विचार

भ्रष्टहरू भीडको जयजयकारबीच छन्, सदाचारी कुनामा एक्लो छ

सुशीला कार्की |
असार ९, २०७९ १५:३३ बजे

काठमाडौं युनिभर्सिटी स्कूल अफ ल धुलिखेलका प्राध्यापक प्रज्वलराज ज्ञवालीले केही दिनअघि भेट गर्ने इच्छा जाहेर गर्दै फोन गर्नुभयो । आफू कानुन व्यवसायी भएर वकालत गर्दाका बखत हामीले अग्रज मानेको वरिष्ठ अधिवक्ता स्व. शम्भुप्रसाद ज्ञवालीका उहाँ कान्छो नाति हुनुहँुदो रहेछ । प्रज्वलको पृष्ठभूमि पनि कानुनको अध्ययन र अध्यापन गराउने कानुनविद् भएकामा भेट गर्न इन्कार गर्ने कुरै आएन । 

प्रज्वल बैंक तथा वित्तीय सम्बन्धी कानुन, करार कानुनको ज्ञाता र तत् विषयको अध्यापन गराउनु हुँदो रहेछ । एक विलक्षण र बहुआयामिक प्रतिभाका धनी बाजेले अपनाएको पेसालाई नै उहाँले अपनाउने गरी कानुन विषयको अध्यायन गर्ने इच्छा राखेर अघि बढ्नु भएको पनि रहेछ । विगत बाह्र वर्षदेखि भारतलगायत युगाण्डा जस्ता अन्य विविध युरोप र अफ्रिकी मुलुकहरूमा कानुनसम्बन्धी परामर्शदाताको रुपमा कार्यरत हुनुहुँदो रहेछ । दुई वर्षअघि मुलुकमा नै बसी देशको सेवा गर्ने उद्देश्य राख्ने अन्य नेपाली नागरिकहरू सरह इच्छुक हुँदै मुलुक फर्केर अध्यापन कार्य थाल्नुभएको पनि रहेछ । 


भेटघाटका क्रममा म, मेरा श्रीमान् र प्रज्वलबीच नेपालको वर्तमान आर्थिक, सामाजिक, राजनीतिक अवस्थाबारेमा गहन छलफल भइरहँदा उहाँमा पनि अन्य मेधावी, होनहार र मुलुकको परिवर्तनका निम्ति केही गर्ने अपेक्षा राख्ने मुठ्ठीभरि संख्यामा रहेका नेपाली युवाहरूमा देखिएको असन्तुष्टि नै मुलुकको वर्तमान सन्दर्भलाई लिएर देखियो । तर उहाँको अवधारणामा मुलुकको विकासमा ह्रास हुन पुगेको कारणले मात्र युवाहरूले मुलुक छाडेर जान नहुने बरु मुलुकमा बसेर नै दुःख–सुख भोगेरै संघर्ष गरेरै देश बनाउनुपर्ने भन्ने दृढ निश्चित अवधारणा पाइयो । अनुहार हेरिरहँदा कता कता बाजे शम्भुप्रसाद ज्ञवालीको झझल्को आउने हँुदा, मैले उहाँलाई कि त वकालत गर्ने कि त न्यायाधीशमा नियुक्ति मिले त्यतातर्फ सेवा गर्ने सुझाव पनि दिए । किनकि वित्तीय क्षेत्रमा प्रचूर ज्ञान भएका कानुन व्यवसायी वा न्यायाधीशको संख्या नेपालमा उसै पनि कम छ ।

लामो समयसम्म विदेशमा बसेर नेपाल आउँदा पहिलो आश्चर्यको विषय उहाँका निम्ति निर्बाध रूपमा भएको जग्गाको खरिद–बिक्री, वन फँडानी, अवैध प्लटिङ र त्यसको दलाली नै भएको अनुभव सुनाउनु भयो । दोस्रो समस्या, यति सानो र गरीब मुलुकका जनता जनार्दनहरूले आवश्यकताभन्दा बढी खरिदारी किनमेलमा खर्च गर्ने प्रवृत्ति उहाँलाई खट्केको रहेछ ।

