विचार

अगस्तलाई अर्थ्याउँदा

सुरेन्द्र नेपाल श्रेष्ठ |
साउन २०, २०७९ शुक्रवार ७:३८ बजे

क्यालेन्डर प्रचलनमा आउँदा दश महिनाको एक वर्ष हुन्थ्यो । मार्चबाट सुरु हुने नयाँ वर्षको छैटौँ महिनाको नाम प्राचीन रोमन भाषामा अंकको आधारमा राखेको थियो, ‘सेक्स्टिलिस’ । पछि दुई महिना थपिएर बाह्र महिनाको एक वर्ष हुँदा पनि यो महिनालाई सेक्स्टिलिस नै भन्न थालियो । इशापूर्व ४७ मा जुलियश सिजरले पुरानो क्यालेन्डरमा व्यापक परिमार्जन गरे । भाषाअनुसार शब्दले छैटौँ बुझिने तर वास्तवमा आठौँ महिना भएकोले यो महिनाको नाम पनि परिवर्तन गरेका थिए । उनले पहिलो रोमन सम्राट् आफ्ना बाजे नाता पर्ने अगस्तस सिजरको सम्मानमा सेक्स्टिलिसको नाम परिवर्तन गरी अगस्त राखे । अगस्तस सम्राट्को नाम अगाडि जोडिएको उपाधि थियो । यसको अर्थ ‘महान्’ वा ‘पूज्य’ हो । 

परम्पराअनुसार, अगस्त महिनाका जन्म पत्थरहरू पेरिडोट, स्पिनल र सार्डोनिक्स हुन् । पेरिडोटसँग जोडिएका थुप्रै रोचक प्रसंगहरू छन् । यस महिनाको विशेष फूल ग्लेडियोलस र पपी हो । यसले सुन्दरता, शक्ति, प्रेम, विवाह र परिवारको प्रतिनिधित्व गर्दछ । यो महिना अगस्त २२ सम्म जन्मनेहरूको राशि सिंह र त्यसपछि जन्मनेहरूको राशि कन्या हो । यो महिना उत्तरी गोलार्धमा गर्मी महिनाको अन्तिम महिना हो भने दक्षिणी गोलार्धमा जाडो महिनाको अन्तिम महिना हो । 


पहिला चीनमा बुबाको मुख हेर्ने जस्तै पर्व अगस्त महिनामा थियो । पछि त्यसलाई अन्य धेरै देशहरूसँग मिल्ने गरी जुनको तेस्रो आइतबारको दिन सारियो । तर, ताइवानमा भने अहिले पनि अगस्त आठ गते नै मान्ने चलन छ । चाइनिज भाषामा आठलाई बा भनिने र साधारण बोलचालमा बुबालाई बाबा भन्ने चलन भएको हुँदा आठौँ महिनाको आठ गते बाबालाई बिशेष सम्मान गरिने चलन चलेको भनाइ पाइन्छ । त्यस्तै यही महिनाको १४ गते ब्राजिल र सामोया, २९ गते दक्षिणी सुडानमा बुबालाई विशेष सम्मान गर्ने चलन छ ।  

सन् १९५० देखि थाइल्यान्डमा पहिलो पटक आमाको मुख हेर्ने जस्तो पर्व अप्रिल १५ गते मनाउन थालियो । तर सन् १९७६ देखि त्यहाँको बडामहारानी सिरिकितको जन्मदिनमा उनको सम्मान स्वरूप अगस्त १२ गते आमाको बिशेष दिनको रूपमा मनाउन थालियो । 

अगस्त महिनाभरि संसारका विभिन्न देशमा स्थानीय रूपमा निकै ठूला ठूला उत्सव मनाउने गरिन्छन् । विश्वभरिका मानिसहरू आफ्नो रुचिअनुसार यस्ता पर्वहरू हेर्न देश–विदेश भ्रमण गरिरहेका हुन्छन् । 

