विचार

संस्मरण र अनुभूति : २२

भत्केको घर र नबनेको दरबार

वसन्त लोहनी |
असार १८, २०७९ ७:५१ बजे

२००० साल देखि २०१३ सालसम्म अर्थात् सन् १९४३ देखि सन् १९५६ सम्म नेपालको आधुनिक सिभिल इन्जिनियरिङको युग वेदप्रसाद लोहनीको युग थियो । उनले सुरु गरेको । उनले नै नेतृत्व गरेको । हुन त सन् १९४२ मा  केटाकेटीदेखिको साथी असनका कुलरत्न तुलाधरसँग  मिलेर नेपालको पहिलो इन्जिनियरिङ स्कुलको स्थापनामा ज्ञानेश्वरको वेदप्रसाद संलग्न भइसकेका थिए । तर त्यो बेला उनले आधुनिक भवन निर्माण गरिसकेका थिएनन्  । त्यसको २ वर्षपछि मात्र सरस्वती सदनको डिजाइन गरेका थिए उनले । र, साथै घरेलुका ९ भवनहरूको त्रिपुरेश्वरमा ।

त्यसैले योबीचको करिब दुई वर्ष कसरी आधुनिक सिमेन्ट ढलानको भवन निर्माण गर्ने भनेर सिकाउने शिक्षक थिए, उनी । शिक्षकको यो जागिरभन्दा अगाडि करिब ८ महिना बम्बईमा बसेका थिए, लगत्तैजसो लखनउबाट सन् १९४० मा इन्जिनियरिङ शिक्षा हासिल गरेपछि । उनीभित्र फराकिलो इन्जिनियरिङ ज्ञान जान्ने भोक नै जागेको या भाव उर्लेको थियो जसले उनलाई बम्बई पुर्याएको थियो । हेर्न चाहन्थे नयाँ बनिरहेका भवन, स्वअध्ययन गर्न चाहन्थे ब्रिटिस इन्डियाको उत्कृष्ट बम्बई नगरी जहाँ ‘पूर्वले पश्चिमलाई भेट्छ’ भनिन्थ्यो  । 


उनी डिप्लोमा होल्डर हुन । र, आजीवन डिप्लोमा होल्डर नै रहे । सिर्फ दुई वर्ष पढेका लखनऊ पोलिटेक्निकमा । त्यति बेलाको पठनपाठन ब्रिटिस इन्डियामा सीमित थियो । त्यहाँ पनि प्राज्ञिक महक दिने उत्कृष्ट कुनै इन्जिनियरिङ कलेजमा पनि होइन चाहे त्यो ब्रिटिस इन्डियाको पहिलो रुड्की होस् या विश्वेश्वरैया जन्माएको पुनाको होस् । या, बङ्गाल इन्जिनियरिङ कलेज । वेदप्रसादलाई लाइसेन्सिएट भने पनि हुन्छ । ओभरसियर भने पनि हुन्छ । जसलाई जसरी भन्न मन लाग्छ । मलाई चाहिँ गर्व लाग्छ सिर्फ ‘डिप्लोमा होल्डर’ भन्दा । तर एउटा कुरा फेरि भन्नै पर्ने हुन्छ । समग्रतामा होइन यो पटक । नाम किटेर नै भनौँ । अमेरिकाका पल क्रुगम्यानले नोबेल पुरस्कार पाए अर्थशास्त्रमा सन् २००८ मा – अन्तर्राष्ट्रिय व्यापारको विशिष्ट अध्ययनको लागि । नोबेल पुरस्कार प्राप्तिको यो विशिष्टता अडेको जग चाहिँ हो ‘थ्योरी अफ कम्प्यारिटिभ एड्भान्टेज’।

यहाँनिर धेरैलाई एउटा कुरा थाहा नहुन पनि सक्छ उनको बारेमा जसले यो थ्योरी या अर्थशास्त्रको नियम प्रतिपादन गरे । त्यो हो – १९ औ शताब्दीको सुरुमा यो थ्योरी निकाल्ने डेभिड रिकार्डोले स्कुल पनि पास गरेका थिएनन् । तर स्कुल पास नै नगरेको मान्छेले बनाएको नियम भनेर रिकार्डोको महत्व घटेको छैन । झन् बढेको छ, जति विश्वका मुलुकहरूबीचको व्यापार बढ्दै गएको छ । ग्लोबलाइजेसनको आधार नै बनेको छ उनको यो सिद्धान्त अहिले ।

वेदप्रसादले कहिले आफूलाई इन्जिनियर पनि भनेनन्, अझ यस अर्थमा कि उनी कहिले पनि सरकारी सार्वजनिक निर्माण अफिसमा रहँदै रहेनन्, राणा कालको दाम राखेर सुरु गरेको जागिरे जीवनदेखि नै । तर काम आजीवन सिभिल इन्जिनियरिङमा गरी नै रहे । अन्तिमसम्म यो विषय सिकी नै रहे  । ८५ वर्ष काटेको मान्छे भुईँचालो प्रतिरोधक निर्माणसम्बन्धी काठमाडौँमा भएका सेमिनार र वर्कसपमा भाग लिन जान्थे । सिकेर आउँथे ‘रिट्रोफेट’ बारे  । र, हामीलाई भन्थे – हाम्रो घरको ‘रिट्रोफेट’ अब म चाँडै सुरु गराउँछु । 

