विचार

समुन्‍नत नेपाल

कोही किन भ्रष्ट हुन्छ ?

दिपेश घिमिरे |
साउन २२, २०७९ आइतबार ८:९ बजे

वि.सं. २०७९ साउन १ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप सचिव प्रमोद नेपाल २२ लाख घुस कालो मुख गर्दैगर्दै पक्राउ परे । धेरै जसो खरिदार र सुब्बा तहका कर्मचारी केही हजार रुपैयाँ घुस लिएको आरोपमा यसरी पक्राउ पर्ने गर्दथे । यसपटक अलि ठूलो घुसको रकमसहित अलि ठूलो ओहोदाका अधिकृत पक्राउ परे ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्वर्णपदक प्राप्त गरेका र बेलायतमा छात्रवृत्तिमा पढेर झण्डै आठ महिना अगाडि नेपाल फर्किएका उपसचिव नेपाल यसरी पक्राउ परेका थिए । अध्ययन र पेशागत कार्य गर्ने क्रममा प्रतिभावान र क्षमतावान भनेर चिनिएका नेपाल घुस लिँदालिँदै पक्राउ परेपछि उनलाई नजिकबाट चिन्नेहरू छक्क परे ।  त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रको स्नातकोत्तर तहमा स्वर्णपदक पाएका, विदेशमा छात्रवृत्तिमा अध्ययन गरेका र आर्थिक उपार्जन गर्न अरु प्रशस्त अवसर भएका नेपाल किन भ्रष्टाचारजन्य क्रियाकलापमा लागे ? अर्थात प्रमोद नेपालहरू किन भ्रष्ट हुन्छन् ? यसको पछाडिका कारणका बारे खासै अध्ययन भएको देखिँदैन । 


कुनै पनि व्यक्ति भ्रष्टाचारजन्य क्रियाकलापमा लाग्नु पछाडि विविध कारणहरू हुन सक्छन् । यद्यपि अधिकांश अध्ययनको निष्कर्ष के देखिन्छ भने सार्वजनिक निकायमा कार्यरत कुनै पनि व्यक्तिको नियत नै भ्रष्टचारको तेलमा डुबेको हुन्छ । उनीहरू धन उमार्न सधैंभरी लाग्छन् । परिणामतः भ्रष्ट हुन पुग्छन् । यद्यपि यस्ता अध्ययन अनुसन्धानले यस्तो व्यक्तिको भ्रष्ट नियतको पछाडिको कारण के हो ? कुनै पनि व्यक्तिको नियत केले कसरी बनाउँछ ? भन्ने बारे खासै अध्ययन गरेको देखिँदैन । प्रमोद नेपालको नियत नै भ्रष्ट थियो भन्ने तर्क गर्न जति सजिलो छ उनको त्यो भ्रष्ट नियत के ले बनायो भन्ने प्रश्नको जवाफ खोज्न उत्तिनै गाह्रो हुन्छ ।  

कुनै पनि व्यक्तिको सोचाइ, बुझाइ, चाहना, अपेक्षा, लोभ, लालच भन्ने अवस्था स्वतः बन्दैन । देख्दा नितान्त व्यक्तिगत जस्तो देखिएता पनि यसको पछाडि व्यक्ति जन्मे हुर्केको समाज, उसका सामाजिक बनोट र सम्बन्ध, आर्थिक अवस्था, राजनीतिक व्यवस्था, सांस्कृतिक अभ्यास लगायतका मुलुकी प्रशासनको जवाफदेहिता विविध सवालले महत्वपूर्ण भुमिका खेल्दछन् । समाज, समाजमा रहेका सामाजिक संरचना, सामाजिक सम्बन्ध, तथा सामाजिक संस्थाहरूले व्यक्तिको नियत, स्वार्थ, बुझाइ चाहना बनाउँछ । नेपालको कर्मचारीतन्त्रमा विद्यमान अवस्था, सामाजिक सम्बन्ध तथा संरचना अनि सम्बन्धहरूले नै मेधावी र क्षमतावान भनेर चिनिएका प्रमोद नेपालहरूको भ्रष्ट नियत बनाउने हो ।  

