विचार

संस्मरण र अनुभूति : १६

समानान्तर यात्रा- सिमेन्ट ढलान र फ्युजन प्रविधिको

वसन्त लोहनी |
जेठ ७, २०७९ ७:५४ बजे

करिब दस फिटको क्यान्टिलिभर अर्थात् छज्जा टक्रक्क पूर्वतिर तलबाट लट्ठा वा कुनै टेको नभई हावामा फैलिएको देखेर हेर्ने मान्छेहरूको लर्कन नै भयो सरस्वती सदन अगाडि। रमिता लागेको जस्तो भयो। हेर्नेहरू जिल्ल परेर हेरिहेरेका हुन्थे र आफैसँग र एक अर्कासँग सोध्थे - होइन, कसरी अडेको छ यो। के जादु हो? प्रश्न सोध्नेहरूको भीड बढ्दै गएको छ। तर उत्तर दिने कोही छैनन् । टक्रक्क अडेको त्यो क्यान्टिलिभर एउटा रहस्य बनेको छ। वेदप्रसादले नै उत्तर दिए पनि आम जनमानसको यो बुझ्ने अवस्था थिएन।

नबुझेरै अभ्यस्त हुँदै गइरहेका थिए यो दृश्यसँग। जुद्ध शमशेर आफैँ हेर्न आएका थिए हत्तीमा चढेर। पहिले पहिले हेर्न आएको बेलामा जसरी सोध्थे - होइन, ए बाहुन ! डन्डी डन्डी सबैतिर, यो के हो? यस पटक खाली चुपचाप हेरिरहे मात्र। एकछिन पछि केही नसोधेर गए।


त्रिचन्द्र कलेज अगाडिको त्यो बाटो अझ अगाडिदेखिको मूल बाटो। मान्छे बढ्दै गएपछि यसै पनि हिँड्नेहरू रोकिने भए, के हँ भनेर। त्यति बेलाको नेपालमा सबै हिँड्नेहरू नै हुन्थे। हो, शासकका परिवार, गुरुपुरोहित जो घोडा, बग्गी या बोकाएर काठमाडौँ ल्याएको मोटर गाडी चढेका हुन्थे। यस्तै केही आइमाई तानदाम या डोलीमा। त्यो बाटो हुने ती पनि त्यहाँ आइपुगेपछि रोकिएर हेर्थे। टक्रक्क अडेको त्यो क्यान्टिलिभरमा आँखा पर्ने बित्तिकै झन् टोलाएर हेरेको हेर्यै हुन्थे। न तन्त्र, न सर्कस, न जादु थियो यो सिवाय सिभिल इन्जिनियरिङको आँटिलो प्रयोग जुन वेदप्रसादले पहिलो पटक गरेका थिए नेपालमा।

सञ्चारका साधन नहुँदैमा संवादको प्रवाह रोकिँदैन। कल्पना गरेकोभन्दा चाँडो मुख मुखबाट फैलिन्छ। एउटा मान्छेले गाउँमा पुगेर केही भन्यो भने त्यो हावा सरह फैलिसकेको हुन्छ सबैतिर। हाम्रो नेपालीमा उखान नै छ - 'एक कान, दुई कान मैदान' भनेर। ‘हावामा अडेको’ भनेर यो रमिताको खबर तीन सहर काठमाडौँ फैलिन कुनै समय लागेन। सरस्वती सदनको क्यान्टिलिभरको फर्मा खोलेको दिन मानिसहरूको आउने जाने घुइँचो पुरै दिन भरी नै रह्यो। एक राते मेलामा जाने मान्छेहरूको जस्तो। 

