विचार

‘बालेन' : विद्रोहको विम्ब

राजाराम बर्तौला |
जेठ १३, २०७९ ६:५५ बजे

स्थानीय तहको चुनावको चहलपहल सुरु हुँदै थियो भाइको छोरी उपचार गर्न भनेर टुप्लुक्क आइपुगी । ऊ यसपालि पहिलो पटक आफ्नो बालिग मताधिकार प्रयोग गर्न पाउने भएकी हुँदा निर्वाचनप्रति निकै आशावादी देखिन्थी । उता उसको पिताजी हेटौँडामा काँग्रेसको भनूँ वा पाँच दलीय गठबन्धनको प्रचारबाजीमा लागेको बेला छोरी यता उपचारमा आउन परेपछि एक भोट घट्ने हो कि भन्‍ने चिन्तामा थियो । 

उम्मेदवारहरूको प्रचारप्रसारको गानाबजाना घन्कँदै थियो, घर छेउमा । छोरीले सोधी, ‘ठूलोबुवा, बालेनले जित्छ कि जित्दैन ?’ ‘यसै भन्‍न सकिन्‍न निर्वाचन हो । तर बालेन स्वतन्त्र उम्मेदवार भएको हुँदा जितेर पनि कार्यशैली र पद्धतिमा तात्विक परिवर्तन आउन सक्दैन छोरी । कुनै पनि वस्तुनिष्ठ निर्णयका लागि बहुमत आवश्यक पर्ने र स्वतन्त्र उम्मेदवारसँग बहुमत नहुने भएकाले निर्णय पक्रियामा नै अल्झन पर्दा चाहेको काम र प्रतिफल दिन सक्ने अवस्था रहँदैन ।’ 


छोरी मेरो जवाफवाट सन्तुष्ट भएको प्रतीत भएन । मलाई लाग्यो, युवा वर्गमा बालेनको क्रेज छ, आकर्षण छ । यो आजभन्दा तीन हप्ता अगाडिको कुरो । स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा र उम्मेदवारहरूले प्रचारको रफ्तार बढाउँदै जाँदा विभिन्‍न अड्कलबाजीहरू गर्न थालिसकेका थिए । कुनै उम्मेदवारको अनियन्त्रित बोली, विगतका नारीद्वेषी व्यवहार कोणसभाहरूमा लक्षित हुँदा निर्वाचनको नतिजामा पर्न सक्ने सम्भावित असरसहितको परिणाम आँकलन गर्न थालिएको थियो । यी र यस्तै कारणहरूलाई समेत विचार गर्दा दुई महिलाहरूको विजय हुने सम्भावना कम्तीमा पनि प्रचारको अवस्थामा प्रबल जस्तो देखिएको थियो । 

जसरी भावना र सम्भावना फरक हुन्छ, त्यसैगरी कल्पना र यथार्थ पनि फरक हुन्छ । जतिजति मतगणनाको अंक बढ्दै जान्छ, त्यतित्यति आशातित र स्थापित राजनीतिक दलहरूले विश्वास गरेका र महाबली भनिएका उम्मेदवारहरू दर किनारा लाग्दै गएका र युवावयका मतदाताका प्रिय उम्मेदवार बालेन शाहको स्थिति बलियो बन्दै गएर विजयतर्फको यात्रा सुनिश्चित हुँदै गएको प्रतीत हुँदै छ । यो अक्षरहरू मिडियामा आउँदासम्म बालेन विजय यात्रामा निस्किसकेको अवस्था हुन सक्दछ । 

स्थापित दलका महारथीहरू चुनावी प्रतिस्पर्धामा रहेकामा एउटा सामान्य उदयीमान गायक, भरखरको इन्जिनियर महानगरको भिडमा आफ्नो अस्तित्वका लागि संघर्ष गर्दै हिँडेको तराईको अपरिचित युवा स्वतन्त्र उम्मेदवारका रूपमा एकाएक चर्चित हुनु एउटा संयोग मात्र नभएर आम मतदाताहरूको बीचमा आफूलाई स्थापित गर्न सक्नु चानचुने कुरा होइन । मतगणनाको प्रारम्भिक चरणमा सहरको बाहिरी भागबाट निजलाई केही मत उत्साहजनक रूपमा प्राप्त भए पनि सहरको भित्री क्षेत्रमा प्रवेश गरेपछि पारम्परिक मतदाताहरूको मत स्थापित दलका दुई प्रतिस्पर्धीहरूमा बाँडिने र कुनै एउटाले सहज जीतवरण गर्ने अनुमान गरिएको थियो यही विचार प्रकट रूपमा प्रतिस्पर्धी उम्मेदवारहरूबाट पनि आएको थियो । 