पैसाको अत्यन्तै धेरै महत्व हुने आर्थिक व्यवस्थामा पैसा नहुनुलाई कमजोरी मानिन्छ । अहिलेको समाज पहिलेको जस्तो छैन । गाँस, बाँस, कपासको जोहो कर्मचारीले आफ्नै तलबबाट गर्नुपर्ने अवस्था छ । दिनदिनै बदलिँदै गएका सूचना प्रविधि, यातायातका साधन, विलासी वस्तु तथा अन्य सरसामाग्रीहरू पनि किन्नु पर्ने बाध्यता छ । बालबालिकाको शिक्षा, आफ्नो र परिवारको स्वास्थ्यको लागि पनि व्यक्तिले खर्च गर्नैपर्ने हुन्छ ।

एउटा उपसचिवको तलब झण्डै ४८ हजारको हाराहारीमा भए तापनि समयको बढी सुविधामुखी प्रवृति र भौतिकताको बढ्दो भारले गर्दा यो तलबले चारजनाको परिवार राम्ररी पाल्न, दुई जना छोराछोरीको राम्रो भनिने विद्यालयको शुल्क तिर्न, स्तरीय स्वास्थ्य सेवा लिन सम्भव नै छैन । महिनाभरी काम गरेर पाएको तलब केटाकेटीको विद्यालयको शुल्क तिर्न समेत नपुग्ने अवस्था छ । सेवा निवृत्त भएपछिको लागि संरक्षणको लागि कुनै बलियो व्यवस्था छैन । जसले गर्दा कुनै पनि व्यक्तिले आफ्नो नियमित तथा न्यूनतम आवश्यकता परिपूर्ति गर्न कर्मचारीले दायाँबायाँ गर्नै पर्ने अवस्था रहन्छ र भ्रष्ट सोचाइ जन्मन पुग्छ । 

समाजशास्त्री जोन डिबे भन्छन्, ‘सामाजिक संरचना, अवस्था तथा सम्बन्धले व्यक्तिको लोभ, स्वार्थ, मोह, चाहना, भावना लाई निर्माण गर्दछ । कुनै पनि व्यक्ति जे जस्तो छ वा जे जसरी सोच्छ त्यसको पछाडि सामाजिक सांस्कृतिक संरचना, सम्बन्ध तथा अवस्थाको महत्वपूर्ण प्रभाव रहन्छ ।’ यसैलाई आधार मान्ने हो भने नेपाली समाजको सामाजिक मूल्य मान्यता लगायतका सवालले व्यक्तिलाई निरन्तर प्रभावित पारिरहेको हुन्छ । नेपाली समाजमा शिक्षा अत्यन्तै महँगो छ । देशको कुल बजेटको महत्वपूर्ण हिस्सा राज्यले शिक्षामा छुट्याएको छ । तर सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अत्यन्तै कमजोर रहेको छ । सार्वजनिक विद्यालयको कमजोर गुणस्तरको कारण अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित छन् । यसले शिक्षाको निजीकरण मात्र होइन व्यापारिकरणनै गरिदिएको छ । 

परिणामतः शिक्षा महँगो बन्न पुग्यो । कुनै पनि व्यक्ति आफ्नो भन्दा पनि आफ्ना केटाकेटीको भविष्यका सम्बन्धमा कुनै सम्झौता गर्न चाहँदैन । अझ कर्मचारीले यसमा सम्झौता गर्ने कुरै भएन । परिणामतः जति सुकै सदाचारको पाठ पढे वा पढाए पनि प्रायः कर्मचारीको अगाडि आएको पैसा कमाउने अवसरले उसको नियतलाई भ्रष्ट बनाउन योगदान गर्दछ । यस्तो स्थितिमा ‘थोरै तलब’ भ्रष्ट आचरणको मूल कारण भनेर सबै अवस्थामा लागू नहुन सक्छ । 

