खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

इकागज |
जेठ २५, २०८० बिहीबार १७:९ बजे

कैलाली- धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम रिपोर्टस् अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो । 


चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सारथी अस्पताल वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । चन्दको प्रशिक्षणमा सुदूरपश्चिमले ९ औं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण पदक जितेको थियो । 

सुदूरपश्चिमले जितेको १० स्वर्ण मध्ये ५ स्वर्ण जिताउने प्रशिक्षक चन्द हुन् । उनकै प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा संगीता धामीले ३६ वर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदक जिताएकी थिइन् । 

९ औं राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदक जिताउने प्रशिक्षक हुन जीवन गौतम । भारत्तोलनमा उनको प्रशिक्षणमा सुदूरपश्चिमले भारात्तोलनमा तीन स्वर्ण पदक जितेको थियो । क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यु १९ विश्वकपको लागि छनोट भएको छ । उनले ८ वर्षपछि नेपाललाई यु १९ विश्वकपमा पुराएका हुन् । उनकै नेतृत्वमा नेपाली महिला क्रिकेट टिमले पनि विभिन्न प्रतियोगिता खेलेको थियो । 

निसर्ग हस्पिटल वर्ष युवा खेलाडीको मनोनयनमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । पालले ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका छन् । उनले पहिलो सहभागिताको राष्ट्रिय खेलकुदमा १७ वर्षको उमेरमा स्वर्ण पदक जितेका हुन् । अनुले उमेर समूहबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएकी छिन् । उनले यु १९ विश्वकप महिला एसिया छनोटमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । उनले घरेलु उमेर समूहको प्रतियोगितामा पनि सुदूरपश्चिमलाई जिताउन भुमिका खेलेकी छिन् । क्रिकेटका धामीले नेपाललाई यु १९ विश्वकपमा नेपाललाई छनोट गराउन उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले बलिंग र ब्याटिङमा सानदार प्रदर्शन गरेका छन् । 

यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिसकिएको छ । यसमा सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । 

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


Author

थप समाचार
x