सानो सुन्दर देश कोस्टारिकामा प्रत्येक वर्ष अगस्त १५ मा आमाको दिन मनाइन्छ । स्थानीयरूपमा ‘डिया डे ला माद्रे’ भनेर चिनिने यो दिनमा राष्ट्रिय छुट्टी दिने गरिन्छ । यो दिन इसाइ क्याथोलिकहरूको एक महत्वपूर्ण दिन पनि हो । जब येशू ख्रीष्टकी आमा मरियमको मृत्यु भयो, उनले अन्य मानवले जस्तो प्राकृतिक प्रक्रियाबाट आफ्नो शरीर नस्ट नगरी सिधै उनको आत्मा स्वर्गमा पुगेको विश्वास गरेर उक्त दिनलाई ‘एजम्सन डे’का रूपमा मान्ने चलन छ । बेल्जियममा यो दिन राष्ट्रिय बिदा हुने र आन्तर्पेन सहरमा आमालाई विशेष सम्मान गर्ने चलन छ । 

संसारका धेरै देश विभिन्न साम्राज्यबाट अथवा देशहरूबाट स्वतन्त्र भएको दिन राष्ट्रिय दिवसका रूपमा मनाउने चलन छ । उक्त दिन सार्वजनिक छुट्टी दिएर आपसमा खुसी साटासाट गरिन्छ । विश्वका १९८ देशमध्ये २६ देशको स्वतन्त्रता वा राष्ट्रिय दिन यो महिनामा पर्दछ । बेनिन र स्विजरल्यान्ड १ गते, नाइजर ३, बुर्किना फासो ५, बोलिभिया र जमैका ६, कोलोम्बिया र कोट दे भोइर ७, सिंगापुर ९, इक्वेडर १०, चाद ११, सेन्टर अफ्रिका १३, पाकिस्तान १४, कंगो, उत्तर कोरिया र भारत १५, ग्याबोन र इन्डोनेसिया १७, अफगानिस्तान १९, इस्तोनिय २०, युक्रेन २४, उरुग्वे २५, मल्दोभा २७, किर्जिस्थान, मलेसिया र त्रिनियाद टोबागो ३१ अगस्त । 

मानिस जन्मेपछि कुनै दिन मर्नु त स्वाभाविक नै हो । तर, निकै थोरै मानिसहरू मात्र आफ्नो जन्मदिनकै दिन संसारबाट बिदा लिन्छन् । त्यसमा पनि विभिन्न विधामा विश्वविख्यात हुनेहरू अति न्यून हुन्छन् । यो महिना आफू जन्मेकै दिन मृत्यु हुने केही नाम चलेका व्यक्तिहरूमध्ये तीन पटकको ओस्कार विजेता र सिनेमाको इतिहासमा निकै ठूलो कलाकार मानिने इन्ग्रिड बर्गम्यान हुन् । उनको ६७ औं जन्मदिन अगस्त २९, १९८२ मा स्तन क्यान्सरबाट मृत्यु भएको थियो । कांग्रेस सदस्य र चार पटकसम्म अमेरिकी राष्ट्रपति हुन सफल फ्रैंकलिन डी रुजबेल्टका छोरा, फ्रैंकलिन डेलानो रुजबेल्ट जुनियर, अगस्त १७, १९८८ मा आफ्नो ७४ औँ जन्मदिनको दिन मृत्यु भएको थियो । त्यस्तै अमेरिकी ‘बिग ब्यान्ड’ युगका गायक, तथा टेलिभिजन प्रस्तोता माइकल डेलाने डाउड जुनियर, उनलाई माइक डगलस भनेर पनि चिनिन्थ्यो । ८६ औँ जन्मदिन अगस्त ११, २००६ मा उनको मृत्यु भएको थियो । 

मानव जीवन र इतिहासका महत्वपूर्ण पक्षहरूलाई स्मरण गर्न र होसियार रहन संयुक्त राष्ट्र महासभाले तोकेको विश्व दिवस वा अन्तर्राष्ट्रिय दिवसहरू यस प्रकार छन् । 

९ अगस्त मंगलबार विश्व आदिवासी जनजाति दिवस, १२ अगस्त शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवस, १९ अगस्त शुक्रबार विश्व मानवीय दिवस, २१ अगस्त आइतबार आतंककारीहरूको हमलामा परेकाहरूको स्मरण र श्रद्धाञ्जलीको अन्तर्राष्ट्रिय दिवस, २२ अगस्त सोमबार धर्म वा विश्वासमा आधारित हिंसाका पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रिय दिवस, २३ अगस्त मंगलबार दास व्यापार र यसको उन्मूलनको सम्झनाका लागि अन्तर्राष्ट्रिय दिवस, २९ अगस्त सोमबार परमाणु परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस, ३० अगस्त मंगलबार जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस, ३१ अगस्त बुधबार अफ्रिकी मूलका मानिसहरूका लागि अन्तर्राष्ट्रिय दिवस । 