त्यो आधुनिक सिभिल इन्जिनियरिङको युग जसको सुरुवात गरेर उनी नेतृत्व गरिरहेका थिए, यो १३ वर्षको अवधिभित्रमा नै उनी निर्माण सञ्चार तथा यातायात मन्त्रालयको कायममुकायम सचिव भइसकेका थिए । त्यति नै बेला हो भारतको मयुरभञ्जको राजाले चलाएका हवाई कम्पनी हटाएर शाही वायु नेपाल सेवा निगम स्थापना गराएका उनले । युनिभर्सल पोस्टल युनियनको सदस्य नेपाल नहोस् भन्ने प्रचण्ड दबाबको बावजुद त्यो सदस्यता मूलतः उनको प्रयत्नले गर्दा नेपालले प्राप्त गरेको थियो । यो काममा रातदिन नभनेर खटिएर काम गरेका थिए पोस्टल डिपार्टमेन्टको डाइरेक्टर जीवन लाल सत्यालले । उनी पछि संसद्को महासचिव पनि बने ।

राजा त्रिभुवनको मृत्यु ज्युरिकमा भएको एक महिनापछि मातृकाप्रसाद कोइरालाको सरकार हटाएर २०१२ साल वैशाख १ गतेबाट राजा महेन्द्रले प्रत्यक्ष शासन गरे पाँच शाही परामर्शदाता राखेर करिब १० महिना टङ्कप्रसाद आचार्यको सरकार नबनुन्जेल । यति बेला नै सुरु भएको थियो २५ सय वर्षको बुद्ध जयन्ती मनाउने अन्तर्राष्ट्रिय चतुर्थ बुद्धिस्ट सम्मेलन नेपालमा सम्पन्न गर्ने भगीरथ काम । राजाले वेदप्रसादलाई अगाडि राखेर दिएको प्रत्यक्ष हुकुम बमोजिम उनले त्यसमा निर्णायक भूमिका खेलेका थिए ।

कायममुकायम सचिव हुँदा उनको अध्यक्षतामा २०१२ साल भाद्र २७ गते चिफ इन्जिनियरसहित गठित कमिटीले भैरहवा, तौलिहवा र लुम्बिनीमा तत्काल गर्ने कामको पहिचान गरेको थियो । त्यसपछि सुरु भएको काम चाँडो सम्पन्न गराउन मन्त्रालयमा बसेर होइन फिल्डमै खटिएर गर्नु भन्ने राजाको हुकुम बमोजिम उनी केही महिना फिल्डमा अहोरात्र खटिएर काम गरेका र गराएका थिए । यसरी त्यति बेलाको नेपालको त्यो करिब असम्भव जस्तो कामलाई सम्भव गरी फत्ते पारेका थिए । यो काममा जस पाएनन् उनले । उल्टो बदनाम गरियो उनको । शक्ति केन्द्रको दूषित नियतले कति मिथक जोडियो, कति अफवाह फैलाइयो केवल यथार्थलाई धुमिल पारेर । उद्देश्य एउटै मात्र रह्यो वेदप्रसादलाई अगाडि बढ्नबाट रोक्ने । हामी नभुलौँ यो मुलुक भीमसेन थापा र भीम मल्लको पनि हो । यसबारे प्रशासकको रूपमा वेदप्रसाद अन्तर्गत हामी छलफल गर्ने छौँ ।

आजको छलफलमा हामी वेदप्रसाद लोहनीले हाँकेको आधुनिक सिभिल इन्जिनियरिङको युग अन्तर्गत उनले बनाएका केही घरहरू भत्काइएका, अझै त्यसमध्ये केही घरहरू रहेका र एउटा नबनेको दरबारमा केन्द्रित हुनेछौ । यसमा प्रवेश गर्नु अगाडि यति भनिहालौँ कि सिभिल इन्जिनियरिङको कन्सेप्ट यति राम्रोसँग जानेका थिए वेदप्रसादले, सिकेर अनि स्वआर्जन गरेर, कि उनले त्यसलाई आत्मसात् नै गरेका थिए । यसले गर्दा उनी सिभिल इन्जिनियरिङभित्र न्याभिगेट गर्न अर्थात् जताबाट जहाँ जान पनि स्फूर्त सक्थे, माछाले पानीमा खेलेको जस्तो गरेर । कन्सेप्टलाई यसरी आत्मसात् गरेको कारणले नै हो उनले भवन, पुल, सडक, र खानेपानी फिल्टरेसनसम्मको काम गरेका थिए । तर माथि भनिए झैँ सरकारी निर्माण कार्यालयमा प्राविधिक जागिरे भएर होइन ।

भेटिएका केही नक्साहरूबाट अगाडि बढौँ । त्यसमध्येका केही समावेश पनि गरिएका छन्, यो लेख सँगै । पहिलो नक्सा छ २००० सालमा वेदप्रसादले बनाएको । कसको लागि र कहाँ हो यो सो खुलेको छैन यसमा । त्यसैले यो नक्सा बमोजिमको भवन बन्यो या बनेन त्यो थाहा भएन । यो नक्सा सरस्वती सदनभन्दा अगाडिको हो । यसमा माघ ५, २००० साल लेखिएको छ । यो त्रिपुरेश्वरको घरेलुको ९ भवनहरू मध्येको एक हो भने सरस्वती सदनभन्दा अगाडि नै घरेलुको काम सुरु भइसकेको देखिन्छ । यस बारे थप कागजपत्रहरू प्राप्त भए भने सो अनुरूपको जानकारी आगामी शृङ्खलाहरूमा प्रस्तुत गर्ने छु । 