एकजना स्थापित उम्मेदवारले त क्षेत्रीयताको विषय उठाउँदै निम्न स्तरी कमेन्ट समेत गर्न भ्याएका थिए । जातीयताको समेत मानमर्दन गर्ने गरी तराईको तेली साह हो या उपत्यकाको ठकुरी शाह भनेर समेत होच्याउने काम भएको थियो । निर्वाचनको प्रचार जतिजति बढ्दै गयो र प्रतिस्पर्धी उम्मेदवारबाट अनियन्त्रित र उत्तेजनायुक्त स्वरहरू सुनिँदै जाँदा भित्रभित्रै सबै उमेर समूहमा यी युवा उम्मेदवारको क्रेज र प्रियतामा उभार आउँदै गएको रहेछ । ‘नपत्याउने खोलाले बगाउँछ’ भन्छन् नि, हो त्यस्तै भएको हो । प्रतिस्पर्धीलाई सानो देख्नु र आत्ममुग्धतामा रम्नुको मूल्य चुकाउनु त छ नै आखिर । 

काठमाडौँको यो निर्वाचनमा मतदाताहरूले देखाएको व्यवहार र मतदानको प्रकृतिलाई सूक्ष्मरूपमा केलाउने हो भने यसले केही न केही सांकेतिक अर्थ राखेको देखिन्छ । हुन त पहिला पहिला पनि स्वतन्त्र उम्मेदवार नउठेका होइनन् र अहिले मात्र देखिएको यो बिरलाकोटि दृश्य पनि होइन । यद्यपि, यसले सांकेतिक अर्थ राख्छ भन्‍ने भनाइमा केही अन्तर्निहित कारण रहेका छन् र त्यसको अन्तर्यमा मूलभूत चरित्र र पात्रहरू कारकका रूपमा देखा पर्दछन् । 

प्रथमतः, युवा मतदाताहरू स्थापित राजनीतिक दलहरू र तिनीहरूका कामबाट सन्तुष्ट छैनन् र परिवर्तनको चाहना राख्छन् । राजनीतिक परिवर्तनपश्चात्को निर्वाचित जनप्रतिनिधिहरूको सरकारले एउटा पूर्ण कार्यकाल सम्पन्‍न गरिसकेको अवस्था छ । पूर्णकार्यकाल सम्पन्‍न गरेका जनप्रतिनिधिहरूको मतदाताहरूले कार्यसम्पादन मूल्यांकन त गर्ने नै भए । सार्वभौम भनिएका जनताले प्रयोग गर्ने अधिकार भनेकै यही निर्वाचन र मतदान त हो । यस अवसरलाई मतदाताले सदुपयोग गर्न सकेको अवस्थामा असल सरकारको निर्माण भई असल शासन प्रत्याभूत हुने त हो । 

यी बितेका पाँच वर्षमा मुलुकले अपेक्षा गरेको जस्तो कुनै नयाँ गतिशीलता, आशा लाग्दा र उदाहरणीय काम गरेर जनतालाई प्रभावित पार्न सकेको देखिएन । बरु उल्टै राजनीतिक फोहोरी दाउपेच, र तिकडम रचेर सत्तामा टाँसिन अभ्यस्त रहनमा नै स्थापित दलहरू रमाएको देखियो । राजनीतिक संरक्षणवादलाई प्रश्रय दिने तथा प्रवद्र्धन गर्ने काममा झनै बढोत्तरी भयो । शासकीय दम्भ र अहंकारले काठमाडाँैको सडकको पेटीमा थुप्रिएको फोहरको डंगुर गन्हाएको जस्तो ह्वास्सै गन्हायो । शासकीय प्रबन्धमा पारदर्शिता त कता हो कता भ्रष्टाचारको जालो झनै मौलाएको र संरक्षण पाएको जनताको नजरबाट छिपेकोे थिएन र छैन । यी र यस्तै कारणहरूले गर्दा आम मतदाता राजनीतिक व्यवस्था र शासकीय पद्धतिवाट नै वाक्क र दिक्क भएको देखिन्छ । अझै बढी ऊर्जाशील युवा मतदाता जो स्वभावले विद्रोही हुन्छ । विद्रोहले परिवर्तन खोज्दछ । हो त्यही परिवर्तनको चाहनाको प्रतिविम्ब हो, बालेन शाह । 

