विचार-वार्ता

सम्पादकीय

राप्रपामा नेतृत्व परिवर्तनले दिएको सन्देश

इकागज |
मंसिर १९, २०७८ १६:५९ बजे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै दलहरूमा नेतृत्व परिवर्तनका आकांक्षीहरू उत्साही भएका छन् । खासगरी दलको नेतृत्वपंक्तिमा आउन लालायित र नेतृत्व परिवर्तनका पक्षधरहरूले राप्रपाको नेतृत्व परिवर्तनलाई स्वागत गरेका छन् । गत साता नेकपा एमालेको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास गर्दा उनी दलभित्र आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धालाई महत्व नदिने निरंकुश चरित्रका नेताका रूपमा आलोचित भए । 

एमालेको महाधिवेशनमा र राप्रपाको महाधिवेशनमा नेतृत्व चयनमा पृथक दृश्य देखिए । एमालेका महाधिवेशन प्रतिनिधिले ओलीलाई नै अत्याधिक बहुमतले विजय गराए भने एकता महाधिवेशनसँगै राप्रपाका प्रतिनिधिले बहालवाला अध्यक्ष कमल थापाको नेतृत्वलाई रुचाएनन् । ओलीले आन्तरिक प्रतिस्पर्धा नै रोक्न खोजेका थिए तर थापाले त्यो हिम्मत गरेनन् । पराजय व्यहोर्नु परेपछि औपचारिक रूपमा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिए पनि थापाले पराजयलाई स्वीकार गर्न सकेको देखिदैंन । उनले सामाजिक सञ्जालमा एकपछि अर्को स्ट्याटस लेख्दै ‘आफ्नो मन फाटेको साथै सिउने र टाल्ने कुरा नभएको’ बताउन थालेका छन् । यसका साथै उनले आगामी दिनमा पूर्वराजा ज्ञानेन्द्रलाई बोकेर नहिँड्ने पनि प्रष्ट्याइसकेका छन् ।


पञ्चायतपछि बरु पञ्चहरू बहुदलीय व्यवस्थालाई स्वीकार गरेर राजनीतिमा आए तर गणतन्त्रलाई व्यवहारमा स्वीकार गरेर पनि वचनले कमल थापाले राजतन्त्रको वकालत गरिरहे, जुन विरोधाभासपूर्ण थियो । 

एकता महाधिवेशनले कमल थापा पनि एकाएक गणतन्त्रवादीको कित्तामा आइपुगेका छन् । उनी गणतन्त्रवादी त पहिल्यै बनिसकेका थिए । गणतन्त्र नेपालको संविधानअन्तर्गत भएको राष्ट्रपतिको निर्वाचनमा उनी समर्थक बनेका थिए । पछि केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारका उपप्रधान र परराष्ट्रमन्त्री बनेर उनले विधिवत रुपमै गणतन्त्रलाई स्वीकार गरेका थिए । यद्यपि उनले राजतन्त्रको मोह त्याग्न सकेका थिएनन् । पञ्चायतपछि बरु पञ्चहरू बहुदलीय व्यवस्थालाई स्वीकार गरेर राजनीतिमा आए तर गणतन्त्रलाई व्यवहारमा स्वीकार गरेर पनि वचनले कमल थापाले राजतन्त्रको वकालत गरिरहे । जुन विरोधाभासपूर्ण थियो । 

कमल थापाले धेरै ढिलो बुझे तर राजतन्त्रको अन्त्य पूर्वराजा ज्ञानेन्द्र आफैँले गरेका थिए । उनको राजनीतिक महत्वकांक्षाका कारण संवैधानिक राजतन्त्रलाई दलहरूले आफ्नो विधानबाट मात्र हटाएनन्, साढे दुई सय वर्ष लामो राजतन्त्र नै फालिदिए  । राजनीतिमा राजा ज्ञानेन्द्रको रूचि अझै देखिन्छ, थापाको आरोप पत्याउने हो भने पनि उनी अहिले सानो कोटरी (परिधि) भित्र राजनीति नै गरिरहेका रहेछन् । त्यसकारण मुखले राजतन्त्रवादी र व्यवहारले गणतन्त्रवादी बनेका थापालाई पूर्वराजाले पत्याएनन् । थापा पनि यो महाधिवेशनसँगै गणतन्त्रको मूलप्रवाहमा समाहित भएका छन्– मन, वचन र कर्मले । 

लिङदेनले राजनीति भन्ने वा अवसरवादका खेलाडी भनेर चिनिएका कमल थापालाई माथ दिँदा सामाजिक सञ्जाल लिङदेनको पक्षमा उर्लिएको छ । तर धेरैले नबुझेको कुरा के हो भने एकताबद्ध बनेको राप्रपाको नेतृत्वमा अतिवादको उदय भएको छ । थापाभन्दा लिङ्देन राजतन्त्र र हिन्दूधर्मका सन्दर्भमा अतिवादी हुन् । राजनीतिक दलमा आन्तरिक लोकतन्त्र र स्वस्थ प्रतिस्पर्धा हुनु अर्थात् प्रतिनिधिहरूको चाहना बमोजिम नेतृत्व चयन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर नवनिर्वाचित अध्यक्ष लिङ्ग्देनले ‘नयाँ जोगी बनेर बढी खरानी घस्ने’ अतिवादी कार्यले प्रश्रय पाउनु हुँदैन । उनी आम नेपाली जनताको उत्सर्ग र बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अधिनस्थ छन् । उनी र उनको दलबाट भविष्यमा हुनसक्ने अराजक गतिविधि स्वीकार्य हुन सक्तैन ।  



Author

थप समाचार