विचार-वार्ता

जडाउरी शब्दका माला गाँस्‍ने कविहरू मसँग आषाढको पन्ध्रमा आऊन्

लक्ष्मीप्रसाद देवकोटा |
असार १५, २०७९ बुधवार १२:५६ बजे

नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा आनन्दको गुलाबी रङ्ग चढयो, एकै छिन पृथ्वीलाई स्वर्गको रङ्गले हल्का तवरले छायो । आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा आज मधु तरंगहरू खेलिरहेछन् ।

पुकारा सुनेर स्वर्गको प्रत्युत्तर आउँदा हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन् । हामी सुनौला बोलीको आशाले बीउ रोप्‍न जान्छौं । हातमा हरिया धानका बीउ छन्, हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा उर्लदो दिलको मधुर गान । आज हामीहरू दबदबे, कलिला खेतमा पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो ।


कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस दिन अलग-अलग कुनामा खुम्चिएर रहेका झोपडीहरूलाई जीवनको जादूले छुन्छ । किसानको आँगनमा झिसमिसे बिहान भई वनस्पतिको देवदूतले आवाज दिन्छ । किसानका बालबच्चाहरू साना हातका खुशिला थपडीले बिहानको स्वागत गर्दछन् । खेतीवाल पनि बिहानीपखको मीठो सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ । बालकहरूको मीठो बोली, मधुर हास्य तथा उफ्रनु देखेर खस्रा ईमान्दार हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन नचाउँछ । बालकहरूकी आमाचाहिं निर्दोष खुला चालले हाँसेर चमकदार आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ ।

अरू दिन विभिन्‍न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, फाँट-फाँटभरि कोदाली लिंदै नाच्दै उफ्रदै जान्छन् । बैंसाल ठिटीहरू बीउका मूठा लिएर गानाका टुक्रा-टुक्रा मात्र केही खुला, केही लजिलो चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै हाँस्तछन् । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ ।

यस्ता गलाको प्राकृतिक माधुरीले सारा गानविद्याका कठोर तरज, सास पसीना काढ्ने वस्तादहरूका रफत, महफिलका विकृत चेहरादार गवैयाहरू, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरूको खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार हुन्छन्, तिनीहरूलाई आनन्द र भावको जोडले नै सुरिलो माधुरी दिन्छ । कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ दिलको पींधबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड, खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्, हृदयका आवाजहरू हावामा चक्कराइरहेछन्, पत्थरको छातीमा समेत टक्कराइरहेछन् । नेपालको हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्, लहराइरहेछन् ।

यो खुशियाली र यो आनन्दले, प्रकृतिबाट पन्छिएर अलग रहन खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्‍ने चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा पुरातन पुरुखाहरू पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्न केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको पनि होला ।

लिनु र दिनुको जिन्दगीबाट हामी केही फुर्सद लिन खोज्दछौं । आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ। हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ चलिरहेछ । दूर रहे पनि हामी प्रकृतिका नातादार हौं । आजको खुशियालीमा हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ ।

यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको दिनको विलास उपभोग गर्न बाहिर हिंडे, चार गारो र छानाले ढाकेको साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिंडें । कुनै विशेष उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो ?' मैले उत्तर दिएँ, 'कता, कता।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौं, जसलाई प्रचलित नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्‍न । हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका नीलो चेहरा विचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका टुक्रामा बीचबाट सूर्य भगवान्को उज्यालोले दृश्यपटलाई टाटापाटा गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहुरिएका ग्रामीण युवतीहरू मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर प्रत्युत्तर दिइरहेका थिए । अलि टाढा दुइटा झोपडी शान्तिका कुटी झै सफा आँगन लिएर निदाएका झै देखिन्थे ।

यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिभ्राको सरस्वती। एकतर्फ प्रश्न उठ्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त छन्दका कठिन कसरत मात्र हुन् । त्यहाँ अटूट प्रवाह थियो, भुलभुलावट थियो, जो त्यस पत्रिका आउने जमेका साह्रा टुक्राहरूमा देखिन्‍न । तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका गलफन्द मात्र हुन् भन्‍ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्‍न । सर्वसाधारण मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सधैं कविता हुन्छ, त्यस्तै सच्चा उल्लासमा। हामी कविता बनाउन चाहन्छौं, निकाल्न चाहँदैनौं । यिनीहरू बनाउँदैनन्, भित्रैबाट झिक्तछन् । हाम्रो शब्दको चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने कविहरू मसँग आषाढको पन्ध्रमा आऊन् । चर्को कृत्रिम रङ्ग चढाउन खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ। म दही-चिउरा खुवाउन चाहन्‍न, गीत सुनाउन चाहन्छ ।

हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड पनि । साथसाथमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छयापिदिइन्। आजको दिन हिलो छ्याप्‍न पनि प्रेम र आनन्दको बहाड सम्झिइन्छ । हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन दुवैको सुन्दर शृङ्गार छन् । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको दाग जस्तो देखिदैन । किसानका ठिटाहरूका निधारमा पृथ्वीले आशीर्वादको टीका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको थमौती मिल्दछ । आलीका केही हरिया झरीहरू एउटीको केशमा लगाइन्छन्, केही धानका हरिया बीउहरू अर्कीको कपालमा चढाइन्छन् । कसैले असारेका राता फूल सिउरेका छन् । कसैले एक-दुई मकैको कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ ।

जब खाजा खाने वेला भएको थियो, खेतको किनारामा प्रकृतिका हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरू बिछाइए। केही चिउरा र नून, अदुवाका सितन साथमा अलिकति आल्को तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा शिष्टाचारका नियम र कानूनको आविष्कार हुनुभन्दा अगाडिको युगमा बसेझै बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म बिर्सिरहेका थिए। परिश्रमले हद से हद खस्रा, रूखा खानामा पनि विचित्र स्वाद दिंदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । 

हामी स्वाद बाहिर खोज्दछौं, यिनीहरू भित्रैबाट निकाल्दछन् । हामी मसलामाथि सुगन्ध थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई ईश्वरले विलासका सामग्री नदिए पनि विलासका स्वाद र आनन्द दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको थियो । खाँदा अनेक ठठ्ठा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट झर्कोलाग्दो क्रिया बन्‍न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्राम पनि दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली पहाडरूपी ओलम्पिसका यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो ।

फेरि उनीहरू काममा लागे। हामीहरूले धेरै बेर हेरिरह्यौं, सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गियो, झन् अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका थिएनौं । पहिले त दौडेर भाग्ने विचार गयौं तर वर्षाले छोपिहाल्यो, रुजाइहाल्यो । दगुर्नुमा केही बचावट थिएन । हामी सुस्त-सुस्त घरतर्फ लाग्यौं । खेतमा उनीहरू भने झन् खुशीले रोपाइँ गरिरहेका थिए ।

अलि टाढाबाट हामीहरूले सुन्यौं:
‘रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो, 
बादलको तल खोला है उफ्यो, दिल मेरो नचायो। 
आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, 
आज र हाँस्यो, आज र गायो। 
भोलि ता कठै ! 
को रुन्छ देखी कालले टिपेको !'

हामीहरूका लुगा पनि लफलफाउँदा भए, हिलैले पनि रङ्गिए। हामीहरूलाई पनि आजको आषाढको पन्ध्रको उत्सव राम्रोसँग मनाएजस्तो लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म घरभित्र पसें, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो चलेको थियो । मैले भनें, 'आज आषाढको पन्ध्र हो।'

(महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध संग्रह 'लक्ष्मी निबन्धसंग्रह'मा संगृहीत 'आषाढको पन्ध्र' शीर्षकको निबन्ध)

र, यी पनि पढ्‍नुहोस्


Author

थप समाचार
x