विचार

१८ वर्षमा लुकीलुकी एबीसीडी, बेलाइत र अमेरिकाबाट डिग्री

‘६ लाख रुपैयाँ खर्च गरेर लिच्छवि लिपि निकालेँ’

विमल आचार्य |
साउन २४, २०७९ १९:३ बजे

नयनाथ पौडेलले सात वर्ष लगाएर सात सय पृष्ठको एउटा पाण्डुलिपि तयार पारे । छाप्नलाई यसो यताउता बुझे । केही साथीभाइसँग सल्लाह पनि गरे । बानेश्वर निवासमा पौडेलले इकागजसँग भने, ‘छाप्न योग्य/अयोग्य भनेर निर्णय आउनै कति वर्ष लाग्ने हो ? छापिएला कहिले ? फेरि यस्ता किताब छाप्न तयार हुने प्रकाशक अहिले छैनन् जस्तो लाग्छ ।’

अनि श्रीमती प्रमिला पौडेल प्रकाशक भएर किताब छापियो । पाँच सय प्रति मात्र छापिएको यो किताब मोटो गातामा छ । राम्रै कागतमा छ किनकि पन्नापन्नामा लिच्छवि लिपि प्रस्ट चिनाउनु छ । लिपियुक्त तालिकै तालिका छन्, पन्नाहरूमा । एकेक लिच्छवि अक्षर स्क्यान गर्दै मिलाउन महाभारत भयो होला भन्ने अनुमान पन्ना सर्र पल्टाउँदैमा गर्न सकिन्छ । ‘मासिक ३० हजार रूप्या पेन्सन आउने हुँदा आँटियो,’ नयनाथले किताब सुम्सुम्याउँदै भने, ‘मेरो श्रम र समयको मूल्य नजोड्दा यसमा झन्नै ६ लाख खर्च भयो ।’ 


पोहोर साल भगिराज इङ्नामसँग कुरा गर्दा उनले पनि १३ लाख रूपैयाँ खर्च गरेर किताब निकालेको भनेका थिए । निजी प्रकाशनले नाफा हेर्छन्, तिनको कुरै बेग्लै भयो । तर, धेरै नबिके पनि चाहिने किताब छाप्न भनेर सरकारले एकेडेमीहरू, साझाहरू बनाएको होला । नयनाथ र भगिराजको त पेन्सन आउँछ र आफैँ किताब निकाल्न पनि आँटे । तर, जसको पेन्सन छैन, दल–बल छैन, तिनका पाण्डुलिपि कसले निकाल्ने ? जगदीशचन्द्र रेग्मी, हरिराम जोशीहरूका ‘नबिक्ने’ पाण्डुलिपि कसले हेर्ने ? 

भैगो, यो कुरो यत्तिमै छोडौँ, जति लम्ब्यायो, उति दिमाग खराब हुन्छ । बरु अब लागौँ, नयनाथको रोचक जीवन–कहानीतिर । रोचक ? 

—नयनाथले २२ वर्षमा एसएसली गरे । 

—एलएलसी गर्नुअघि नै १७, १८, १९, २० वर्षको उमेरमा उनले लेखेका÷सम्पादन गरेका किताब छापिइसकेका थिए । 

—२०३० सालमा कीर्तिपुरमा एमए पढ्न जाँदा पहिलो कक्षामै गुरु हितनारायण झाले पौडेललाई भनेथे, ‘ल पौडेलजी आफ्नै किताब पढेर जाँचको तयारी गर्नुहोस् ।’ यसरी १७ वर्षमा आफैँ एक सम्पादक बनेको किताब पढेर उनले एमए पास गरे ।