मुलुकले आशातित प्रगति गर्ला र मानिसहरूको जीवनस्तरमा सुधार आउला भन्‍ने कल्पना कोरा कल्पनामा नै सीमित रह्यो । शिक्षित बेरोजगार, अर्धबेरोजगार र पूर्णबेरोजगार कसैले पनि यो माटोमा भविष्य नदेखेपछि विदेशिन बाध्य भएका छन्, कोही अध्ययनको नाममा त कोही वैदेशिक रोजगारीको नाममा । मुलुकभित्र सहज परिस्थितिको सिर्जना होला भन्‍ने अपेक्षा अपूर्ण मात्र होईन कि कतै झिनो आशा राख्ने ठाउँसम्म नदेखेपछि विरक्तिएर मुलुक छोड्न विवश भएका छन् युवाहरू । 

एकातिर राजनीतिक क्षयीकरण अर्कोतर्फ युवाहरूमा सिर्जित नैराश्यको परिणति यो यो निर्वाचनमा देखिएको परिणाम । स्थापित शासकीय व्यवस्था र पद्धतिमाथिको वितृष्णा र स्वाभाविक विद्रोह । अहिलेका नौजवान युवाहरूलाई देशको राजनीतिक अवस्थाको विषयमा प्रश्न गर्‍यो भने विद्रोहको आगो ओकल्छन् । यी लक्का जवानहरू न त स्थापित मूल्य मान्यतासँग तादात्म्य राख्न रुचाउँछन् न त दल विशेषले बोकेका राजनीतिक सिद्धान्त, मान्यता र व्यवहार । यिनीहरू सबैभन्दा बढी त दलका नेताहरूसँग रुष्ट देखिन्छन् । यिनै विकृति र विग्रहप्रतिको सांकेतिक विद्रोह हो यो निर्वाचनमा देखिएको मतदाताहरूको प्रवृत्ति र पुरस्कार । 

बालेन शाहलाई मत दिन विदेशमा बसेका नेपालीहरूले आफ्ना मातापितालाई फोन गरेर अनुरोध गरेका रहेछन् भन्‍ने कुरा बाहिर आएको छ र प्रौढ मतदाताहरू समेतको मत उनीलाई गएको प्रमाणित हुँदै गएको देखिन्छ । यसले के देखाउँछ भने, युवा मतदाताहरू परिवर्तनको पक्षमा छन् र त्यस्तो परिवर्तन जसले शासकीय काम कारबाही पारदर्शी होस्, भ्रष्टाचारको अन्त्य होस् र आर्थिक सामाजिक विकासले गति लेओस् । त्यस्तो परिवर्तन जसमा आफूले गर्व गर्न सकियोस् ।

अर्को दोस्रो महत्वपूर्ण पक्ष भनेको संसारभरिकै मुलुकहरूको राजधानीका मतदाताहरू भनेको स्थापित मान्यताविरुद्ध जाने पारम्परिक रुढिवादी स्वभावका हुन्छन् र जहिले पनि असन्तुष्ट रहने र स्थापना पक्षविरुद्ध जाने हुन्छन् । जहिले पनि स्थापनाभन्दा फरक प्रकृतिको पक्षपोषण गर्न रुचाउने र सीमित स्वार्थको घेरामा रमाउने हुन्छ । यसको उदाहरणको लागि छिमेकी दिल्लीको उदाहरण नै पर्याप्त हुन्छ यस कुरालाई पुष्टि गर्न । संसारका अन्य राजधानीहरूको अवस्था पनि यही प्रकृतिभन्दा भिन्‍न छैन । यस्तो हुनुमा प्रकटरूपमा एकदुई कारणहरू जिम्मेवार रहेका देखिन्छन् । पहिलो, राजधानीमा जहिले पनि परोक्ष वा प्रत्यक्ष रूपमा आदिवासी र आप्रवासीबीचको द्वन्द्व चलिरहेको हुन्छ ।