अर्को महत्वपूर्ण सवाल भनेको स्वास्थ्य हो जसको अवस्था नेपालमा अत्यन्तै भयावह देखिन्छ । स्वास्थ्य सेवा प्रभावकारी पनि छैन न त सबैको पहुँचमा छ । सार्वजनिक अस्पतालको सेवा दयालाग्दो अवस्थामा रहेको छ । परिवारका कोही सदस्य बिरामी भए भने उक्त परिवारको आर्थिक अवस्थानै जर्जर बन्न पुग्छ । नेपालको नीजि अस्पतालको सेवा उपसचिव तहकै कर्मचारीको पनि सहज पहुँचमा छैन । स्वास्थ्य बिमाको अवधारणा नेपालमा छँदै छैन । त्यसैले प्रमोद नेपाल जस्ता हरेक निजामती तथा अन्य कर्मचारी आफ्नो र परिवारमा स्वास्थ्यसम्बन्धी कुनै अनिष्ट आइहाल्छ कि भनेर चिन्तित हुनुलाई अस्वभाविक रुपमा लिन सकिन्न । यही चिन्ताले उनीहरूलाई जसरी हुन्छ पैसा संकलन गर्ने तर्फ लाग्न उत्प्रेरित गरिरहन्छ । 

नेपालमा सामाजिक सुरक्षा भनेकै वृद्धभत्ता हो भन्ने भाष्य निर्माण गरिएको छ । कुनै पनि व्यक्ति आफ्नो सम्पूर्ण जीवन सार्वजनिक सेवामा प्रदान गर्दछ भने उसको भविष्यमा आउन सक्ने आर्थिक संकटको व्यवस्थापन गर्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षाको प्रणालीलाई बलियो बनाउनु पर्दछ । यो सामाजिक सुरक्षाको महत्वपूर्ण पक्ष हो । नेपालमा कुनै पनि कर्मचारी सेवानिवृत्त भएपछि उसले पाउने सामाजिक सुरक्षा र संरक्षणको सुव्यवस्थित प्रणाली निर्माण नै भएको छैन । सञ्चयकोषमा जम्मा भएको रकम र निजामती अस्पतालमा पाउने ४० प्रतिशत छुटले मात्र पुग्दैन । यही कारणले पनि भविष्यको लागि जोहो गर्नका लागि प्रमोद नेपाल जस्ता स्वर्णपदक विजेताहरूको मनोविज्ञान पनि भ्रष्ट बनाउँदै लगेको छ । 

यी त केही उदाहरण मात्र हुन् । नेपालमा बढ्दो भ्रष्टाचारको पछाडि विभिन्न कारणहरू छन् जस मध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेकोे कमजोर सामाजिक सुरक्षा र संरक्षण पनि हो । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सेवा निवृत्त जीवनको संरक्षण लगायतका सवालहरूलाई पूर्णरुपमा बजारको जिम्मा लगाउने तर निजामती तथा अन्य कर्मचारीलाई न्यून सरकारी तलबमा मात्र सीमित राख्दा त्यसले कुनै पनि कर्मचारीको घर खर्चसमेत चल्न नसक्ने अवस्था निर्माण भएको छ ।

यो तीतो यथार्थ हो । यस्तो अवस्था रहेसम्म जतिसुकै मेधावी र क्षमतावान भए पनि प्रमोद नेपालहरू भ्रष्टाचारजन्य क्रियाकलापमा लाग्छन् । निजामती सेवा भित्र अपवादलाई छाडेर भन्ने हो भने कालो मुख पार्दापार्दै पक्राउ नपरेर सदाचारी देखिएकाहरूको संख्या निकै धेरै छ । यस्तो संख्या यसैगरी कालो मुखेहरूलाई पक्राउ गर्ने काम गरिरहेका, को भ्रष्ट हो या होइन भनेर फैसला दिने लगायतका हरेक संस्था भित्र पनि व्याप्त छ । त्यसैले केही कर्मचारीलाई कालो मुखे भन्दैमा भ्रष्टाचार नियन्त्रण हुनै सक्दैन ।  

ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक वर्ष सार्वजनिक गर्दैै आएको भ्रष्टाचार अवधारणा सूचकांकलाई मिहिनरुपमा विश्लेषण गर्दा पनि सामाजिक सुरक्षाको अवस्था राम्रो भएका देशहरू जस्तै न्युजिल्यान्ड, डेनमार्क, फिनल्यान्ड, नर्वे, स्विडेन लगायतका देशमा भ्रष्टाचारको अवस्था निकै कम रहेको छ । यसैगरी सामाजिक सुरक्षाको अवस्था कमजोर रहेका अविकसित देशहरू जस्तै म्यानमार, अफगानिस्तान, सोमालिया लगायतका देशहरूमा भ्रष्टाचारको अवस्था उच्च रहेको देखिन्छ । 

सामाजिक सुरक्षा कमजोर हुँदा समाजमा परेको असर र प्रभावका सम्बन्धमा नेपालमा प्रशस्त अध्ययन अनुसन्धान भएको देखिँदैन । नीति निर्माणको काम राजनीतिक क्षेत्रले गर्ने हो तर नेपालमा राजनीतिक क्षेत्रले आफ्नो स्वार्थको कारण सामाजिक सुरक्षाका सवालमा खासै महत्व दिएको देखिँदैन । राजनीतिक दलका उच्च तहका नेताहरूले आफू बिरामी हुँदाको सम्पूर्ण रकम राज्यकोषबाट लिएका छन् । 

आफ्नो राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गर्दै आफ्ना छोराछोरी विभिन्न राम्रा भनिएका नीजि विद्यालयमा निःशुल्क पढाएका छन् । तर सर्वसाधारण र सार्वजनिक निकायमा काम गर्नेलाई यस्तो सुविधा छैन । सर्वसाधारणले यस्तो अवसर नपाए पनि उसले अनियमितता र भ्रष्टाचार गर्ने अवसर पनि पाउँदैन । तर सार्वजनिक निकायमा कार्यरत प्रमोद नेपाल जस्ता कर्मचारीहरूको अगाडि यस्ता अवसर पटक पटक आउँछन् । त्यसैले त्यस्तो सामाजिक अवस्थामा यस्तो अवसर पाउने स्थानमा यी पुग्छन्, त्यही बेला यिनको नियत भ्रष्ट बन्ने हो । यद्यपि एउटै सामाजिक संरचनामा रहने सबैको एउटै किसिमको नियत हुन्छ भन्ने पनि हुन्न । यसमा एक हदमा व्यक्तिको आफ्नै अखन्डित चरित्रले भूमिका खेल्न सक्छ । 

यसर्थ प्रमोद नेपालहरूको मनोविज्ञानलाई सदाचारी बनाउन अर्थात् भ्रष्ट नियतलाई उपचार गर्न सार्वजनिक जीवनमा समेत सामाजिक सुरक्षालाई बलियो बनाउँदै लैजानुको विकल्प छैन । जबसम्म गुणस्तरीय शिक्षा निःशुल्क, स्वास्थ्य र सेवा निवृत्त समयलाई सामाजिक संरक्षण गर्दै सामाजिक सुरक्षालाई निःशुल्क तर योगदानमा आधारित हुनेगरि संस्थागत प्रणाली विकसित गरिनु पर्छ । यस्तो नहुने हो भने  आकर्षक र रहरलाग्दो कर्मचारी भए पनि उसले पैसा संकलन गर्ने अवसर खोजिरहेको भेट्न सकिन्छ । अवसर नपाएर भ्रष्टाचार नगरेका र घटना सार्वजनिक नभएर सदाचारी कहलिएकाहरूको संख्या निजामती सेवाभित्र धेरै नै छ । परिणामतः भ्रष्टाचार नियन्त्रण गर्न सञ्चालन गरिएका अभियान र लगानी दुवै बालुवामा पानी जस्तै हुन पुगेका छन् ।

*समुन्नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ ।

प्रतिक्रियाको लागि: [email protected]

समुन्‍नत नेपालका यसअघि प्रकाशित लेखहरू 


Author

थप समाचार
x