विचार

क्षयरोगमुक्त नेपाल : चुनौती र समाधान

बिरामीहरूको प्रतिशत पहिले अनुमान गरिएको भन्दा लगभग १.६ गुणा बढी

बिनिका श्रेष्ठ |
असार ११, २०७९ २१:२२ बजे

एकपटक कल्पना गरौँ त– दैनिक ज्यालादारी गर्ने मानिस बिरामी छोरीलाई लिएर डाक्टरकहाँ जान्छन् । छोरीमा तीन हप्तादेखि तौल घट्ने र खोकी लाग्ने समस्या हुन्छ । परीक्षणपछि डाक्टरले युवतीलाई क्षयरोग भएको जानकारी दिन्छन् । ती मानिस सोच्न थाल्छन्– हामीलाई नै यो सबै किन ? अब कसरी उपचार गर्ने ? मेरी छोरीलाई कसले बिहे गर्छ ?

यस्तो परिदृश्य नेपालमा नौलो छैन । अध्ययनहरूले यस्ता धेरै बिरामीहरूले फार्मेसी र अनौपचारिक स्वास्थ्य सेवा प्रदायक संस्थाहरूबाट रोगको निदानका लागि सहारा लिने गरेको देखाउँछ । जसकारण रोग ठीकसँग निको हुन धेरै समय लाग्ने गरेको पाइन्छ । स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गर्नुअघि बिरामीका परिवारलाई एकबाट अर्को धेरै डाक्टरहरू भेट्न बाध्य पारिन्छ । समयमा रोग पत्ता नलाग्दा हर्बल उपचार र अन्य परम्परागत उपचारको प्रयास गर्छन् । प्रायः यी परिवारहरूसँग उपचारका लागि पैसा वा पर्याप्त पोषण पनि हुँदैन । क्षयरोगको सही निदान हुन वर्षौं लाग्नुको मुख्य कारण ज्ञान र आर्थिक क्षमताको कमी हो ।


पछिल्लो दुई वर्षमा कुपोषणको दरमा उल्लेख्य गिरावट आए पनि नेपाल अझै पनि विश्वमा सबैभन्दा बढी कुपोषण दर भएको मुलुक मानिन्छ । विशेष गरी महिला र बालबालिकामा कोभिड–१९ को प्रकोपले यसमा थप प्रभाव पारेको छ । क्षयरोगको प्रमुख लक्षणहरूमध्ये शरीरमा बोसो र मांसपेशीको मात्रा घट्नु पनि एक हो । गरिबी, कुपोषण र त्यसको कारणले हुने शरीरको कम तौल पनि क्षयरोगको कारण हो । उमेर र उचाई अनुसार कम तौल हुनुले बिरामीलाई निको हुन लाग्ने समय बढ्छ र बिरामीले लिने औषधिको साइड इफेक्ट बढ्छ । जसले गर्दा नेपालमा वर्षेनी क्षयरोगबाट मृत्यु हुने धेरै कारणमध्ये एक कारण बन्ने सम्भावना बढ्छ ।

नेपालको राष्ट्रिय क्षयरोग प्रेवालेन्स सर्वे (टी.बी.पी.एस २०१८–१९) ले हाल नेपालमा एक लाखभन्दा बढी क्षयरोगका बिरामी रहेको बताएको छ । क्षयरोग संक्रमणले सुरुको अवस्थामा भोकलाई दबाउँछ र कुपोषण भएपछि वजन घटाउँछ । दोस्रो, ज्वरोले बेसल मेटाबोलिक दर वा क्यालोरीहरू घट्ने दर बढाउँछ । तेस्रो, क्षयरोगले प्रोटिन र मांसपेशीहरूको पतन गराउँछ र परिणामस्वरूप ख्याउटेपन अर्थात् उचाइको अनुपात तौल कम हुन्छ । यसबाहेक, बिरामीहरूका लागि कुपोषण उपचारअघि र पछि समस्या पनि ठूलो समस्या हो ।