यो हल्लाखल्लाबीच वेदप्रसाद सधैँझैँ सरस्वती सदनको निर्माण कार्यमा जुटिनै रहेका थिए - एउटा कर्मयोगी सरह। खस्छ, खस्छ भन्नेहरू अब जुद्ध शमशेरलाई कुरा लगाउन नसक्ने अवस्थामा पुगेका थिए। उनी उल्टो भन्थे चाकडियाहरूलाई - देख्यौ, त्यो लिखुरे बाहुनले गरेर देखायो त! खै तिमीहरू भनेर कर्णेल भएका दिल्ली जंग र सूर्यजंग थापाहरुलाई पनि ख्याँसे।  राजाको आशय बमोजिम ‘सरकार’ भन्दै हात जोडेर धनुष्टङ्कार बन्न अभ्यस्त तिनीहरूको अरू उपाय केही लाग्ने अवस्था पनि थिएन क्यान्टिलिभरको फर्मा खोली सकिएपछि।

सरस्वती सदन बन्दै गइरहेको थियो। वेदप्रसादको आत्मविश्वास झन् बुलन्द थियो चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्नेमा । र, वेदप्रसादले मलाई बताएअनुसार एक वर्ष भित्र यो सम्पन्न भएको थियो। जे उपलब्ध थियो त्योसँग आफ्नै तरिकाबाट जोगाड मिलाएर जसरी यत्रो निर्माण यो अवधिभित्रमा भयो त्यो निश्चित रूपमा चाँडो भएको मानिएको छ।

जुद्ध शमशेरले कामको मूल्याङ्कन राम्रो गरेका थिए। त्यसैले वेदप्रसादले आशा गरेका थिए अब उनको व्यावसायिक कदर हुन्छ भनेर। र, हुन्थ्यो पनि होला। आखिर मूल्याङ्कन र कदर गर्ने त शासकले नै हो। तर यसैबीच अप्रत्याशित घटना घट्यो सबै जिल्ल पर्ने गरी। यो अप्रत्याशित घटनाको कारक तत्त्व खोज्न धेरै परसम्म चाहिँ नजाऊ अहिले। यति मात्रै भनौँ कि राणा शासनको पतनको बिउ आफ्नो छोरालाई अगाडि राख्न दाजुभाइका छोरालाई तल पार्ने खेलबाट नै सुरु भएको हो। यो खेलमा चन्द्र शमशेरले राणाका सन्तानलाई ए, बि र सी क्लासमा विभाजन गरे। जुद्धले सी क्लासलाई डाँडा कटाउने भए। यसै क्रममा आफूपछि श्री ३ हुने वीर शमशेरको छोरा रुद्रलाई सन् १९३४ मा डाँडा कटाइदिए पाल्पामा। यो उनले राजनीतिक तुलो मिलाउन गरेका थिए।

मुलुकभित्र र बाहिरको राजनीतिक तुलोलाई राम्ररी हेरिरहेका थिए जुद्ध शमशेरले। जति स्त्री लम्पट थिए त्यति नै राजनीतिको तुलो या सन्तुलन हेर्न पोख्त थिए। चन्द्र शमशेरका पहिलो रानी लोकभक्त लक्ष्मी देवी बाट जन्मिएका पाँच छोराहरू - मोहन, बबर, केशर, सिंह र कृष्ण शमशेरहरू। यिनलाई पचभैया भनिन्थ्यो। यो पचभैया प्रशस्त सम्पत्ति भएका, मूलतः नेपाली ज्यान पहिलो विश्व युद्धमा ब्रिटिसलाई बेचेर नेपाललाई आएको अकूत धनराशि चन्द्र शमशेरले आफैले हत्याएर यिनीहरूलाई बाँडिदिएको कारणले। र, पढेलेखेका र शक्तिशाली त्यत्तिकै बनेको थियो यो पचभैया। यो पचभैयासँग राजनीतिक तुलो मिलाउन गरिएको रुद्र शमशेरको निष्कासनबाट राणा शासनको अन्त्यको सुरुवात भइसकेको थियो, राणाहरूभित्रै बाट।

यसको तीन वर्षपछि टङ्कप्रसाद आचार्यको प्रजा परिषद्को जन्म भयो, नेपालको पहिलो सङ्गठित राजनीतिक पार्टी बनेर। र, त्यसको पनि चार वर्षपछि राणा विरोधी सङ्घर्षमा होमिएका मध्ये चारको हत्या गरियो, जो सहीद भए। र, हामी सहीद दिवस मनाउदै आएका छौँ। लगत्तै यसमा मिसियो दोस्रो विश्व युद्धको अन्त्य सन् १९४५ मा। लडाइँ जितेर पनि ‘हारेको’ ब्रिटेनले भारतलाई स्वतन्त्रता दिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो। यो अवस्थामा राणा शासकले ब्रिटिसबाट पाएको संरक्षण प्राप्त नहुने कुरो जुद्ध शमशेरले बुझेका थिए।