२००७ सालमा प्रजातन्त्र आउनु अगाडिको नेपालमा रैती पारिएका नेपालीको घरको झ्याल टालिएका हुन्थे यदि कुनै राणाको दरबारको नजिक छ भने । त्यस्तै घरमा रङ्ग रोगन गर्न पाइँदैन थियो । त्यस्तो समय–प्रवाहमा थिए वेदप्रसाद सिमेन्ट ढलान युगको पहिलो ७ वर्ष । त्यसैले राजकाजसँग आवद्ध व्यक्तिहरूले महाराज अर्थात् श्री ३ सँगबाट बक्साएर मात्र आधुनिक घर बनाउन सक्थे । त्यो भनेको राणा र शाह परिवारको हो । त्यस्तै गुरुज्यू र पुरोहित । बडा काजी र सरदार । मीर सुब्बासम्मको पनि आँट पुग्दैनथ्यो । यता वेदप्रसाद भने धेरै चाँडो नयाँ प्रविधि फैलाउन चाहन्थे । नदीमा आएको बाढीको जस्तो आवेग थियो उनमा नयाँ प्रविधिको घरहरू बनाउने – गुम्बज र फलामे सत्तरीबाट सिमेन्ट कङ्क्रिटमा छलाङ लगाउने । तर त्यति बेलाको परिवेशले ब्रेक लगाएको थियो । त्यसैले उनको अवस्था ब्रेक लगाएको साइकल चढेर धेरै फासला चाँडो तय गर्नु परेको अवस्था जस्तो बनेको थियो । 

त्यसैले वेदप्रसादले बनाउन सक्ने नयाँ भवनहरू राजाबाट बक्साउन सक्नेहरूमै सीमित रह्यो । यो त ज्यादै सानो सङ्ख्या थियो । यसले गर्दा गुरुज्यू, बडा काजी र सरदारको सानो घेराभित्र खुम्चिनु पर्यो उनको सीप र जाँगर । वेग नै रोकिएको थियो । जुद्ध शमशेरको सिमेन्टको भवनको चाहनाले उनलाई अवसर दियो ।

सरस्वती सदनको निर्माणले केन्द्रबिन्दुमा ल्याइदियो । ‘हिरो’ बनाइदियो । र, अझ त्यसको क्यान्टिलिभरले देखाएको चमत्कारले मान्छेमा कौतुहल अपार बढेको थियो कङ्क्रिट बिल्डिङतर्फ । त्यो अडेको देखेर भवन निर्माणको नयाँ चेतना अङ्कुरित भएको थियो जन मानसमा । एउटा कुराकानीमा १०० वर्ष पुगेका लीलाप्रसाद लोहनी, जो पुराना अर्थशास्त्री हुन् र जो नेपालको पहिलो बजेट बनाउँदा संलग्न थिए, उनले सुनाएका थिए त्यति बेलाको चहलपहल । सरस्वती सदन र त्यो क्यान्टिलिभर देखेपछि त त्यति बेलाका अरू इन्जिनियरहरूले त हावा खाएका थिए । जताततै वेदप्रसाद लोहनी कै नाम आउने । उनकै खोजी हुने । सबलाई उनी नै चाहिने भएको थियो । 

सायद यस्तै खोजिले गर्दा होला आफ्नो पैसा खर्च गरेर अनि सामाजिक हैसियत भएर पनि बक्साउन सक्ने मध्येका गुरुज्यू भोगेन्द्रराज पाण्डेको डिल्लीबजारमा र बडा काजी रत्नमान सिंहको घर यट्खामा बन्यो । त्यस बारे हामीले छलफल गरिसक्यौँ । यही सिलसिलामा हालै थाह भयो मलाई बक्साउन सक्ने एक सरदारको । २००७ सालमा प्रजातन्त्र आउँदा बहाल रहेका राणाकालीन २१ सरदार मध्येका एक थिए सोमप्रसाद बाँस्कोटा । पद्म शमशेरले सरदार बनाइदिएको । त्यति बेला सरदार हुनुको अर्थ जमिनदार पनि हुनु हो ।

यो पदमा आइपुग्न सकेको मानिसले साधरणतया श्री ३ बाट सयौँ बिगाहा जमिन बकस पाउँथे । सोमप्रसाद पनि यसरी नै जमिनदार बनेका थिए बर्दियाको राजापुरमा  । धादिङको केबलपुरबाट बाँस्कोटाहरू काठमाडौँ छिरेको भए पनि केबलपुरमा सोमप्रसादको घर नभएको बाँस्कोटा बन्धुहरूले मलाइ बताए । त्यति बेला कलकत्ताबाट बिए पास गरेका हुनाले माथि उक्लिन सजिलो परे पनि त्यो कालखण्डमा अघिल्लो पुस्तादेखि चाकडी गर्ने ठाउँ हुनु अनिवार्य नै हुन्थ्यो उक्लिनको लागि । 

पद्म शमशेरले राजपाट त्यागेर जानको लागि २००३ सालमा वेदप्रसाद लोहनीलाई राँची खटाए वासस्थान निर्माण गर्न । सम्भवतः यसै सिलसिलामा वेदप्रसादको सोमप्रसादसँग चिनजान भएको हुनु पर्दछ । सोमप्रसादको बागबजार यो घरको डिजाइन प्रजातन्त्र आउनु अगाडि नै भएको तर सकिएको अलि पछि भएको देखिन्छ । हामी बागबजार गयौँ यो घर हेर्न र यसको फोटो खिच्न । वेदप्रसादको ‘सिग्नेचर डिजाइन’ त्यो गोलो देख्ने बित्तिकै टक्रक्कै चिनी हालिने । हामीले केही समय बिताउनु पर्यो त्यहाँ पानी परिराखेको कारणले । सोमप्रसाद निःसन्तान थिए तर हक लाग्नेले २०३६ सालतिर बेचेको र आफ्नो परिवारले किनेको नयाँ घरधनीले बताइन् । उनीसँग कुरा हुँदा थाहा भयो उनी तिब्बती मुसलमान रहिछन् ।

