विचार-वार्ता

राजनीतिमा मौलाएको धनवाद

चिरञ्‍जीवी मास्के |
असोज २३, २०७८ १९:४० बजे

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा नेताहरूले सांसद जित्नको लागि पैसा खर्च गर्नुपर्ने गलत परम्परा बसेको भन्दै गुनासो गरे । १० वर्ष जनयुद्ध गरेर खुला राजनीतिमा देखिएका पुष्पकमल दहाल (प्रचण्ड) ले आफूलाई नेता कार्यकर्ताले पैसा मागेर हैरान बनाएको अभिव्यक्ति दिए । चुनावमा उम्मेदवारी दिन पैसा मागेर हैरान बनाएको प्रचण्डको गुनासो थियो ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा नेकपा एस पार्टीको तर्फबाट मन्त्री बन्ने चर्चामा रहेको मेटमणी चौधरीले पैसा नभएकै कारण आफू मन्त्री बन्न नसकेको गुनासो सुनाए ।  नेपाली कांग्रेसको १४ औ महाधिवेशनको क्रममा नेपाली कांग्रेस दोलखाको निर्वाचनमा भाग लिन चाहने नेताहरूले उम्मेदवारी दर्ताको लागि चर्को शुल्क बुझाउनु पर्ने नियम बनाएपछि यो विषयले राष्ट्रिय चर्चा पायो । 


माथिका यी प्रसंगले राजनीतिमा धनवाद मौलाएको स्पष्ट सङ्केत गरेको छ । पार्टीको निर्वाचन होस्, संसदीय निर्वाचन होस् या मन्त्री तथा अन्य लाभको पद प्राप्तिको कुरा नै किन नहोस्, मोटो रकम खर्च गर्नु पर्ने बाध्यता र त्यसरी खर्च गरेर प्राप्त भएको पदको दुरुपयोग गरेर कमाउनु पर्ने बाध्यताले मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पारिरहेको छ, हामी सबैलाई स्पष्ट छ । 

राजनीतिमा धनवाद हाबी हँुदै गर्दा मैले २०४६ सालको जनआन्दोलन पछिको दोलखाको पहिलो निर्वाचन (२०४८ साल) सम्झिएँ । दोलखामा त्यतिबेला दुई वटा निर्वाचन क्षेत्र थिए । क्षेत्र नम्बर १ मा इमान्दार नेता इन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्थ्यो । उहाँले राम्रो मत ल्याएर निर्वाचन जित्नु भयो । त्यतिबेला उहाँको व्यक्तिगत खर्च एक हजार रुपैया भयो रे । संघीयता पछि दोलखामा एउटा निर्वाचन क्षेत्र छ । पछिल्लो निर्वाचन (२०७४ साल) मा प्रतिनिधि सभा सदस्यले ६÷७ करोड सम्म खर्च गरे भन्ने चर्चा भयो । 

पछिल्लो समय मुलुकको हरेक निर्वाचन यति धेरै महंगो भन्यो कि पैसा छैन भने जतिसुकै इमान्दार र प्रतिबद्ध भएपनि निर्वाचन जित्ने कल्पनै गर्न नसकिने भयो । पार्टीको आन्तरिक निर्वाचनमा पनि धनवाद, संघीय निर्वाचनमा पनि धनवाद, प्रदेश निर्वाचनमा पनि धनवाद, स्थानीय निर्वाचनमा पनि धनवाद । अब त नेताको होस् या जनप्रतिनिधिको योग्यता मापन त पैसा मात्र हुने भयो । नेपाली कांग्रेस दोलखाको निर्वाचनमा महाधिवेशन प्रतिनिधिको लागि मनोनयन दर्ता गर्न ३५ हजार रुपैँयाँ शुल्क तोकेपछि दोलखाका पूर्व पार्टी सभापति उद्धव काफ्लेले म यति धेरै पैसा तिर्न सक्दिन भनेर सार्वजनिक मञ्चमै भने । पार्टी प्रति सधै बफादार रहेका काफ्लेले पैसा खर्च गर्न नसकेकै कारण निर्वाचनमा पराजय भोग्नु परेको चर्चा दोलखा कांग्रेसबीचमा अहिले पनि सुनिने गरेको छ ।