सन् १८१६ बाट गुमेको नेपालको भूभागमध्ये केही भाग फिर्ता गर्ने मनसुवा प्रकट गर्न ब्रिटिस इन्डियाका कमान्डर इन चिफ काठमाडौँ आएका थिए। पछि सर गिरिजा शङ्कर वाजपेयी, जो उपनिवेशवादी परराष्ट्र नीति कार्यान्वयन गर्न सक्ने काबिल भारतीय थिए, ब्रिटिसको लागि, उनी पनि आएका थिए ।

जुद्धको लागि मुलुकको बृहत्तर स्वार्थभन्दा आफ्नो शासनको निरन्तरता बढी महत्त्वपूर्ण थियो। त्यसैले त्यो स्वीकार गरेनन् उनले। उनी राजनीतिक तुलो मिलाउनमा मात्र केन्द्रित थिए। तर यो दृश्य शृङ्खलामा अकस्मात् देखा परे जोसमनी सम्प्रदायका रेसुङ्गा महाप्रभु, जसको बारेमा हामीले अगाडि नै छलफल गरिसकेका छौ। उनले परामर्श दिए जुद्ध शमशेरलाई। ७० वर्ष पुगिसकेका जुद्ध शमशेरलाई एक वर्ष भित्र मर्ने हुँदा पाप मोचनगर्न राजपाट त्याग गर्ने रेसुङ्गा महाप्रभुको परामर्श थियो। जुद्ध शमशेर अति नै मान्थे महाप्रभुलाई। 

जे पनि गर्न नडराउने जुद्ध शमशेर यस पटक बदलिँदो परिस्थिति र मूलतः पापबाट डराए। जुद्ध शमशेरलाई यस्तो अवस्थामा पुर्‍याउन पचभैयाले रेसुङ्गा महाप्रभुलाई प्रयोग गरेको भनेर लेखिएको पनि छ। तर यसको पुष्टि भएको देखिँदैन। अप्रत्याशित रूपबाट यसै वर्ष सन् १९४५को अन्त्यतिर राजपाट त्यागे उनले राज महर्षि बनेर। र, रिडीसँगैको अर्गेलीमा बस्न गए, पद्म शमशेरलाई आफ्नै हातले सत्ताको श्रीपेच लगाइदिएर। यो अप्रत्याशित घटनाले गर्दा वेदप्रसादको कामको मूल्याङ्कन जुद्ध शमशेरले गरेको भएता पनि व्यावसायिक कदर भने भएन। यसबारे वेदप्रसादले मलाई भन्थे - केही कदर हुने बेलामा राजाले नै छोडेर गए। 

कदर त पाएनन् नै। त्यत्रो ऐतिहासिक काम गर्दा पनि वेदप्रसादले। बोलीको जससम्म पनि पाएनन्। यसको कारण थियो वैमनष्यता। राणाहरूबीच बाहिर जे देखिन्थ्यो भित्र त्यस्तो हुँदैनथ्यो। एक आपसमा खतरनाक वैमनष्यता हुन्थ्यो। वास्तवमा उनीहरूको इतिहास नै एकले अर्कोलाई सिद्ध्याएर बनेको इतिहास हो। त्यसैले राणाकालीन शासन भनेकै यसैको निरन्तरता थियो। राजा र हजुरहरूबीचको एक आपसी शङ्का। यसको सिकारमा वेदप्रसाद परे। सुरुवात भयो खोचे थाप्ने कामबाट।

