विचार

उद्योग र सहर नभएको देश

पूर्णबहादुर परियार |
जेठ १४, २०७९ १८:४० बजे

‘उद्योग र सहर नभएको देश’ शीर्षकले रिस उठ्ला, दुःख लाग्ला तर स्वीकार गर्नैपर्ने हुन्छ । उद्योगको अर्थ व्यापक छ । अहिले शाब्दिक अर्थ र विविध रुपका बारेमा चर्चा गर्नुभन्दा विद्यमान हामीसँग भएका उद्योगले हाम्रो अर्थतन्त्रमा के योगदान गर्न सके/सकेनन् भन्ने चर्चा गराैँ ।  

करिब ७० प्रतिशत माग धान्न सक्ने क्षमता राख्छन् नेपालका सिमेन्ट उद्योगले । मुख्य कच्चा पदार्थ चुनढुङ्गामा आत्मनिर्भर भए पनि क्लिन्कर बनाउने कोइला भने आयातमा नै भर पर्नुपर्ने हुन्छ  । सिमेन्टमा आत्मनिर्भर हुनु गर्व गर्न लायक छ तर आवश्यक उर्जामा हामी आत्मनिर्भर छैनौँ । त्यति मात्र होइन, प्राविधिक विषयमा राम्रो पारिश्रमिक पाउने उद्योग भए पनि विविध कारणले नेपाली नागरिक योग्य हुन सकेका छैनन् ।


सिङ्गो मुलुकमा धेरै प्रतिशत पक्की सडक,पुल पूर्वाधार,जलविद्युत परियोजनाका सम्भावना प्रचुर छन् तर सम्बन्धित निकाय चाहे त्यो उद्योग मन्त्रालय होस् या श्रम तथा रोजगार मन्त्रालय, एक आपसमा समन्वय गर्दै सोहीअनुरुप प्राविधिक पाठ्यक्रम विश्वविद्यालयहरूमा हुनु या बनाइनुपर्दछ ।  रोजगारी उपलब्ध छ तर म्याचिङ योग्यता नहुनु दुःखद हो । सीटीईभीटीलाई व्यावसायिक    विश्वविद्यालय बनाउनु अत्यन्तै जरुरी छ ।

करिब २० वर्ष अगाडि नेपालमा एभरेस्ट र ब्राइटर टुथपेस्ट बन्दथ्यो । थुप्रै ब्रान्डका साबुनहरू बन्थे । तर बहुराष्ट्रिय कम्पनीहरूको प्रवेश सँगै ती उत्पादनहरू बजारबाट हराउँदै गए । विशेष वस्तु उत्पादन गर्ने स्थललाई मात्र उद्योग भन्ने बुझेका छौँ, उद्योग उत्पादनको मात्र हुँदैन, सेवाको पनि हुन्छ । जस्तै : मनोरन्जन उद्योग (गीत,संगीत,चलचित्र),खेलकुद उद्योग ,सत्कार उद्योग, पर्यटन उद्योग, सफ्टवेयर उद्योग आदि इत्यादी । सम्भावित सबै उद्योगलाई हाम्रो बाँदरे प्रवृत्तिले क्षेत्र (सेक्टर)मा सीमित गरेको छ ।  

हाम्रो फिल्मी उद्योग–,फिल्मी क्षेत्र, खेल उद्योग –खेल क्षेत्र,पर्यटन उद्योग–पर्यटन क्षेत्र, बन उद्योग– वन क्षेत्र, उर्जा उद्योग–उर्जा क्षेत्र कृषि उद्योग–कृषि क्षेत्रमा सीमित बनेको छ । बरु उल्टो  भइरहेको छ शिक्षा क्षेत्र–शिक्षा उद्योग, स्वास्थ्य क्षेत्र–स्वास्थ्य उद्योग, यातायात क्षेत्र–यातायात उद्योग, सूचनाक्षेत्र–सूचना उद्योग, राजनैतिक क्षेत्र–राजनैतिक उद्योग,मानव सन्साधन क्षेत्र–मानव संसाधन उद्योग, वित्तीय क्षेत्र–वित्तीय उद्योग, साँस्कृतिक क्षेत्र–साँस्कृतिक उद्योग बन्न पुग्यो । क्षेत्र र उद्योगको पहिचान गरी दुवैलाई समयानुकुल आकार दिन सकेमात्र अर्थोपार्जन र विदेशी मुद्रा मुद्रा सन्चिति गर्न सकिन्छ ।