कुनै बेला ठूलै कम्पाउन्डबीच रहेको यो घरको कम्पाउन्डमा वरिपरि घरहरू बनेकोले कोचिएर  ठिङ्ग उभिएको देखिन्छ । तर अझै उभिएको देख्दा म अलि जिल्ल पनि परेँ । बागबजार जस्तो व्यापारिक केन्द्र किन भत्किएन भनेर सोच्दा, लाग्यो सायद जमिन नै सकिइसकेकोले होला । र, यो घर ठूलो भएको र अझै आम्दानी दिएको कारणले होला । घरमा विभिन्न व्यापारिक अफिसहरू थिए । २०२२ सालमा राष्ट्रिय वाणिज्य बंैक खुलेपछि त्यसको प्रधान कार्यालय २०३४ सालमा टङ्गाल सर्नु अगाडिसम्म यसै भवनमा रहेको थियो । त्यसपछि ऋषिकेश शाहको मानव अधिकारको कार्यालय । त्यसपछि बिक्री भयो ।

साबिक कम्पाउन्ड भएको बेलामा भएको भए त्यो घर सायद अहिलेसम्म उभिरहेको हुँदैन थियो होला । यसको उदाहरण रञ्जना सिनेमा हल मात्र होइन थापाथलीमा वेदप्रसादले बनाएको भव्य दुई घरहरू समतल भएकोलाई नै लिन सकिन्छ । ती दुवै घरहरू थिए सल्यानी राजा जितेन्द्र बहादुर शाहका । पृथ्वीनारायण शाहले आफ्नो छोरी विलासकुमारीको विवाह नेपाल एकीकरण हुनु अगाडि सल्यानी राजाको छोरा रणभिमसँग विवाह गरेर दिएका कारण सल्यान चर्चामा आएको राज्य हो र राजाको पदवी कायम रह्यो नेपालबाट राजतन्त्र नहटुन्जेलसम्म । यसरी जितेन्द्र बहादुर पहिले नाति राजा भनिन्थे र पछि राजा नै भए । यसबारे अघिल्ला शृङ्खलाहरूमा लामै चर्चा गरिसकेकोले ती भत्काइएका दुई घरहरूलाई नै हेरौँ । 

वेदप्रसाद लोहनीले डिजाइन गरेको सरदार सोम प्रसाद बाँस्कोटाको बागबजारको घर ।

यसमध्ये एकको नक्सा हालै भेटिएको छ । पहिले हेरौं, किन भत्काइए ती घरहरू ? जुन बेला जमिन लिइएका थिए त्यति बेला जमिनको कुनै भाउ नै थिएन । वेदप्रसाद आफैँले बत्तिसपुतलीको डाँडोमा २००४ साल तिर करिब छ रोपनी जमिन किन्दा एक रोपनीको २ सय रूपैयाँ मात्र थियो तर उनले कारणवश ४ सय प्रति रोपनी तिरेका थिए । यो कथातिर नजाऊँ अहिले । हुन त त्यति बेला हाकिम मानिने सुब्बाको तलब नै वर्षको १२ सय मात्र हुन्थ्यो । तलब वर्षको भनिन्थ्यो । तर घोडा पालेर, सइस राखेर बस्थे सुब्बा साहेब इज्जतसाथ । यो सम्भव भएको पनि सुब्बा पदसँग जोडिएको जमिनको खान्कीले थियो । भाउ नभएको काठमाडौँको जग्गा अहिले सुन जस्तो हुन पुग्यो मूल्य आकासिएर । पुरानो घर राखेर फाइदै नहुने भयो । त्यसैले भत्किने क्रम सुरु भयो।

जितेन्द्र बहादुरको थापाथलीको त्यो घर भएको जग्गा जङ्ग बहादुरको थापाथली दरबारकै भाग हो । पछि चन्द्र शमशेरको जेठी रानीको काइँलो छोरा सिंह शमशेरको हुन पुग्यो सिंह महल भनेर । त्यहाँ अहिले नेपाल राष्ट्र बैकको बैङ्किङ विभाग छ । सिंह महल कै दक्षिणतिरको परिसर हो अहिले नर्भिक अस्पताल भएको ठाउँ ।

एउटा घर जहाँ थियो त्यो भत्काइएर नर्भिक अस्पतालको पूर्वपट्टिको लङ बनेको छ । त्यही नै थियो कान्तिपुर दैनिकको कार्यालय पहिलो पटक प्रकाशित हुँदा । म आफैँ कैयौँ पटक गएको छु त्यहाँ नियमित लेख दिन सुरुका दिनहरूमा । त्यति बेला मलाई सम्झना छ पाण्डुलिपि नै बुझाउन पर्दा आफँै जानु पर्दथ्यो । यो घरको पूर्वपट्टि मूलबाटो मोडिएर उत्तर लाग्ने बित्तिकै पूर्व फर्किएको ढोकाबाट छिर्नु पथ्र्याे दोस्रो घरको । त्यो पनि भत्काइएर नर्भिकको पार्किङ बनाइएको छ अहिले ।

