खेलकुद

हर्डल्समा जयरानीको अर्को कीर्तिमान

निर्धारित दूरी १ मिनेट ०७ दशमलब २ सेकेण्डमा पूरा

इकागज |
असार ११, २०७९ शनिबार १७:३९ बजे

काठमाडौँ - त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले महिला ४ सय मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार जयरानीले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

जयरानीले निर्धारित दूरी १ मिनेट ०७ दशमलब २ सेकेण्डमा पूरा गर्दै पुरानो राष्ट्रिय कीर्तिमान तोड्न सफल भइन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा नेपाल एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।


पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो । 

महिला ४ सय मिटर हर्डल्समा उक्त विधामा १ मिनेट ०८ दशमलब ७ सेकेण्डमा दूरी पुरा गर्दै आर्मीकै निर्मला थापाले रजत हात पारिन् भने एपीएफकी कल्पना श्रेष्ठले १ मिनेट ०९ दशमलब ७ सेकेण्डमा कास्य जित्न सफल भइन् ।

जयरानीले महिलाको लङजम्पका समेत स्वर्ण जितिन् । उनले ५.१३ मिटर जम्प गरिन् । एपीएफकी शिला चौधरी ५.०३ मिटरसहित दोस्रो तथा पुलिसकी शिमा चौधरी ४.७८ मिटरसहित तेस्रो भए । 

शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए ।
 


Author

थप समाचार
x