खेलकुद

विश्व च्याम्पियनशीपमा नेपाली म्याराथन धावकले दौडिन नपाउने

सञ्जीव शाह |
जेठ १४, २०७९ शनिवार १२:३८ बजे

काठमाडौँ – अमेरिकाको ओरेगनमा जुलाई १५ देखि २४ तारिखसम्म आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनशीपमा नेपाली म्याराथन धावकले सहभागिता जनाउन नपाउने भएका छन् । 

विश्व एथलेटिक्स च्याम्पियनशीपको म्याराथनतर्फ सहभागिता जनाउन म्याराथन धावकले निर्धारित दूरी (४२.१९५ किलोमिटर) कम्तिमा २ घण्टा ११ मिनेट ३० सेकेन्डमा पुरा गरेको हुनुपर्नेछ । 


तर नेपाल एथलेटिक्स संघले आधिकारिकता प्रदान गरेको नेपालगंज म्याराथन, पोखरा म्याराथन र त्रिभुवन आर्मी क्लबको सीओएएस म्याराथनका कुनै पनि धावकहरूले २ घण्टा ११ मिनेट र ३० सेकेन्डभित्र दूरी पुरा गरेका छैनन् । 

२०७८ मंसिर ४ गते भएको सातौँ नेपालगंज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका किरण सिंह बोगटीले जिते । उनले निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पुरा गरे । त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावतले २ घण्टा ३३ मिनेट २८ सेकेन्ड खर्चिए । एपीएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा तेस्रो भए । 

त्यसैगरी, २०७८ फागुन ७ गते भएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा शीर्ष दुई स्थान केन्याली धावकले हात पार्दा त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी २ घण्टा ३३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पुरा गरे । एपीएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेन्डमा चौंथो भए । 

यता २०७८ फागुन १४ गते त्रिभुवन आर्मी क्लबले आयोजना गरेको म्याराथनतर्फ आर्मी क्लबकै कृष्ण बहादुर बस्नेतले २ घण्टा १९ मिनेट ५७ सेकेन्डमा ४२.१९५ किलोमिटरको दूरी पुरा गर्दै प्रथम भए । आर्मीकै खड्क बहादुर खड्का २ घण्टा २२ मिनेटमा दोस्रो भए भने एपीएफका किरण सिंह बोगटी २ घण्टा २४ मिनेट ४० सेकेन्डमा तेस्रो भए । 

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले पनि नेपाली म्याराथन धावकले सहभागिता जनाउन नपाउने सम्भावना रहेको बताए । उनले च्याम्पियनशीपका लागि निर्धारित गरेको समय नेपाली म्याराथन धावकले पूरा गर्न नसक्ने बताउदै सहभागिता लगभग नहुने जनाएका थिए । उनले पछिल्लो समय नेपाली म्याराथन धावकले राम्रो प्रदर्शन गर्न नसकिरहेको समेत बताए । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x