हाम्रो आफ्नै बत्तिसपुतलीको डाँडोमा बनेको घर जहाँ हामी बस्थ्याँै २०२० सालतिर त्यो सिमेन्ट कङ्क्रिटको ठूलो घर नै भत्काइएर नोबेल कलेजको ठूलो अस्पताल कम्प्लेक्स बनेको छ अहिले । २०३० सालतिर त्यो हाम्रो ठूलो घरमा वोरिसले ‘बत्तिसपुतली रेस्टुरेन्ट ’ चलाएको थियो । बत्तिस गोटा पुतलीहरू टाँसिएका थिए माथिल्लो तलाको भव्य बारमा । राजा वीरेन्द्र पनि जान्थे त्यहाँ सुरु सुरुमा । एउटा फोटो पनि टाँगिएको थियो राजासँग वोरिसको । उसको श्रीमती ब्रिटिस र आफू रसियन । पछि उसले ब्रिटिस नागरिकता लिएको र गर्व गर्थे मसँग कुरा गर्दा । बडो रसिक मान्छे वोरिस र मोटो हुँदै गए पनि खानाको सौखिन । राजा त्रिभुवनले कलकत्ताबाट बोलाएर ल्याएको उसलाई होटेल खोल्न । अहिले निर्वाचन आयोग भएको बहादुर भवनमा नेपालको पहिलो आधुनिक होटेल खोले उनले – रायल होटेल । याक एन्ड यति पनि उसैको परिकल्पना थियो । 

मैले थाहा पाएअनुसार मात्र पनि वेदप्रसादले बनाएका घरहरू जमिनको मूल्य बढ्दै गए पछि भत्किँदै गए । कमर्सियल कम्प्लेक्स बनाएर पैसा फलाउने जमिनमा सिमेन्ट ढलानकै पुरानो घर नराखिने हुँदै गयो । अर्थात् भत्काउँदै जान थालियो । मुख्य कुरो जमिन कति वरपर छ मूल सडकबाट त्यसले निर्धारण गरेको छ यस्तो निर्णय । यस क्रममा मेरो आफ्नै दिदीको घर भत्कियो ज्ञानेश्वरमा । त्यैसँगै जोडिएको कम्पाउन्डमा बनेको मेरो मामाको बेचिएको घर भने अझै छ । त्यस्तै पूर्व परराष्ट्र मन्त्री पद्मबहादुर खत्रीको घर पनि सग्लो नै छ त्यस लाइनमा । यो घर वेदप्रसादले २००८ सालमा मातृकाप्रसाद कोइरालाको सरकारमा उद्योग–बाणिज्य मन्त्री बनेका महेन्द्रविक्रम शाहको लागि बनाएका थिए । त्यस्तै बानेश्वर हाइटमा पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पनि छैन वेदप्रसादले बनाएको त्यो घर । यता लाजिम्पाटमा भत्किएको अर्को घरको पनि नक्सा फेला परेको छ । पहिले संयुक्त राष्ट्र सङ्घको कार्यालय भएको एउटा घर हो लाजिम्पाटमा । उत्तर ढोका अगाडि । श्रीधर शमशेरको त्यो घरको लागि यो नक्सा तयार भएको हो ।

लाजिम्पाटको यो ठूलो दरबार भएको कम्पाउन्ड अग्नि शमशेरको हो । उनी जुद्ध शमशेरका काइँलो छोरा । उनको यो कम्पाउन्डमा अहिले होटेल शङ्कर, स्टान्डर्ड चार्टर बैक र आन्तरिक राजश्व विभाग छन् । र, यो ठूलो कम्पाउन्डको जमिन टुक्रा टुक्रा भएको छ । उनका अनेक रानी र सुसारे नानीहरूको सन्तानहरूबीच । यिनको रानी पट्टिको छोरा केन्द्र शमशेर । उनकै छोरी रानी ऐश्वर्य कुनै बेला ज्यादै शक्तिशाली व्यक्ति थिइन् नेपालको । दरबार हत्या काण्डमा परिन । एउटा सुसारे नानी पट्टिको छोरा श्रीधर शमशेर, जसको फेला परेको नक्सा बमोजिमको घर, यस्तै एउटा टुक्रामा बनेको थियो । तर त्यो पनि अब छैन । थाहा भएसम्म त्यो समेतका घरहरू भत्काएर मेट्रो कम्प्लेक्स बनेको छ । यस्तै अग्नि शमशेरको अर्की सुसारे नानी सलिफाको घर पनि वेदप्रसादले बनाएका थिए । त्यो भने अझै बाँचेको छ । अर्थात् भत्किएको छैन । लाजिम्पाट मूल सडकबाट र्याडिसन होटेलतिर करिब मोडिने ठाउँमा छ । जहाँ फुटपाथ छोडिएको छैन त्यही भित्रको घर हो । त्यो घर फ्रेन्च दूतावासले किनेको छ । सायद यो जोगिएला नै किनकि त्यहाँ दूतावासलाई पैसा फलाउनको लागि कमर्सियल कम्प्लेक्स बनाउन पर्दैन होला । 

बत्तिसपुतलीमा जगदीश शमशेरको लागि डिजाइन गरिएको नक्सा पनि फेला परेको छ । उनी चन्द्र शमशेरको माइलो छोरा बबर शमशेरको जेठो छोरा मृगेन्द्रको साइँलो छोरा हुन् । नेपालको मदन पुरस्कार विजेता साहित्यकार । बितिसके करिब ५ वर्ष अगाडि । यो घरको हवाससम्म पुरेको मैले आफैँले देखेको थिए । त्यति नै बेला २०१७ सालमा राजा महेन्द्रले सत्ता लिए । जगदीश शमशेर निर्वासनमा गए भारतको सिमलामा । त्यत्तिकै रहेको थियो त्यो । उनको छोराले त्यसैमा घर बनाएछन् । कति त्यसमा परिवर्तन गरे, कति नक्सा बमोजिम छ त्यो यकिन थाहा छैन ।

