप्टिएर तेल जति सबै पोखिएको हुँदा हामीलाई गाली गर्नुभएको स्मरण छ । त्यस दिन हामीसँग उहाँ धैरै रिसाएर हामीलाई गाली गर्नुपर्ने अर्को कारण पनि थियो, हामी धेरै जना भेला भएर बढी हल्ला पनि गरेका थियौँ । किनकि दाइको बानी राती पढ्ने र दिउँसो निदाउने भएको हुँदा उहाँको निद्रामा हामो हल्लाले गर्दा खलल पुगेको पनि थियो।

बनारसमा हुँदा कहिलेकाहीँ के मन लाग्थ्यो कुन्‍नि नाउँमा बसेर गङ्गा नदीमा शयर गर्ने भनेर हामी सबैलाई लिएर जाने र कहिले रिक्सामा बसेर जम्मै बनारसको सहर घुम्ने भनेर सबैलाई सामेल गराएको अनुभव छ । 

पटक पटक गंगा पारी गएर अम्बाको बगैँचामा बसी तत्कालीन नेपाली छात्रछात्राहरूले प्रदीप दाइको अगुवाइमा वनभोज खाएको स्मरण छ । हालै मेडिसिटी अस्पतालमा भेट्दा पनि सोध्नुभयो, ‘मैले बनारसमा बस्दा तिम्रो नाम हन्टरवाली, हिम्मतवाली राखेको स्मरण छ ?’ मैले भनेँ, ‘किन नहुनु, थाहा छ ।’ उहाँले दुर्गाजीतिर फर्केर भन्‍नुभयो, ‘मैले बहिनीको नाम हिम्मतवाली राखेको ठीकै भएछ । आखिर नेपालको प्रधानन्यायाधीससम्म बन्‍न सफल भइन्, सुशीला ।’

पूर्वराष्ट्रपति रामवरण यादव स्वयं डाक्टर हुनुहुँदा उहाँले त्यहाँ बस्दा सम्पूर्ण मेडिकल फायलको अध्ययन गर्नुभएको थियो । उहाँले प्रदीप दाइलाई धेरै नबोल्न आराम गर्न सल्लाह दिएको हुँदा हामीले पनि धेरै बोलेर उहाँलाई तकलिफ दिन चाहेनौँ । हामी त्यहाँबाट फेरि भेट्न आउने वचन दिएर निस्केका थियौँ ।

प्रदीप दाइको आफ्नै जीवनशैली थियो । त्यो बिताउनु भयो । जीवनभरि पढ्नुभयो । पुस्तकहरू लेखिरहनुभयो । विचारको सम्प्रेषण गरिरहनुभयो । संसद्मा त्यतिको ओजस्वी भाषण दिन सक्ने अरू कोही पनि थिएन, अब अभाव त हुनेछ । मृत्यु अपरिहार्य छ । मात्र फरक समयको हो । कोही अगाडि कोही पछाडि, त्यति मात्र हो । उहाँले संसार छाड्नुभयो । उहाँको बास स्वर्गमा होस् भन्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।

सुशीला कार्कीका लेखहरू


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x