समाज

स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि वर्थिङ सेन्टर खाली, सुत्केरी आमाहरू जोखिममा

लक्ष्मी भण्डारी |
बैशाख २७, २०७९ मंगलबार १६:७ बजे

सुर्खेत– स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगंगाका बर्थिङ सेन्टर खाली भएका छन् । निर्वाचनको अवधिमा कुनै गर्भवतीको केश आएमा सेवा रोकिने अवस्था छ । 

निर्वाचन समयमा कुनै गर्भवती केश आएमा प्रसुति सेवा दिन नसक्ने अवस्था समेत आएको छ ।  २४ घण्टा सेवा दिनुपर्ने ईमर्जेन्सी सेवामा पर्ने बर्थिङ सेन्टर खाली हुँदा यसले सुत्केरी अवस्थाका आमाहरुका लागि जोखिम बढाएको हो । भेरीगंगा नगरको मोहटी, छिन्चु, रामघाट, लेखपराजुल र मैनतडामा प्रसुती सेवा दिने बर्थिङ्ग सेन्टर रहेका छन् । अहिले नगरपालिकाका चार वटै बर्थिङ्ग सेन्टरहरु खाली रहेको नगरका स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले जानकारी दिए ।


‘निर्वाचनमा स्वास्थ्यकर्मीको साथै सरसफाईकर्मीलाई पनि खटाइएको छ त्यसैले वथिङ सेन्टर अहिले खाली छन्’ उनले भने, ‘सुत्केरी आमा आए कहाँ पठाउने मुख्य निर्वाचन अधिकृतकहाँ ?’ यहाँका एम्बुलेन्सका चालकहरुलाई पनि निर्वाचनमा खटाइएको छ । 

सुर्खेतमा अन्य कर्मचारीहरु प्रसस्तै हुँदाहुँदै पनि भनसुन र पहुँचकै भरमा मुख्य निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यले स्वास्थ्य संस्था ने खाली रहने गरेर कर्मचारीहरु खटाएको उनले बताए । ‘अहिले मैनतडा बर्थिङ्ग सेन्टरमा एक जना स्वास्थ्यकर्मी हुनुहुन्छ अरु सबैमा ताला लागेको छ’ उनले भने, ‘भएको एक जनाले पनि धेरै बिरामी आए नियन्त्रण गर्न सक्ने अवस्था नै छैन ।’ बर्थिङ्ग सेन्टरका कर्मचारी खाली हुने गरि मतदान केन्द्रमा खटाउनु जोखिम निम्ताउनु र सुत्केरी आमाहरुका लागि दुर्घटनाको कारण बन्न सक्ने बुढाले जानकारी दिए । 

भेरीगंगा नगरपालिका बाक्लो बस्ती भएको क्षेत्र भएकाले दैनिक कम्तिमा तीन चार जनाले सेवा लिने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए । 

मुख्य निर्वाचन कार्यलयले भेरीगंगा नगरका सबै आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ चौकी र बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाएको छ । अहिले बर्थिङ्ग सेन्टरमा ताला लगाएर कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।  आफुले यो बिषयमा सरोकार निकायमा जानकारी गराएपनि सुनुवाइ नभएको उनको भनाई छ ।  

यता कर्मचारी संगठनले कर्मचारीहरु हुँदाहुँदै भनसुन र पहुँचकै भरमा अन्यलाई निर्वाचनमा परिचालन गरिएको बताए । 


Author

थप समाचार
x