समाज

डुङ्डुङ्ती गन्हाइरहेको काठमाडौँमा नाकमुख छोपेर भोट माग्दैछन् नेताहरू (फोहोरी फोटो कथा)

अनुज बज्राचार्य |
बैशाख २३, २०७९ शुक्रवार १३:५७ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- देश चुनावमय छ । राजधानी उपत्यका पनि चुनावको रन्कोमा छ । यहाँका सबै दल र उम्मेदवारको नारा छ- स्वच्छ, सफा, सुन्दर सहर ।

तर, राजधानीका चोकचोक, गल्लीगल्लीमा थुप्रिएको फोहोर र नाकमुख छोप्तै हिँडेका बटुवाले नारालाई गिज्याइरहेका छन् । 


चुनावको संघार मतदातालाई प्रभावित पार्ने समय हो । कोही उम्मेदवारको प्रचार टोलीले फोहोर व्यवस्थापन गरे त्योभन्दा सुन्दर प्रचार केही हुँदैन । यस्तो प्रचार पनि कोही गरिरहेको छैन । 

अनि घरघरमा आउने उम्मेदवारलाई कसैले पनि आफ्नो घरमा, चोकमा थुप्रिएको फोहोर उपहार दिँदैन । पढेको थिएँ, बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाले राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई फाहोर र जीर्ण भोटो प्याक गरेर पठाएका थिए । आम नागरिकको दशा र दुःख यस्तो छ महाराज भनेर उनले शासकीय रवाफको सांकेतिक विरोध गरेका थिए । यही ‘अपराध’मा उनले देश छोड्नुपर्‍यो । यो त उहिले सय वर्षअघिको कुरो । शिक्षा र चेतनामा हामी धेरै पछि हुँदाको कुरो । 

तर, अहिले नागरिक पढेलेखेका छन् । तर, उनीहरूसँग प्रश्न छैन । त्रास र आशमा छन्, मतदाता । कसैले पनि कृष्णप्रसाद कोइराला जति साहस देखाउन सकेको छैन । प्रश्न उठ्छ, के हामी सय वर्षपछि मुक्त भयौँ ? हैन दास, महादास भयौँ । दास प्रथा अन्त्य भएको रहेछन्, झनै झ्याँगिएको रहेछ । 

भनिन्छ, फोहोर मोहोर हो । हामी कुहिने, प्रांगारिक मल हुने फोहोर पनि चोकमा थुपार्छौं । घरमै गलाउन सकिने फोहोर पनि थुपार्छौं । नदीनालामा ढल मिसाउँछौँ । केही अघि पानी पर्दा राजधानीका खोला बढेका थिए । तिनमा माथिमाथि बोतलै बोतलै, प्लास्टिक तैरिँदै बगेको दृश्य कसैलाई ननिको लाग्दैन । 

सफा सुन्दर राजधानी सहरको परियोजनामा यहाँ अर्बौं रुपैयाँ बगिसकेको छ । 

अहिले बहालवाला पार्टीले समेत म निर्वाचित भएर आएँ भने यसो गर्छु उसो गर्छ भनिरेहका छन् । तिनले पदमा रहँदा के गरे ? किन गर्न सकेनन्, जवाफ छैन तिनीहरूसँग । हामीसँग प्रश्नै छैन जवाफ पनि कसरी होस् त ? 

देशको राजधानी चुनावको मुखमा ह्वास्स गनाउने, डुंडुंती गनाउने भएको छ, तर कसैलाई चासो छैन । स्वयं बासी तथा सडेगलेका पार्टी र उम्मेदवारले सडेगलेको फाहोर कसरी व्यवस्थापन गर्थे र ? 

उम्‍मेदवारहरू नाकमुख छोप्दै चुनावी प्रचार गरिरहेका छन् । उनीहरूले नाकमुख नछोपून पनि किन ​ह्वास्सै गनाउने फोहोरको डंगुरले राजधानी भरिएको छ । लाग्छ राजधानीका सडकमा चुनाी प्रचारकभन्दा फोहोरका पोलिथिन बढी छन् । थुप्रिएको फोहोरमा केही दिनदेखि पानी पर्न थालेपछि सरुवा रोग संक्रमण उसै बढ्‍ने छ । नेताज्यू, तपाईंलाई भोट हाल्न आउने दिन मतदाताहरू भोटिङको लाइनमा होइन्, हैजा झाडापखालाकव बिरामी भएर अस्पतालकव लाइनमा उभिनुपर्ने हुनसक्‍छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x