खेलकुद

महिला भलिबलको उपाधि मकवानपुरगढीलाई

इकागज |
असोज १२, २०७९ बुधवार २१:४५ बजे

मकवानपुर- हेटौंडामा जारी मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले हात पारेको छ । 

बुधबार हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढी गाउँपालिकाले उपाधि जितेको हो । मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो ।


उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल हात पारेको छ । उपविजेता बकैयाले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल हात पार्न सफल भएको छ ।

प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित भइन् । मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । 

प्रतियोगिताको उत्कृष्ट सटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की भए । 

प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।


Author

थप समाचार
x