त्यसमा पनि उहाँको इसारा लुगाफाटो कपडाहरूतिर नै थियो । यी खरिदारी नेपालमा रहेका बहुसंख्यक गरिबले निश्चित रुपमा गर्न सक्दैनन् । विनापरिश्रम जसको पोल्टामा धन बर्षन्छ, तिनले र अफरात आय हुने परिवारहरूले मात्र गर्ने गरेका छन् । जग्गाको खरिद–बिक्री पनि गरिब अशिक्षितले सो पेसालाई धान्न सक्ने तिनको क्षमता नै रहन्न । बरु तिनका बहुमूल्य जग्गा जमिन भू–माफिया, दलाल र पहुँच हुनेहरूले साम–दाम–डण्ड–भेद नीति अपनाएर भए पनि खोसेका वा कब्जा गरेका छन् ।

हिजो, आज केही समययता बिहेबारी र विविध प्रकारका पारिवारिक भोज समारोहको आयोजनाको तायदातमा वृद्धि भएको छ । जसै कोरोनाको प्रभावमा न्यूनता आयो, सामाजिक व्यवहारका समारोहहरू होटल र पार्टी प्यालेसमा ह्वात्तै बढेको छ । प्रज्वलले भने झैँ नेपालीमा पनि हुने खाने, मध्यम वर्ग, यहाँसम्म कि निम्न मध्यम वर्गसम्मले दिल खोलेर दक्षिणतर्फको छिमेकी राष्ट्रको आयातित संस्कृतिको नक्कल उतार्न पछि परेका छैनन् । पहिले पहिले भारतमा केही व्यापारी घराना परिवारहरूले मात्र यो महँगो संस्कृतिलाई अपनाउने गर्दथे । तिनको बिहेबारीमा दहेज र तिलक लिने चलन आदि अनादिदेखि चल्दै आएको हो । 

साथै, तिनले व्यापार र कारोबारमा गरी अथक परिश्रम र त्यस्को आर्जनको लक्ष्य नै छोरा–छोरीको बिहेमा अथाह खर्च गर्नलाई हो भन्ने कुरा बुझिएको थियो । अब त, भारतमा पनि प्रायः सबै जात जातिमा यो रोगको संक्रमण फैलिएको छ । अति धेरै धन हुनेहरू भारतमा सरकारको आयकर विभागले प्रश्न नउठाउन पाओस् भनेर इटाली र दुबई जस्तो सहरमा गएर छोराछोरीको बिहेबारी गर्न थालेका छन् ।

भारतको तुलनामा हामीकहाँ ठूलो गरिबी र आर्थिक मन्दी छ । त्यहाँ जस्तो धेरै धनी व्यापारीहरूको संख्या हामीकहाँ छैन । तापनि भारतको सिनेमा जगत्का प्रसिद्ध कलाकार जितेन्द्रकी सुपुत्री एकता कपुरले निर्माण गरेको टेलिफिल्महरूले प्रचार–प्रसार गर्ने र देखाउने गरेको मँहगो विवाह र अन्य सामाजिक समारोहको दृश्यको अनुकरण गर्दै नेपालीहरूको एक दिनमा विवाह भई दुल्हन फर्काएपछि विवाह समारोह समाप्त हुने हाम्रो रिवाज भएकामा, अब पाँच दिनसम्म कार्यक्रम जारी हुने थप संस्कृतिको विकास भएको छ । 

विवाहको कुरा छिन्ने दिन, मेहन्दी लगाउने दिन, हल्दी दल्ने दिन, स्वयंवरको फूलमाला गर्ने दिन, त्यसपछि विवाह । यी सबै कार्यक्रममा क्रमशः महँगो भोज र फूलहरूले घर आँगन वा होटल सिगार्ने ती त छँदैछन् । परिवारभरिका महिला सदस्यहरू र आगन्तुकलाई दुई दिन मात्र हातमा टिक्ने मेहन्दी लगाउँदा पचास हजारसम्म खर्च गरेको देखियो । त्यसबीच फोटो सेसन र बेहुला बेहुलीका युवा–युवती साथीहरूबीच हुने पार्टी भोज अर्को कार्यक्रम हुन्छ । यी प्रत्येक कार्यक्रहरूमा महिला पुरुष पाहुनासम्मको भिन्नभिन्न रंगको पहिरन बेहुलीको पिता–माताले उपहार स्वरुप भएसम्मका पाहुनालाई दिनुपर्ने बाध्यता छ । सम्धी सम्धिनी भेट अर्को समारोह हुन्छ, जहाँ हुने छोरीको वाबुले हिराको सेट र नहुनेले सुनको गरगहना छोरीको सासू–ससुरा र आफन्तहरूलाई उपहार स्वरुप भेट गर्ने गरेका छन् । यसरी हुनेले करोड–करोड खर्च गरेका छन् । नहुने तन्नामहरूले अरु ती हुनेहरूको देखेर थुक निलेका छन् ।