—नयनाथले कुनै सर्टिफिकेटविनै १७ वर्षको उमेरमा राजपत्र अनंकित चतुर्थ श्रेणीमा राष्ट्रिय पुस्तकालयमा लेखकको जागिर खाए । त्यहाँ आफूभन्दा अयोग्यले उनकै शब्दमा पटमूर्खले आफूमाथि शासन गरेको देखेपछि उनले त्यहीँ लुकीलुकी १८ वर्षको उमेरमा एबीसीडी पढ्न सुरु गरे । अंग्रेजी पढेको बालाई थाहा होला र गोदाइ भेटिएला भनेर एबीसीडीको किताब त्यही छोडेर घर/डेरा फर्किन्थे । नयनाथले एक दिन बालाई भने, ‘जीवनभर चतुर्थ तहको जागिरे भइरहने कि म हाकिम पनि हुने ? हाकिम पनि हुने हो भने मलाई पढ्न दिनुस्, हैन भने म भाग्छु ।’ स्कुल जान लाज लागेपछि साथीभाइबीच पनि गेसपेपर लुकाउँदै पढेर प्राइभेट परीक्षा दिएर उनले एसएसली पास गरे ।

—१८ वर्षमा एबीसीडी चिनेका उनले पछि अमेरिकाको हवाई विश्वविद्यालयबाट पब्लिक हेल्थमा मास्टर्स गरे । पछि फेरि बेलाइतको बर्मिङ्घम विश्वविद्यालयबाट हेल्थ म्यानेजमेन्टमा अर्काे डिग्री लिए । त्रिविबाट ‘यक्ष मल्ल र उनको समय’ शीर्षकमा पीएचडी पनि गरे ।
अब समाचार विस्तारमा । 

नयनाथ १८ वर्ष हुँदा उनको सम्पादनमा प्रकाशित पुस्तक ।

नयनाथ पौडेलले आफ्नै पिता भोलानाथ पौडेलले लुभुमा खालेको पाठशालामा पढे । भोलानाथ नयराज पन्तका शिष्य–साथी थिए । गुरुकै निर्देशनमा उही पाठ्यक्रम पढाइ हुने गरी भोलानाथले पन्त–पाठशालाको ‘शाखा’ खोलेका थिए, लुभुमा । 

यति कुरा गरेपछि नयराज पन्त को हुन् त भन्ने जिज्ञासा पनि नयाँ पाठकलाई हुन सक्छ । उनीबारे धेरै लेखिसकिएको छ । रुचि हुनेले खोजेर पढ्नुहोला । छोटो परिचय चाहिँ म यहाँ भन्छु । 

नयराज पन्तले राणाकालमै १९९७ सालदेखि महाबौद्धमा छिमेकीको घरमा पढाउन थाले । उनी १०० मा ३३ ल्याए पास हुने विद्याको विरोधी थिए । उनी आफ्नो घर नजिकैको दरबार हाइस्कुललाई चुनौती दिइरहेका थिए । आफ्नै छोराहरूलाई पनि उनले अर्काे स्कुल पठाएनन् । उनी अंग्रेजी शिक्षा बहिष्कार गर्थे । उनको विश्वास थियो— चलिरहेजस्तो टापटिपे अध्ययनले राम्रो नतिजा दिन्न । संस्कृत, इतिहास, गणितहरूको गहिरो अध्ययन हुनुपर्छ । संस्कृत भाषामा राम्रो पकड भयो भने मात्र प्राचीन लिपि, इतिहास, दर्शन बुझ्न–खोतल्न सकिन्छ । 

नयराज पन्तको पाठशाला पहिचानविहीन थियो । अर्थात् त्यसको कुनै नाम थिएन, दर्तावर्ता थिएन । प्रमाणपत्र बाँड्थेन । अनौपचारिक थियो तर एक हिसाबले संगठित थियो । 

पन्तको पाठशाला माओवादीले उहिले भन्ने गरेजस्तै ‘समानान्तर सत्ता’ थियो । ‘बुर्जुवा शिक्षा’ बहिष्कार गरेकाहरू पछि अवसरमा पछि परे–पारिए । उसै गरी त्रिखण्डी–अंग्रेजी बहिष्कार गरेकाहरू पदीय अवसरमा धेरैजसो पछि पारिए । महेशराज, गौतमवज्र, नयनाथहरूले भने अंग्रेजी पनि पढे । फरक के भने बुर्जुवा शिक्षा बहिष्कार गरेकाहरू सत्तामा पुगेपछि ‘जनवादी शिक्षा’मै फेल भए, त्रिखण्डी–अंग्रेजी बहिष्कार गर्नेहरू भने संस्कृत, इतिहास, पुरातत्वसँगै यता पनि पास भए।   