सरस्वती सदनको निर्माण हुँदा मृगेन्द्र शमशेर, जसलाई अमिर हजुर भन्थे, उनी भर्खर हटेका थिए डाइरक्टरेट अफ पब्लिक इन्सट्रक्सनको डाइरेक्टर जनरलबाट। त्यो ठाउँमा आएका थिए शारदा शमशेर, जसलाई हरि हजुर भन्थे। अहिलेका पशुपति शमशेरका जेठो बाबु। सरस्वती सदन सकिँदा फेरि मृगेन्द्र शमशेर नै आइपुगे त्यो ठाउँमा। जिम्मा दिएको काम इमानदारीपूर्वक तालुकदारको आदेश निर्देशनमा निर्दिष्ट गरिएको प्रणालीभित्र बसेर काम गर्ने नै राष्ट्र सेवक हो। उ केवल राष्ट्रको हुन्छ। तर यो कुरो शासकको कल्पना भन्दा बाहिरको कुरो थियो त्यति बेला। वास्तविक अर्थमा न अहिले नै छ लोकतन्त्रमा । सानो विषयान्तर होला तर सन्दर्भ आएको हुँदा हेरौँ न केही हरफहरूमा अहिलेको यो दृश्य पनि।

शक्ति पृथकीकरणको व्याख्या, नियन्त्रण र सन्तुलन प्रणालीको अपरिहार्यता र कर्मचारी भनेको कुनै पार्टीको हुँदैन, सुद्ध राष्ट्र सेवक हो भन्ने भाषण सुनाएर अहिले गरिने बेइमानी हिजोको राणाकलाको भन्दा खतरनाक छ यस अर्थमा। हिजो त हाकाहाकी थियो हुकुमबाट शासन चलेको बेला। आज त जनतासँग गरिएको कबुलियतनामा अनुसार संविधान र विधिबाट चल्नुपर्ने बेला। तर झारीखन्डेहरूको स्वार्थ प्रदत्त सनकले गर्दा झन् विकृति तैनाथ छ । अदालतमा त हाकाहाकी पार्टीको, होइन, पार्टी नेताको वफादार सेवक नियुक्तगर्ने चलन नै बनिसकेको छ । राजदूत पद नै मजाक सरह बनाइसकेको अवस्था छ। राजदूत नियुक्तिको सिफारिस गरिएका व्यक्ति फलानो राष्ट्रलाई सदस्य बनाउँछु भनेर अन्टसन्ट वक्तै हिँड्छन्। बोलेको कुराको न सुझ छ, न बुझ नै। 

त्यति बेलाको परिवेशमा वेदप्रसादलाई मृगेन्द्र शमशेरले शारदा शमशेरको मान्छे आफैँले ठानेर बनाए। वेदप्रसादले दिलोज्यान लगाएर राज्यले दिएको जिम्मेदारी पूरा गरेका थिए। राज्यको दिएको जिम्मेदारी भनेकै जुद्ध शमशेरको दिएको हुकुम थियो, सिमन्टीको भवन बनाउनु भनेर। त्रिचन्द्र कलेजको भवन मै रहेको थियो उनको तालुकदार अड्डा - डाइरक्टरेट अफ पब्लिक इन्सट्रक्सन। यसको निर्देशन र खटनपटन र रेखदेख अन्तर्गत उनले काम गर्नुपर्ने थियो। सो अनुसार गरे। त्यो कार्यालय भर्खर बनेको सरस्वती सदनमा सर्‍यो।

मृगेन्द्र शमशेरले खोचे थाप्न सुर गरे। कहिले बोलाएर कोठाको रङ्ग मिलेन भन्ने त कहिले साइज मिलेन। कोठामा यसो भएन, उसो भएन। तर सब स्वीकृत भए बमोजिम गरिएको थियो। हुकुम लिएर बसेकाको अगाडि उनले सुन्ने बाहेक जबाफ समेत फर्काउन नमिल्ने अवस्था थियो। यत्रो काम गरे वेदप्रसादले तर यसको लागि न कुनै कदर, न पुरस्कार। धन्यवाद सम्म पनि भन्न सकेनन् मृगेन्द्र शमशेरले। कुँडिएर चित्त दुखाए तर अनवरत कर्ममा डटी नै रहे। गीतामा भगवान कृष्णले भनेको कुरामा अटल विश्वास थियो उनको - मान्छेको अधिकार कर्म गर्ने हो, फलको आशा गर्ने होइन। यसरी नै उनी निरन्तर लागिरहे कर्मको यात्रामा। 

