खेलकुद

नेपालविरुद्ध मौरिसस : 'सजिलो पे'ले टिकट बेच्ने, यस्ताे छ टिकटदर

इकागज |
माघ १४, २०७८ शुक्रबार ६:४४ बजे

काठमाडौं- नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट 'सजिलो पे'ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ पौने ५ बजे हुने खेलका लागि टिकट 'सजिलो पे'बाट पाइने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको टिकट दर भिआइपीतर्फ १ हजार र सामान्य तर्फ ५ सय तोकेको छ । रंगशालामा कूल क्षमताको ३३ प्रतिशत मात्रै दर्शकले प्रवेश पाउनेछन् ।


प्रतियोगिताका लागि माैरिससको टिम नेपाल आइसकेको छ भने नेपाली टिमसमेत घोषणा भइसकेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई मैत्रीपूर्ण खेलमा लागि दुई टोली घोषणा गर्दै प्रारम्भिक छनोटमा आएका ३४ खेलाडी नै टोलीमा समावेश गरेका छन् ।

यस क्रममा उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान बनाएका नौ खेलाडीलाई नै राष्ट्रिय टोलीमा समावेश गरेका छन् । प्रशिक्षक अब्दुल्लाहले जावलाखेल युथबाट खेल्दै आएका गोलरक्षक टिकेन्द्र थापा, नेपाल पुलिसबाट खेलेका गोलरक्षक शत्रुघन चौधरीसहित सातदोबाटोबाट खेलिरहेका मिडफिल्डरहरू सुदीप गुरुङ, आकाश बुढामगर, सुशील राई र फरवार्ड प्रशान्त अवस्थीलाई टोलीमा समेटेका हुन् ।

न्यरोड टिम एनआरटीका रक्षक नविन गुरुङ र फरवार्ड कृतिश रत्न छुन्जुले टोलीमा स्थान बनाउँदा च्यासलका मिडफिल्डर आशिष राईले टोलीमा स्थान पाए ।

यी नौ खेलाडीलाई भने प्रशिक्षक अब्दुल्लाहले दुवै टोलीमा समावेश गराएका छन् । प्रशिक्षक अब्दुल्लाहले जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङलाई राष्ट्रिय टोलीमा पुनरागमन गराएका छन्।

पुनरागमन गरेका विमल घर्तीमगर र देवेन्द्र तामाङले मात्र दुवै टोलीमा स्थान पाएका छन्।  चोटका कारण स्वास्थ्य लाभ गर्ने प्रयासमा रहेका अनन्त तामाङ भने एक मात्र टिममा छन् ।

दुवै टोलीमा १२ खेलाडीले स्थान पाएका छन् । जसमा कप्तान किरणदेखि अन्जन विष्ट र विमल घर्तीमगर छन् ।


Author

थप समाचार
x