अगस्त महिनाभरि संसारका विभिन्न देशमा स्थानीय रूपमा निकै ठूला ठूला उत्सव मनाउने गरिन्छन् । विश्वभरिका मानिसहरू आफ्नो रुचिअनुसार यस्ता पर्वहरू हेर्न देश–विदेश भ्रमण गरिरहेका हुन्छन् । त्यस्ता केही प्रख्यात पर्वहरूबारे यहाँ चर्चा गरिएको छ । 

मेडेलिन, कोलम्बिया फेरिया डे फ्लोरेस अगस्त ८ देखि १५ सम्म चल्ने फूलहरूको उत्सव हो । उत्सवमा देशभित्र पाइने सबै प्रजातिका फूलहरू विशेष आकर्षणका साथ सजाइएको हुन्छ । कोलोम्बियाको यतिबेलाको मौसम बिहान पूरै सहर बादलले ढाकिएर रमणीय र मनमोहक देखिन्छ । 

गुका ट्रम्पेट महोत्सव, सर्बियाको सानो सहर गुकामा यस वर्ष अगस्त ५ देखि सातसम्म भब्य ब्रास संगीत प्रदर्शन गरिन्छ । करिब दुई हजार रैथाने बसोबास गर्ने यो सहरमा यस पर्वभरि छ लाख भन्दा पाहुनाहरू आउने गर्दछन् । 

माउन्ट हेगन सो, पपुवा न्युगिनी, अगस्त २१ र २२ मा स्थानीय कला संस्कृतिसहित र खानपिनसहितको ठूलो मेला लाग्ने गर्दछ । त्यहाँ पुग्न सजिलो नभए पनि संसार भ्रमणमा रमाउनेहरू एक पटक जसरी भए पनि जाने योजना बनाउँछन् । देशका सम्पूर्ण जनजातिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित पीएनजीको स्वतन्त्रता अघि सन् १९६१ मा पहिलो पटक यो कार्यक्रम आयोजना गरिएको थियो ।

विश्वमा माहामारिका कारण विगत तीन वर्षदेखि ठूला–ठूला सांगीतिक–सांस्कृतिक पर्वहरू आयोजना हुन सकेको थिएन । सन् २०१९ पछि यस वर्ष त्यस्ता पर्वहरू फेरि आयोजाना हुँदैछन् । यस वर्ष उत्साहसाथ निम्न कार्यक्रम हुने घोषणा गरिएका छन् । 

अगस्त ३–८ डेकमान्तेल महोत्सव, एम्स्टर्डम, नेदरल्यान्ड, ५–६ कलिडा महोत्सव, नर्थ देभोन, संयुक्त अधिराज्य, ११–१४ चारिवारी महोत्सव, डेट्रोइट, संयुक्त राज्य अमेरिका र हउटन महोत्सव, नोर्फोक, युनाइटेड किंगडम, १७–२२ होन्चो क्याम्पआउट महोत्सव, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका र वेकिङ लाइफ महोत्सव, क्रेटो, पोर्चुगल, २३–२८, मुटेक महोत्सव मोन्ट्रियल, महोत्सव, क्यानडा, २५–२८, वी आउट हियर महोत्सव क्याम्ब्रिजशायर, युनाइटेड किंगडम, २६–२८ होल युनाइटेड क्वियर महोत्सव ग्राफेनहाइनिखिन महोत्सव, जर्मनी, २७–२८ फुल सर्कल महोत्सव, कोरोनेसन पार्क महोत्सव, जर्सी ।

यी सबै महोत्सवहरूमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले आफ्ना सृजनाहरू प्रस्तुत गर्ने, स्थानीय संस्कृति कला झल्किने कार्यक्रमहरू प्रस्तुत गरिन्छन् । 