कुपोषित व्यक्तिहरूमा पर्याप्त पोषण पाएको व्यक्तिभन्दा दुईदेखि चार गुणा बढी मृत्यु हुने सम्भावना हुन्छ । उपचारपछि पनि कुपोषणले गर्दा क्षयरोगको पुनरावृत्तिको जोखिम बढाउँछ र कमजोर मांसपेशीहरूको कारण शारीरिक गतिविधिमा समेत असर गर्दछ ।

सोही अवधिमा (कम तौल उमेरका लागि) कम तौल ४२ प्रतिशतबाट घटेर २४ प्रतिशतमा झरेको छ । जबकी थप अशक्त बाल (उचाइको लागि कम तौल) १५ प्रतिशत बाट १२ प्रतिशतमा घटेको छ । 

कुपोषणले अन्य कारणहरूसँग मिलेर क्षयरोगको कुल प्रकोपलाई बढाउँछ ।  वास्तवमा यसले धेरै परिस्थितिहरूमा क्षयरोगका औषधिलाई प्रभावहीन बनाउँछ । बिरामीहरूलाई बहुप्रतिरोधी क्षयरोगको (डिआर टिबी) उपचारहरू लिन पर्ने अवस्थासम्म पुर्‍याउँछ । 

विगत केही दशकयता नेपालमा कुपोषणको प्रतिशत निरन्तर घट्दै गएको छ । सन् १९९६ को ५७ प्रतिशत बालबालिकामा हुने कुपोषणको प्रतिशत सन् २०१९ मा ३२ प्रतिशतमा झरेको छ । सोही अवधिमा (कम तौल उमेरका लागि) कम तौल ४२ प्रतिशतबाट घटेर २४ प्रतिशतमा झरेको छ । जबकी थप अशक्त बाल (उचाइको लागि कम तौल) १५ प्रतिशत बाट १२ प्रतिशतमा घटेको छ । डब्लुएचओका अनुसार, २०१८ मा क्षयरोग भएका बिरामीहरूको प्रतिशत पहिले अनुमान गरिएको भन्दा लगभग १.६ गुणा (६९ हजार : ४१ हजार– १ लाख ३ हजार) बढी थियो । यद्यपि, क्षयरोगका घटनाहरूको समग्र प्रतिशतमा सकारात्मक गिरावट आएको थियो । डब्ल्यूएचओले पछिल्लो दशकमा लगभग ३ प्रतिशत गिरावट आएको पत्ता लगाएको छ । कुपोषणमा कमी आएसँगै क्षयरोगका बिरामीमा पनि कमी आएको छ । यो १.५ प्रतिशतदेखि २ प्रतिशतको विश्वव्यापी वार्षिक गिरावटभन्दा ठूलो गिरावट हो ।

कोभिड–१९ को महामारीले देशमा हुने क्षयरोग स्क्रिनिङ, परीक्षण र निदानको प्रतिशतमा ठूलो प्रभाव पारेको अनुसन्धानहरूले देखाएका छन् । अनुसन्धान प्रतिवेदनले स्क्रिनिङमा १६.९ प्रतिशत, पहिचानमा ७७.९ प्रतिशत, परीक्षणमा ६७.४ प्रतिशत, ब्याक्टेरियोलोजिकल पुष्टि निदानमा ६६.९ प्रतिशत र क्षयरोगका सबै प्रकारको निदानमा ५८.९ प्रतिशतले कमी आएको देखाएको छ । 

जून २०२० मा लकडाउन समाप्त भएपछि स्क्रीनिङ गतिविधिहरूमा ९३.३ प्रतिशतले वृद्धि भएको थियो । मे महिनामा ५ सय १३ व्यक्तिको मात्र परीक्षण गरिएको थियो भने जूनमा ७ हजार ७११ को परीक्षण गरिएको थियो । केस फेला पार्नेमा ८८.९ प्रतिशत वृद्धि भएको थियो । मे महिनामा एक जनामा क्षयरोग पहिचान भएको थियो भने जूनमा ९ जनामा पहिचान भएको थियो ।