अब त, सामान्य घरका छोराछोरीहरूले पनि सानो–तिनो भए पनि विवाहमा त्यस्तै व्यवहारको माग गर्न थालेका छन् । नहुने बाबु–आमाले कि त पासो लाग्नुप¥यो कि त झिटीगुन्टी बेचेर भए पनि सन्तानको इच्छा पूरा गर्नुप¥यो । अन्ततः आफू बाँच्न कि त देवघाट कि पशुपतिनाथको वृद्ध आश्रम कुर्नुपर्‍यो ।

हामीकहाँ एउटा निष्क्रिय कानुन छ, सामाजिक व्यवहार सुधार ऐन । जसको पालना स्वयं सरकारमा भएकाहरू नै गर्दैनन् भने अरुको के कुरा गर्ने ? एकातिर महिलालाई पुरुष सरह शिक्षा दिने अभियान छ, अर्कातर्फ छोरीलाई छोरा सरह अंश दिने कानून पनि छ । फेरि समाजमा महिलाको सामाजिक परिवर्तन के देखियो त ? 

संविधान कानुनले देखाएको समानता शब्दको प्रयोग कहाँ भएको छ ? जब महिलालाई स्वनिर्भर हुनेतिर नलगी दाइजो र पुतलीको विवाह जस्तो खेलमा अल्झाइन्छ भने महिलाको स्वतन्त्रता, समानता र आत्मनिर्भरका सवालहरू के भए ? हामी नेपाली अधिकांशहरूमा अरुको व्यवहारको नक्कल गर्ने बानी छ । त्यसैको परिणाम हो, सामाजिक व्यवहारमा देखिएको अस्वाभाविक खर्च र नचाहिँदो ढर्रा । मरीमरी विदेशमा ढाड पोल्ने गरी गर्मीमा पसिना बगाएर कमाएको रकम अनुचित कार्यमा खर्च गरेका छौँ । बल्लतल्ल जोडेको घर बास बेचेर समाजमा हैसियत देखाउने नाममा आफू सुकुमबासी भएर पनि खर्चेका छौँ ।

हुने वर्गले अथाहा खर्च गर्दा बजारको उन्नति र व्यवस्थापन होला । व्यापारीको व्यापार, होटेल र पार्टी प्यालेसहरू चल्ने, फूलको व्यापार, कपडाको व्यापार, शृङ्गार र मेहदीको व्यापार चल्ला । तर यी प्रचलन नेपालीहरूको परम्परा र संस्कृति पनि होइन । यी जति पनि सामाजिक व्यवहारमा नचाहिँदो व्यवहारको बढोत्तरी हँुदै गएका छन्, ती वास्तवमा ठूलठूला बहुर्राष्ट्रिय कम्पनीहरूको व्यापार चलाउने प्रचार प्रसारको कारणबाट सृजना भएका हुन् । 

समाजमा हुनेले खर्च गर्दा र नहुनेले पनि तिनै कुराको अनुकरण गर्न खोज्दा नकारात्मक असर पर्नु स्वाभाविक हो । हामीले यो पनि बिर्सनु हँुदैन कि हिजो २०७२ सालको  भूकम्पले मुलुकको आर्थिक स्थिति कति जर्जर बनाएको छ । कोरोनाले कतिलाई मृत्युको मुखमा पुर्‍यायो र आज अधिकांश नेपाली परिवारहरूको आर्थिक स्थिति जर्जर अवस्थामा छ । कतिले भोक भोक्कै रात र दिन गुजार्नु परेको पनि देखिएको छ । आर्थिक मन्दीको कारण यस बेला कतिको रोजगारी गुमेको छ । यस्तो आर्थिक मन्दीको अवस्थामा पनि आजभोलि सुन पसलहरूमा भीड लाग्ने गरेको देखिएको छ । 