उत्पादनमा आधारित उद्योगमा नेपालले कच्चा पदार्थसमेत आयात गर्नुपर्दा स्वदेशी मुद्रा नै बाहिर पठाउने पर्ने र लागत बढी हुँदा उत्पादित वस्तुको मूल्य बढी हुँदा हामीलाई आयातित वस्तुको मूल्य सस्तो परेको हो र त्यसको परिणामले हो आयातले प्रश्रय पाएको । चीनमा थोरै लागतमा धेरै र छिटो उत्पादन गर्ने प्रविधि छ,स्वचालित मसिनहरू छन तर हाम्रोमा त्यो छैन, बनाउन सकिन्छ तर त्यो उत्पादन बजारमा खपत हुन सक्दैन । पुनः निर्यात गर्न सकिँदैन । सीमित बजेटबाट दीर्घकालीन फाइदाका उद्योगहरू वर्तमान सरोकार हुनुपर्छ ।

खाद्य सुरक्षा र उर्जा सुरक्षाको लागि कृषि उद्योग : माटो, हावापानीको अध्ययन गरी कृषकलाई सोही विधाअनुरुप तालिम दिईनुपर्छ । कृषकलाई अनुदान होइन, उनीहरूले उत्पादन गर्ने उत्पादनको उचित मूल्य र खरिदको ग्यारेन्टी गरिदिने हो भने कृषि क्षेत्रले कृषि उद्योगको रुप लिन सक्छ । उदाहरण: यतिबेला हजारौँ हेक्टर जमिन बाँझो छ, तुरुन्तै बाली लगाउन मलको अभाव हुन सक्छ ।

 एक घर कम्तिमा ५ भैंसी या गाई पाल्ने नीति ल्याआैँ, दूध र दूधबाट बन्ने खाद्यपदार्थ (दही,घ्यू,पनिर) स्वास्थ्यवर्धक हुन्छ नै खाने तेलको आयातलाई न्यूनीकरण गर्न सकिन्छ । गाई या भैंसीको गोबर बाट बायोग्यास र त्यही बायोग्यासलाई बायो–सिनएनजीमा परिणत गरी खाना पकाउन,सवारी साधन चलाउन र ईमर्जेन्सीमा बिजुली उत्पादन गर्न पनि सकिन्छ । मौसमी र बेमसौमी तरकारी तथा फलफूल उत्पादन गर्दै बढी भएको उत्पादन कोल्ड स्टोरेजमा राख्न सकिन्छ र अभावमा पुनः बिक्री गर्न सकिन्छ ।प्राङ्गरिक मल प्रशस्त उत्पादन गर्न सकेमा अरबी मुलुकहरूले जैविक (अर्गानिक) तरकारी राम्रो मूल्य तिरेर आयात गर्छन् तर उनीहरूले चाहेको निश्चित मापदण्ड अनुरुप भने हुनुपर्छ ।

स्वदेशी पानी, स्वदेशी लगानी : थोरैमा १००० मेगावाट बराबरका केही जलाशययुक्त बिद्युत परीयोजना जनताको लगानीबाट बनाआँै र सुक्खा मौसममा बिद्युत आयात गर्नु पर्ने झन्झटबाट मुलुकलाई मुक्त गराँै । युएईको सहर दुबई तेलको भण्डारले मात्र धनी भएको होइन बरु आफ्नै मुलुकको कच्चातेललाई प्रशोधन गरी सवारी साधनमा अति न्यून भन्सार लगाएर आफ्नै उत्पादन खुद्रा बिक्री गरी रकम कमाउन सफल छ ।

त्यति मात्र होइन दुबई सहरलाई पारगमन केन्द्र( ट्रन्जिट पोइन्ट) बनायो,संसारका व्यापारीहरूले आफ्नो कम्पनीहरू स्थापना गरिदिनाले आज दुबई मध्यपूर्वकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र बन्न पुग्यो । कम्पनी दर्ता गर्ने सम्बन्धमा त्यो मुलुकको नागरिकले प्रायोजन ( स्पोन्सर) गर्नुपर्ने बाध्यकारी नीति बनाइदियो,जुन नियमले गर्दा हरेक जनता कुनै न कुनै कम्पनी या व्यापारिक संस्थाका मालिक छन, त्यो मुलुकमा ।आफ्नो मुलुक बनाउन अहोरात्र खटिनेहरूले मुलुक स्वर्ग बनाए । यहाँ पनि सम्भव छ तर उर्जा भू–राजनितिक विषय भएकोले नीति निर्माताहरू जनतासँग सदैव गाँसिएर काम गर्नु उचित हुन्छ । किनकि जनता नै सेना हो ।

