विचार

शान्ति सेनामा नेपाल : सानो देशको ठूलो प्रभाव

विनोद न्यौपाने |
असार १४, २०७९ मगलवार ७:४० बजे

दोस्रो विश्व युद्धको समाप्तिसँगै संसार दुई ध्रुवमा विभाजित भयो । एउटा ध्रुवको नेतृत्व अमेरिकाले गरेको थियो भने अर्को सोभियत संघले । पुँजीवादी अमेरिका र साम्यवाद सोभियत संघबीचको तनावपूर्ण सम्बन्धलाई नै शीतयुद्धको संज्ञा दिइएको थियो । खासमा लडाइँ पुँजीवाद र साम्यवादबीचको थियो । यही शीतयुद्धले असंलग्न आन्दोलनको जन्म भयो । यसको मुख्य उद्देश्य पुँजीवाद र साम्यवादको पक्षधर राष्ट्रको वकालत नगरी वा कुनै शक्ति गुटमा संलग्न नभई तटस्थताको नीति अवलम्बन गर्ने थियो ।

दोस्रो विश्व युद्धमा विजयी बनेका राष्ट्रले दुई वा दुईभन्दा बढी राष्ट्रबीच तनावपूर्ण अवस्था उत्पन्‍न भयो भने त्यसमाथि हस्तक्षेप गर्न सक्ने हैसियत राख्‍ने तटस्थ संस्थाको आवश्यकता बोध गरेर १९४७ अक्टोबर २४ मा संयुक्त राष्ट्र संघ जन्माए । राष्ट्रसंघले तटस्थताको नीति अवलम्बन गर्दै आयो । असंलग्न आन्दोलनमा सहभागी राष्ट्र आफ्नो औचित्य पुष्टि गर्न राष्ट्र संघको फोरम उपयोग गर्न चाहन्थे । असंलग्न राष्ट्र राष्ट्रसंघको निमन्त्रणा स्वीकार गरी द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा खटिने निर्णयमा पुगे । असंलग्न आन्दोलनको प्रमुख सदस्य राष्ट्रको हैसियतले नेपाल पनि राष्ट्रसंघको शान्ति स्थापना अभियानमा सेनाको महत्वपूर्ण उपस्थितिसहित क्रियाशील छ ।


शान्ति सेनाको उपस्थितिले असंलग्नता मात्रै पुष्टि गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण प्रभाव पारेको छ । नेपाली शान्ति सेनाको व्यावसायिक दक्षताले अन्तर्राष्ट्रिय जगत्मा नेपालको इज्जत बढाएको छ । नेपाल देश सानो भए पनि अन्तर्राष्ट्रिय शान्ति सेनामार्फत् विश्वमा ठूलो प्रभाव जमाएको छ । त्यसैले त शान्ति सेनामा ‘कन्ट्रिब्युट’ गर्ने नेपाल विश्वकै दोस्रो मुलुक बनेको हो ।

सन् १९५८ मा राष्ट्रसंघको विशेष आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँच नेपाली सैनिक पर्यवेक्षक टोली खटाएर सुरु गरेको मानव अधिकार संरक्षण र शान्तिको अविचलित यात्रा झनै उपयोगी बन्दै गएको छ । आज ११ वटा द्वन्द्वरत मुलुकमा ५ हजार ५७० नेपाली सेना परिचालित छन् । राष्ट्र संघको माग र सेनाको चाहनाले मूर्त रूप पायो भने यो संख्या दोब्बर पुर्‍याइने बताइएको छ । हालसम्म १ लाख ४० हजार ३५४ सैनिक शान्ति सेनामा खटिइसकेका छन् ।

सन् १९७४ मा इजिप्टमा नेपाली सेनाको श्री पुरानो गोरख गण पहिलो पटक कन्टिजेन्टको रूपमा खटिएको थियो । विश्व शान्ति स्थापना कार्यमा हालसम्म नेपाली सेनाले ४४ वटा शान्ति मिसनमा सहभागिता जनाएर उल्लेखनीय योगदान दिँदै आएको छ । नेपाली सेनाले १० देशमा शान्ति स्थापना कार्यका लागि तैनाथ ११ विभिन्‍न मिसनमा सक्रिय सहभागी भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । यसलाई कूटनीतिमा सकारात्मक सन्देशका रूपमा लिइएको छ ।