जस पाउने त कुरै कता गयो कता? वेदप्रसादले यो कुराबारे मसँग यसरी भनेका थिए - ‘प्राण दिएर गर्‍यो, असफल पनि भएको होइन, सफल भएको छु म गरेको काममा। तर मैले जस कहिले पाएको छैन । यस्ता २२ वटा घटना भएका छन् जीवनमा मेरो। तँलाई सबै बताउँला। सरस्वती सदन यस्तै पहिलो घटना हो। राजा रिडी हिँडिहाले, कसले गर्ने कदर? सरकारले जस दिनु पर्ने हो, उल्टो खोचे थाप्न थालिहाले मृगेन्द्र शमशेरले मलाई शारदा शमशेरको मान्छे बनाएर।’ उनले यो भनिरहँदा मेरो मनमा एउटा कुरा खेलिरहेको थियो - सायद नियति भन्ने पनि छ। र, त्यो नै निर्णायक छ अन्ततः जिन्दगीमा। 

जतिसुकै भव्य र कलात्मक सेतो दरबार होस् या सिंह दरबार, त्यति वेलाको निर्माण प्रविधि भनेको फलामको सत्तरीको प्रयोग र गुम्बज गरेर बनाउनेमा सीमित थियो। यो भन्दा बाहेक अर्को प्रविधि थिएन नेपालमा। सरस्वती सदनको निर्माण गरेर यो प्रविधिबाट निर्णायक छलाङ सफलतापूर्वक लगाएका हुन् वेदप्रसादले। यस बाहेक पुरानो प्रविधिलाई नयाँ प्रविधिसँग सम्मिलन गराएर नयाँ आफ्नै किसिमको प्रविधि पनि निकाले। सत्तरी र गुम्बज प्रविधिलाई रिइन्फोर्स्ड सिमेन्ट कङ्क्रिट प्रविधिसँग मिलाएर आफ्नै मौलिक प्रविधिको प्रयोग गरे उनले। यस्तो खालको निर्माण पनि नेपालमा पहिलो पटक उनले नै गरेका थिए। यसको किन आवश्यकता पर्‍यो त्यो बुझ्न अलिकति नेपालको औद्योगिक विकासको सुरुवातलाई हेर्नु पर्ने हुन्छ।

जनताको चेतना नबढोस् भन्ने कुरामा शासकहरूले सदैव हेक्का राखेका थिए। उनीहरूले बुझेका थिए जति चेतना बढ्यो त्यति अमानवीय तरिकाले शासनगर्ने क्षमता घट्छ। यो इन्भर्स रिलेसनसिप या नेगेटिभ रिलेसनसिप अर्थात् एउटा बढ्दा अर्को घट्ने सम्बन्ध शासकहरूले राम्ररी बुझेका थिए। यसको एउटा उदाहरण त त्रिचन्द्र कलेज सन् १९१८ मा खोल्दा चन्द्र शमशेरले आफ्नासँग पोखेको उद्गार नै पर्याप्त छ बुझ्न। उनले भनेका थिए - राणा शासनको अन्त्यको सुरुवात भएको छ यो कलेज।

वैदिक वाङ्मयमा उल्लेख भएअनुसार आवाज बलियो परिदिने चेतनाको पुञ्ज बनेकी उषाको सोह्रै चरणको प्रार्थना गर्थे स्वर्गमा राजा इन्द्र। तर चेतना बढोस् भनेर चाहिँ होइन। चेतना बढ्न थालेपछि उषालाई नै लखेटे उनले। योभन्दा पर यस विषयमा अगाडि नजाऊ। यति मात्र भनौँ कि विरोधाभास मान्छेको उत्पत्ति सँगै भएको हो। तर मान्छेले समयलाई छेक्न पनि त सक्तैन। जसरी हाम्रो सन्दर्भमा न राणाहरूले सके। सायद यो विरोधाभासले सुरुदेखि नै नेपालको राजनीतिमा पकड जमाउँदै आएको छ। यो नै नेपालको राजनीतिक विकृतिको मुहान हो। पवित्र वागद्वारबाट उद्गम भएर आएकी बागमती ढलमती भएजस्तै यो विरोधाभास निसृत विकृतिले गर्दा नेपालको राजनीति धेरै फोहोर भएको छ। नेताहरू डुङ्ग गन्हाएका छन्।