नयनाथ १७ वर्ष हुँदा उनीसमेत सम्पादक रही प्रकाशित अभिलेख संग्रह भाग १ ।

पाठशालामा गुरु–शिष्य–गुरु शिक्षणचलन थियो । जान्ने सिनियर पाठे (सहपाठी)हरूले पनि पढाउने, नहेरीकन दिनहुँ पाठ बुझाउनुपर्ने शैली थियो । पछि उनीहरूबाटै संशोधन मण्डल  जन्मियो । उनीहरूले इतिहास, व्याकरणदेखि अन्य विषयका अशुद्धिहरूमा खरा प्रश्न उठाउन थाले । गल्ती गर्ने लेखकहरूको ‘बेइज्जत’ गर्दै चोकचोकमा चिच्याउँदै पर्चा बेच्न पनि थाले । 

धेरै इतिहासकारहरूले स्वीकार गरेको कुरो के छ भने पन्त पाठशाला र संशोधन मण्डलले नेपालको राजनैतिक तथ्य इतिहासमा उल्लेख्य योगदान दिएको छ । नयराज पन्त, भोलानाथ पौडेलका अतिरिक्त त्यहीँका शिष्य–सदस्य ज्ञानमणि नेपाल, धनवज्र वज्राचार्य, शंकरमान राजवंशी, रामजी तेवारी, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, दिनेशराज पन्त, यिनै नयनाथ पौडेलहरूले नेपालको इतिहास, संस्कृति, पुरातत्वमा गरेको योगदान सम्झनीय छ । 
संशोधन मण्डलले निकाल्ने त्रैमासिक पत्रिका ‘पूर्णिमा’का हरेक अंक इतिहासमा चासो राख्ने सबैले पढ्नैपर्ने खालको छ । ‘पूर्णिमा’को उज्यालो हुन्थेन भने नेपाली इतिहास सायद औँसी हुँदो हो ।

नयनाथले पढेको पाठशाला र संस्थाबारे छोटो गफ दिएपछि अब म नयनाथतिरै फर्किन्छु । 

नयनाथले धेरैजसो लुभुमै पढे पनि एक–दुई पटक महाबौद्धमा आएर पनि पढे । पिताका पनि गुरु नयराज र नयनाथको नाम उस्तै छ । बा भोलानाथ गुरु नयराजबाट यति प्रभावित रहेछन् कि छोरोको नाम ‘न’बाट ‘नय’ नै राखेछन् । 

त्यहीँ पढ्दापढ्दै नयनाथ १० र महेशराज १२ वर्ष हुँदा उनीहरूको संयुक्त लेख छापिएछ, ‘श्री बालचन्द्र शर्मा एमए साहित्यरत्नले कालु पाँडेको कजाइँको बारेमा गर्नुभएको डेढअक्कलको निराकरण’ । यो इतिहास संशोधन (संख्या २ मा प्रकाशित छ ।)

नयनाथ १० वर्ष हुँदा महेशराज पन्तसँग मिलेर लेखेको लेख ।

पछि नयनाथ १६ वर्ष हुँदा संशोधन मण्डल खुल्यो । उनी संस्थापक सदस्य भए । त्यहाँ आफ्ना गुरु, साथीहरूसँग मिलेर उनी ‘इतिहास संशोधनको प्रमाण–प्रमेय’, अभिलेख संग्रह (१–१२ भाग)को सम्पादक भए । सानै उमेरमा तपाईंहरू कसरी लेखक–सम्पादक ? नयनाथ भन्छन्, ‘नयराज गुरु, धनवज्र गुरु सामूहिक भावना भएका, केटाहरूले पनि गरिखाऊन् भन्ने भावना भएका हुनुहुन्थ्यो । आफू प्रधानसम्पादक र हामीलाई सहयोगी भनेर वा धन्यवाद भनेर नाम राख्न पनि सक्नुहुन्थ्यो तर उहाँले हामी केटाहरूलाई आफू बराबर नाम दिनुभयो ।’

