खेलकुद

एन्फा कार्यसमिति बैठक आज, भागबण्डामै केन्द्रित

इकागज |
साउन २६, २०७९ बिहीबार ८:३ बजे

काठमाडौँ- दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।

यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्‍वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । 


यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ । 

६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्‍वाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् । 

आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि नेम्‍वाङले चुनावी सहयोगी थापा समूहलाई पाखा लगाउँदै आएका  छन् ।

चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् । 

पाँडेबाट बढी दबाब खेप्दै आएपछि नेम्‍वाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाँडे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाँडेको बर्खास्तीको माग गरेको छ । 

जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख पाँडेको बर्खास्ती माग गरेका छन् । आजको बैठकमा सबैको ध्यान यसैमा हुनेछ । 

यस्तै, प्रवक्तासहित तीन सहमहासचिव, मानार्थ अध्यक्षको नियुक्त हुनेछ । यस्तै, महिला साफ आयोजना समेत मुख्य विषय रहेको छ ।  बैठकमा २२ एजेन्डा रहेका छन् ।


Author

थप समाचार
x