समाज

सदरमुकाम छाड्ने बढेपछि प्रदेश राजधानी सुनसान

लक्ष्मी भण्डारी |
बैशाख २९, २०७९ बिहीबार १५:२७ बजे

सुर्खेत - स्थानीय तहको निर्वाचनमा मत दिनको लागि बाहिरिने क्रम बढेपछि कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुनसान बनेको छ । केही दिनयता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुको पनि निकै चाप छ ।

सुर्खेतको वीरेन्द्रनगरमा व्यवसाय, अध्ययन तथा कामको सिसिलामा बस्नेहरू केही दिनलाई कामको चाँजोपाँचो मिलाएर आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अन्य प्रदेश तथा भारतबाट आउनेहरू पनि सुर्खेत भएर प्रदेशका अन्य जिल्ला फर्किनुपर्ने हुँदा हिजो आज वीरेन्द्रनगरको सिटी बसपार्कमा यात्रुहरूको निकै भिडभाड हुने गरेको छ ।


कतिपयलाई भने उम्मेदवारले गाडीको व्यवस्था गरेका छन् भने कतिपयहरू आफै यातायातको जोहो गरेका छन् । विगत तीन दिन यता बसपार्कमा यात्रुहरूको चाप बढेको व्यवसायीहरू बताउँछन् । मतदान गर्नको लागि स्थायी ठेगाना दैलेख जान बसपार्क भेटिएकी यमुना बिक पहिलोपटक मतदान गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

अध्ययनको शिलशिलामा दैलेखबाट वीरेन्द्रनगर झरेको उनले बताइन् । ‘म पहिलोपटक भोट हाल्दैछु, घरमा बुवाआमाले भोट हाल्न आउनुपर्छ भन्नुभएको छ’ उनले भनिन्, ‘घर जान लाग्दा दशैंतिहार आएर जान लागेको जस्तो खुसी लागेको छ ।’

बुधबार दिउँसो बसपार्कमा भेटिए विकास केसी । उनी सल्यान जानको लागि तयारीमा थिए । वीरेन्द्रनगरमा व्यवसाय गर्दै आएका उनी भोट हाल्नको लागि गाउँ जँदै छन् । ‘हाम्रो आफन्तहरू पनि चुनावमा उठ्नुभएको छ त्यसैले उहाँहरूलाई जिताउनको लागि पनि जानैप¥यो’ उनले भने, ‘घरपरिवार र आफन्तहरूले बारम्बार फोन गरेर बोलाउन थाले त्यसैले जान लागेको छु ।’

‘स्थानीय तह निर्वाचनमा घर परिवार, नाता–गोता र छरछिमेकबाट उमेदवार उठ्ने हुनाले पनि बाहिर बसेकालाई घर फर्किन आग्रह गरिरहेका छन् ।

घर फर्कनेहरूको चाप बढेपछि सदरमुकाम भने सुनसान छ । वीरेन्द्रनगरमा तरकारी व्यवसाय गर्दै आएकी सर्मिला वलीले सबै जसो गाउँ फर्किएपछि व्यवसाय ठप्प रहेको बताइन् ।

‘दशैतिहारमा जस्तै सुनसान भएको छ , कोठाभाँडामा बस्ने विद्यार्थीहरू कोही छैनन्’ उनी भन्छिन्, ‘अब एक दुई दिन त बन्द गरेरै बस्नुपर्ला जस्तो भयो, खोलेर के गर्नु व्यापार नभएपछि ।’ मानिसको भिडभाँड तथा सवारीले खचाखच देखिने वीरेन्द्रनगरमा केही दिनमै ह्वात्तै चाप घटेको छ ।


Author

थप समाचार
x