नयनाथ १७ वर्ष पुगेपछि राष्ट्रिय पुस्तकालयमा जागिरे भए । त्यहाँ रहँदा उनका ‘प्रशस्ति– रत्नावली’ (पं. वाणीविलास पाँडेको) र ‘भाषा वंशावली’ पुस्तक छापिए । 
किताब टनाटन आइसके, कुरो पनि बुझिएको छ । तर जागिर भने चतुर्थ श्रेणीमा । नयनाथलाई पीडा भयो । सर्टिफिकेट चाहिँदैन भन्ने तरिकाले पढियो तर माथि उक्लिने बाटो छैन । उता बा ठानिरहेका छन्— छोरो आफ्नै गुरुकै पथमा हिँडोस् ।

सर्टिफिकेट नभएकाले, एबीसीडी नचिनेकाले आफू ‘पटमूर्ख’ हाकिम मातहत रहनुपरेको पीडाले उनलाई विद्रोही बनायो । भन्छन्, ‘यसरी त जिन्दगी चल्दैन भनेर मैले त्यहीँ पुस्तकालयमै बसेर दिउँसो दिउँसो एबीसीडी पढ्न थालेँ । घरमा थाहा होला भनेर म किताब त्यहीँ अफिसमै राख्थेँ ।’ 

किताब लेखिसकेको मान्छे, त्यो पनि २२ वर्षको लाठे तन्नेरी कसरी स्कुल जाने भनेर तिनताका नयनाथ झोक्र्याउँथे । ‘हीनताबोधले ग्रस्त थिएँ म, स्कुल पनि गइनँ । संशोधन मण्डलबाट जीविका चल्ने भएको भए म जागिरतिर लाग्ने पनि थिइनँ होला,’ नयनाथले ती दिन सम्झिए, ‘तर, म यतातिर नआको भए त अहिले किताब निकाल्नै समस्या पर्ने थियो, हैन र ?’

मदन पुरस्कार प्राप्त कृति 'लिच्छविसंवत‍्‌काे निर्णय'मा गुरु नयराजको अटोग्राफ । 'आफ्नो बाटाे छाड्ने' नयनाथलाई गुरुले शाखा अधिकृत लेखेका छन् ।

नयनाथको विचारमा गुरुको पथमा अडेका अहिले दिनेशराज पन्त मात्र छन् । ‘महेशजी, गौतमजी, म सबैले त आखिर अंग्रेजीतिर लाग्नुपर्यो, विदेशमा पढ्नु पनि पर्यो,’ नयनाथले भने, ‘त्रिखण्डी अंग्रेजी सर्टिफिकेट नलिई प्राध्यापक र प्राज्ञ दुवै हुने त दिनेशजी एक जना न हुनुहुन्छ ।’

हुन पनि संशोधन मण्डल पहिला जसरी धमाकेदार तरिकाले चल्न सकेन । ‘समानान्तर सत्ता’ छाडेर माओवादी सिंहदरबार सत्तामा आएझैँ भयो, यता पनि । मण्डले एकेडेमीले भन्दा आफ्नै मण्डलले धेरै काम गरे पनि नयराज स्वयं एकेडेमीमा प्राज्ञ हुनुपर्यो । विद्रोही शिष्यलाई सगर्व ‘शाखा अधिकृत’ लेखेर अटोग्राफ दिनेसम्म लचिलो भइसकेका थिए, नयराज । भोलानाथले पनि बाटो मोडे । शंकरमान राजवंशी पुरातत्व विभागतिर लागे । धनवज्र वज्राचार्य सिनासतिर लागे । ज्ञानमणिले पनि करारमा सिनासतिर काम गरे । पछि स्थायी रिडर नभएपछि ज्ञानमणिले दुःखेसो पोखेर लेख लेखेका छन् । महेशराज र गौतमवज्र पनि विदेशतिर लागे । दिनेशराज वाल्मीकि क्याम्पसतिर लागे । जो जता लागे पनि उनीहरू माओवादी जसरी ‘शत्रु–सत्ता’सामु पत्रु भएनन् । बरु विभिन्न संस्था÷देशमा छरिएर उनीहरूले संशोधनको साख जोगाए ।    