डब्लुएचओका अनुसार नेपालमा क्षयरोगको संक्रमण फैलिन नदिन र कम गर्न मद्दत गर्ने पाँच कुरालाई प्राथमिकतामा राख्नुपर्छ । पहिलो भनेको क्षयरोग अन्त्य गर्न सबै तहमा राजनीतिक प्रतिबद्धता सुनिश्चित गर्नुपर्छ । क्षयरोगलाई स्वास्थ्य मन्त्रालयबाट मात्रै सम्बोधन गरेर हुँदैन । क्षयरोगको पूर्ण अन्त्यका लागि शिक्षा, वित्त, निजी क्षेत्र, समुदाय र उद्योगजस्ता क्षेत्रहरूबीच बहु–संस्थागत समन्वय हुनु आवश्यक छ । बलियो नेतृत्व र उचित लगानीले टिबी र एमडीआरटिबी नियन्त्रण कार्यलाई दिगो बनाउनेछ ।

दोस्रो भनेको सार्वजनिक क्षेत्रहरूमा उच्च गुणस्तरको क्षयरोगसम्बन्धी सेवाहरूमा पहुँच सुधार गर्नुपर्छ । यसले प्रारम्भिक पहिचान सुनिश्चित मात्र गर्दैन, रोगीलाई आर्थिक रूपमा कमजोर नबनाई गुणस्तरीय उपचारमा सघाउँछ । एक बलियो सार्वजनिक स्वास्थ्य प्रणालीमार्फत् क्षयरोगको उपचार समाजका सबै वर्गका बिरामीहरूका लागि सुलभ र किफायती हुन्छ । 

तेस्रो भनेको उच्च गुणस्तरको क्षयरोग सेवाहरू सुनिश्चित गर्न निजी क्षेत्रलाई थप अर्थपूर्ण रूपमा संलग्न गराउनु हो । यो स्वास्थ्य प्रणालीमा निजी लगानी बढाउनुका साथै उच्च गुणस्तरको क्षयरोग सेवा सुनिश्चित गर्न निजी अस्पताल र निजी क्षेत्रहरूको भूमिका सुधार गर्न सकिन्छ । 

चौथो, बिरामी र समुदायमा क्षयरोगसम्बन्धी आवश्यक शिक्षा र सूचना प्रदान गरी जनचेतना वृद्धि गर्नुपर्छ । जसले गर्दा समुदायमा क्षयरोगबार चेतना वृद्धि हुनुका साथै व्याप्त लान्छना र भेदभावमा कमी आउछ र उच्च गुणस्तरको क्षयरोग सेवाहरूको माग पनि सिर्जना हुन्छ । 

डब्ल्यूएचओले सिफारिस गरेको अन्तिम कार्य भनेको क्षयरोगमा आर्थिक मात्रै होइन मानव संसाधनमा पनि लगानी बढाउनु हो । साथै क्षयरोगका सेवाहरू किफायती र गुणस्तरीय छन् भनी सुनिश्चित गर्नु आवश्यक हुन्छ । 

डब्ल्यूएचओले बनाएको पाँच बुँदे कार्ययोजनाले धेरै मुख्य मुद्दाहरूलाई सम्बोधन गर्दछ । क्षयरोग धेरै तरिकाले गरिबी र भोकको रोग हो । यसका बिरामीहरूलाई निदान र उपचार मात्र होइन, उचित पोषण र मनोवैज्ञानिक सहायता पनि चाहिन्छ । स्वास्थ्य सेवा प्रदायकहरूले क्षयरोगका बिरामीहरूलाई मर्यादा, समानुभूति र सुरक्षाका साथ व्यवहार गर्नुपर्छ । क्षयरोगसँग लड्दा उनीहरूको पोषण आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्नु पनि निकै महत्वपूर्ण छ । यदि हामीले नेपालजस्ता राष्ट्रमा यसलाई बेवास्ता गर्यौ भने कोभिड–१९ भन्दा पनि ठूलो दीर्घकालीन समस्या निर्माण भइरहेको हुन सक्छ । 

(स्वयं क्षयरोग सर्भाइवर श्रेष्ठ जनस्वास्थ्यकर्मी हुन् ।)


 



Author

थप समाचार
ad
x