हुँदा हुँदा मन्त्री र अन्य लाभको पद प्राप्त गर्न पनि धनवादकै कुरा आउने अवस्था बन्यो । राजनीतिमा निरन्तरता, त्याग, सिद्धान्त जस्ता कुरा बेकार हँुदै गएका छन् । पैसा छ पद छ, पैसा छ पावर छ, पैसा छ परफमेन्स छ । पैसा छैन न पद, न पावर, न परफमेन्स । नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउन निक्कै सक्रिय रहेको मेटमणी चौधरीले अन्तत् पैसा नभएकै कारण मन्त्री बन्न पाएनन् । नत्र किसान श्रेष्ठ, प्रेम आलेहरू मन्त्री बन्दा उनी मन्त्री बन्न नहुने कुनै कारण र तर्क नै थिएन । एउटा टेलिभिजनलाई अन्र्तवार्ता दिने क्रममा चौधरीले घुमाउरो भाषामा पार्टीलाई पैसा बुझाउन नसकेकै कारण मन्त्री बन्न नसकेको तथ्य अभिव्यक्त गरेका छन् ।

२०५० साल यता म निरन्तर सामाजिक काममा सक्रिय छु । झण्डै ३० वर्षको यो अवधिमा राजनीतिका रङ्गहरू देखियो, समाजसेवाका सारङ्गी सुनियो । नैतिकता, इमान्दारी, त्याग र सिद्धान्तको दुर्दशा पनि देखियो । किनभने समय अघि बढ्दै जाँदा राजनीति नीतिले हैन धनको स्थितिले निर्धारण गर्ने विन्दुमा आइपुग्यो । नत्र नेताहरूको रोइलो यो हदसम्म सुनिने थिएन होला । 

राजनीतिमा धनवाद मौलाउनुमा नेताहरू मात्र जिम्मेवार हुन् त ? त्यसो चाहिँ पक्कै हैन । कार्यकर्ताको व्यवहार र नेताको बाध्यताले धनवाद मौलाएको हो । २०५१÷०५४ को निर्वाचनसम्म कम्युनिष्ट पार्टीका मात्र हैन नेपाली कांग्रेस लगायतका दलका कार्यकर्ताहरू पनि इमान्दार थिए । चुनावी अभियान होस् या अरु जुनसुकै कार्यक्रम किन नहोस्, कार्यकर्ताहरू आफैँले पैसा उठाएर अभियान सञ्चालन गर्थे । आफू संलग्न पार्टीलाई तोकिएको लेबी इमान्दारीपूर्वक तिर्थे । आफ्नो पार्टीको नेतालाई जिताउन आर्थिक, भौतिक, बौद्धिक सबै प्रकारको सहयोग गर्न कार्यकर्ताहरू तयार रहन्थे । किनभने त्यतिबेला हरेक पार्टी कार्यकर्ता आफ्नो पार्टीप्रति गौरव गर्थे । हँसिया हथौडाको झण्डा उचालेर लाल सलाम भन्दा हरेक कम्युनिष्ट कार्यकर्ताको मुहारमा चमक आउथ्यो । चार तारे झण्डा उचालेर जय नेपालको नारा लगाउदा नेपाली कांग्रेसका कार्यकर्ताहरूले राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्थे । 

मलाई याद छ २०४६ सालको जन आन्दोलन पछिका तीन वटा निर्वाचनको परिवेश । नेकपा एमालेको सूर्य र हसिया हथौडाको झण्डा फहराउँदै निर्वाचन प्रचार अभियानमा कति प्रफुलित बनेर हामी अग्रसर हुन्थ्याैँ । आफ्नै श्रम र अर्थ प्रयोग गर्दै रातभरी रातभरी सूर्य र हँसिया हथौडाको चिन्ह्रले भित्ता रङ्गाउन पाउँदा हामीलाई भोक र निन्द्राको कुनै पर्वाह हुँदैन थियो । 

त्यतिबेला चरिकोटका एकमात्र दक्ष आर्टिस्ट कुमार थापाको पसलबाट सूर्य र हँसिया हथौडा अङ्कित झण्डा लिन गाँउगाँउबाट एमालेका कार्यकर्ताहरू आउँथे र आफैँ पैसा तिरेर लिएर जान्थे । पछिल्ला निर्वाचनहरूमा कार्यकर्ताले पैसा तिर्न छाडेपछि पार्टीहरूले झण्डा तथा ब्यानरको पैसा नतिरेको भनेर चरिकोटका आर्ट पसलका सञ्चालकहरूले फेसबुक वालमा गुनासो नै गर्नु परेको छ ।