यस वर्ष अगस्त २ देखि ६ सम्म लन्डनको ओलम्पियामा हुने द ब्रिटिस बियर फेस्टिभल बियर र साइडर क्षेत्रमा ठूलो, रोमाञ्चक र प्रसिद्ध महोत्सवमध्ये एक हो । क्याम्पेन फर रियल एल्सले आयोजना गरेको यस पर्वमा हजारौँ प्रकारका रियल एल्स, अन्तर्राष्ट्रिय बियर, रियल साइडर र पेरीहरू प्रदर्शनी गरिन्छन् । नामुद कलाकारहरूको सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रकारका खानासहित नयाँ–नयाँ मादक पेय पदार्थ चाख्न स्थानीयसहित संसारभरिबाट लाखौँ पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । 

बेलायतको इतिहासमा अगस्त महिनामा धेरै अविष्मरणीय घटनाहरू घटेका छन् । सन् १७४० अगस्तका दिन ‘रूल ब्रिटानिया’ भन्ने राष्ट्रिय गीत सार्वजनिकरूपमा प्रस्तुत भएको थियो । जुन गीत अहिलेसम्म पनि प्रत्येक वर्ष रोयल अल्बर्ट हलमा हुने ‘लास्ट नाइट अफ द प्रोम्स’मा परम्परागत रूपमा प्रस्तुत गरिन्छ । सन् ११०० अगस्त २ का दिन न्यू फरेस्टमा शिकार खेल्न गएका राजा विलियम द्वितीय (रूफस) रहस्यमय परिस्थितिमा धनु वाणबाट मारिएको अबस्थामा फेला परेको थियो ।

अहिलेसम्म पनि त्यहाँ उनको भड्किएको आत्माले सताउँछ भन्ने जनधारणा छ । पहिलो पटक बेलायतमा विद्युतीय ट्राफिक लाइट सन् १९२६ अगस्त ३ मा लन्डनमा जडान गरिएको थियो । ४ अगस्त १९१४ बेलायतले बेल्जियम र फ्रान्सको समर्थनमा जर्मनीविरुद्ध र जर्मनीसँगको गठबन्धनको कारण टर्कीविरुद्ध युद्धको घोषणा गरेको थियो । ६ अगस्ट १८८१ पेनिसिलिनका स्कटिस आविष्कारक सर अलेक्जेन्डर फ्लेमिङको जन्म भएको थियो । ८ अगस्ट १९६३ बेलायतको ठूलो रेल डकैती– रोयल मेलबाट २.६ मिलियन पाउन्ड चोरी भएको थियो । ९ अगस्त १७५७ स्कटिश सिभिल इन्जिनियर थोमस टेलफोर्डको जन्म भएको थियो उनैले सडक, पुल र जलमार्ग निर्माण गरेर उत्तरी स्कटल्यान्डसँग बेलायतको सम्बन्ध जोडेका थिए । 