आप्रवासी छिटो परिवर्तन चाहने र चलायमान पवृत्तिको हुन्छ भने आदिवासी सांस्कृतिक धरोहरको संरक्षण, प्रवद्र्धन र विकासलाई प्राथमितामा राख्दै पम्परागत मूल्य र मान्यताको पृष्ठपोषण गर्न रुचाउँछ । यी दुई समूहबीच जहिले पनि अन्तरसंघर्ष एवं अन्तरघुलन प्रक्रिया सघनरूपमा क्रियाशील रहन्छ । बाहिरबाट आएर सहरमा स्थायी रूपमा जमेकाहरूको राजकीय स्रोत र साधनहरूमा सहज पहुँच र लाभ लिने हुँदा बाहिर र भित्रको एउटा विरोधाभास रहिरहेको हुन्छ र त्यो मतदानमा प्रतिविम्बित भएको देखिन्छ । 

दोस्रो, राजधानीमा बौद्धिक, विज्ञ, व्यापारी, राजनेता, प्रशासक, उद्योपति लगायत उच्च घरानाहरू र व्यक्तित्वहरूको बसोवास हुने भएकाले यस किसिमको वर्गको चरित्र आत्मकेन्द्रित हुने र स्वार्थ प्रेरित र लाभको आकांक्षी धेरै हुने भएकोले शासकीय व्यवस्थाभन्दा पनि शासकीय लाभबाट प्रभावित रहन्छ । शासकीय निर्णयहरू यस किसिमका वर्गहरूको स्वार्थ अनुकूल नहुनेबित्तिकै विपक्षमा तर्क, कुतर्क, विचार र विद्वता सबै बाहिर आउन थाल्छ जसले समाजलाई तरंगित गराउन मद्दत गर्दछ । बौद्धिक भनिने वर्गबाट विद्रोहमा निक्लने आवाजहरूले समाजको सबै तप्का र समूहमा असर गर्दछ । अहिलेको मतदानमा पनि यस किसिमको प्रभाव परेको अनुमान गरिएको छ, किनभने बालेन शाहको प्रचारमा केही बौद्धिक समूह रणनीतिक रूपमा परिचालन भएको अनुमान छ । 

तेस्रो र मूलभूत रूपमा सरकारी संयन्त्र राजधानीको विकासमा भन्दा ग्रामीण विकासमा केन्द्रित हुने हुँदा सहरीया मतदाता जहिले पनि संस्थापन पक्षसँग रुष्ट रहेका हुन्छन् । अहिले काठमाडाँैको फोहोरमैला व्यवस्थापन हुन सकिरहेको छैन र फोहोरको डंगुर जताततै अव्यवस्थित रूपमा सडकमा थुपारिएको छ र दुर्गन्धित काठमाडौँले जनस्वास्थ्यको समेत विचार गर्न सकेको छैन । यस्तो अवस्थामा ठूला दलका प्रतिनिधिहरूले अहिले प्राप्त गरेको मत पनि धेरै देखिन्छ । यो असन्तुष्टि, यो अव्यवस्था, यो लाचारीको विद्रोह हो बालेन शाह । 

यही र यस्तै कारणहरूले गर्दा काठमाडौँ जहिले पनि विद्रोह बोल्छ । स्वतन्त्र उम्मेदवार त हिजोका निर्वाचनहरूमा पनि थिए र आज पनि छन् । काठमाडौँले नानीमैयाँ दाहाल र गोल्चे सार्कीलाई पनि विजय गराएकै हुन् । गत निर्वचनमा पनि विवेकशील र साझा पार्टिकका उम्मेदवारहरूले युवाहरूको मत आकर्षण गरेकै हुन् । तर अहिले देखिएको निर्वाचनको मत परिणामलाई हेर्दा यसले परिवर्तनका लागि सांकेतिक अर्थ राखेको प्रस्ट देखिने आधार रहेका छन् । 

र अन्तमा, यो निर्वाचनको अर्को महत्वपूर्ण पक्ष भनेको काठमाडौँका मतदाताहरूले क्षेत्रीय संकीर्णताभन्दा माथि उठेर मतदान गरेको विषय उल्लेखनीय रह्यो । काठमाडौँले हामीलाई न्याय गर्दैन भन्‍ने तराईवासीहरूको गुनासोलाई आफ्नो मत नै प्रकट गरेर राष्ट्रियताको सवालमा एक भएको उदाहरण प्रस्तुत गरेका छन् । यसको व्यावहारिक पक्ष आगामी दिनहरूमा अझै सबल हुँदै जानेछ भन्‍ने अपेक्षा गरौँ ।



Author

थप समाचार
ad
x