विश्वका धेरै मुलुकले द्वन्द्वग्रस्त मुलुकमा आफ्ना सेना पठाउन चाहन्छन् । कार्यकुशलता र अनुभवका आधारमा खरो र अब्बल मानिने मुलुकका सेना मात्र शान्ति सेनामा लिने गरिएको छ । नेपाल त्यही कोटीमा पर्दै आएको छ । शान्तिका लागि नेपाली सैनिक संख्याको माग बढ्दै जानु इमानदारी, बफादारी, कार्यकुशलता र व्यवसायिक दक्षताको उपज हो । द्वन्द्वग्रस्त मुलुकको समाजसँग पनि शान्तिपूर्ण रूपमा भिज्न सक्ने चरित्रकै कारण पनि नेपाली सेना रुचाइएको हुनुपर्छ ।

अन्तर्राष्ट्रिय जगत्मा नेपालको मान प्रतिष्ठा बढाउने, मुलुकको अखण्डता र सार्वभौम रक्षामा पहरेदारको भूमिका निर्वाह गर्ने शक्तिको मानमर्दन कोही कसैको हितमा हुँदैन भन्‍ने हेक्का सबैले राख्‍न जरुरी छ । किनकि सेनाको ‘नेसन फस्ट’ को अविचलित मान्यताले मात्र मुलुकको अस्तित्व कायम रहन सकेको हो ।

प्रधानसेनापति प्रभुराम शर्मा यतिबेला द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको मनोबल र हौसला बढाउन लेवनान, सिरिया र युनिफिल मिसन भ्रमणमा छन् । संयुक्त राष्ट्रसंघको निमन्त्रणामा प्रधानसेनापति शर्मा त्यहाँ गएका हुन् । प्रधानसेनापतिले नेपाली सेना तैनाथीको अवस्था, त्यहाँको वस्तुस्थिति र अपरेसनल गतिविधिबारे जानकारी लिई अमेरिकास्थित शान्ति सेनाको हेडक्वार्टरको भ्रमण गर्ने जनाइएको छ । सैनिक नेतृत्व तहबाट हुने यस किसिमको भ्रमण फलदायी हुँदै आएका छन् । शान्ति सेनाको उपस्थितिलाई परराष्ट्र नीतिको अभिन्‍न अंग मानिँदै आएकाले पनि भ्रमणको विशिष्ट महत्व रहने नै भयो । राष्ट्रसंघले मात्र होइन संसारले रुचाएको नेपाली शान्ति सेनाको उचाइ बढाउन हामीले के गर्न आवश्यक छ भन्‍ने विषयको खोजी भ्रमणको महत्वपूर्ण पक्ष हो ।

प्रधानसेनापतिको भ्रमणको उद्देश्य शान्ति सेनामा खटिएको फौजको हौसला अभिवृद्धि गर्नु मात्र नभई राष्ट्र संघमा सहभागिताका लागि नेपालको प्राथमिकता रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्नु पनि हो । मिसनमा खटिएर नेतृत्व गरिरहेको अधिकारीहरूसँग भइरहेका योजनाबारे जानकारी प्राप्त गरी सेनाको भावी कार्यदिशा निर्धारण गर्न पनि भ्रमणले सघाउ पुर्‍याउनेछ । शान्ति स्थापनामा खटिँदा प्रयोग भएको क्षमता र कमिकमजोरी पहिचान गरी त्यसको निराकरण गर्नु नेतृत्वको जिम्मेवारी पनि हो । उच्चस्तरीय भ्रमणले सैन्य दस्ताको मनोबल मात्र बढाउँदैन मित्रराष्ट्रहरूसँगको द्विपक्षीय कूटनीतिक तथा सैन्य विस्तारमा समेत महत्वपूर्ण टेवा पुर्‍याउनेछ ।

शान्ति सेनाको कामको प्रकृति, शान्ति स्थापनामा भूमिका अभिवृद्धि, प्रयोग हुँदै आएका सामानको गुणस्तर मापन गर्न सैनिक नेतृत्वबाट बेलाबेलामा अनुगमन र निरीक्षण भ्रमण हुनुले शान्ति सेनाको विशेष महत्व दर्शाउँछ । यो केवल भ्रमण मात्र नभएर शान्ति सेनाको गर्विलो उपस्थितिलाई झनै प्रभावकारी बनाएर मुलुकको कूटनीतिक इतिहासमा समयसापेक्ष नयाँ इटा थप्ने माध्यम पनि हो ।

नेपाली सेना भन्‍नेबित्तिकै ‘फौजी दस्ता’ मा मात्र सीमित राख्‍ने मान्यता छ । यो पुरातन र साँघुरो मान्यता अब पुरानो भइसक्यो । नेपाली सेना भौतिक बलको शक्तिभन्दा धेरै माथि उठिसकेको छ, जुन कुरा उसैका गतिविधिबाट प्रष्ट हुन्छ । नागरिकसँगको बढ्दो सम्बन्ध, कूटनीति, देश तथा विदेशमा मानव अधिकारको मूल्य स्थापित गर्न उसले खेलेको भूमिका र उपस्थितिलाई संसारले रुचाउन थालेको धेरै भइसकेको छ । राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ उसको भूमिकामा फौजीभन्दा मानवीय सेवाभाव बढी झल्कन्छ ।