बत्तिसपुतली र पुरानो बानेश्वरमा वेदप्रसादले बनाएका केही घरहरू भएको मलाई सम्झना छ । पूर्व अञ्चलाधीश टेक बहादुर रायमाझी, उनको भतिजा पुलिसको एसपी अखण्ड, मूर्धन्य कथाकार भवानी भिक्षु, ध्रुवराज पाण्डे र पूर्व सचिव वासुदेव शर्मा । त्यस्तै मैतीदेवीमा छ डा. डिपी भण्डारीले बेचेको घर । अनि डा. मधु घिमिरेको पहिलेको घर र मेरा दुई मामाहरूको पनि । डिल्लीबजारमा बडा गुरुज्यू भोगेन्द्रराजको कान्छो छोरा आखिरी वडा गुरुज्यू जनार्दन राजको । यी मध्ये कति भत्काइसकिएका छन् जमिनको लागि या कति अझै ठडिएका छन्, कतिमा तला थपिएका छन् त्यो यकिन छैन । वेदप्रसादको ‘सिग्नेचर डिजाइन’ अर्थात् गोलो मोहडा देखिएको पुरानो कङ्क्रिटको घर अझै उभिएको छ भने त्यो उनको डिजाइन हो भन्न सकिन्छ । अपवाद बाहेक । वेदप्रसादले व्यावसायिक फिस लिएर केही घर बनाए भने धेरै घर समाज सेवा भावले । नक्साल भगवती मन्दिरको लागि त्यसको प्राङ्गणमा पनि यही भावले डिजाइन गरेका थिए र नगद पनि सहयोग गरेका थिए । यो घर मन्दिरको उत्तरपट्टि छ । 

यो पटकको पुरानो नक्सा खोतल्ने क्रममा राजा त्रिभुवनको लागि वेदप्रसादले डिजाइन गरेको दरबारको नक्सा फेला परेको छ । यसबारे कुरा गर्नु अगाडि अलिकति त्यो दरबारको नक्सा बनाउने परिस्थिति कसरी बन्यो भन्ने हेर्नु पर्दछ । राजा त्रिभुवनको लागि, अनि वेदप्रसादको लागि पनि । जङ्ग बहादुरले कोत पर्वबाट सत्ता हत्याएको १९०३ सालदेखि अधिकार विहीन खोपामा राखिएका श्री ५ हरू रहे चार जना – राजेन्द्र, सुरेन्द्र, पृथ्वी वीर विक्रम र त्रिभुवन । र, नेपालको प्रजातान्त्रिक आन्दोलनलाई मोहन शमशेरबाट सन् १९५० को सन्धि हात पारेपछि नेहरूले दिल्ली सम्झौतामा हुलेर त्यसमार्फत २००७ सालमा प्रजातन्त्र आएपछि खोपाबाट निकालिएका हुन् – श्री ५ त्रिभुवन । राजा त्रिभुवनले दुइटै अनुभव गरे – खोपाको र शक्तिको । 

शासनसँग आबद्ध एउटा कुरा भनिहालौँ पल्टन बारे । जोसँग पल्टन हुन्छ उसैले राज्य गर्दछ । पल्टनको साथ हुँदा भीमसेन थापाले सबभन्दा लामो समय नेपालमा शासन गरे निर्णायक भएर । सेरिएर मर्नु परेको अवस्था आयो आफ्नै बाग दरबारमा बन्दी भएर जुन पछि जुद्ध शमशेरले छोरा हरी शमशेरलाई दिए र तिनका सन्तानले बेचेर अहिले काठमाडौं महानगरपालिकाको भएको छ । यो तब सम्भव भयो जब राजा राजेन्द्रले भीमसेन थापाको पल्टनसगँको साथ कमजोर पार्न सके । पल्टनको साथ थियो राणाले राज्य गरे । पल्टनको साथ नहुँदा राजा ज्ञानेन्द्र हटे । राजा राजेन्द्र हटे जस्तो गरी उनी मात्र हटेनन् । राजतन्त्र नै समाप्त भयो नेपालमा ।

त्रिभुवनको कुरा गर्दा १०४ वर्षको राणा कालमा ५ वर्षको उमेरमा राजा भएर ४० वर्षको सब भन्दा लामो अवधिसम्म श्री ५ भएर श्री ३ को अधिनमा उनले बस्नु परेको थियो । त्यसै गरी राजा त्रिभुवनलाई झेल्नु परेको थियो सबभन्दा धेरै श्री ३ महाराजहरू – चन्द्र, भीम, जुद्ध, पद्म र मोहन शमशेरहरू । मोहन शमशेरले त पदच्युत नै गरे नेहरूको डिजाइनअन्तर्गत दिल्ली भागेर गएपछि । त्यो अर्कै कथा हो प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको । तर सबभन्दा अपमानित भएर बस्नु परेको चाहिँ जुद्ध शमशेरको पालामा थियो उनले । खोपामा राखे पनि अरू चार जनाले त जनतालाई देखाउन भए पनि फूल, प्रसाद र दक्षिणा चढाएर पूजा गरेको देखाउँथे । जुद्ध शमशेरले त त्यो पनि गरेनन् ।