त्यस्तै कपडा पसलदेखि पार्टी प्यालेस र होटलहरू खाली छैनन् । मानिसहरू भन्छन् नेपालमा एउटा वर्गसँग अथाहा पैसा छ, जसले राज्यको ढुकुटी अवैध मार्गबाट लुट्न सकेको छ । जुन परिवार विदेशमा काम गरी रहेका छन् वा पुराना धनी घरानियाँहरू जोसँग पैसा छ । नेपालमा पनि हुने र नहुनेबीच ठूलो खाडल देखिन्छ । यस सन्दर्भमा चल्र्स डिकेन्सले लेखेको पुस्तक ‘ए टेल अफ टू सिटीज’, कुनै बेला पढेको सम्झन्छु, जसमा रक्सीको ठूलो भाँडो लाँदालाँदै बीच बाटोमा फुटेपछि आमसडकमा हिँडेका मानिसहरूले कागजको सोली बनाएर त्यो चुहिएर बाटोमा बगेको रक्सी पिउँछन् । अनि एउटा मन्त्रीले भाषणमा जनतालाई घास खावो भनेकोमा पछि आन्दोलनकारी जनताले उसलाई मारे झुण्ड्याउँछन् अनि उसको मुखमा घासको बुझो कोची दिन्छन् ।

हाम्रा पुर्खाले घाँटी हेरेर हाड निल्नु भन्ने उखान त्यसै बनाएका होइनन् । छिमेकी मुलुक चीनले विकासको चरम सीमा पार गरी सकेको छ । भारतमा पनि हाल साल ठूलो विकास भएको देखिन्छ । साम्यवादी चीनमा वर्षौं वर्षसम्म महिला पुरुषले एक रंगको पेन्ट र सर्ट लगाउने गर्दथे । भारतमा माहत्मा गान्धीले चर्खाबाट बुनेको खादी कपडाको अभियान चलाएका थिए । यी अभियानहरूको उद्देश्य मुलुकको धन मुलुकभित्रै रहोस् । आमजनताको रोजगारीबाट आयआर्जनमा वृद्धि हुन सकोस् भन्ने हो ।

यसरी कुनै पनि देशमा आमजनताबीच मुलुकको विकास गर्ने भावना र एकता नजागेसम्म विकास हुन सक्दैन । हामीकहाँ न सुनको खानी छ, न कपास र न खाद्यान्न सबै कुरा बाहिरबाट आयात हुने गरेको छ । हाम्रो मुलुक कृषिप्रधान हो, तर आज भोलि देशभित्र उब्जने अन्न पातहरू समेत उब्जाउ गर्न छाडी हामी विदेशबाट हुने आयातमाथि निर्भर हुन थालेका छौँ । 

कुनै समय थियो, जुन समयमा हाम्रा बिहेबारीमा आफ्नो घरको उब्जाउ र घरमै पालेको खसी, बोका, राङ्गा, कुखुरा, तिहुन तरकारीको उपयोग गरी जन्ती बाख्रो खुवाउने चलन थियो । गहनाको उपयोग पनि सासूको गहनाबाटै बुहारी भित्र्याउने त्यही लाने चलन थियो । लुगा फाटो बेहुलीका निम्ति मात्र तीन जोर लगिन्थ्यो । यी सबै हाम्रो हैसियत सुहाउने मितव्ययी व्यवहार हुने गरेका थिए । नेपालमा विवाहमा धेरै खर्च गर्ने चलन उहिले राणा परिवारमा मात्र सीमित थिए । यसरी आजभोलि हामीले अपनाउन सुरु गरेको महँगो महँगो आयातीत संस्कार र सामाजिक व्यवहारले हामीलाई आर्थिक रुपबाट कुन भासमा पुर्‍याउला, यो प्रश्न विचारणीय छ ।



Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
ad
x