सेवा उद्योग : नेपाली युवाहरू इमान्दार र मेहेनेती छन् । साथै निडर र लडाकु स्वभावका छन् । खाडी र मलेसियामा सस्तो पारिश्रमिकमा काम गर्न वाध्य छन् । पछील्लो दिनमा विभिन्न मुलुकहरूले नेपाली सेना लिने चाहना गरेको पनि पाइन्छ । हाम्रा कृषि र उर्जाका पुर्वाधार नबनेसम्म हाम्रा युवाहरूलाई  माग अनुरुप तालिम दिलाएर योग्य बनाएर आकर्षक तलब पाउने पदमा मात्र  पठाउने गृहकार्य गर्नुपर्छ । पछिल्लो दिनमा फ्रान्सले धेरै नेपाली युवाहरूलाई रोजगारी दिएको सुन्न÷ देख्न पाइन्छ।

पर्यटन उद्योग : पर्यटनको आधार सरसफाई,सर्वसुलभ शौचालय,यातायात, मायालु सत्कार,सेवामा एकरुपता र इमान्दारी  हो । इमान्दारीविना कुनै क्षेत्र पनि उद्योगमा विकास हुन सक्दैन् । ब्राजिल कृषि पर्यटन र जल पर्यटनले विश्वविख्यात छ,नेपाल हुन किन सकेन ? समीक्षा गर्नुपर्ने बेला आएको छ । नेपाल जस्तो जल,जमिन,जलश्रोत,जडीबुटी भएको मुलुकले पर्यटन आकर्षित गर्न नसक्नुका कारण धेरै छन् अब ढिलो गर्नु हुँदैन । हाम्रो पर्यटन क्षेत्र ध्वस्त भैसकेको छ, डलर संचितिमा संकुचन आउनुको कारण यो पनि हो ।

देखासिकीमा धेरै समय खेर फालिसकेका छौँ । अब सबैको चेत खुल्नुपर्छ । ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ वटा नगरपालिका रहेको हाम्रो देशमा सहरको उदाहरण दिन मिल्ने कुनै ठाउँ पनि देखिदैन् । सफा,चिल्ला २४सै घण्टा उज्यालो, धूलो र हिलोरहित र सुरक्षित सडक, हरेक गल्ली र चोकहरूमा सिसीटिभी क्यामेरा, शुद्द खानेपानी, अनवरत विद्युत, व्यवस्थित यातायात, कडा सुरक्षा,स्तरीय स्वास्थ्य र स्तरीय शिक्षा, रङ्गशाला, मोनोरेल,मेट्रोरेल, ट्रलिबसहरू ,सुलभ र सुरक्षित ट्याक्सी, हरियाली र बगैचायुक्त खुल्लापार्क, कृतिम तथा प्राकृतिक सफा नदी र तालतलैयाहरू नदी र नदीकिनारमा सुगन्धित फुलहरू, सडकबत्तीहरू, व्यवस्थित नाला,ढल,शौचालय, ओभरहेड र अन्डरग्राउन्ड क्रसिङ्ग, सफा रेष्टुरेन्ट, बजेट तथा तारे होटलहरू, शपिङ्ग मलहरू, ग्यास स्टेशनहरू,बित्तिय संस्थाहरू र २४ सै घण्टा खुलारहने नगद राख्न र झिक्न मिल्ने एटीएमहरू, भेन्डिङ्ग मसिनहरू ,दमकल बिभाग,प्रहरी स्टेशनहरू,रेडियो तथा टिभी स्तेशनहरू,पुस्तकालय,हुलाक कार्यालयहरू, सङ्राहलय तथा चिडियाखानाहरू,एअरपोर्ट तथा सटलबसहरू, स–साना लज तथा मोटेलहरू,कपडा धुने तथा स्त्री गरिदिने पसलहरू, सम्मेलन गर्ने भवनहरू, घोडादौडका लागि क्लब, विविध खेलका लागि स्टेडियमहरू मन्दिर,मस्जित,चैत्य,गुम्बा जस्ता कैयौ पुर्वाधार जरुरी  छन्।

यी पूर्वाधारहरू सपना होइनन। दैनिक ८ घण्टाको सट्टा १६ घण्टा खटिनुपर्ने अवस्थामा हप्ताको ५ दिन मात्र काम गर्ने सरकार द्वारा निर्णय गरिएको छ,यो सुखद लक्षण होइन। जनप्रतिनिधि र सरकारी जागिरेको तलब आउछ सर्वसाधारणले कसरी गुजारा गर्ने? हालसालै स्थानिय निकायको निर्वाचन सम्पन्न भएको छ। हाम्रा उर्जाशील जनप्रतिनिधिहरूले क्षेत्र र उद्योगको पहिचान गरी जरैबाट आर्थिक संकट उन्मुलन गर्ने गरी निती तथा कार्यक्रम तर्जुमा गर्दै उन्नतीको बाटोमा लम्किनुहुनेछ भन्ने दृढ विश्वास छ।आ–आफ्नो पालिका सुखी र समृद्ध बनाऔ, मुलुक बनाउने जिम्मा हामी सबैको हो ।



Author

थप समाचार
ad
x