चन्द्र शमशेरभन्दा करिब २ वर्ष कान्छो भीम शमशेर बुढेसकालमा श्री ३ भएकाले करिब ३ वर्ष शासन गरेर बिदा लिए धरतीबाट १९८९ साल भाद्र १९ गते शनिबारको राति  । त्यो रात धरहराबाट बिगुल फुक्न लगाइ जावलाखेल आफ्नो दरबार पुगेका जुद्ध शमशेरले श्री ३ भएको घोषणा आफैँ गरे । त्रिभुवनलाई वास्तै गरेनन् । सामान्य शिष्टाचारसम्म पनि राखेनन् । चलनअनुसार श्री ५ बाट लालमोहर प्राप्त भएपछि श्री ३ हुन्थे । वैधानिकता प्राप्त गर्ने औपचारिकता पूरा गर्नको लागि मात्र भनेर पनि यो गरिन्थ्यो । नारायणहिटी गए भेट्न करिब २ हप्ता पछि मात्र । जुद्ध शमशेरले त सुरुदेखि नै हेप्न सम्म हेपे राजा त्रिभुवनलाई ।

औपचारिकताको लागि नै किन नहोस् राम्रो खातिरदारी गर्थे राजाको श्री ३ ले । तर जुद्धले त भाइ भारदार जम्मा भएको औपचारिक ठाउँमा नै राजा त्रिभुवनको अपमान गर्थे । इतिहासमा उल्लेख भएअनुसार नै राजा त्रिभुवनले केही थप रकम मागेको बेलामा उनले ठाडै सबैले सुन्ने गरी ललकार्दै भने – सक्तिन म योभन्दा बढी रकम दिन । त्यति बेला राजा त्रिभुवनले मात्र होइन उपस्थित सबैले श्री ५ को त्यस्तो अपमान भएको देख्दा शिर निहुराएका थिए, उनका अनन्य भक्त राणाहरूले पनि । तर कसको तागत त्यति बेलाको परिवेशमा पछाडि पनि चूँ गर्ने पल्टनको साथ रहुन्जेल  । जुद्धले राजा त्रिभुवनलाई त गन्दै गनेनन्, अवहेलना गर्ने कुरामा । अनि निगरानी राख्न चाहिँ आफ्नो छोरा अग्नि शमशेरलाई नै खटाएका थिए । आफूले आफँैलाई महर्षि महाराज घोषणा गरेर जाँदा पद्म शमशेरलाई आफँैले श्रीपेच लगाइदिएर हिँडे । राजालाई वास्तै गरेनन् ।

श्रीपेच लगाइदिँदा सार्वजनिक ठाउँमा नै क्वाँ क्वाँ रोएका पद्म शमशेर आजीवन रोए । केही पर्यो कि रोइ हाल्थे । त्यसैले ‘रुन्चे राजा’ नै भनिए । वेदप्रसादले भन्थे मलाई पद्मले यसरी रोएको कथा । पद्म आफूलाई जनताको मान्छे भन्थे र सुधारवादी । त्यसैले नेपालको पहिले संविधान दिए लगत्तै विदेसिएका थिए । श्री ३ हुने बित्तिकै उनले आफू स्वयम् अपमानित भएको कुराको उपचार खोजे । त्यो भनेको जुद्ध शमशेरले राजा त्रिभुवनलाई गरेको अपहेलनाको । त्यसैले उनी राजाको सत्कार गर्ने काममा जुटे । र, राजालाई खुसी राख्न चाहन्थे । पद्म शमशेरको यो अभियानको प्रतिफल हो नारायणहिटीमा बनाउने त्रिभुवनको लागि एउटा अत्याधुनिक सिमेन्ट कक्रिंटको राजदरबार । उनले यो दरबार उपहार दिन चाहे जुद्ध शमशेरले १३ वर्षभन्दा बढी दपेटेर राखेका राजा त्रिभुवनलाई ।

यहाँनिर वेदप्रसाद जोडिन पुगे । कसरी जोडिन पुगे ? सरस्वती सदन, घरेलुको ९ भवनहरू, डिल्लीबजार गुरुज्यू भोगन्द्रराजको भवन र वडा काजी रत्नमानको भवन बनाइसकेका वेदप्रसाद । उनीबाहेक त्यति बेलाको नेपालमा कुनै ठूलो भवन निर्माण गर्नु पर्दा अर्को नाम थिएन । त्यो उनको युग थियो । त्यसैले उनकै खोजी जताततै । यसले गर्दा पद्म शमशेरले उनैलाई बोलाए । र, दरबार बनाउने कामको जिम्मा लगाए । यसपछि वेदप्रसाद पुगे नारायणहिटी दरबारभित्र निर्धारित समयमा । र, त्रिभुवनले उनलाई देखाए दरबार बनाउने ठाउँ र उनले कस्तो दरबार चाहेका छन् भन्ने बारे । वेदप्रसादले मलाई भन्थे – दरबार बनाउने सिलसिलामा राजा त्रिभुवनसँग पटक पटक भेट्ने अवसर मिल्यो मलाई । घण्टौँसम्म कुरा हुन्थ्यो । त्यति बेलाको दरबार भत्काएर त्यही ठाउँमा नयाँ बनाउन चाहेका थिए राजाले ।

