खेलकुद

क्रिकेटर राजवंशी र कँडेललाई काेशी प्रदेशले सम्मान गर्ने

इकागज |
चैत ७, २०७९ मगलवार १४:३४ बजे

विराटनगर । नेपाली राष्ट्रिय टिमका क्रिकेटर ललित राजवंशी र अन्डर–१९ टिमका दिपेश कँडेललाई काेशी प्रदेशले सम्मान गर्ने भएकाे छ ।

 क्रिकेटर राजवंशी र कँडेललाई कोशी प्रदेश सरकारले पनि जनही १ लाख ११ हजार १११ रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको हाे । 


कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा प्रदेश खेलकुद बोर्डका अध्यक्ष बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले क्रिकेटर राजवंशी र कँडेल जनही एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । उनीहरुलाई विराटनगर महानगरपालिकाले पनि जनही १ लाख १ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।

नेपाल खेलकुद महासंघ मोरङले जनही नगद २५-२५ हजार रुपैयाँसहित सम्मान गरेको छ । विराटनगरका दुवै खेलाडीलाई महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले मंगलबार कार्यक्रमकाबीच नगदसहित सम्मानित गरेका हुन् ।

ललित विराटनगर–१४ का बासिन्दा हुन् । स्थायी घर सुर्खेत भए पनि युवा क्रिकेटर दिपेशले पनि विराटनगरकै प्रतिनिधित्व गर्दै आएका छन् । उनका बुवा विराटनगरस्थित साल्टटे«डिङ कम्पनीमा कार्यरत रहेका कारण लामो समयदेखि परिवारै विराटनगरमा छन् ।

क्रिकेट खेलका माध्यमबाट कोशी प्रदेशसहित राष्ट्रकै गौरव बढाएको भन्दै महासंघले उनीहरुलाई आगामी खेलहरुमा हौसला प्रदान गर्न सम्मानको कार्यक्रम आयोजना गरेको नेपाल खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्काले बताए ।

महासंघ नेकपा एमाले निकट खेलकुदकर्मीहरु सम्वद्ध संगठन हो । त्यसका केन्द्रीय अध्यक्ष बस्नेतले खेलाडी उत्पादन, प्रोत्साहन र उनीहरुको खेल विकासका लागि महासंघले खेलकुद क्षेत्रका निकायहरुसमक्ष पहल गर्ने काम गर्दै आएको जानकारी दिए । 

खेलाडी सम्मान कार्यक्रममा सहभागी नेपाल क्रिकेट एशोसिएशन (क्यान) का केन्द्रीय कोषाध्यक्ष रोशन सिंहले खेलकुद क्षेत्रलाई सरकारले भन्दा निजी क्षेत्रले बढि सहयोग गर्दै आएको बताए । त्यसैगरी राष्ट्रिय टिमका खेलाडीहरुलाई क्यानले पनि महत्वपूर्ण र अझ राम्रो सहयोग गर्ने तयारी गरिरहेको जानकारी दिए ।केही दिनभित्रै त्यस्तो सहयोगको घोषणा क्यानबाट हुने उनले दाबी गरे । सिंहले क्रिकेटले राष्ट्रिय भावनाको विकासमा समेत योगदान गरेकोले अब सवैको ध्यान खेल पूर्वाधारको विकासमा केन्द्रीत गर्न आग्रह गरे । उनले विराटनगर–१९ स्थित बैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कम्तिमा राष्ट्रिय स्तरका खेलहरु हुने अवस्थामा पु्‍र्या‍उन सवै क्षेत्रबाट सहयोग रहनुपर्नेमा जोड दिएका थिए ।


Author

थप समाचार
x