अब त्यति वेलाको कुरा हेरौं। १८ औ शताब्दीको औद्योगिक क्रान्तिको असर ब्रिटिस इन्डिया हुँदै २० औ शताब्दीमा यसको हावा चन्द्र शमशेरको पालाको नेपालमा पनि आयो। तर उनी उद्योग धन्धाको विरोधी थिए। कारण सायद सोचको नै हो। पैसा, प्रविधि र सङ्गठन मिलेर जाँदा चेतना बढ्ला भनेर नै उनको सोच थियो होला। ब्रिटिस सरकारको उद्योग खोल्ने प्रस्ताव तुरुन्त अस्वीकार गरे। त्यस्तै, यतिसम्म कि एक नागरिकले सानो घरेलु उद्योग खोल्न खोज्दा खोलेमा देश निकाला हुनेछौँ भनेर ठाडै भनिदिए।

जुद्ध शमशेर श्री ३ भएपछि स्थिति बदलियो। कारण फेरि सोचको नै हो। उनले के बुझे भने पैसा कमाउन र जनतालाई पनि केही सुविधा दिन औद्योगिक उत्पादन गर्न सक्नु पर्दछ। मालपोत उठाउने, धान र लकडी, घु र सुठो ब्रिटिस इन्डियामा बेचेर मात्र हुँदैन। नेपाली तन्नेरीको ज्यान बेचेर मात्र पनि पुग्दैन। उद्योग कसरी गर्ने सोको मर्म अझ राम्ररी बुझ्न उनले आफ्नो साहिँलो छोरो बहादुर शमशेरलाई अराए। साथमा थिए वडा काजी रत्नमान सिंहका जेठो छोरा गुञ्जमान सिंह जो सन् १९५५ मा करिब १० महिना राजा महेन्द्रले प्रत्यक्ष शासन चलाउँदा प्रधानमन्त्री सरहको प्रिन्सिपल रोयल एडभाइजर बनेका थिए ।

यिनीहरूले आफ्नो अध्ययन जुद्ध शमशेरलाई अर्थ्याए। डेभलपमेन्ट बोर्ड उद्योग परिषद् बन्यो जसको अध्यक्षमा बहादुर शमशेर र सदस्य सचिवमा गुञ्जमान सिंहलाई राखे जुद्ध शमशेरले। उनले कम्पनी कानुन बनाए सन् १९३६ मा। यसपछि उनले घरेलु प्रसार अड्डा खोले औद्योगिक जनशक्ति तयार पार्न। स्रोत जुटाउन नेपाल बैकको स्थापना गरे सन् १९३७ मा। यस क्रममा नै अकस्मात खुलेको हो विराटनगरमा नेपालको पहिलो उद्योग - विराटनगर जुट मिल सन् १९३६ मा। त्यसपछि पहिलो औद्योगिक प्रदर्शनी भयो सन् १९३७ मा । यो लहरले सन् १९४६ मा मोरङ सुगर मिल स्थापना हुँदा भने जुद्ध शमशेर स्वामी महाराज भएर अर्गेली हिँडी सकेका थिए, रक्सौलबाट ट्रेन चढेर नौतनवा हुँदै।

वेदप्रसाद आफैँ व्यवसायी बने -व्यापारी र उद्योगपति, राणाकलमा नै। यो निकै नै रोमाञ्चकारी कथा छ एउटा साधारण मान्छेको जो सिमेन्ट फ्याक्ट्री खोल्ने अवस्थासम्म पुग्न सफल भएको थियो आफ्नो पौरखले। त्यसबारे पछि छलफल गर्ने छौ, व्यवसायीको रूपमा वेदप्रसाद अन्तर्गत। वेदप्रसाद वहु आयामिक व्यक्तित्व थिए। सुरुवात भयो सिभिल इन्जिनियरिङको शिक्षकको रूपको वेदप्रसाद जुन बेला उनले राम्रो शिक्षक मात्र होइन नेपालीमा ज्यामितिको किताप लेख्ने पहिलो नेपाली बने ।