२२ वर्षको उमेरमा अंग्रेजीमा जस्ट त्रिखण्ड अंक मात्र ल्याएर जसोतसो एसएलसी पास भएका नयनाथले ३१ सालमा एमए पूरा गरे । ३२ सालमा शाखा अधिकृत पास गरे । पास त भए तर उनको पदस्थापन भयो, स्वास्थ्यमा । ‘सोर्सफोर्स नचल्नेहरूलाई कि हुलाक कि स्वास्थ्यतिर पठाइने रहेछ, म स्वास्थ्यमा गएँ,’ नयनाथले हाँसो गरे, ‘ठीकै भयो कल्चर पढेको मान्छे, ब्लड कल्चर पनि जान्ने भएँ ।’

हरेक दिन १० बजे अफिस जानु नपरेपछि नयनाथले अर्काे अफिस सुरु गरे । उनी आफ्नै घरको अध्ययन कोठामा छिरेर अफिस टायमवाला लेखपढ गर्न थाले । जागिरकै क्रममा पनि उनका एक दर्जन जति पुस्तक आए । लेख पनि आइरहे ।  

लिच्छवि लिपिका प्रकाशक श्रीमती प्रमिला पौडेलका साथमा लेखक ।

नयनाथ अहिले ७७ वर्ष भए । उनी पाटन कलेजमा नेपाल भाषा विभागमा पढाउँछन् । त्यहाँ १५ जना विद्यार्थी छन् । ‘आफूले पढेको विभागमा मेरो एकचोटि पनि सम्पर्क भएको छैन,’ नयनाथले भने, ‘एमए पास गरेपछि म एकपल्ट पनि त्यहाँ गएको छैन । बरु नेपाल भाषा विभागका जिज्ञासु प्राध्यापक र विद्यार्थीले सम्झिनुभयो।’

‘लिच्छवि लिपि’ पुस्तकमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तथा उनका मित्र दिनेशराज पन्तको मन्तव्य छ । एकेडेमीमै भएको लोकार्पण कार्यक्रममा उपकुलपति जगमान गुरुङ पनि बोलेका थिए । नयनाथकाे याे किताब एकेडेमीले निकाल्नुपर्ने होइन र ?

नयनाथलाई प्राज्ञिक संस्थाहरूको भविष्यले चिन्तित बनाएको छ । आफ्नै संशोधन मण्डल उत्तराधिकारीविहीन भएकामा उनलाई चिन्ता छ । ‘महेशराजजीसँग अथाह ज्ञान छ । सबै उहाँ जत्तिकै नभए पनि उपलब्धमध्येबाट रुचि हुनेलाई जिम्मा दिँदै गएर आफू सल्लाहकार सम्पादक बनेर, अभिभावक बनेर भए पनि संस्था र पत्रिका जोगाइराख्न सके हुन्थ्यो,’ नयनाथले भने । 

नयनाथ आफ्ना पिता भोलानाथसँगै बाबुराम आचार्यलाई भेट्न गएका थिए । बार्दली झर्नझर्न लागेको एयरपोर्ट साइडको घरमा आचार्यले भनेछन्— ए भोलानाथजी, आफू त हो हो, छोराहरूलाई किन महारोगमा लगाएको ? यो विद्याव्यसन त जति कन्याए पनि चिलाएको चिलायै गर्छ ।

कालान्तरमा नयनाथका पिता जोगी भएर हिँडे । 

नयनाथ भने बाटो बदलेर फेरि बाटैमा आए । 

०००

भिडियाेमा हेर्नुहाेस्

फोटाे/भिडिओ -पुरन विश्वकर्मा


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
ad
x