नेपाली सेनाले शान्ति सेनामा पुर्‍याएको योगदानकै कारण नेपाल राष्ट्र संघको सुरक्षा परिषद्मा दुई पटक अस्थायी सदस्य भएको छ । त्यसैले विश्वमा भएको सैनिक उपस्थितिलाई परराष्ट्र नीतिको एउटा अंग मानिएको हो । यसलाई नजरअन्दाज गरिनु हुन्‍न । मुलुकलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिने सेनालाई कमजोर बनाउन खोज्दा यसको असर र प्रभाव कूटनीतिमा पर्न सक्छ भन्‍ने हेक्का राख्‍न जरुरी छ । हिजोको राजनीतिले शान्ति मिसनमा सेनाको उपस्थितिमार्फत् कूटनीतिकको विकासक्रमलाई अघि बढाएको इतिहासको अध्ययन सबैबाट हुन आवश्यक छ । जुन वास्तविक राष्ट्रवादको नमुना हो । कतै आज त्यसमा खलल पार्ने कोसिस त भइरहेको छैन ? विश्व शान्ति स्थापनामा सेनाबाट आर्जित शक्तिले विकास गरेको कूटनीतिकै कारण नेपाललाई आज विश्वले चिनेको छ । बुद्ध जन्मेको र सर्वोच्च शिखर सगरमाथाको देशबाट परिचित नेपाल पछिल्लो ६० वर्षदेखि उत्कृष्ट र अब्बल शान्ति सेनाको देशको नामबाट चिनिएको छ ।

सेनालाई मुलुकको सार्वभौम रक्षा, विकास निर्माण र कूटनीतिमा अब्बल दस्ता मानिन्छ । विश्वशान्तिमार्फत सेनाले निर्वाह गरेको कूटनीतिक भूमिकाको जति मूल्यांकन गरे पनि थोरै हुनेछ । त्यसैले त नेपालमा हुने कूटनीतिक एवं राजनीतिक भ्रमणमा नेपाली सेना विशेष प्राथमिकतामा पर्दै आएको छ । शक्ति राष्ट्रको उच्च तहको नेतृत्व नेपाल भ्रमणमा आउँदा सेना प्रमुखलाई भेट्नु त्यसको ज्वलन्त उदाहरण हो । यो सबै शान्ति सेनामा भएको उपस्थितिको उपज हो । त्यसैले पनि शान्ति सेनाको संख्या बढाएर नेपालले विश्वबाट ठूलो कूटनीतिक लाभ लिन सक्छ । शान्ति सेनामा खटिनु, कुशलतापूर्वक जिम्मेवारी पूरा गरी सकुशल स्वदेश फर्किनु जति जोखिम र चुनौतीपूर्ण छ, त्योभन्दा बढी चुनौती छ कूटनीतिक इतिहासलाई बलियो बनाउन । नेपाली राजनीतिले यसलाई कहिल्यै गम्भीर रूपमा लिन सकेन÷चाहेन । सरकारले नै शान्ति सेनाको उपस्थितिलाई बढाउँदै लग्यो भने उसको दक्षता र क्षमताको उपयोग गरेर कूटनीतिक इतिहासलाई थप बलियो बनाउन मद्दत पुग्नेछ ।

जसको नामबाट कूटनीतिक इतिहासमा नाम लेखिएको छ त्यही संगठनलाई कमजोर बनाएर आफू ओभानो बन्‍न खोज्ने राजनीतिले कूटनीतिक इतिहासमा दाग लगाउने प्रयत्न गर्दै आएको छ । जसको पछिल्लो उदाहरण बनेको छ एसपीपी सम्झौताको पत्र । यो राजनीतिले कमजोर बनाएको प्रणालीको उपज हो ।  अन्तर्राष्ट्रिय जगत्मा नेपालको मान प्रतिष्ठा बढाउने, मुलुकको अखण्डता र सार्वभौम रक्षामा पहरेदारको भूमिका निर्वाह गर्ने शक्तिको मानमर्दन कोही कसैको हितमा हुँदैन भन्‍ने हेक्का सबैले राख्‍न जरुरी छ । किनकि सेनाको ‘नेसन फस्ट’ को अविचलित मान्यताले मात्र मुलुकको अस्तित्व कायम रहन सकेको हो ।

न्यौपानेका अन्य लेखहरू


Author

थप समाचार
x