यो सबै फेरिएको समयको परिणाम हो । अहिले त कार्यकर्ताहरू पार्टी सदस्यता आफू नविकरणसमेत गर्दैनन् । अधिवेशन ताका कुनै एकजना नेताले आफू निकटका कार्यकर्ताको सदस्यता नविकरण गरिदिनु पर्छ । झण्डा र ब्यानर कार्यकर्ताले आफैँ पैसा तिरर लान्छन् भन्ने कुरा त किंवदन्ति नै बनिसकेको छ । अहिलेका कार्यकर्ताहरू नेताको पछि लागेपछि आफ्नो सबै खर्च त्यही नेताले ब्यहोर्नु पर्छ भन्ने भ्रममा हिडिरहेका छन् ।

नेताहरू पनि भ्रष्टाचार, तस्करी, गुण्डा संरक्षण जस्ता गैर कानुनी धन्दाबाट धन सङ्कलन गर्ने र त्यसैको आडमा कार्यकर्तालाई अघिपछि लगाएर निर्वाचन जित्ने ध्याउनामा रहन्छन् । त्यही अवैध धन प्रयोग गरेर पद हत्याउने र अवैध धन नहुँदा पद गुमाउनु पर्ने तीतो यर्थाथ अहिले सबै दलका नेताहरूले भोगिरहेकै छन् । 

राजनीतिमा धनवादको यो श्रृङ्खला अब सितिमिति टुङ्गिएला जस्तो लाग्दैन । जवसम्म नेताले आफूबाट सुधारको सुरुवात गर्दैनन्, जवसम्म कार्यकर्ताले आफूबाट सुधारको सुरुवात गर्दैनन् र जवसम्म जनताले नेता –कार्यकर्ताको सुधारको लागि दबाब बढाउँदैनन् त्यतिबेलासम्म धनवादको यो श्रृङ्खला भारतीय टेलिचलचित्र निर्माता एकता कपुरको धारावाहिक जस्तै तन्किँदै जानेछ । 

धनवादको राजनीतिबाट मुक्ति पाउन चिल्लो गाडीमा सवार, कार्यकर्ताको खर्चपानी हेर्ने नेतालाई असली नेता मान्ने हामी कार्यकर्ता र जनताको सोचाईमा परिर्वतन आउनु जरुरी छ । र यो सोचाईमा परिर्वतन ल्याउन नेतालाई हैन नीतिलाई प्रमुख मान्नु जरुरी छ । 

एमाले, कांग्रेस, माओवादी, नेकपा एस, राप्रपा वा मधेशवादी दलहरू सबैमा गुटबन्दी छ, नेता र कार्यकर्ताबीच तानातान छ । कांग्रेसले समाजवाद र कम्युनिष्टले साम्यवाद पोलेर सकिसकेका छन् । नत्र नेताको चरित्र र पार्टीको कार्यदिशा नियालौँ त धुवाँ मात्र पुत्पुताई रहेको छ । हामी किन नीतिको हुन सक्दैनौ ? नेताको फेरो समाउनु पर्ने दरोकार किन प¥यो ? किनभने हामी कार्यकर्ता र जनता पनि कहीँ न कहीँ धनवादबाट थिचिएका छौँ । 

सुन्दा, देख्दा र भोग्दा कति नमिठो लाग्छ एउटा तस्करले, एउटा गुण्डाले दलका नेताहरूको हुर्मत लिँदै मुलुकमा गैर कानुनी ताण्डप नृत्य गरिरहेका छन् । किनभने नेताहरू तिनै तस्कर र गुण्डाहरूको लस्कर लिएर चुनावमा नारिन्छन् । उनीहरूकै पैसामा भोटको लेनदेन गर्छन र चुनाव जितेपछि उनीहरूसँग नतमस्तक बन्छन् । 

के राजनीतिमा धनवादको अन्त्य सम्भव छैन ? तपाई हामीबाट सुरु गरौ नेतालाई हैन नीतिलाई मान्न । विकास मागाँै, रोजगारी मागौँ, पैसा हैन । हामी आफू शुद्धिकरणको सूत्रधार बन्न सक्यौ भने नेता नसुध्री सुखै पाउँदैनन् ।  
 



Author

थप समाचार
ad
x