मलाई लाग्छ सायद त्यही ठाउँमा होला जहाँ अहिले राजा महेन्द्रले बनाएको राज दरबार छ । उनले पुरानो दरबार भत्काउन लगाएका थिए र त्यही ठाउँमा यो हालको बनाउन लगाएका थिए । त्यो भत्काएको पुरानो दरबार श्री ३ वीर शमशेरले बनाउन लगाएका थिए राजा पृथ्वी वीर विक्रम शाह र उनको परिवारलाई हनुमान ढोकाबाट नारायणहिटीमा ल्याएर राख्न । उनले पनि दरबार त्यही ठाउँमा पुरानो दरबार भत्काएर बनाउन लगाएका थिए जुन श्री ३ रणोद्वीपको दरबार थियो । र, जहाँ उनी र उनको भाइहरूले गोली हानी श्री ३ रणोद्वीपलाई मारेका थिए । श्री ३ रणोद्वीपको दाजु श्री ३ बम बहादुरको दरबार पनि नारायणहिटी भित्रै थियो । त्यो पनि वीरले भत्काउन लगाए । यसरी हेर्दा अहिलेको राजदरबार दुई पटक दुइटा दरबारहरू भत्किएको ठाउँमा बनेको छ ।

वेदप्रसादले त्यही ठाउँको साइटअनुसार यो नक्सा तयार पारेका थिए । यसैबीचमा प्रजातान्त्रिक आन्दोलनले गति लिइरहेको थियो भने राणा परिवारभित्रको वैमनस्यताले पनि । एकले पायो अर्कोलाई सिद्ध्याउने वैमनस्यताको आगो सल्काइ दिएको थियो राणा परिवारभित्रको श्रेणी विभाजनले जुन जुद्ध शमशेरले पचभैयासँग समीकरण मिलाउन रुद्र शमशेरलाई श्री ३ बन्न नदिने खेलअन्तर्गत गरेका थिए  । पद्म शमशेर अति असक्षम महाराज थिए जो यस किसिमको राजनीतिक र पारिवारिक हुरीबाट ज्यान जोगाउन राजपाट त्यागेर विदेश पलायन हुने मनस्थितितिर धकेलिइ सकेका थिए । मोहन शमशेर आएपछि त झन् नबन्ने भयो । त्यसैले यो दरबार बनेन । यो नबनेको दरबारबारे व्यावसायिक प्रतिक्रियाको लागि मैले प्राध्यापक डा. जीवराज पोखरेललाई अनुरोध गरे । डा. पोखरेल ख्यातिप्राप्त अर्किटेक्ट हुन नेपालको र उनी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको पूर्व उपकुलपति पनि हुन् । 

तल दिइएको छ उनको धारणाः
‘वेद प्रसाद लोहनीजीले २००४ साल विजयादशमीको दिनमा राजा त्रिभुवनको लागि एउटा दरबार बनाउनु भएको थियो  । अहिलेसम्म विद्यमान रहेको यसको नक्साबाट यो कुरा थाहा भएको छ  । यो दरबार ५० फुट चौडा तथा ४७५ फुट लम्बा र दुई तलाको हुने गरी डिजाइन गरिएको थियो  । त्यति बेला आलिसान दरबार बनाउने चलन थियो  । वि सं १९७३ सालमा मैसोरमा बनाइएको ललिता महल दरबार यसको ज्वलन्त उदाहरण हो  । 

वेदप्रसादको समयमा वास्तुकलामा अभिव्यक्तिवादले प्रभाव पारेको थियो  । अभिव्यक्तिवाद भन्नाले भवनको भित्र के छ बाहिरबाट थाहा हुने खालको शैलीलाई भनिन्थ्यो  । यस अनुरूप भर्याङमा सिसाको प्रयोग गरी यसका खुड्किला देखाउने गरिन्थ्यो  । झ्याल पनि विभिन्न सतहमा बनाइन्थ्यो  । यस्ता जुम्ल्याहा झ्यालको पनि यस भवनमा प्रयोग भएको छ  । यसै गरी बार्दलीको प्रयोग पनि अत्यधिक मात्रामा हुन्थ्यो  । दुवै छेउमा वृत्ताकार स्वरूपको प्रयोग पनि त्यति बेलाका भवनमा गरिन्थ्यो  । यी सबै अङ्गहरू यो दरबारमा देखिन्छ  । 

नव शास्त्रीय वास्तुकलाको साटो आधुनिक वास्तुकलाको अभ्यास हुन थालिसकेको थियो  । त्यसै कारण ग्रिसेली स्तम्भको प्रयोग भए पनि अलङ्कारको प्रयोगको मात्रा कम भएको यस डिजाइनमा देख्न सकिन्छ  । अलङ्कारको प्रयोग अपराध हो भन्ने मान्यता स्थापना भई सकेको थियो  । त्यस कारण अर्ध वृत्ताकार झालको साटो चतुर्भुजाकार झालको प्रयोग हुन थालिसकेको थियो  । लोहनीले पनि तीनवटा अर्धवृत्ताकार ज्याल प्रयोग गरे तापनि बाँकी झ्याल चतुर्भुजकार प्रयोग गरेका छन्  । पछिसम्म पनि सोह्रौँ शताब्दीका इटालीका स्थापत्यशास्त्री प्यालाडियोको बीचमा भव्य भर्याङ बनाउने शैलीले निरन्तरता पाइ नै रहेको थियो  । त्यस कारण यो दरबारको डिजाइनमा यी सबै झलकहरू देख्न सकिन्छ । यस भवनबाट लोहनी आधुनिक वास्तुकलाबाट प्रभावित तर त्यति बेलाको नव शास्त्रीय शैलीबाट मुक्त हुन नसकेका डिजाइनरको रूपमा यस दरबारको डिजाइनले देखाएको छ ।’

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x