११ अगस्ट १८९७ मा बाल लेखक एनिड ब्लाइटनको जन्म भएको थियो । उनी सन् १९३० देखि संसारको सबैभन्दा धेरै बिक्री भएको पुस्तक (६०० मिलियन भन्दा बढी) लेख्ने लेखक हुन् । १२ अगस्ट १८२२ बेलायती विदेश सचिव लर्ड क्यासलरेघले आत्महत्या गरे । उनकै योजनामा नेपोलियनलाई पराजित गर्ने गठबन्धन बनाउन सफल भएको थियो । १३ अगस्ट १९६४ पिटर एलेन र जोन वाल्बी बेलायतमा फाँसीको सजाए पाउने अन्तिम व्यक्तिहरू हुन् । १६ अगस्ट १८१९ म्यानचेस्टरको सेन्ट पिटर फिल्ड्समा पिटरलू नरसंहार भएको थियो । पिटर भन्ने प्रहरीले बिरोध र्यालीमा गोली प्रहार गरेर १२ जना मरेको र सयौँ हताहत भएको कारण उसैको नाम ले यो काण्ड सम्झिने गरेको हो । १७ अगस्ट १८९६ क्रोइडन, सरेनिबासी श्रीमती ब्रिजेट ड्रिस्कोल कारको ठक्करबाट मृत्यु हुने पहिलो पैदलयात्री हुन् । १९ अगस्ट १६४६ बेलायतका प्रथम खगोलशास्त्री जोन फ्लेमस्टेडको जन्म भएको थियो । उनले २ हजार ९ सय ३५ ताराहरू पहिचान गर्ने क्याटलग तयार पारेका थिए । २२ अगस्त १४८५ रिचर्ड तेश्रो लेसेस्टरशायरको बोसवर्थ फिल्डमा मारिए । उनी युद्धमा मर्ने अन्तिम अंग्रेजी राजा हुन् । २३ अगस्ट १९४० जर्मन विमानहरूले लन्डन सहरमा बम प्रहार गरेको पहिलो रात थियो । २४ अगस्ट १८७५ म्याथ्यू वेब (क्याप्टेन वेब) ले केन्टको डोभरबाट २२ घण्टा पानीमा पौडी खेलेर भोलिपल्ट बिहान १०.४० बजे फ्रान्सको क्याले पुगेका थिए । २५ अगस्ट १९१९ विश्वको पहिलो अन्तर्राष्ट्रिय दैनिक हवाई सेवा लन्डन र पेरिसबीच सुरु भएको थियो । २७ अगस्ट १९०० मा बेलायतको पहिलो लामो दूरीको बस सेवा लन्डन र लीड्सबीच सुरु भएको थियो । यो यात्राका लागि दुई दिन समय लागेको थियो । २८ अगस्ट १२०७ राजा जोनले लिभरपुल बरो घोषणा गरेका थिए । २९ अगस्ट १८४२ मा ग्रेट ब्रिटेन र चीनले नानकिङको सन्धिमा हस्ताक्षर गरेपछि पहिलो अफिम युद्ध समाप्त भयो । सन्धिको अंशका रूपमा चीनले हङकङको भूभाग बेलायतलाई दिएको थियो । ३० अगस्ट १८६० बेलायतको पहिलो ट्राम सेवा लिभरपुल नजिकैको बिर्केनहेडमा सुरु भएको थियो । ३१ अगस्ट १९०० देखि बेलायतमा पहिलो पटक कोकाकोला बिक्री गर्न थालिएको हो । 

अमेरिकाका अहिलेसम्मका ४६ राष्ट्रपतिहरूमध्ये ५ जना अगस्ट महिनामा जन्मेका हुन् । बराक ओबामा, हर्बर्ट हुवर, बिल क्लिन्टन, बेंजामिन ह्यारिसन र लिन्डन बी जोनसन क्रमश अगस्त ४, १०, १९, २० र २७ मा जन्मेका थिए । त्यस्तै ५५ बेलायती प्रधानमन्त्रीहरूमध्ये पहिलो रोबर्ट वालपोल, पच्चीसौँ लर्ड जोन रसेल र अठतिसौँ स्टेनली बाल्डविन क्रमश अगस्ट २६, १८ रÞ ३ मा जन्मेका थिए । त्यस्तै हालसम्म नोबेल प्राइज पुरस्कार पाउने ६८ जना व्यक्तित्वहरूको जन्म अगस्ट महिनामा भएको देखिन्छ । गजबको संयोग मान्नु पर्छ उनीहरूमध्ये कोही पनि अगस्ट २ र २२ मा जन्मेका थिएनन् । 

यो महिनामा अमेरिकामा मोतियाबिन्दु जागरूकता महिना, राष्ट्रिय खोप जागरूकता महिना, स्पाइनल मस्कुलर एट्रोफी जागरूकता महिना तथा विश्वभर जागरूकता महिनाको रुपमा मनाउदै छन् । यी रोगहरूबाट बच्ने र मुक्ति पाउने भिन्न खालका ज्ञानवर्धक कार्यक्रम धेरै भन्दा धेरै ठाउँमा आयोजना भइरहेका छन् । त्यस्तै संसारभर अगस्ट १ देखि ६ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । 

त्यस्तै बेलायतमा अगस्ट महिनाभर मनाइने केही राष्ट्रिय र अन्तर्राष्ट्रिय बिशेष दिनहरू ३ गते खेल दिबस, ४ साइकल चढेर काममा जाने दिन, ७ मित्रता दिवस, ८ अन्तर्राष्ट्रिय बिरालो दिवस, ९ पुस्तक प्रेमी दिवस, १० राष्ट्रिय अल्छी दिवस र विश्व सिंह दिवस, १२ अन्तर्राष्ट्रिय युवा दिवस र विश्व हात्ती दिवस, १३ अन्तर्राष्ट्रिय बायाँहाते दिवस, १४ विश्व छेपारो दिवस, १५ राष्ट्रिय विश्राम दिवस, १६ राष्ट्रिय जोक दिवस, १७ कालो बिरालो प्रशंसा दिवस, १९मानवीय दिवस र विश्व फोटोग्राफी दिवस, २६ राष्ट्रिय कुकुर दिवस र २९ समर बैंक होली डे हुन् ।