त्यसपछि सिभिल इन्जिनियरिङको प्राक्टिसिनर अर्थात् अभ्यासकर्ताको रूपमा वेदप्रसाद जसअन्तर्गत हामी अहिले छलफल गरिरहेका छौ। यो निकै फराकिलो पाटो छ उनको। यसमा उनले सिभिल इन्जिनियरिङको फराकिलो प्रयोग गरेका छन् नेपालमा। सिमेन्ट ढलानको मात्र होइन खाने पानी फिल्टरेसन गर्ने पहिलो नेपाली भएर पनि। त्यस्तै सिमेन्ट ढलानको सडक बनाउने पहिले भएर। यसपछि प्रशासकको रूपमा वेदप्रसाद र आखिरमा आध्यात्मिक चिन्तकको रूपमा वेदप्रसाद।

अहिले हामी जुद्ध शमशेर कै पालामा छौ अर्थात् सन् १९४५ को अन्त्यतिर। जुद्ध शमशेरको पालामा उनी प्राविधिकको रूपमा जोडिन पुगेका थिए जुद्ध शमशेरको औद्योगिक अभियानमा पनि। त्यति बेला हो उनले आफ्नै किसिमले प्रयोग गरेको सत्तरी-गुम्बज प्रविधि र सिमेन्ट ढलान प्रविधिको। यो एउटा फ्युजन नै गरे उनले प्रविधिको। जुद्ध शमशेरले औद्योगिक विकासको आफ्नो अभियानअन्तर्गत घरेलुको लागि भवनहरू निर्माण गराउन चाहे काठमाडौँमा । सरस्वती सदन निर्माणमा संलग्न भइरहेका वेदप्रसाद नै तोकिए यसको लागि पनि।

यो जिम्मेदारी अन्तर्गत उनले उपयुक्त ठाउँको खोजी गरे श्री ३ ले के चाहेका हुन् सो अनुरूप। उनले यस्तो ठाउँ फेला पारे त्रिपुरेश्वरमा। त्यसको पूरा सर्भे, गरे ल्यान्ड डेभलपमेन्ट गरे। नक्सा बनाए भवनहरूको - कहाँ कहाँ के के बनाउने। त्यसपछि उनले हरेक भवनको नक्सा बनाए बाटो, ढल र पानी र बिजुलीसहितको। यसपछि वेदप्रसादको समानान्तर यात्रा सुरु भयो निर्माणको। त्रिचन्द्र कलेज अगाडि सरस्वती सदन सिमेन्ट ढलान प्रविधिको र त्रिपुरेश्वरमा घरेलुको भवनहरू फ्युजन गरिएको प्रविधिको।

त्यो फ्युजन गरिएको प्रविधिमा उनले सिमेन्ट कङ्क्रिट र इँट मिसाएर प्रयोग गरे आफ्नै किसिमबाट। पुरानो फलामको सत्तरी र गुम्बज प्रविधि प्रयोग गरे उनले। तर फलामको सत्तरीको सट्टामा लोड लिने इँटको सत्तरी बनाए । गुम्बजको प्रयोग गरे सिमेन्ट प्रयोग गरेर। इँट राखेर छतको ढलान गरे जसलाई आरबिसी अर्थात् रिइन्फोर्सड ब्रिक्स सिमेन्ट कङ्क्रिट भनिन्छ। यसको अरू प्रकार पनि निकाले - आरबिएलबी र आरबिएलसी। जे सजिलै प्राप्त छ त्यसलाई ठाउँ र आवश्यकताअनुसार सुधार र परिमार्जन गर्दै जान सक्ने उनको खुबी थियो। एउटा कल्पना र प्रयोगको सोच थियो उनीमा। र, जे जानेका 
थिए सिभिल इन्जिनियरिङमा उनले त्यसभित्र माछाले पानीमा खेलेजस्तो खेल्न सक्थे उनी। यही कारण हो उनको नयाँ प्रयोग गर्न सक्थे फराकिलो किसिमबाट।