यो महिनादेखि नेपालमा विभिन्न चाडपर्वहरू मनाउने क्रम तीब्र हुँदै जानेछ । 
नाग पञ्चमी – अगस्ट २, नागपञ्चमी मनसुनको बीचमा पर्छ । यस पर्वमा नाग देवता नागको पूजा गरिन्छ र घरको ढोकामा नागको तस्बिर टाँसिन्छ । नागको पूजा गर्नाले सर्पको टोकाईबाट बचाउने जनविश्वास रहेको छ । यो पर्वमार्फत सर्पहरूलाई पानीको रक्षकको रूपमा सम्मान गरिन्छ ।  

जनैपूर्णिमा – अगस्त ११, हिन्दू पुरुषहरू, विशेष गरी ब्राह्मण र क्षेत्रीहरूले यसदिन आफ्नो वार्षिक जनै परिवर्तन फेर्ने गर्दछन् । यो पर्व मनाउने जो कोहीले आफ्नो नाडीमा पवित्र धागो लगाउँछन् । अग्ला उचाइमा रहेको पवित्र पोखरी गोसाइँकुण्ड यस पर्वको केन्द्रबिन्दु हो । 

गाई जात्रा – अगस्त १३, गाई जात्राको दिन मृत्युको प्राचीन देवता यमराजको पूजा गरिन्छ । अघिल्लो वर्ष मृत्यु भएका आफन्तहरूको सम्झनामा गाइ दान दिने र बिभिन्न झाँकी प्रदर्शन गरिन्छ । विविध संगीत, नृत्य र हाँसोले भरिएको कार्यक्रमहरू आयोजना गरिन्छ । 

कृष्ण जन्माष्टमी – अगस्त १८÷१९, कृष्ण जन्माष्टमी कृष्ण जन्मको दिन मनाइने पर्व हो । भगवान विष्णुको आठौं अवतार मानिने, कृष्ण हिन्दू महाकाव्य– महाभारतमा सबैभन्दा महत्त्वपूर्ण चरित्र हो । यस पर्वमा हिन्दू धर्मावलम्बीहरू कृष्ण मन्दिरको दर्शन गर्छन् । विशेषगरी पाटन दरबार स्क्वायरमा रहेको ढुुंगाको कृष्ण मन्दिरमा लाखौ भक्तजनको भिड लाग्दछ भने स्थानीयरूपमा सबै गाँउ टोलमा कृष्ण मन्दिरमा जात्रा लाग्दछ ।

तीज– अगस्त ३०, तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने चाड हो । रातो साडी र रातो टिका लगाएका महिलाहरू आफ्ना पतिको दीर्घायुको कामनामा नाच्ने गाउने गर्दछन् । तीज संसारभरका नेपाली महिलाहरूको सबैभन्दा चर्चित पर्व हो ।

ऋषि पञ्चमी – अगस्ट ३१, ऋषि पञ्चमी तीज पूजालगत्तै मनाइने पर्व हो । हिन्दू नारीहरूले यस पर्वलाई धेरै महत्व दिन्छन् । किनभने यो पर्वको दिन ऋषि पञ्चमी व्रत र ऋषिहरू (सन्त) को पूजा गर्नाले आफ्ना सबै पापहरू क्षमा हुने विश्वास छ ।

यो महिना पनि अधिक देशहरूमा शैक्षिक संस्थानहरू छुट्टी हुने हुँदा पारिवारिक बिदा मनाउन विश्वका विभिन्न देशहरूमा आन्तरिक र बाह्य पर्यटनका लागि थुप्रै मानिसहरूको ओहर–दोहर हुन्छ । 

(विविध विषयमा कलम चलाउने लेखक लामो समयदेखि बेलायत बसोबास गर्दै आएका छन् ।)
 


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x