घरेलुको लागि त्रिपुरेश्वरको उत्तर दक्षिण ओरालो परेको जमीनमा विभिन्न गराहरू पारेर उनले ९ वटा भवनको निर्माण गरे, विभिन्न तरिका प्रयोग गरेर। जो कोहीले पनि हेर्न सक्छन् यी भवनहरू जसले वेदप्रसादले गरेको यो फ्युजन प्रविधि लिएर त्यो बेलाको परिवेश सम्झाउने गरी अझै ठडिएका छन्। योसँग आबद्ध दुइटा कुरा म अझै सम्झिरहेको छु उनले मलाई बताएको। पहिलो हो जुद्ध शमशेरसँगको। दोस्रो हो उल कार्डिङ भवनको। त्यो भन्नुभन्दा अगाडि म एक पटक सरस्वती सदन पुग्न चाहन्छु उनको प्रयोग गर्ने या प्रविधिसँग खेल्ने र अजमाउन सक्ने क्षमता फेरि हेर्नको लागि।

उनले मलाई पटक पटक र जोड दिएर भनेको एउटा कुरा छ। र, जुन मैले पनि जस्ताको तस्तै लेखिसकेको हु। त्यो हो - ‘इन्जिनियरिङको कला’। उनी भन्थे - ‘मैले इन्जिनियरिङको सबै कला प्रयोग गरेको छु त्यहाँ।’ त्यहाँ अर्थात् सरस्वती सदनमा। २००१ साल अर्थात् सन् १९४४ को समयसँग दाँजेर यसबारे अहिलेका इन्जिनियरहरूले बताएमा यो कुराले न्याय पाउन सक्छ जस्तो मलाई लाग्छ। भन्दै जाँदा उनले ठूलो ठूलो हलको कुरा गरेका थिए।

मलाई सम्झाउँदै भन्थे - हेर त्यहाँ त्यत्रो त्यत्रो हल छ। सत्तरी हालेर बनेको छ। नहालेर पनि बनेको छ। सत्तरी नहालेर सम्म गरेर बनाउने मेथड मैले यही आफैले निकाले हो। त्यो देखेर भारतीय दूतावासमा नयाँ घरहरू बनाउने ठेकेदारले हलो टाइल नपाउँदा सरस्वती सदनमा मैले गरेको हेरेर बनाएको थियो।’

अब फर्कौ घरेलुको भवनहरूमा प्रयोग भएको फ्युजन प्रविधिमा। जुद्ध शमशेर सधैँ झैँ काठी ठोकेको हात्ती चढेर आएका थिए। सँगै अर्को हौदा हालेको हात्तीमा अरू हजुरियाहरू। उनले इँटाको २ फिटको छज्जा देखेर फेरि जिल्ल परेर सोधे - इँट देखिन्छ यो क्या हो, खस्दैन? खस्दैन सरकार भन्दै वेदप्रसाद दौडिएर त्यसमा उफ्रिएर देखाए। अर्को हो उल कार्डिङ भवनको। वेदप्रसाद भन्थे - हल ठूलो पनि चाहिने तर पैसा पनि सकिएको बेला। राणा पैसा भने पछि कन्जुस।

आरसिसी गरेर बनाउन पैसा भएन। इँट सस्तो थियो - एक हजारको ९ रुपैयाँ। ढुङ्गा पाउन र कुटाउन गहारो थियो। मैले ३० फिट लामो इँटको सत्तरीहरू बनाएर गुम्बजहरूमा अडाएर त्यो ठूलो हल बनाएको थिए १५०० रुपैयाँमा।’ फ्युजन प्रविधिको यो उल कार्डिङ हल त्रिपुरेश्वरको घरेलु परिसरमा अझै छ, वेदप्रसादको समानान्तर यात्राको द्योतक बनेर।

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x